कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

अनौठो छ कान्तिपुरको मानव समाज। यहाँका मानिसले जति जाने पनि, जति सुने पनि, जति देखे पनि, जति पढे पनि पूर्णता पाएको हुँदैन। मन्जुश्रीको खड्ग प्रहारपछि मानिसका लागि बस्न लायक बस्ती बनेको यो उपत्यकामा मानिस अवोध जन्मिन्छ र अवोध नै बाँचेर मर्छ एक दिन।

भन्छन्, आमाको गर्भबाट बाहिर निस्किने बित्तिकै आगामी जीवनका अनेक र अतिरिक्त भारहरुले बच्चालाई थिच्न थालिहाल्छन्। बच्चा जन्मेको छैठौं दिनमा उसको निधारमा कुनै अदृश्य भावीले भाग्यको रेखा कोर्छ भन्ने विश्वास फैलाइएको छ।

अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ। भारतीय समाजमा त यो बिश्वास नेपालमा भन्दा पनि बढी छ।

तर, कान्तिपुरमा नवजात शिशुको ललाटमा भावीले लेख्ने विश्वास यति धेरै छ कि हुने-खाने मानिसहरु छैटीको दिन सुन-चाँदीको कलम पनि बच्चासँगै राखी दिन्छन्। भावीले सुन-चाँदीको कलमले बच्चाको भाग्य लेखिदिए भने त हुनु भइहाल्यो।

भावीले सुन-चाँदीको कलमले भाग्यरेखा कोरे पनि बच्चा अलिकति बढेपछि, अलिकति हुर्किएपछि, अलिकति पढेपछि उसको मस्तिष्कमा समस्याहरु सल्बलाउन थाल्छन्।

कान्तिपुरमा तरकारी र फोहोरको मात्र समस्या छैन। कान्तिपुरमा अस्पताल र महामारीको मात्रै समस्या छैन। सार्वजनिक शौचालयको अभाव त कुनै समस्या नै होइन। समस्या भए अहिलेसम्म कसरी गुजारा गरे त जनताले?

शहरमा शिक्षाको समस्या छ। अहिलेका मानिसले आफ्नो प्रारम्भिक कर्तव्य केटाकेटीको शिक्षा हो भन्ने गरेका छन्। तर कान्तिपुर शहर निवासीका सन्तानले अंग्रेजी र नेपाली भाषाका पुस्तकहरु फररर पढेर पनि शिक्षित हुन सकेका छैनन्। अशिक्षाको गरुंगो भारले कान्तिपुरको समाजलाई थिच्दै लगेको छ। जुन शिक्षा दिने गरिएको छ त्यो उद्देश्यहीन छ। यो उद्देश्यहीन शिक्षाको असफलताले तन्नेरीहरु निसासिन थालेका छन्।

असफलताहरुको भीडले मानिसको जीवन घेर्न थालेको छ। राम्ररी हुर्किएर पूरा युवक हुन नपाउँदै मानिस गनगन गर्न थाल्छ। उसले गाउने गीतका शब्दहरु कि अवोधगम्य हुन थाल्छन् कि उत्ताउलो। 

कान्तिपुरमा बाँच्नु, सजिलोसँग बाँच्नु, सुविधासम्पन्न ढंगले बाँच्नु भनेको मानिसको कल्पनामा मात्र रहन्छ- कुनै सिनेमाको नाटकीय दृश्यलाई झलक्क हेरेजस्तो। मानिस जसोतसो शहरको भीडमा ठेलमठेल गरेर बाँच्छ। एकअर्काको पसिनाको दुर्गन्धमा मानिस चुर्लुम्म डुबेको हुन्छ। 
पहिलेको समयमा यो कान्तिपुर शहरका मानिस दाल-भात-डुकुको दैनिक आहारा सजिलोसँग पाइयोस् भन्ने कल्पनामा डुबेका हुन्थे।

अहिलेको समयमा मानिसका अगाडि पैसाको अभाव छ। खानेकुराको कुनै अभाव छैन। शहर यस कारणले पनि विकासको बाटोमा द्रूत गतिले अग्रसर छ- यहाँ टोलैपिच्छे क्रन्चिज चिकेन र बर्गर हाउस खुलेका छन्। उपभोक्ता कता छ कता। अल्मलिएको छ। बर्गर हाउसको भीड भने जताततै छ।

एकातिर, पर्याप्त आम्दानीको अभावमा मानिसहरु आफ्नो र परिवारको पेट भर्न सस्तो खाद्यान्नको खोजीमा रुमल्लिइरहेका छन् भने अर्कोतिर चमक-दमकपूर्ण रेष्टुराँमा धान्न नसकिने भीड लागेको छ मानिसको। 

