देशको कथाको पुनर्कथन

देशको कथाको पुनर्कथन

अहिलेको समय कोरोना-कोलाहल पछिको समय हो। कोरोनाको धङधङी अहिले पनि जारी छ। आज बिहान एउटा सेमिनारमा अर्थविद्हरुले हाम्रो अवस्थालाई बर्बाद तुल्याउन कोरोनाको हात रहेको चर्चा गरे। अब अर्थतन्त्रमा सुधार आउँछ- उनीहरुको भनाइ थियो। कसरी भने, कोरोनाको भ्याक्सिन किन्नुपर्ने छैन।

कसले भन्छ, विद्हरुलाई यस्तो कुरा? के अब कोरोनाको खतरा टरेकै हो त? संसारमा कसैले गर्न नसकेको अनुमान नेपालमा गरिन्छ। यो पटकको मेरो यो कान्तिपुर गाथा पुरानै श्रृंखलाको पुन:निर्माण मात्रै हो। देशको बाहिरी साजसज्जा र श्रृंगारमा परिवर्तन आएको छ। तर मौलिक अवतार सिन्को जति पनि बदलिएको छैन।  

हाम्रो देशको कथा यस्तो छ- यो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबध्दता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरुको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ नमानिएला। यी शब्दहरु, त्यसै पनि, इतिहासको कुनै चरणमा शोभायमान देखिएनन्। नेपाली समाजले भीम मल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो, भाइ-भारदारलाई चिन्यो। तर देशका लागि ज्यानको आहुति दिने अरु कसैलाई चिन्दै चिनेन। 

मल्ल राजाका भारदार थिए भीम मल्ल। त्यतिबेला तिब्बतको आर्थिक र व्यापारिक सम्प्रभुता कान्तिपुरको हातमा थियो। कान्तिपुरका जनता ‘भोटे नुन’ खान्थे। तिब्बतीहरु नेपाली चामल। सालबसाली उठतीपुठतीमा गएका भीम मल्ल तिब्बतबाट फर्किनासाथ दरबारको ढोकैमा काटिए। उनको अपराध के थियो? कसैले थाहा पाएन। अपराध थियो भने पनि त्यसका प्रमाण-प्रमेय थिएनन्। सबै अनुमानको कुरा हो। 

नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ। हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थे- नेपाली इतिहासका स्रोतहरु सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन्। भीम मल्ललाई जनताले आज पनि शानका साथ सम्झिन्छन्। भीमसेन थापाको इतिहास पनि विवादास्पद छ। उनको ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन। अमरसिंहको कद उनको भन्दा धेरै अग्लो थियो। यो सत्य हो। 

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जस दिने कुरा लगभग सल्टिइसकेको छ। पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन्। नेत्रबिक्रम चन्दले पनि अब त्यो काम नगर्लान्।

नेपाल राष्ट्रको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारहरुको भद्रगोल खुब चल्यो। जो-जो बलिया भए ती सबैले आ-आफनो ‘इतिहास’ लेखाए। भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत विविध थर र एकै वर्गका व्यक्तिहरु। यी त केही उल्लेखनीय उदाहरण मात्रै हुन्।

नेपालको इतिहासको आकार देशको वास्तविक आकारभन्दा कैयौं गुना अग्लो र लामो छ। यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र। जतिबेला माओवादी लडाईंमा थिए त्यतिबेला ती रनबन घुम्थे। देशमा पाइने अपार जरिबुटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्थे। नेपालगन्जमा सीमित जरिबुटीको व्यापारलाई देशव्यापी प्रचारमा ल्याएका हुन् माओवादीले। यो कुरालाई मान्नै पर्छ।

राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन्। उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन्।

देशमा राजनीतिक, आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन। तर वार्ता भएको छैन। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि देशका समस्याहरुमाथि छलफल गर्ने चलन ह्वात्तै बढेको थियो। त्यो सँगै बढेको थियो आसन ग्रहणको चलन। 

व्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै मञ्चमा आसन ग्रहणका लागि पुगे। सभाकक्षमा भाषण सुन्ने कोही भएन। सभाकक्ष आमन्त्रित व्यक्तित्वका चालकहरु, सुरक्षाकर्मीहरु र निजी सचिवहरुले ‘भरिएको’ थियो। मञ्चमा जो बिराजमान थिए ती आपसमा मस्त थिए। एकअर्कासँग तीन तेह्रको सम्बन्ध नहुनेहरु पनि एक आपसमा ‘भलाकुसारी’ गर्दै थिए। यो थियो शहरी सभ्यताको विस्तार।

त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने!

