उकेरा काेलम

कान्तिपुर गाथा : हाँसोस् यो कान्तिपुर

किशोर नेपाल


कान्तिपुर हाँसोको शहर होइन।

भन्यो भने ‘भन्यो’ भन्लान्– यहाँका मानिसले हाँस्न पनि कति कन्जुसी गर्न सकेका। कि चुरोट, तमाखु, बिंडी र सूर्तिको अम्मलले दाँत पहेंलो भएर खिस्स हाँस्न अथवा खुलेर हाँस्न लाज मानेका?

पहेंला, गिजा पाकेका दाँत देखाउन लाजै लागेको हो भने पनि बजारमा हिजोआज ‘जगमगाउँदो सेतो दाँत’ बनाउने मसलायुक्त ‘दन्तमन्जन’ जताततै पाइन्छ। आत्तिनै पर्दैन। कसैलाई सोध्नै पर्दैन कति करामती छ लाल दन्तमन्जन। एउटै लाल दन्तमन्जनका सयौं उत्पादक छन्। आयुर्वेदिक औषधि बनाउने रामदेवको पतन्जलीदेखि धन्वन्तरीसम्मका जति कम्पनी छन्, तिनमा कोही छैन जसले लाल दन्तमन्जनको उत्पादन नगरोस्।

अहिले बिज्ञापनहरुमा लाल दन्तमन्जनलाई ‘हजुरआमाले तयार पार्नु भएको’ सूत्र अनुसार भनेर जति फुलबुट्टा भरे पनि हामीलाई हजुरआमाले रातो वा कालो दन्तमन्जन प्रयोग गर्न कहिल्यै सिकाउनु भएन। हजुर आमाको सूत्र अनुसार, हातमा अलिकति नून, एक चिम्टी बेसार र एकथोपा तेल भएपछि त्यही भयो ‘म्याक्लिन्स!’ दाँत दुखेको अर्को अचूक औषधि थियो– सिठुवाको मन्जन।

सोध्नु होला, के हो यो सिठुवा? पहिले बा, हजुरबा! हरु पिंढीमा बसेर तमाखु तान्थे– हुक्कामा नली लगाएर, ट्वार्र ट्वार्र। पातोमा दबाएर तमाखु भरिन्थ्यो चिलिममा। तापक्रम पुगेपछि तमाखु तान्यो र मस्ती लियो। मल्लो भएपछि चिलिम घोप्ट्यायो। पातोमा भरिएको तमाखु सिठुवा बनेको हुन्थ्यो। त्यही सिठुवालाई धुलो पारेर पिसेपछि खासाको मन्जन बन्थ्यो। दाँत दुखेको अचूक दवाई। हिजोआज केटाकेटीहरु पनि हुक्का तान्ने रहर गर्छन्। तर, उनीहरुको हुक्कामा तमाखुको गन्ध भेटिन्न। सिठुवा बन्दैन।

यसपाला गाथाको प्रारम्भ यस्तै भयो। पल्लो, उपल्लो सालको गाउँको सम्झना कसैलाई छ भने उसका लागि यो प्रारम्भ रमाइलै होला। रमाइलो नभए पनि मलाई कुनै खेद छैन। गाथा हो, कहिले मार्मिक हुन्छ, कहिले कारुणिक। कहिले भारतीय कवि काका हाथरसीका हिन्दी कविता जस्तो चटकदार हुन्छ, कहिले गोठ बसेर आएकी भाउजुले पकाएको सखर वा खुदो नहालेको खिरजस्तो खल्लो।

गाथाकारको चाहना थियो– यो पटक गाथामा ममको बखान गरुँ। बफ मम, चिकन मम, भाले मम, पोथी मम, ओपन मम, कोदो मम, फापर मम, एभरेष्ट मम, घ्यू मम, शानदार मम, मांसगल्ली मम, शुध्द खसीको मम।

तर, कान्तिपुरमा कोरोनाको दोस्रो झमट सुरु भइसकेको अवस्थामा विभिन्न ममको वर्णन गर्ने र उनीहरुको आँत खरो पार्ने गाथाकारको इच्छाले पखेटा हालेन। जनताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने, हताहती बढाउने र देशमा भर्खरै छाएको राष्ट्रिय मुस्कानको अर्थशास्त्र घटाउने काम गर्न पटक्कै जाँगर चलेन। त्यसपछि गाथाकार दाँतमा लागेको हो।

गाथाकारका दाँत साबुत छैनन्। कसैले बंगारा भाँच्ने साहस गरेर साबुत नभएका होइनन्। बडा कडा किसिमका किरा लागेछन् दाँतमा। दन्त चिकित्सकले खुब आरसिटी गर्नुभयो। मेरा तलका तीन र माथिका तीन गरी आधा दर्जन दाँत आरसिटी गर्दागर्दै सकिएछन्।

एक दिन बिहान एकातिरको बंगारो पुक्लुक्क निक्लियो। त्यसपछि मैले मेरा दन्त चिकित्सकलाई खबर गरें। उहाँले भन्नुभयो– तपाईंको मक्किएको बंगारो पुक्लुक्क निक्लियो, राम्रै भयो।

कान्तिपुर शहरमा आफना दुश्मनको दाँत भाँचिदिने धम्की खुब दिइन्छ। तर कसैले दाँत भाँचिदिएको उजुरी लिएर पुलिस थानामा पुगेका व्यक्तिहरुको संख्या बढी छैन। कसैले कसैको दाँत साँचासाँची भाँच्नु भनेको मानिसको प्रतिष्ठाकै विनास हो। यस्तो कुरा कसैले कसैलाई सुनाउने कुरा आएन। आफनो दाँतसम्म बचाउन नसक्ने मानिसले के नै गर्ला र जीवनमा! मानिसको खिसी–ट्युरीबाट जोगिन पनि कसैले आफनो दाँत भाँचिएको कुरा आफ्नी धर्मपत्नीलाई पनि सुनाउँदैन। धर्मपत्नीले नै गिल्ला गरिन् भने?

