कान्तिपुर गाथा : जीवित माछा र आशावाद

कान्तिपुर गाथा : जीवित माछा र आशावाद

माघे संक्रान्ति जाडो र अँध्यारो मौसमको समाप्ति तथा न्यानो र उज्यालो मौसमको आगमन हो मानिसको आँगनमा। विविधताका बीच एकताको चाडका रूपमा मनाइन्छ यो पर्व। माघे संक्रान्तिको विशेष महत्त्व छ देशभरि। माघको महात्म्य नै बेग्लै।

कान्तिपुर शहरको माघे संक्रान्तिको झलक अलिकति भिन्न छ। 

कान्तिपुर शहरमा माघे संक्रान्तिको सम्झनाले मनमा आनन्द लाग्छ। ३०–३५ वर्ष अघिको त्यो समयको सम्झना आउँछ- जब बाग्मती नदीमा स्निग्ध र स्वच्छ पानीको अविचलित प्रवाह रहेको हुन्थ्यो : अनवरत कल कल कल। कान्तिपुर शहरका विभिन्न टोलका वासिन्दा, भक्तजन, प्रभातकालीन बाग्मती स्नान र पशुपतिनाथको दर्शनका लागि बिहान ४ बजे आर्यघाट पुग्थे। ती भक्तजन शरीर कक्रक्क पार्ने बाग्मती नदीको चिसो पानीमा ‘हर हर गंगे’ बोल्दै चुर्लुम्म डुबुल्की मार्थे। डुबुल्की लगाएर किनारामा उक्लिएका भक्तजनको सुविधाका लागि किनारामा पराल बालिएको हुन्थ्यो।

भक्तजन कठ्यांग्रिएको शरीर तताउँथे। त्यसपछि समवेत स्वरमा ‘जय शम्भो’ गाउँदै पशुपतिनाथ मन्दिर प्रवेशका लागि पूर्व ढोकातिरको सिँढी उक्लिन्थे।

अब, अहिलेको बाग्मती घरद्वार र मलद्वारबाट निस्किने फोहोरको डुंगुर तथा कारखानाको तरल र ठोस पदार्थ सबैको विसर्जन स्थल बनेको छ। चल्तीको सडक वा गोरेटोको कुनै कुनामा पानको पिच्च र मूत्र विसर्जन गरियो भने त्यहाँको भित्तामा सिंगमरमरका प्लेटमा छापिएका गणेश, शिव र पार्वतीका तस्बिर टाँसिए। 

नदीहरूमा प्रवाहित हुने विकारहरूको व्यवस्थापन नगरेसम्म माथिबाट जति पानी बहाए पनि नदी सफा हुँदैन। नदीको पानी शुद्ध राख्नका लागि बालुवाको अतिशय महत्त्वपूर्ण भूमिका छ। अहिले बाग्मती नदी प्रणाली अन्तर्गतका नदीहरूमा बालुवा छैनन्। त्यहाँ भएका बालुवा मानिसले नै लुटे। अब ती नदीमा नयाँ बालुवा बन्न समय लाग्ने निश्चित नै छ।

बाग्मतीमा त देवी देवताका मूर्ति र मन्त्रहरू खोपिएका छन् असंख्य। बाग्मती त स्वयं देवी हुन्। देवीको शिरमा फोहोर फाल्ने हामी मानिस पनि कस्ता ! 

हिजो, माघे संक्रान्तिको दिन, बिहान बाग्मतीको किनारामा पुग्दा मेरा आँखामा अतीतका ती दृश्यहरू छर्लंग भएका थिए। त्यतिबेला बाग्मतीको जलमा स्नान गर्ने भक्तजनको कठ्यांग्रिएको शरीर तताउन पराल बाल्ने व्यवस्था कसले गर्थ्यो होला ? त्यसका लागि गुठी थियो कि ? अहिले पशुपति विकास कोषले त्यो काम गर्छ कि गर्दैन ? एकपछि अर्का प्रश्न उठ्न थाले तरंग बनेर। बाग्मती नदीमा स्वच्छ जल प्रवाह कहिलेदेखि अवरुद्ध भयो ? यसको कारण के थियो ? किन कसैले पनि बाग्मती नदीको जल शुद्ध र पवित्र राख्ने प्रयत्न गरेन ? किन हिन्दू धर्मका संरक्षक भनिने तत्कालीन ‘विकासप्रेमी’ राजाको ध्यान त्यसमा पुगेन ?

प्रश्नहरूको कुनै दुःख थिएन। समस्या थियो जवाफ कसले दिने ? बाग्मती नदी सभ्यताको मुहान थियो। उपत्यकाका काँठ, कछाड, गाउँ र बस्तीहरूलाई सिंचित गर्दै हजारौं वर्षदेखि यहाँका मानव जातिलाई जीवनदान दिने अद्भुत प्रकृति। 

बिस्तारै उपत्यकाको रूप बदलिँदै गयो। त्योसँगै बाग्मतीको आकार, वेग र प्रवाह, बाटो र घुम्तीहरू पनि बदलिँदै गए। चार दशक अघिसम्म, त्यतिबेला चाबहिल, महाँकाल, कपन, रामहिटी, बानेश्वर, बत्तीसपुतली र डिल्लीबजारसम्म बस्ने हामी ‘एक हूल’ साथीहरू बाग्मतीको सूर्यघाटमा पौडी खेल्न जान्थ्यौं। सूर्यघाटमा भुमरीले घुमाएको पानीभित्र पस्न मानिस डराउँथे। बाग्मतीमा पौडी खेल्नेहरूका लागि सूर्यघाट सबैभन्दा रोचक थियो। अहिले गौरीघाटदेखि राजा–राजेश्वरीसम्म घाटहरू त यथावत छन्। तर, ती कुनै पनि घाटमा कुनै आकर्षण छैन। हामी मानिसहरूको अविवेकले गर्दा एउटा जीवित सभ्यता समाप्तिको चरणमा छ। धेरै पर्यावरणविद् र प्रकृति–प्रेमीले बाग्मतीलाई ‘मृत नदी’को संज्ञा दिएको सुनेर, पढेर चित्त कटक्क काटिन्छ। हामी रैथानेका लागि बाग्मती मृत हुनै सक्दिनन्। बाग्मती नदी, अहिले जतिसुकै कुरूप भए पनि हजारौं हजार मानिसका लागि अझै जीवनदायिनी शक्ति हुन्।