त्यतिबेलाका सभामा, स्वाभाविक थियो, शहीदहरुको सम्मानमा एक मिनेटको मौन धारणपछि अर्को एक मिनेट बिपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुवैको वर्षा हुन्थ्यो। ‘भलाद्मी’ राजा वीरेन्द्रको लोकप्रिय व्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो- उनको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्थ्यो। त्यसको प्रमाण स्वरुप कान्तिपुरका सम्भ्रान्त बैठकहरुमा कथाको एक अंश सुनाइन्थ्यो- देशका बुध्दिजीवीहरु सहभागी भएको एउटा महत्वपूर्ण सभामा कसरी राजा वीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ शब्दले संवोधन नगरेर ‘श्रीमती’ शब्दले सम्बोधन गरेका थिए। त्यसै दिनदेखि राजा वीरेन्द्रका विरुध्द पुराना र घरानियाहरुले षडयन्त्र सुरु गरेको कथा शहरका सम्भ्रान्त बैठकहरुमा दोहोरिन, तेहेरिन थालेको थियो। 

त्यसपछि, स्वाभाविक थियो, कान्तिपुर शहरमा वीर गणेशमानको चर्चा हुन्थ्यो। प्रजातन्त्रको पुनर्स्थापनापछि गणेशमानजीलाई ‘वीर’ त के, ‘अकिञ्चन’ नागरिकका रुपमा पनि शान्तिसँग रहन दिइएको थिएन। उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो। तर के उहाँलाई साँच्चै सर्वोच्च रहन दिइयो त? यसको जवाफ इतिहासले खोज्दै गर्ला। 

यस्ता सभाहरुमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्त दिंदै राजनीतिमा इमान-जमानको सम्झना गरेको पनि सुनिन्थ्यो कतै-कतै। त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुंगो हुन थालेपछि विस्मृतिको गर्भमा लोप भयो। किशुनजी पनि राजनीतिबाट लगभग लोप हुनुभयो। उहाँको छाता-सुराहीको प्रजाति हरायो।

प्रजातन्त्र पुनर्स्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन-मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए। पुनर्स्थापित संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो। यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमत ल्याएर जित्यो।

प्रजातन्त्र पुनर्स्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनर्स्थापनापछि, अभिमानभन्दा पनि हलक्क बढेको थियो घमण्ड। अभिमान र घमण्ड एकै अर्थ दिने शब्द होइनन्। अभिमानी हुनु र घमण्डी हुनुका भेदहरु थुप्रै छन्।

प्रजातन्त्र पुनर्स्थापनापछि, पहिलो चुनावी मौसममा, आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रुपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो। चुनावकै प्रसंगमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’ सँग गर्दै पत्रकार रघु पन्तले आफ्नो स्तम्भ लेखेका थिए। धन्य हो कि पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र ओली गुट भनेर चिनिने एमालेमा छन्।

उतिबेला सभामा कांग्रेस-कम्युनिष्टको बोक्रे मित्रता देख्न पाइन्थ्यो। कांग्रेसहरु कम्युनिष्टहरुलाई दुई हात जोडेर ‘नमस्कार’ गर्थे। कम्युनिष्टहरु मुड्की उजाएर ‘सलाम’ फर्काउँथे। यतिबेला चाहिँ देशका कम्युनिष्ट कार्यकर्ताहरु मुड्की उजाएर कांग्रेसलाई नमस्कार गर्न होइन, डडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन्। 

दुई वटा पूरा र एउटा मध्यावधि चुनावपछि पुनर्स्थापित प्रजातन्त्रले बिश्राम लियो। जनतालाई सन्तुष्टि दिन सकेन। राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र राजा भए। उनी राजा ज्ञानेन्द्रका रुपमा भन्दा पनि पारस शाहका पिताका रुपमा बढी चिनिए। राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे। उनका चाकरीदारहरुले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो, ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसुस गरिबक्सियो।’ अप्ठेरो महसुस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सिएको थियो त? यो प्रश्नको जवाफ ती कीर्तिकारहरु कसैसँग पनि छैन होला।

राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन्। उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन्। राजाहरु ती बेलायतका हुन् कि नेपालका, धनी हुन कि गरिब, मुर्ख हुन कि बुध्दिमान, अलिकति सन्की-सन्की नै हुन्छन्। बेलायतकी महारानीका छोरा युवराज चार्ल्स नै बुढा भैसके, नाति र पनाति समेत रोलक्रममा आइसके। तैपनि, महारानी गद्दी छोड्दिनन्। के यो सन्कीपना होइन त? 

