उकेरा काेलम

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म 

किशोर नेपाल


नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको मूलघर थियो तनहुँ। अनेक सिलसिलामा आएका आदिकवि कान्तिपुर नगरमा रमाएका थिए। उनले आफ्नो कवितामा लेखेका थिए– चपला अवलाहरू एक सुरमा, गुनकेशरीको फूलली शिरमा...।

भानुभक्त बालाजुको बाइसधारा देखेर दंग परेका थिए– यति दिनपछि मैले बल्ल बालाजु देख्याँ, पृथ्वी तल भरीको स्वर्ग हो जानी लेख्याँ...। 

अहिले कान्तिपुर नगरमा आमूल परिवर्तन भइसकेको छ। अचेल कान्तिपुर नगरमा शिरमा गुनकेशरीको फूल लगाएर हिँड्ने चपला, अवलाहरू होलान् अथवा नहोलान्। कान्तिपुर नगरमा, कुनै समयमा, जताततै पाइने गुनकेशरी अहिले लोप भइसकेको छ। फूलको बजारमा गुनकेशरीको अभाव छ। प्रकृतिको पूजा गरिने शहरमा प्लास्टिकको फूल आफैंमा विडम्बना हो।

प्लास्टिकको फूलले घर सजाउने आदत परेका चपलाहरूलाई गुनकेशरीको फूल कस्तो हुन्छ भन्ने पनि थाहा नहोला ! कान्तिपुर अधबेस्रो र गोज्यांग्रो नगर भए पनि सधैं यो अधबेस्रो र गोज्यांग्रो नगर होइन। हिजोआज यो नगर अलिकति बढी नै गोज्यांग्रो भएको छ। प्रकृति संरक्षणका विषयमा कान्तिपुरका मानिसमा देखिएको छ विवेकशून्यता। 

मानिसको ओठे भक्ति र फोस्रा नाराले के हुन्छ ? आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो नगरबाट कतै टाढा अर्कै नगरमा, अर्कै अधिकृत सभ्यतामा, आफूलाई हराइरहेका हुन्छौं।

केही दिनदेखि दिल्लीको यात्रामा रहेको यात्रु जब यहाँको हरिलो–भरिलो वातावरण देख्छ, तब कान्तिपुरले आफ्नो हराभरास्वरूप नामेट पारेकोमा दिक्क मान्छ। भन्नु पर्दैन, दिल्ली आवादीका हिसावले कान्तिपुरभन्दा बीसगुणा ठूलो नगर हो। हाम्रो जस्तो सानो र ‘अशान्त’ शहरको दिल्लीसँग तुलना हुनै सक्दैन।

कान्तिपुरलाई अशान्त शहरभन्दा धेरैलाई चित्त नबुझ्ला। यो हो नै अशान्त शहर। यहाँ न आर्थिक शान्ति छ, न त सामाजिक। न सांस्कृतिक शान्ति नै छ। राजनीतिको त के कुरा गर्नु र ? यसैपाला हेर्नुहोस्– बितेका अढाई महिनादेखि नेताहरू लडेकोलड्यै छन्। लडाई मन्दिरदेखि अदालतसम्म चारैतिर जारी छ। 

भोकको भयले आक्रान्त भएको शहर अशान्त नभएर के हुन्छ अरु कुन गाउँ–ठाउँ अशान्त हुन्छ ? यसपाला दिल्लीमा रहँदा पाइलापाइलामा सम्झना आयो कान्तिपुर नगरको। यहाँको मेट्रो देख्दा कान्तिपुरमा प्रस्तावित ‘कागजी’ मेट्रोको सम्झना आयो। 

हाम्रा नीति–निर्माताले मेट्रो बनाउनु ख्यालख्याल ठानेका छन्। दिल्लीमा मेट्रो इतिहासको प्रारम्भ अघिल्लो शताब्दीको सन् १९९५ मा भएको थियो। तैपनि, मेट्रोको विकास अहिले २०२१ सम्म जारी छ। उनीहरूको प्रगति रोकिएको छैन। हाम्रो सुरु नै भएको छैन। हामीले यति लामो धैर्य कहाँबाट ल्याउने ? त्यसो त, दिल्ली पनि सबै ठाउँमा आधुनिक छैन। ठूला घरेको ठूलै चाला भनेजस्तै ठूला शहरभित्र अनेकन भ्वाङ परेका छन्। 

