कान्तिपुर गाथा : यहाँ कल क्या हो किसने जाना !

कान्तिपुर गाथा : यहाँ कल क्या हो किसने जाना !

कान्तिपुर शहर कोभिड-१९ को सम्भावित संक्रमणले त्यति चिन्तित देखिँदैन। यो शहरले भुईंचालो सहेको छ, भूखमरी सहेको छ भने कोभिडको संक्रमण दोहोरिएला भनेर किन डराउनु?

कान्तिपुरबासी जनता जीवनका सुख-सुविधा सबै आज-भोलिमा नै भोग्ने र सिध्याउने चटारोमा देखिन्छन्। हुन पनि हो। हिजो जे भयो त्यसको आशंका कसलाई थियो र? आज जे भइरहेको छ, त्यो पनि भइरहेको छ। हुने-हुनामी कसैले टार्न सक्दैन। ‘यहाँ कल क्या हो किसने जाना!’

पहिलो पटक कोभिड-१९ सँग सम्बन्धित सूचना प्रवाहले आतंकित पार्दा पनि शहरका मानिस सामान्य देखिन्थे। मुखमा मास्क र हातमा स्यानिटाइजर। साथी-भाइसँग कायम राखिएको दूरी त लौ ठिकै थियो भनौं। तर प्रेयसीसँगको दूरीका बारेमा युवा मनहरुमा कति हलचल मच्चियो होला?

त्यतिखेर मानिसले हात मिलाएर मित्रता जताउन छाडेका थिए। हात मिलाउने चलन ओरालो लागेको छ। नमस्कारको चलन बढ्दो छ र अहिले पनि नमस्कारको क्रम जारी छ। बन्द भएको बिहानको ‘सामूहिक चियापान’ र ‘साँझको रमझम’ चाहिँ खुलिसक्यो।

पहिलो लकडाउनका बेला शहरको बिजोग थियो। अहिले फेरि लकडाउन भयो भने उही अवस्था दोहोरिने हो कान्तिपुरमा। कान्तिपुर साना मानिसको शहर हो। यहाँका ठूला मानिसहरुको व्यापार–व्यवसायको उन्नतिका लागि शारीरिक श्रम खर्च गरेर बाँचेका छन् असंख्य साना मान्छे। पैंतीस–चालीस वर्षअघि खेलकुदको नेतृत्व गर्ने शरदचन्द्र शाहले कान्तिपुरलाई चाँदीको कचौरा र यहाँका बासिन्दालाई कमिलासँग तुलना गरेका थिए।

हुन पनि, कान्तिपुरमा जति चमक-दमक छ, त्यसको तुलनामा यहाँका मानिस सोझा कमिला जस्ता छन्। नचिल्ने काला कमिला। साना भलाद्मी घ्यू-कमिला। कचौरा बेलाबेलामा सिलौटामा, धारामा, चुल्होमा ठोकिन्छ। त्यो ठोक्काइबाट कहिले कानै टट्याउने कोलाहल निस्किन्छ भने कहिले भने त्यही आवाज मधुर लाग्नसक्छ। मानिस हो र उसको मुड हो। कचौरा ठोक्किए पनि शहर शान्त छ। ‘यहाँ कल क्या हो किसने जाना!’

बुधबारदेखि नै शहरमा लकडाउनको हल्ला चलेको छ। भारतका पन्जाब, महाराष्ट्र, दिल्ली लगायतका कतिपय राज्यमा कोरोना संक्रमण दोहोरिएपछि त्यहाँका सरकार सजग भएका छन्। भारतमा कोरोना कहर बढेपछि त्यसको प्रभाव नेपालमा पर्नु स्वाभाविक हो।

नेपाल-भारतका सीमावर्ती नाकाहरुमा मानिसको आवत-जावत नियन्त्रित गर्ने कोशिस भइरहेको छ। सरकारका समाचारपत्रले छापेका समाचार र वास्तविकता अवस्थामा के अन्तर छ? भन्न सकिँदैन। किनभने, कान्तिपुरमा कहिले हल्लाले सरकारलाई पछ्याउँछ र कहिले सरकार हल्लाको पछि दौडिन्छ। बितेका सत्तरी-पचहत्तर वर्षमा नेपालको कायापलट भइसकेको छ। तर हल्ला सरकारको पछि दौडिने र सरकार हल्लाको पछि दौडिने चलन यथावत् छ। धन्य परमेश्वरी!