राजनीतिले पर्यावरणको शोषण गरेको छ सधैं सधैं। मानिसको व्यवस्थापनका नाममा प्राकृतिक स्रोतहरूको दोहन गर्ने राजनीतिक प्रवृत्तिले कान्तिपुर शहर र उपत्यकाको श्रीसंस्कार समाप्त पारेको छ। २०३६ सालमा राजा वीरेन्द्रले बहुदलीय शासन प्रणाली र निर्दलीय पन्चायत प्रणालीका बीच जनमत संग्रह हुने घोषणा गरे। यो घोषणासँगै कान्तिपुर उपत्यकामा कार्पेट र गार्मेन्टका कारखाना बग्रेल्ती खुल्न थाले। निर्दलीय पन्चायत प्रणालीलाई जिताउने नाममा यी व्यवसाय फस्टाएका थिए। यसको असर सोझै पर्यो नदीहरूमा। उपत्यकामा बढ्दो मानव बस्ती र फैलिँदो कल–कारखानाको स्वाभाविक निकास बने नदीहरू। बाग्मती, रुद्रमती, इच्छामती, विष्णुमती लगायतका सबै नदीमा पानीको ठाउँमा फोहोर–मैला बग्न थाले। नदीको पानी पम्प गरेर कल–कारखाना चलाउन तान्ने र कल–कारखानाबाट निस्केका फोहोरलाई नदीमा मिल्काउने काम भएकाले उपत्यकाका नदीहरूको जीवन संकटमा पर्यो।

एक समय त यस्तो पनि आयो, जब मानिसले नदीको पवित्रताको सम्झना गर्दै डुबुल्की मार्ने ठाउँसम्म पाएन। पशुपति आर्यघाट र भष्मेश्वर श्मशानमा शव विसर्जनका लागि आउने मानिसले नुहाउन पाएनन्। उनीहरूका लागि धाराको व्यवस्था गर्नुपर्यो।

कान्तिपुर उपत्यकाको बाग्मती नदी प्रणालीमा मर्मान्तक प्रहारको कारण राजनीतिक नै थियो। राजनीति गर्ने मानिसले आफ्नो संकीर्ण स्वार्थको सुरक्षा गर्न चिहान, मसान, खोला, दोेभान, बगर, किनार केही बाँकी राखेनन्। अब अहिले बाग्मती नदी प्रणाली भ्रष्ट भएकोमा चित्त दुःखाएर के हुन्छ ? विगत केही वर्षयता एसियाली विकास बैंकले बाग्मती संरक्षण योजनामा सरकारलाई सघाएको छ। तर, यो योजनाको संयोजन त्यति मिलेको देखिँदैन। बागद्वारतिर पानी ट्यांकी बनाएर त्यसमा पानी जम्मा गर्ने र सुख्खा मौसममा बाग्मतीमा त्यो पानी प्रवाहित गर्ने योजना निकै आकर्षक छ। तर, त्यसपछिका अरु काम कसरी गर्ने ? त्यसको टुंगो लागेको देखिँदैन। योजना र जनताबीच सुसम्बन्ध नभएसम्म यस्ता योजना सफल हुँदैनन्। योजनाबारे सरोकारवालाहरूको चासो आयोजना संचालकसम्म पुग्ने कुनै माध्यम अहिलेसम्म देखिएको छैन।

नदीहरूमा प्रवाहित हुने विकारहरूको व्यवस्थापन नगरेसम्म माथिबाट जति पानी बहाए पनि नदी सफा हुँदैन। नदीको पानी शुद्ध राख्नका लागि बालुवाको अतिशय महत्त्वपूर्ण भूमिका छ। अहिले बाग्मती नदी प्रणाली अन्तर्गतका नदीहरूमा बालुवा छैनन्। त्यहाँ भएका बालुवा मानिसले नै लुटे। अब ती नदीमा नयाँ बालुवा बन्न समय लाग्ने निश्चित नै छ। नदीको बालुवा झिकेर आम्दानी गर्ने राजनीतिक भ्रष्टाचार व्यापक नभएको भए कान्तिपुर शहर अहिलेजस्तो कान्तिहीन हुने थिएन। 

सन्दर्भमा– बागमती सुधार आयोजनाको समानान्तरमा २०७० जेठ ५ गते सुरु भएको तथा प्रत्येक शनिबार आयोजित हुने ‘बाग्मती सफाइ महाअभियान’ले दुई सय वटा शनिबार ‘महाअभियान’ संचालन गरेर बाग्मतीबाट २० हजार मेट्रिक टन फोहर निकालेको छ। यो महाअभियानको प्रारम्भ तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा भएको थियो।

महाअभियानका कार्यकर्ताहरू ‘शंखमूल र मनहरा दोभानमा माछा पाइएकोमा’ निकै रमाएका छन्। मृत भनिएको नदीमा जीवित माछा पाइनु रमाउने कुरा हो। आशावाद भनेकै यही हो। 

२ माघ, २०७७, १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।