कान्तिपुर गाथा  : गाथा एउटा ‘शाही’ विमान सेवाको

कान्तिपुर गाथा  : गाथा एउटा ‘शाही’ विमान सेवाको

देशको अवस्था दुर्गतिमा परेको यो समयमा कसैले समृद्धिको कुरा गर्छ भने त्यो फटाहा हो ! अहिले राजनीति गर्ने मानिसको चरित्र छैन, मन छैन, मुटु छैन, मानिसप्रति माया छैन। समवेदना कुन चरोको नाम हो ? त्यसको त पत्तै छैन। 

आजका मितिमा नागरिकको मूल्य जनावरको मूल्यभन्दा तल छ। कसैले सत्ता स्वार्थको विपक्षमा कुरा गर्छ भने ऊ सत्ताको दुश्मन हुन्छ। सरकार सुखसयलमा बाँचेको छ। भत्किएका संस्थाहरू भत्किएको भत्कियै छन्। त्यसको चासो कसैलाई छैन। 

नागरिक सेवासँग सम्बन्धित संस्था दिनदिनै धराशायी हुँदैछन्। तर, सरकारमा बसेका एकजना मानिस पनि त्यस्तो भेटिँदैन, जसले जनताका लागि, देशका लागि, आफू जन्मिएको माटोका लागि अलिकति चित्त दुखाओस्।
गएको शनिबार कान्तिपुर शहरबाट भारतको राजधानी दिल्लीतर्फ जाँदा नेपाल वायुसेवा निगमको उडानमा त्यसदिन घटेको र त्यसअगाडि पनि घट्ने गरेको एउटा घटनाले मन कटक्क काटियो। मन किन काटियो ? यो पटक गाथामा त्यसैको विवरण छ। अलिकति कथाजस्तो छ यो विवरण। 

शनिबारका दिन निगमले नियमानुसार नै विमान उड्नुभन्दा तीन घण्टाअघि आफ्ना यात्रुहरूलाई एयरपोर्ट रिपोर्टिङको समय दिएको थियो। दिल्लीतर्पm प्रस्थान गर्ने विमानको उडान समय बिहान ११:१५ बजेका लागि तोकिएको थियो। 

बिहान सबेरैदेखि विमानस्थलमा यात्रुहरू आउने क्रम सुरु भइसकेको थियो। विमानस्थलको भुइँतलामा चिया–कफीको सुविधा उपलब्ध थियो। अध्यागमनको प्रक्रिया पूरा गरेर माथिल्लो तलाको प्रतीक्षालय वा प्रस्थान कक्षमा पुगेपछि त्यहाँ कुनै पनि सुविधा उपलब्ध थिएन। प्रस्थान कक्षमा विमान कुरिरहेका यात्रु बिलखबन्दमा थिए। यात्रुहरूमध्ये सबै निरोगी थिएनन्। त्यहाँ कोही रोगी पनि थिए र कोही अशक्त पनि थिए। 

एक कप कफी अथवा चिया र एउटा केकमात्रै खान पाए पनि दंग पर्ने नेपालीको जात देशको सबैभन्दा प्रभावशाली विमानस्थलमा रुमल्लिएको थियो। एकातिर, नेपाल वायुसेवा निगमका विमानहरू समयमा नउड्ने कुरा नयाँ होइन। यो समस्या निगमले सेवा सुरु गरेदेखि नै अनवरत छ। अरुले सात दिन लगाएर गरेको काम आफूले सातै घण्टामा सिध्याउने ढिँढोरा पिटे पनि नेपाली जातबाट अहिलेसम्म त्यस्तो ढिँढोराको विकासशील परिणाम आएको देखिएको छैन।

कान्तिपुर गाथा : कथा परिवर्तनको 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वर्षदेखि नेपालका सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द थिए। यी उडानहरू भर्खर मात्र खुलेका हुन्। अन्तर्राष्ट्रिय उडान खुले पनि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा यात्रुहरूका लागि सामान्य सेवा र सुविधा जुटाउन र खुलाउनसम्म सकेको छैन। एउटा नागरिक उड्डयनले कति कुरा हेरोस् ? कफी–चियाका बन्द पसल खुलाओस् कि सरकारको कार्यकारी तहबाट आउने आदेशको पालना गरोस् !

