कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको  समय

बितेका केही दिनदेखि कान्तिपुरको आकाशमा विचरण गर्ने श्रीसूर्यनारायण बिरामी परेका छन्। शहरमा लागेको निख्खर खैरो रंगको तुँवालोले उनको तेजोवध गरेको छ। श्रीसूर्यनारायणको तेजोवध हुनु शहरका लागि राम्रो संकेत होइन। अवस्था नराम्रोतिर नै बढ्दै छ।

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको बताएका छन्। तर, रमाइलो कुरा, सरकार कोरोना प्रकोपको प्रतिरोध गर्न लकडाउन नगरिने आश्वासन बाँड्दै छ दुनियाँलाई।

प्रकोप व्यापक भएको खण्डमा लकडाउन नगरी सुख पाउला त सरकारले ? हाम्रो सरकार जनताको उकुसमुकुसबाट आफ्नो श्वासप्रश्वासको धमनी चालू गर्छ। सरकार प्रमुखलाई देशको नीति, नियम र नैतिकताको कुनै मतलव र महत्त्व छैन रहेछ। ऋषि चार्वाकको जस्तो ‘जबसम्म बाँचिन्छ तबसम्म ऋण गरेर भए पनि घीउ खाऊ’ भन्ने कथन रहेछ उनको।

राज्यमा भद्रगोल छ। त्यसले के भो त ? यो भद्रगोलकोे बीचमा उनले स्थानीय पालिकाहरूलाई कनेक्ट गर्ने १ सय ६५ वटा पुलको एकमुष्ठ शिलान्यास गरे। ठूला कुराहरू जो छन् ती भद्रगोलमा पनि सुनिन्छन्।

पहिलो जनआन्दोलनको साता हो। यो समयमा त्यो आन्दोलनको पनि चर्चा गर्नुपर्ने थिए। २०४६ चैत २६ गते आन्दोलनकारीका लागि राजदरबारको ढोका खोल्न तयार भएका थिए महाराजाधिराज। त्यसपछि नै प्रजाका रूपमा रहेका नेपाली जनता भएका थिए। बालिग मताधिकार पाएका थिए। मानवअधिकारको भोग गरेका थिए। २०४६ सालपछिको नेपाल अर्कै थियो। तर, राजनीति अहिलेको जस्तै गोज्यांग्रो थियो। 

राज्य जतिसुकै भद्रगोलमा भए पनि कोरोनाका सन्दर्भमा सरकार चनाखो छ। पहिलेका स्वास्थ्यमन्त्री ओम्नी–सोम्नी कुन्नि के–केमा तानिएका थिए क्या रे। अहिले त्यस्तो नहोला। सुनिन्छ, भनसुन र लेनदेन जे हुनु छ त्यो अघिल्लो पटकका काण्डपछि प्रधानमन्त्रीको कार्यालयमा हुने गरेको छ। त्यस्तो ‘डिल’ त्यही कार्यालयको मातहत खटिएका उपप्रधानमन्त्रीले गर्छन्। उपप्रधानमन्त्री स्वयं त्यस्ता डिलडालमा लागेपछि हल्लासल्ला पनि हुँदैन। जे आउँछ त्यो माथि जान्छ। कुराकानी र छलकपट उपप्रधानमन्त्रीले मज्जाले पचाउँछन्। त्यसपछि उग्राउँछन्। 

यो सन्दर्भमा, स्वास्थ्यमन्त्रीको गहनतम जिम्मेवारी सम्हालिरहेका माननीय मन्त्री हृदयेश त्रिपाठीले भर्खरै मुख खोलेका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, भारतमा कोरोना महामारी चम्किँदैमा हामी नेपाली डराउनु पर्दैन। ‘भारतमा लकडाउन भएर के भो त ? हामी आत्तिनुपर्ने कुनै कारण छैन। हामीले स्वास्थ्य सेवाका सबै प्रोटोकलहरू मानेका छौं र आफ्नो विगतबाट सिकेर काम गर्छौं। लकडाउन हुन दिँदैनौं।’ 