गणतान्त्रिक राष्ट्रका रुपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए। मल्लकालीन नेपालमा भारदारहरुको बृत्तको विस्तार भएको थियो नेपालको शासन-प्रशासनमा। पृथ्वीनारायणका आफ्ना मानिस थिएनन्। मल्ल राजाहरुको पतनपछि अलमल्ल परेका भारदारहरु शरणार्थीका रुपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे। मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो। यसैको बिंडो थामेर, शाह राजतन्त्रलाई गणतान्त्रिक शासन व्यवस्थाले निरन्तरता दिएको छ अहिले।  

अहिले एकथरी वामपन्थीहरु रन्थनिएका छन् नेपालमा एमसीसीको उपस्थितिले। शीतयुध्दकालमा युरोप, अमेरिकाका मानिसहरु जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे। उनीहरुलाई यो थाहा छैन, एमसिसी चीनकै बाटो आउँछ। आज नआए भोलि आउँछ।

गिरिजा, प्रचण्ड र परिवर्तनका अन्य महत्वपूर्ण नेताहरुले एउटा संविधानसम्म पनि लेख्न सकेनन्। संविधान सभाको पहिलो कार्यकालमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो प्रधानमन्त्री भए। त्यतिबेला, ‘बाई हुक्स एण्ड क्रुक्स’ बाबुराम प्रधानमन्त्री नभएको भए फेरि कहिल्यै हुने थिएन। 

यही क्रममा पहिलो संविधान सभा टुंगियो। दोस्रो संविधान सभाका लागि परिवर्तनका नेताहरुले सर्वोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए। त्यसपछि रेग्मीले जुन चुनाव गराए त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो। 

तैपनि, संविधान बन्यो। संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लागेन। नेताहरु कुनै पनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस भनेर सतर्क थिए।

नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरुले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भयो। 

अहिले जमाना बदलिएको छ। दस वर्ष लगाएर बडो कष्टका साथ ठसठसी कनी-कनी लेखिएको थियो संविधान। भारतका हालका विदेशमन्त्री जयशंकर प्रसादले डौं आएर थर्काउँदा पनि हामी थर्किएनौं भनेर नेपाली नेताहरु आफ्नो गुनगान अझै गाउँदैछन्। उता जनता भने नेपालको संविधान ‘सक्रिय निष्क्रियताको बाटोमा लागेको’ अनुभव गर्न थालेका छन्। किनभने, देशमा द्वन्द्व कायम नै छ। 

संविधानले एकै झमटमा गाउँका-गाउँलाई नगरपालिका बनाएको छ। तर मानिसका सामान्य आवश्यकताको पहिचान गर्ने चेष्टा गरेको छैन। समावेशी शब्दको अर्थ र तात्पर्य दुवैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा। जनयुध्दमा ‘सत्र हजार जनता’ मारिएकोमा माओवादीको सत्तो-सराप गर्नेहरु शाही सेनाबाट मारिएका जनताको हिसाब-किताब गर्न उत्सुक देखिँदैनन। जनयुध्दका समयमा भेरी, कर्णाली, तिला र पूर्व-पश्चिमका अरु नदीहरुको भेलमा कतिलाई जबर्जस्ती हेलिएको थियो? त्यो न माओवादीलाई थाहा छ, न कसैले सुनेकै आधारमा भए पनि त्यसको अभिलेख राखेको छ। 

कुनै बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेपालमा गणतन्त्र आउनु भनेको गोरुगाडा चढेर अमेरिका पुग्ने भने जस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएको छ। उखान टुक्का र कथा-कहानीमा रुचि राख्ने चाखलाग्दो व्यक्तित्व छ ओलीको। उनको नेतृत्वमा अहिले नेपालले विदेश नीतिका आफ्ना प्राथमिकता बदलेको छ। भारतसँगको खुला सिमाना बन्द गरेर चीनसँग सीमा खुला गर्नुपर्ने विचार जागृत हुँदैछन्। 

