कान्तिपुर गाथा : आउन त आयो रे मेलम्ची !

कान्तिपुर गाथा : आउन त आयो रे मेलम्ची !

बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्थे बूढापाकाले।

हो, खोलो फर्कियो। तर बाह्र वर्षमा होइन, तीस वर्षमा। हेलम्बुतिर मुहान भएको पूर्वमा इन्द्रावती नदी भेट्ने मेलम्ची नदीलाई पश्चिम फर्काएर बाग्मती नदीमा मिसाउन तीस वर्ष लाग्यो। 

यो तीस वर्षमा देशमा के–के भए के–के। ती सबै घटनाको विवरण दिइराख्नु नपर्ला। योचाहीँ हो, देशमा यति ठूला उथलपुथल भइसकेपछि मेलम्ची आयोजना पूरा हुने साइत बल्लतल्ल जुर्योइ। फागुन २७ गते शिवरात्रिको अवसर पारेर, सुरुंगको बाटो कान्तिपुर शहरको किनारा सुन्दरीजलसम्म ओरालेर ल्याइएको मेलम्ची नदीको पानी बाग्मती ‘नदी’मा मिसाइयो।

जनताले ‘मेलम्ची’ आएको खबर सुने। खबर सुनेर पनि विश्वास नै गर्न सकेनन्। उनीहरूले आश्चर्य प्रकट गरे– ओहो ! यो कसरी सम्भव भयो ? कुरा आश्चर्य प्रकट गर्ने खालको थियो।

मेलम्ची खानेपानी आयोजनाका लाभानुभोगी, कान्तिपुरका वासिन्दाले मेलम्ची आयोजनालाई बिर्सिसकेका थिए। उनीहरूले यसलाई ‘किशुनजीको ठट्टा’का रूपमा हेरेका थिए। तर, यो ठट्टा थिएन। 

मेलम्चीबारे किशुनजी आशावादी हुनुहुन्थ्यो। उहाँ कान्तिपुर उपत्यकाका जनताको तिर्खा मेटाउन चाहनुहुन्थ्यो। तर, सत्ताको निरन्तर संघर्षका कारण उहाँले मेलम्ची मात्रै होइन, विकासका कुनै पनि काममा हात हाल्नै पाउनु भएन। जम्मा आठ–नौ महिनामा प्रधानमन्त्रीको गद्दीबाट हटाइने नेताले कसरी ठूला आयोजनाहरूको निर्माण पूरा गर्नु ?

राजा वीरेन्द्रको सोच तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को कडा जोशमा सुरु भएर गति लिन थालेको मेलम्ची आयोजना पूरा हुने त कसैले सोचेकै थिएन। प्रधानमन्त्री भट्टराईको चाहना थियो– पानीको प्यासले आकुल–व्याकुल भएका कान्तिपुरका जनताको प्यास मेलम्चीको पानीले मेटाउने मात्रै होइन, यहाँको सभ्यतामा शताब्दियौंदेखि कटकटिएको धूलो–मैलोलाई पखालेर सफासँग धुने। 

पानी भनेको स्वच्छता हो। पानी भएपछि शहर स्वच्छ रहन्छ। कान्तिपुर शहर यति राम्रो छ र यति रमाइलो। तर, पानीको अभावमा शहरमा फोहोरको डुंगुर लागेको छ। त्यो फोहोर नथुप्रिएको भए सुनमा सुगन्ध थपिने थियो।

शिवरात्रिको दिन, मेलम्चीको पानी बाग्मती नदीको बाटो बगायो सरकारले। त्यो पानीले बाग्मती नदीको आफ्नै तिर्खा कति मेटायो र नदीमा थुप्रिएका फोहोर कति बगायो ? भन्न गाह्रो छ। 

पानीको प्रवाह देखेर शिवरात्रिको मेला भर्न आएका मानिस खुसी थिए। यो नै थियो सन्तोषको कुरा। एउटा राम्रो कुरा के भो भने, अहिलेको सत्तामा थुप्रिएका मानिसले मेलम्चीको पानी आफूले तानेर कान्तिपुर ल्याएको दाबी गरेनन्। उनीहरूले राजा वीरेन्द्र र किशुनजी दुवैजनालाई सम्झिएर गोहीको आँसु बहाउने धृष्टता पनि गरेनन्। 

पाँचै वर्षमा कान्तिपुर शहरका सडकहरू मेलम्चीको पानीले धुने सपना देखिएको आयोजना तीस वर्षमा बल्लतल्ल पूरा हुँदा पनि के जयजयकार मनाउनु ? के नारा लगाउनु ? विदेशमा भएको भए मेलम्चीको असफलतामा कति सिनेमा बनिसकेका हुन्थे। यो विकासे असफलता ‘बेस्ट सेलर’ बन्थ्यो। यहाँ त्यस्तो केही भएन। किनभने हामीकहाँ लेखेर, आलोचना गरेर केही हुन्छ, मानिसलाई झकझक्याउन सकिन्छ भन्ने चेतना नै छैन। 