ज–जसले स्वास्थ्यमन्त्री त्रिपाठीको यो कुरा सुने, ती सबैले ब्राजिलका लकडाउन विरोधी राष्ट्रपतिलाई झलझली सम्झिए। स्वास्थ्यमन्त्री त्रिपाठीले लकडाउनका बारेमा अभिव्यक्त गरेको विचारलाई परिपक्व व्यक्तित्वको अत्यन्त सुन्दर अभिव्यक्ति भन्नु पर्छ। कोभिड–१९ का बारेमा उनलाई थाहा छ, कहाँ के हुनुपर्छ, कहाँ के भइरहेको छ।

मन्त्री त्रिपाठीले भनेपछि नेपाली जनता कोरोना महामारीका बारेमा ढुक्क भएर सुते हुन्छ। उनका लागि के मधेश, के तराई। मन्त्री भए पनि, नभए पनि कोही छैन उनको पराई।

महत्त्वका दृष्टिले कुरा यहाँ उठाउने त होइन। तर, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अकण्टक चलाइरहेको निरंकुश राजमा अनेकन रमाइला देख्न पाइएका छन्। हालै यो पनि देखियो कि ‘तबला’वादनमा परीक्षा दिएर आएका संगीतका एकजना प्राध्यापक नतिजा प्रकाशित हुँदा ‘बाँसुरी’वादन परीक्षामा असफल भए छन्। यो सत्य घटना हो।

आज पत्रकार महासंघको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र हिसावले सम्पन्न भएको दिन म पत्रकारले किन ढाँट्नु र जनतालाई ? त्रिभुवन विश्वविद्यालयका लिखुरे माड्सा’बहरूले जति लुकाए पनि यो सत्य लुक्दैन। यो कोरोना आतंक जत्तिकै सत्य हो। तबलामा परीक्षा दिएर बाँसुरीमा फेल हुने प्राध्यापकको नाम यता गाथामा राखिएको छैन। मानिसको अलिकति इज्जत लुट्नेले सबै इज्जत नलुटोस् भन्ने कामना हो यो।

कति बहकिएको यो गाथा। हुन त, समय नै बहकिएको छ। प्रधानमन्त्रीले विघटन गरेको संसद्लाई प्रधानन्यायाधीशले थमौती गर्छन्। तैपनि, लोकलाज एकातिर पन्छाएर प्रधानमन्त्री भन्छन्– सक्छौं भने मलाई हटाऊ। म राजीनामा त ज्यान गए पनि दिन्न। प्रधानमन्त्रीको कुरा सुनेर कांग्रेस र माओवादी रुष्ट छन्।

प्रधानमन्त्रीको साथ लागेको जनता समाजवादी पार्टी आठवटा मन्त्रालय पाइने भयो भनेर दंग छन्। प्रधानमन्त्रीमा पहाडिया मूलका आर्यावतारबाहेक अरु हुन नहुने यो देशको के कुरा गर्नु। मधेशका ब्राह्मण आफू आर्य भएर पनि अनार्य जस्तो बसेका छन् सबै कुरा सहेर। देश यस्तै छ, जमाना यस्तै छ।

कोरोना र प्रधानमन्त्री, प्रधानमन्त्री र कोरोना। यसबाहेकका थप हाल केही छैनन् नेपालमा। ढोकाको संघारमा आइसकेको दोस्रो कोरोनाका बारेमा एउटा कुरामा चाहिँ सबै नेपाली जनताले ध्यान पुर्याउनै पर्ला कि माननीय मन्त्रीजीले जे–जसो भने पनि हामी जनताले हातमा स्यानिटाइजर दल्न छाड्नु भएन। मुखमा मास्क नलगाए सरकारले एकसय रूपैयाँ जरिवाना गर्छ भन्ने पनि बिर्सिन भएन। 

२७ चैत, २०७७, १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।