उसो त, चीनसँग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेको छ। चीन चिढिएला भनेर राजाहरु समेत सतर्क रहन्थे। नेपालको सरकारले तिब्बत चीनमा गाभिँदा पनि केही बोलेन। सन् १९८९ मा चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको माग गर्दै बेइजिङको तियानमेन स्क्वायरमा ‘चार जुनको आन्दोलन गर्ने’ युवा विद्यार्थीहरुको दमन र हत्याका समाचार नेपालका भारदार वर्गले पढेकै छैन जस्तो पो छ!

अहिले एकथरी वामपन्थीहरु रन्थनिएका छन् नेपालमा एमसीसीको उपस्थितिले। शीतयुध्दकालमा युरोप, अमेरिकाका मानिसहरु जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे। उनीहरुलाई यो थाहा छैन, एमसिसी चीनकै बाटो आउँछ। आज नआए भोलि आउँछ। चीनसँग मुठभेड नगरेर उसलाई आर्थिक विकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले। उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले। यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन् १९७२ मा। 

हामीले जानेका छौं गफ गर्न। हाम्रा सरकारहरुले जानेका छन् छड्के हान्न। आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय गराएर विरोधीको मान-मर्दन गर्न। जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ। चुच्चे नक्सा लिएर जमिनमा दावी गर्न त सरकार नै पुगेको छैन। विचरा हामी जनता!

कम्युनिष्टहरुका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ। सोभियत संघसँगको सीमा युध्दले माओ उद्विग्न बनेका थिए। त्यही रन्कोमा उनले अमेरिकासँग मित्रताको हात बढाएका थिए। 

माओत्से तुङमा व्यवहारवाद प्रचुर मात्रामा थियो। उनको राजनीति र कूटनीति, नैतिक र सैद्धान्तिक आधारमा होइन, तत्कालिक परिस्थितिका आधारमा निर्भर हुन्थ्यो। उनी भन्थे, ‘थोरै क्रान्ति, आवश्यकताका आधारमा धेरै कूटनीति।’ माओको यो नीतिको अबलम्वन चीनमा जारी छ। नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेका छन्। यो सत्य हो, बितेको पचास वर्षमा आर्थिक विकासमा चीनले फराकिलो छलाङ मारेको छ। चीनका जनताले अनेकौं दुःख-कष्ट सहेर अदम्य साहसका साथ विकास गरेका छन्। 

यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरुको ‘मौलिक’ चरित्रसँग अनभिज्ञ छ। त्यो मामिलामा चिनियाँहरु माहिर छन्। चीनका नेताहरुले नेपाली नेताहरुको नाडी छामिसकेका छन्। नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन्। त्यसबाट आकर्षित भएका छन्। त्यसैले, चीनका नेताहरु पूर्वराजदूतहरुलाई बेला-बेलामा भाषण गर्न नेपाल पठाएर नेपाली जनतालाई उनीहरुको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन्। 

हामीले जानेका छौं गफ गर्न। हाम्रा सरकारहरुले जानेका छन् छड्के हान्न। आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय गराएर विरोधीको मान-मर्दन गर्न। जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ। चुच्चे नक्सा लिएर जमिनमा दावी गर्न त सरकार नै पुगेको छैन। विचरा हामी जनता!

कान्तिपुरका रैथाने, पुरानिया र घरानिया भारदारहरुले काउकुती लगाइदिएर सरकारलाई प्रसन्न तुल्याएका छन्। हामी नेपाली सारमा सबै कुरा बुझ्छौं- जस्तो गीतासार। श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको चुरो जम्मा आठ पंक्तिमा। 

एकताका शहरका पुस्तक पसलहरुमा एउटा पोस्टर पाइन्थ्यो- कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन्? आजकाल त्यस्तो पोस्टर कसैले बेच्दैन। किनभने, अहिले देशको अवस्था र नर्कको अवस्थाका बीच कुनै भेद छैन। नर्क पनि यो भन्दा खराब त के होला र? 

१८ असार, २०७९, ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।