नागरिक उड्डयनसँग जोडिएका खानेकुराका स्टलहरू नखुलेका कारणले म उड्ने दिन कान्तिपुर शहरबाट दुबई, दोहा र दिल्ली जाने यात्रुहरू भोकले व्याकुल भएका थिए। यो व्याकुल अवस्था विमानस्थलले यात्रुका लागि उडान खुलेको दिनदेखि नै यथावत छ। नेपाल वायुसेवा निगमको दिल्लीको लागि बिहान ११:१५ बजे उड्नुपर्ने विमान बिहान १२ बजेसम्म उड्न सकेको थिएन। कारणहरू रमाइला थिए। 

अलिकति मौसम खराब थियो र अलिकति एयर ट्राफिक ब्यस्त थियो। तैपनि विमान सोचेकोभन्दा छिटो उड्यो। बिमान उडेको केही बेरपछि बीच आकाशमा त्यसबेला बबाल सुरु भयो जब विमान परिचारिकाहरूले यात्रुहरूलाई ‘लन्च’ बाँड्न थाले। बिहानैदेखि भोकाएका यात्रुहरूको अनुहारमा खानाको नामैले पनि अलिकति चमक देखिएको थियो। उनीहरूको अपेक्षा थियो होला, अरु जे सुकै भए पनि अब विमानमा एकगाँस तातो खान दिन्छन्। तर, यात्रुहरूको अनुहारको त्यो चमक क्षणिक मात्रै रह्यो। 

परिचारिकाले यात्रुहरूको सिट अगाडिको टेबुलमा तात्तातो खानाको सानो किस्ती राखिदिएकी थिइनन्। एउटा हेर्दै घिनलाग्दो प्लास्टिकको प्याकेटभित्र निम्कीको सानो पोको, एउटा स्याउ र ओरियो बिस्कुटको एउटा सानो प्याकेट यात्रुको अगाडि राखिदिएकी थिइन्। 

कान्तिपुर गाथा– केपी बा : शब्दचित्र

जतिसुकै भोक लागेका मानिसले पनि खानसक्ने खालको खाना थिएन त्यो। हवाइ यात्रामा रहेको मानिसले पानी, चिया र कफीको सेवन गर्नुपर्छ भनिन्छ । तर, विमानमा यात्रुका लागि चिया, कफी उपलब्ध थिएन।

खानेकुराको प्याकेटमा रहेको ‘खानेकुरा’ देखेपछि विमानमा उडिरहेका देशी–विदेशी सबै यात्रु आक्रोशित मुद्रामा थिए। विमानभित्र केही गर्नसक्ने अवस्थामा कोही पनि थिएनन्। उडिरहेको विमानमा रिस देखाएर उचालिने कुरा पनि आएन। यात्रु अक्करमा थिए। उनीहरूले प्याकेट हेरे। एकजना यात्रुले भने, ‘यो निम्कीबाट त बत्ती बाल्ने तेल गनाइरहेको छ।’ 

यस्तो चौपट आर्थिक अवस्था भएको कम्पनीले आफ्ना यात्रुलाई दिने सेवा यत्ति नै हो। धन्न निम्की दिएछन् !इतिहास यसरी नै विद्रूप हुँदै जाँदो छ। तैपनि, धन्य, नेपाली जनताको इतिहासप्रतिको भरोसा। यहाँ त भविष्य नै लज्जित छ।

एकजना यात्रु ‘सुगर’का बिरामी थिए। क्रिमको नाममा चिनीको थुप्रो हालिएको ओरियो बिस्कुट र निम्की उनका लागि घातक थियो। त्यस्तै थियो– मेरो अवस्था। सुगरको अर्को बिरामी। एयरपोर्टमा नै कफी र स्याण्डविच खाने आशामा बिहान ९ बजे रिपोर्टिङ गर्न आएको यात्रु। 

मलाइ अलि छिटै उठछ रिस। नेपाल वायुसेवा निगम (नेवानि)को यो व्यवहार देखेपछि मैले सहन सकिनँ। मैले एउटी विमान परिचारिकालाई बोलाएँ। र, आफ्नो परिचय–पत्र देखाउँदै भने, म यो विमानको कमाण्डर क्याप्टेन विश्वकर्मासँग कुरा गर्न चाहन्छु। कृपया खबर गरिदिनुहोस्। हस् भनेर उनी हिँडिनँ। 

क्याप्टेन साहेब त किन आउँथे र ? उनको प्रतिनिधित्व गर्दै आइन एकजना परिचारिका। उनले आफ्नो परिचय दिएपछि मैले खानाको बारेमा गुनासो गरें। मेरो गुनासो सुनेर उनी त मन्द हाँसोमा गुदगुदाउन पो लागिन।यात्रुहरूको दुःखमा आनन्दित हुने बानी रहेछ उनको। उनले कुरा क्याप्टेन विश्वकर्मासम्म पुर्याइन कि पुर्याइनन् ? मेरो विचारमा उनले हाँसेरै टारिन् होलिन्। यस्तो कम्प्लेन सधैं आइरहन्छ। यो त नियमित प्रक्रिया न हो।