कान्तिपुरमा पानीको जपना र मेलम्चीको सपनाका कथा लेख्दालेख्दै हामी विचरा पत्रकारहरूको उमेर तीस वर्ष थपियो। मेलम्ची आयोजनाका नाममा धेरैले कमाए। कतिले गुमाए पनि होलान्। मेलम्ची त आखिर मेलम्ची थियो अजंगको आयोजना। 

प्रत्येक महिना विकासको भाउ बढ्दै जाने। वास्तवमा, नेपालमा केही आयोजना यस्ता छन्, जसका बारेमा कसैले किताब लेख्ने जाँगर चलाए ती किताब खुब चल्ने छन्। धेरै पढिने छन्। 

हामीकहाँ जुन गतिले विकास भइरहेको छ त्यसलाई देखेर दुनियाँ हाँस्ने छन्। कुरा जतिसुकै मीठो मसिनो गरे पनि, आखिर मन नपर्ने र खस्रो कुरा यही हो कि, विकासका मामिलामा हामी नालायक हौं। किनभने हामी लोभी छौं। हामी अविवेकी छौं। हामी आफ्नो संकीर्ण स्वार्थबाट माथि उठ्न सकेका छैनौं। 

कान्तिपुर उपत्यकामा मेलम्चीको पानी त ओर्लियो। यसको नियमित प्रवाह कहिलेदेखि हुने हो ? त्यसको टुंगो अझै लागेको छैन। मेलम्चीको पानी ओर्लिन लागेकोमा चटारो देखाउँदै सरकारले उपत्यकाको पाइप फेरफार र मर्मत–सम्भार गरेको पनि तीन वर्षभन्दा बढी भइसक्यो। 

अहिले खानेपानीको कुनै इन्जिनियर उभिएर ती पाइप बिग्रिसकेको कथा सुनायो भने पनि हामीले पत्याउनै पर्छ। यी सबै कुराको हिसाब गर्दा मेलम्चीको पानी जनताको ‘दरबार’मा पुग्न अझै केही समय लाग्ने छ। 

मेलम्चीको पानीको संचालन र व्यवस्थापन मानिसको हातको करामत मात्रै होइन। यसमा धेरै प्राविधिक हथकण्डा जोडिएका होलान्। ‘ठोकठाक’को प्रविधिमा अभ्यस्त हामी नेपाली जनतालाई केही बुझ्न र सिक्न केही समय त लाग्ला नै। 

जनताले सोचेका होलान्– मेलम्चीको पानी कान्तिपुर उपत्यकामा ओर्लिएपछि बोतलबन्द पानीका व्यापारीहरूको व्यापार धरापमा पर्ने छ। तर, त्यसो नहोला। कान्तिपुर उपत्यकाको जनसंख्याका लागि मेलम्चीको पानी अपर्याप्त छ। 

तीन दशक अगाडि मेलम्चीको परिकल्पना गरिँदा कान्तिपुर उपत्यकामा जति जनसंख्या थियो त्यो त्यही अनुपातमा बढेको छ। मेलम्चीको पानी घरघरमा बाँड्न पनि पर्याप्त हुने हो कि नहुने हो ? कसैले भन्न सक्दैन। 

तीन दशकअघि मेलम्चीको जलप्रवाहको गति जुन थियो, आज त्यो छैन। वातावरणको अत्यधिक विनासले नदी–नालामा पानीको अभाव बढ्दो छ भने जलप्रवाहको क्षमता पनि घटेको छ। 

हाम्रो मन सानो छ। किनभने हाम्रो क्षमता सीमित छ। हाम्रा सरकारहरूको मन झन् सानो छ। पानी कुनै पनि देशका जनताका लागि आधारभूत आवश्यकता हो। यो आवश्यकताको परिपूर्ति गर्ने दायित्व सरकारको हो। तर, कुन्नि किन हो ? मेलम्चीको पानी महँगो छ। 

सरकारले कम्पनी खडा गरेर यसरी पानीको व्यापार गर्नु सर्वथा अनुचित हो। मेलम्चीका लागि सरकारले वैदेशिक ऋण, सहायता जे लिएको छ, त्यो नेपाली जनताको नाममा लिएको हो। सरकारले त्यो लगानीको प्रतिफल जनतालाई सकेसम्म निःशुल्क, त्यो सम्भव नभए सहुलियत दरमा उपलब्ध गराउनु पर्छ।

मानिसका लागि प्रकृतिको देनका रूपमा रहेको अमृतसमान पानीको समेत चर्को मूल्य तिर्नु दुर्भाग्य नै हो। कल्याणकारी राज्यको गुड्डी हाँकेर नथाक्ने नेपालका शासकमा यो चेतना कहिले आउला ?

२८ फागुन, २०७७, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।