कान्तिपुर शहरको सामाजिक परिधि र परिवेशमा दाल-भात-डुकुको नियमित उपभोगलाई अन्य खाद्य पदार्थले विस्थापित गरिसकेका छन्। ६ दिन ‘दाल-भात-डुकु’, शनिबार खसीको मासु मुख्य शहर बाहिर बस्ने कान्तिपुरवासीको सभ्यता थियो। अहिले त शहरका अधिकांश मासु पसलेले खसीको मासु बेच्नै छोडिसकेका छन्।

एक त, शहरका मानिसले स्वास्थ्यको बहानामा, खसीको मासु खानै छोडेका छन्। भन्छन्, रेड मिट स्वास्थ्यका लागि हानिकारक छ। साताको एक छाक खसीको मासु खाएर कसैलाई पेटको क्यान्सर हुने होइन। खसीको मासु नखानुको कारण स्वास्थ्य मात्र होइन। खसीको मासु महँगो छ। सामान्य जनताको सामान्य बजेट बाहिरको। 

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना सिर्जनाका शब्दहरु ‘दाल-भात-डुकु’ को माध्यमबाट कान्तिपुर शहरका सामान्यभन्दा सामान्य मानिसको नियमित र अति सामान्य खाना परिभाषित गर्न खोज्नुभएको थियो। अहिले त दाल-भात-डुकु नै सम्भ्रान्त खाना भइसकेको छ।

देशका राजा र शासकका रुपमा चिनिएका शाह खानदान र राणा खलकका सदस्यहरु जतिबेला चराको मासुको सुरुवा, बँदेलको कबाब र हिमाली क्षेत्रमा उब्जिने चामलको भुजा ज्युनार गर्थे, त्यतिबेला शहरका सामान्य जनता ‘दाल-भात-डुकु’ मा जीवन निर्वाह गर्थे। अब ती केही पनि बाँकी छैनन्।

अहिले त अब बिलासका कुरा भइसकेको छ दाल-भात-डुकु। पालुङटारदेखि बट्टारसम्मका फाँटहरुमा दाल फल्न छाडेका छन्। उपत्यकामा ‘डुकु’ भारतको बिहार राज्यबाट आयात गरिन्छ सायद। 

देशको राजधानी शहर र मुख्य आर्थिक केन्द्रको हिसाबले कान्तिपुर पक्कै पनि गरिब शहर होइन। मेचीदेखि महाकालीसम्मका गरिब जनताको ढाडमाथि पलेंटी कसेर बसेको यो सबभन्दा समृद्ध शहर हो नेपालको। अहिले पनि यसको समृध्दि दिन दुई गुना, रात चौगुनाका दरले बढ्दै गएको छ। तर गरिबी र दरिद्रताको सबैभन्दा बढी नाटक कान्तिपुरमा नै मञ्चन भएको छ।

तीन/चार दशक अघिसम्म पनि कान्तिपुरको काँठमा ढिँडो नपाक्ने कुनै घर थिएन। किसानले धान नफलाएर घरमा ढिँडो पाकेको होइन। कन्तिपुर उपत्यकामा धान बेचेर तिलरी बनाउने, तामाको गाग्री र ढलोटको कसौंडी किन्ने चलन धेरै अघिदेखि चलेको हो।

निर्दलीय पञ्चायतको नाममा राजाले चलाएको हुकुमी शासनको जमानामा सरकारले मौका हेरी, विदेशबाट उसिनेको चामल आयात गरेर ‘सुपथ’ मूल्यमा बेच्ने गर्थ्यो। त्यो चामल कति सुपथ हुन्थ्यो त्यसको अन्दाज कसैलाई थिएन। तर चामल कुहिएको हुन्थ्यो। गन्हाउँथ्यो। तैपनि, मानिस खान्थे। सरकारले रासन कार्डको चलन पनि चलाएको थियो। तर त्यो चलन धानेन कान्तिपुर शहरले। 

कान्तिपुर शहर जति-जति विकसित हुँदै गएको छ त्यति-त्यति यो जटिल हुँदै गएको छ। अहिले शहरमा कुनै समस्या छैन। किनभने, समस्याको थुप्रो यति बहुआयामिक छ कि यसको आयतनको सही मापन गर्ने क्षमता कसैले पनि राख्दैन।

शहरमा नदी-नालाको घुईंचो छ। तर खानेपानी छैन। देशमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा बहु-प्रचारित मेलम्ची खानेपानी आयोजना एउटै बाढीले बगाइदिएको छ। मेलम्ची खानेपानी आयोजनालाई बाढीबाट जोगाएर स्थायित्व दिन सरकारले अर्को आयोजना सुरु गर्यो भने कसैले पनि आश्चर्य नमाने हुन्छ।

देशको नाममा निकै चलेको पुरानो उखान छ- काशी, कश्मिर, अजब नेपाल। साँच्चै अजब छ यो देश। काशी, काश्मिर त आ-आफना ठाउँमा छँदैछन्, हामी कान्तिपुरवासी पनि अहिलेसम्म आफ्नै ठाउँमा अडिएका छौं- गजब नेपाल, अजब नेपाल! 

१२ असार, २०७९, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।