कान्तिपुर तमासाको शहर हो। यहाँ तमासा देखाउने र तमासा हेर्ने दुवैको संख्या बरोबर होला। पहिलेपहिले दर्दशान्ति तेल, नूरानी तेल, लावण्यवती केश काला तेलका चटके व्यापारीहरु टुँडिखेलमा तमासा देखाउँथे। तमासा हेर्न मानिसहरु जम्मा गर्न उनीहरु डमरु बजाउँथे, डिमडिम, डिम, डिमडिम।

मानिसहरु जम्मा भइसकेपछि उनीहरु तासको जादूका एक-दुई आइटम देखाउँथे। मानिसको ध्यान पूरै तानिएपछि आफूले बेच्ने तेलको गुण बताउँथे। दर्दशान्ति तेलले घुँडा र जोर्नीहरुको दर्द शान्त गर्दथ्यो। यो ‘आफ्नै देशमा बनेको’ एक नम्बरको तेल थियो।

अर्को नूरानी तेलले नशा खुम्चिएको, थिचिएको, च्यापिएको, नशा सम्बन्धी सबै प्रकारका पुराना रोगहरु सफाचट गरिदिन्थ्यो। र, अर्को लावण्यवती केश काला तेलले कपाल छोटा हुने महिलाको चिन्ता दूर गर्दथ्यो। कपाललाई सेतो हुनबाट रोक्दथ्यो। लावण्यबती तेल लगाएपछि कपाल यति लामो हुन्थ्यो कि त्यसले महिलाको कुर्कुच्चासम्म छुन्थ्यो। मार्केटिङको यो प्रभावकारी उपाय थियो कान्तिपुर शहरमा।

अहिले खुलामञ्च पूरै ‘अक्कुपाइ’ छ महानगरपालिकाबाट। यसको आधा भागमा बसपार्क छ- रत्नपार्कंबाट गौशाला, चाबहिल, चुच्चेपाटी, बौद्ध। बाँसबारीबाट रत्नपार्क। दर्जनौं ठेगाना। बसमा सफाइको व्यवस्था छैन। यो बसपार्क र यसको उपयोगितालाई बिर्सेर मानिसहरु महानगरपालिकालाई एउटा बसपार्कसम्म व्यवस्थित गर्न नसकेको भनेर गाली गर्छन्।

अहिले कुन्नि कसरी हो, महानगरपालिकाले मानिसको गुनासो सुन्न थालेको छ। अब छिट्टै खुलामञ्च पूरै खुला हुनेछ। नेताहरुले त्यही खुलामञ्चमा उभिएर भाषण गर्नेछन्। त्यसो भयो भने, गाथाकार पनि एकदिन त्यहाँ पुगेर डमरु बजाउने छ। मानिस जम्मा गर्नेछ र सोध्नेछ- टुँडिखेलको खरीको बोट कहाँ थियो? कसैलाई थाहा छ? अहिले पनि धेरै होलान् जसको नजरमा चढेको होला खरीको बोट। खरीको बोटको निकै सम्मान गरिएको थियो। त्यहाँको चौतारो सिंगमरमरले बनेको थियो।

कुरा लकडाउनको हुँदै थियो- पहिलो लकडाउनको। लकडाउन भनेपछि कोरोना भाइरस। कुरा दोस्रो लकडाउनको छ। सरकारले कुनै पनि बेला दोस्रो लकडाउनको घोषणा गर्न सक्छ। किनभने, अवस्था भयावह छ।

नेपाल सरकारले भारत सरकारको सौजन्यमा आएको कोरोना विरुद्धको सुई नेपाली जनतालाई लगाइसकेको छ। उपहारमा आएको दश लाख डोज सुई सकिएपछि अहिले सुई लगाउने अभियान रोकिएको छ। यद्यपि, चीन सरकारले नेपाल सरकारलाई सौजन्यमा दिएर उतै थन्किएको आठ लाख डोज सुई लिन नेपाल एयरलाइन्सको विमान आइतबार बेइजिङ पुगिसकेको छ। अहिले आउन लागेको चिनियाँ सुईले अलिकति शंका पनि उब्जाएको छ। भारतीय सुई लगाएपछि त्यसैमा खप्टिएर चिनियाँ सुई लगाउन हुने हो कि होइन?

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका कोरोना प्रवक्ता जागेश्वर गौतमले छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेकोले (आफ्नो देशमा) भीडभाड हुने कार्य नगर्न अनुरोध गरेका छन्। उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न आग्रह गरेका छन्।

यी माथि उल्लेख भएका कार्य सर्वसाधारणले भन्दा पनि असाधारण वर्गका मानिसहरुबाट हुने गरेको छ।

बितेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भन्दा बढी भीड कसले जुटायो होला र? अहिले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई छिन्नभिन्न बनाइसकेको छ र पनि नेताहरुको नामको वरिपरि भीड लाग्न छाडेको छैन। यो अवस्थामा स्वास्थ्य मन्त्रालयका प्रवक्ताको वक्तव्यको के औकात रह्यो त?

हो, यहाँ कल क्या हो किसने जाना? कसैलाई थाहा छैन। मानिस चाहिँ भन्दैछन्- आए आओस् कोरोना। हामी त पसल बन्द गर्नेवाला छैनौं। यहाँ कल क्या हो किसने जाना।

१३ चैत, २०७७, १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।