हामीले कोरोनाको विकास ग्राफ माथि नै रहेको अवस्थामा पनि लकडाउनको अनुशासन मिचेका हौं। अहिले भारतका शहर–बजारमा लकडाउन छैन। तर, जनताले त्यसको अनुशासन तोडेका छैनन्। 

यो पटक यात्राको क्रममा जसोला भन्ने दिल्लीको एउटा ग्रामीण शहरको ‘तीनतारे’ होटलमा बस्दा थाहा भयो– होटलका कार्यकर्ता कसैलाई पनि ‘वेकअप कल’को अत्तोपत्तो थिएन। ‘यहाँपर वेकअप कल देनेका सिस्टम है क्या ?’ सोध्दा रिसेप्सनमा बसेको केटोले उल्टै सोध्यो– वह क्या होता है ?

त्यो केटोको अनुहारमा मैले आफ्नो शहरको ठमेलमा काम गर्ने स्मार्ट केटाहरू सम्झिएँ– जो यस्ता सानातिना प्रश्नको उत्तर त आफ्नो सुसेलीमा राखेर हिँड्थे। भनिन्छ– ठमेलका होटलमा काम गर्ने कामदारहरू होटल बिजमा निपूण हुन्छन्।

त्यसको विपरीत दिल्लीका नागरिकहरू होटल र रेस्टुराँमा पाइने खातिरदारी र मेजवानीको खोजमा लागिसकेका छन्। आफ्नै देशमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन भएको समाचार प्रसारित भएपछि दिल्लीका मेट्रो चौबिसै घण्टा भरिभराउ छन्।

दिल्लीमा फेस मास्क अनिवार्य भएकाले एकअर्कालाई आवाजले चिन्नुपर्ने बाध्यता पक्कै छ। दिल्लीको पुरानो र पपुलर बजार करोलबागको ‘रोशन दा कुल्फी’मा अपराह्न १ बजेदेखि साँझ ९ बजेसम्म मानिसको भीड घट्दैन। दिल्लीमा देश बाहिरका पर्यटकभन्दा देशभित्रका पर्यटक आडिला मानिन्छन्। 

तर, ती आडिला पर्यटक अहिलेसम्म आएका छैनन्। कोरोनाको भय अहिले सकिएको छैन। कोरोना मत्थर भएको छ भन्ने भनाइ सुनिएको छ। तर, यो आधिकारिक भनाइ होइन। कोरोना मत्थर हुनासाथ मानिसहरू ओइरिने आशा पनि नगरे हुन्छ। कोरोनाले मानिसको बाँच्ने लय बदलेको छ। भारतीय जीवनशैलीमा आमूल परिवर्तन भएको छ। भारतीयहरू हामी नेपालीजस्तो ज्याद्रो छैनन्। 

हामीले कोरोनाको विकास ग्राफ माथि नै रहेको अवस्थामा पनि लकडाउनको अनुशासन मिचेका हौं। अहिले भारतका शहर–बजारमा लकडाउन छैन। तर, जनताले त्यसको अनुशासन तोडेका छैनन्। जीवनप्रति हाम्रो दृष्टिकोण नश्वरवादी छ। हामी आफूलाई मात्रै होइन, कसैलाई पनि माया गर्दैनौं। भारतीय शहर–बजारमा बस्नेहरू हरेक मानिसप्रति आफ्नो दायित्व बोध गर्छन्। 

जीवन नश्वर हो भन्दैमा यो खेर फाल्ने वस्तु होइन भन्ने ज्ञान छ भारतीयहरूमा। भारतीयसँग हाम्रा धेरै कुरा मिल्दैनन्। हामी दुई देशका जनताबीच कुनै विवाद छैन, कटाक्ष छैन, झगडा छैन। तर, सरकारहरूका बीच विवाद जारी नै छ। त्यो कहिलेसम्म जारी रहनेछ ? कसैले भन्न सक्दैन। कान्तिपुर र दिल्लीका आ–आफ्नै प्रतिमान छन्। 

कान्तिपुरमा धरहरा छ, जो हरेक भुइँचालोमा भत्किने गरेको छ। दिल्लीमा कुतुब मिनार छ, जो शायद भुइँचालोले भत्किएको छैन। बरु त्यो बांगिएको छ। धरहरा र कुतुब मिनार दुवै इतिहासका आइकोन हुन्। फरक यति छ– धरहराले प्रत्येक भुइँचालोपछि आफ्नो स्वरूप फेर्ने गरेको छ...।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....