एक जमाना थियो– जब शाही नेपाल वायुसेवाको नाममा एउटा कम्पनी थियो नयाँ सडकको बीचतिर। एउटा अर्को जमाना आयो जब शाही नेपाल वायुसेवा निगम कान्तिपथमा, संकटा मन्दिरभन्दा अलिकति अगाडि टुँडिखेलकै छेउमा बनेको, आफ्नै भव्य भवनमा सर्यो। 

कान्तिपुर गाथा : ‘यो हल्लै हल्लाको देश हो’

त्यतिबेला कान्तिपुर शहरमा सबभन्दा राम्रो र भव्य भवन थियो त्यो। निर्दलीय पञ्चायतकालमा यो नेपालको गौरवमय कम्पनी थियो। राजपरिवारकै नेतृत्वमा हिँडेको। त्यतिबेला यो कम्पनी ज्ञानेन्द्र शाहको ‘रेखदेख’मा थियो। यो कम्पनी अनेकौं स्क्याण्डलमा फँसेको थियो। आर्थिक हिसावले यसको अवस्था कहिल्यै सुदृढ हुन सकेन। तर, बाहिरबाट हेर्दा कम्पनी सधैं झिल्के देखिन्थ्यो– सुकुलगुण्डो।

पहिलो जनआन्दोलनपछि यो कम्पनीले व्यावसायिक हिसावले खुट्टो टेक्ला भन्ने आशा सबैको थियो। तर, थप विमान किन्नेभन्दा पनि भएका विमान बेच्ने धन्दामा लाग्यो कम्पनी। धमिजा काण्ड र लाउडा काण्डका वरिपरि यो कम्पनी घुमिरह्यो।

गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा पर्यटनमन्त्री बनेका आदर्शवादी नेता रामहरि जोशी शाही नेपाल वायुसेवा निगम (शानेवानि)लाई जगाउन र जोगाउन नलागेका होइनन्। उनको साथमा स्वर्गीय निरञ्जन कोइराला पनि थिए सल्लाहकारका रूपमा। 

कान्तिपुर गाथा : जीवित माछा र आशावाद

पर्यटन ब्यबसायको कीलो–जरो बुझेका निरन्जनले शानेवानि सुधारमा निकै काम गर्न खोजेका थिए। तर, सकेनन्। सल्लाहकारी छाडेर हिँडे। 

दोस्रो जनआन्दोलनपछि २०६४ सालमा शाही नेपाल वायुसेवा निगमबाट शाही शब्द खारेज भयो। नेपाल वायुसेवा निगम कम्पनी धेरै पटक टाट पल्टिने अवस्थामा पुग्यो। सरकारको स्वामित्वको कम्पनी भएकाले मात्र यो जोगियो। यो कालमा नेवानिको नेतृत्वमा पुगे– सुगत कंशाकार। 

सरकारी नेपाल टेलिकम कम्पनीको नेतृत्वमा लामो समय बसेका उनका बारेमा भनिन्छ– निजी व्यवसाय र कम्पनीको सञ्चालनमा भन्दा सरकारी व्यवसाय र कम्पनीको सञ्चालनमा उनको दक्षता छ। सुगतले राम्रै हाँकेका थिए नेपाल वायु सेवा निगम। त्यतिबेला एउटा पनि जहाज नभएको नाम मात्रको वायुसेवा निगमका लागि विमान खरिद गरे। निगम सञ्चालनमा दक्षता बढाउन मेहनत गरे। तर, राजनीतिको जालो चिर्न सकेनन्। उनलाई सरकारले नेवानिमा नै ‘डम्प’ गरिदियो। 

कान्तिपुर गाथा : साँघुरिँदो शहरका सुकुमवासी 

इतिहासमा नै सर्वाधिक उच्छृंखल तवरले चलाइएको नेपाल बायु सेवा निगमको अहिले त आम्दानी नै छैन। निगमले एयरपोर्टमा गर्दै आएको ग्राउण्ड ह्याण्डिलिङको काम पनि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले यति कम्पनीको जिम्मा लगाएको सुनिएको छ। यस्तो चौपट आर्थिक अवस्था भएको कम्पनीले आफ्ना यात्रुलाई दिने सेवा यत्ति नै हो। धन्न निम्की दिएछन् !

इतिहास यसरी नै विद्रूप हुँदै जाँदो छ। तैपनि, धन्य, नेपाली जनताको इतिहासप्रतिको भरोसा। यहाँ त भविष्य नै लज्जित छ।

कान्तिपुर गाथा :  मंगलाचरण

 

३० माघ, २०७७, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।