उपयोग गर्न जान्यो भने ‘निर्बलका बल राम’ हो दाँत। आफूलाई लतार्न आउने कसैलाई पनि मज्जासित टोकिदिनुहोस्, ऊ भागिहाल्छ। यसरी टोक्दा पहिले गालामा म्वाईं खाएको अभिनय गरेर किचिक्क टोकेर रगतपच्छे बनाइदिएपछि जतिसुकै पहलमान भए पनि भागाभाग भइहाल्छ।

मानिसले मानिसलाई टोक्नु र कुकुरले मानिसलाई टोक्नु उस्ताउस्तै नहोला। अचेल मानिसले मानिसलाई टोक्नु खतरनाक हुन थालेको छ। अहिलेको यो कोरोनाकालमा मानिसले मानिससँग टाढा बस्नुपर्छ। अंग्रेजीमा भनेको छ नि– मेन्टेन द क्लोज सोसल डिस्ट्यान्स। मास्क नलगाएका मानिससँग मस्की–मस्की कुरा नगर्न कोरोना कालको अर्को शिक्षा हो। यसको पालना गरौं। भ्याक्सिन पाएसम्म लगाउँ। नपाए बेसार–पानी खान नछाडौं।

कान्तिपुर साँच्चै हाँसोको शहर होइन। एक्काइसौं शताब्दीको बीसौं सुनौला वर्ष बितिसक्दा पनि हामीले न आफूमाथि कठोर व्यंग्य गर्न जान्यौं, न पूर्खाको सिर्जनामा दिल खोलेर हाँस्न जान्यौं। अलिअलि हाँस्न प्रेरणा दिनेहरुमा कि रविन छ कि अविन। यी दुई महान हस्तीको अभावमा हाम्रो यो व्यंग्यकला बाँदरको पुच्छर जस्तो हुन्थ्यो होला। हामीले हाँस्न आफैं सिक्न र जान्न पर्ने हो।

गाथाकारको कुरा गर्नुहुन्छ भने गाथाकार त कुनै ऐतिहासिक मन्दिरको टुँडालमा खोपिएका चित्र देख्ने बित्तिकै हाँसो र रोमान्चले लोटपोट हुन्छ। कति कल्पनाशील थिए हाम्रा पूूर्खा। हामी कतैका रहेनौं। न पुंगतिरका रह्यौं न पुच्छरतिरका। आजसम्म हामीले पुंग र पुच्छर नभएको गुमनाम जीवन बितायौं।

ल, मन्दिरका टुँडाल हेरेर हामीले हाँस्न जानेनौं त जानेनौं। कमसेकम भारतीय सिनेमाका बेताज बादशाह मानिने जोनिवाकर, धूमल, मेहमूद, मुकरी, मोहनचोटी, असरानी लगायतका ज्ञात–अज्ञात हास्य अभिनेताहरुको अभिनय हेरेर पनि त हाँस्न सिक्नपर्ने हो हामीले। तर, अहँ हामीमा जाँगर नै छैन।

बरु, यता आएर देशको राजनीतिमा आएको नाटकीय मोड देखेर जनता मुस्कुराउन थालेका छन्। नेताहरु नाटक हो कि नौटंकीमा अल्झिएर अभिनेताहरुलाई फेल ख्वाउन थालेपछि जनताले पहिलो पल्ट राजनीतिक परिहासमा अट्टहास गरे। यो सुवर्ण मौका थियो, जनता हाँसेको हेर्ने।

राजनीतिज्ञहरु हास्य अभिनयमा आउनु उनीहरुको बाध्यता नै होला जस्तो लाग्छ। हास्य कलाकारहरु क्रिकेट स्टेडियम बनाउन, बस्ती बसाउन, अस्पताल चलाउन लागेपछि कम्युनिष्ट पार्टीका नेताहरु के गरुन्?

उता, विश्व बैंकले नेपालका जनताको खुशी हुने औकात बढेको रिपोर्ट लेखिसक्यो, यता जनता रुन्चे अनुहार लगाएर ट्वाँ परेर आकाशतिर हेर्दैछ। अनि, नेताहरु आफैं जगहँसाइ गर्न निस्किए। कत्रो सुझबुझ नेताहरुको। नेताहरु देखेर जनताले पनि मल, बिउ, पानी, बिजुली, खेती बिर्सियो। त्यसपछि ऊ पनि मरीमरी हाँस्न थाल्यो। भोलि हुने के हो र? अभावै हुने त हो नि।

साँचो कुरा कि देशमा अभाव छ हाँसोको। भारतीयहरु प्रधानमन्त्री मोदीको भाषण सुनेर रमाउँछन्। जोशिन्छन्। हाम्रा नेता त हँसाउन पनि जान्दैनन ए गाँठे!

कोरोनाको दोस्रो लहरमा, दिदीबहिनी तथा दाजुभाइ, हामी खुब रमाएर बाँचौं। कान्तिपुर शहरमा हाँसोको लहर ल्याऔं। कहिल्यै नहाँस्ने, हाँसे पनि कुच्चिएको तसला जस्तो किचिक्क परेर नहाँसौं। हाँस्नै छ भने दिल खोलेर हाँसौं।

कान्तिपुरलाई हाँसो र उमंगको शहर बनाऔं!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....