राजनीतिमा चलिरहने धुन्धुकारी खेल

राजनीतिमा चलिरहने धुन्धुकारी खेल

महादेव श्री पशुपतिनाथको दर्शनकालागि नेपाल भ्रमणमा आएका एक जना हिन्दुस्तानी पत्रकार मित्र बताउँदै थिए-अचेल हिन्दुस्तानमा राजनीति गर्न, जागिर खान, व्यापार-व्यवसाय गर्न सजिलो छ। बस, हिन्दुस्तानका कुनै पनि शहरको मूर्ति बजारमा जानुहोस्।

प्रधानमन्त्री नरेन्द्र मोदी साहबको सिंगमरमरले बनेको अर्ध कदको पोर्टेवल मूर्ति किन्नुहोस्। त्यो मूर्तिलाई सबैले देख्ने गरी आफ्नो अफिसको टेबुलमा अथवा कारको ड्यासबोर्डमा सजाउनु होस्। त्यसको ‘पब्लिसिटी’ का लागि अलिकति सत्सँगको आयोजना गरी दिनुहोस्। तपाई ‘इन्स्ट्याण्ट’ हिट हुन थाली हाल्नुहुन्छ।

उनले यो व्यङ्ग्य हानेका थिएनन्। अहिले प्रधानमन्त्री नरेन्द्र मोदीजीको क्रेजमा डुबेको छ पुरै हिन्दुस्तान। अझै एकदुई चुनाव त उहाँकै क्रेजमा चल्छ। हो, यो मौकाको फाइदा लिनबाट कोही चुक्न चाहँदैन। मोदीजीको नेतृत्वमा हिन्दुस्तानमा पुँजीवाद ‘फ्रन्ट सिट’ मा छ।

त्यसपछि पत्रकार मित्रले आफ्नो ब्रिफकेस खोलेर त्यसबाट प्रधानमन्त्री मोदीको सिंगमरमरले बनेको मूर्ति झिके। त्यसलाई टेबुलमा राखे। श्री पशुपतिनाथको प्रसादको पोको खोले। मोदीजीको मूर्तिलाई श्री पशुपतिनाथको प्रसाद स्वरूप चन्दन लगाइदिए। माला पहिराइदिए र सुस्तरी नारा लगाए-बन्दे मातरम् !

प्रधानमन्त्री मोदीप्रति मित्रको यो भक्ति देखेर म प्रभावित भएँ, पुलकित भएँ। म सोच्न थालेँ-कठै, हाम्रो देशमा पनि मोदीजस्तै संस्कारी कोही प्रधानमन्त्री हुन्थ्यो भने हामी नेपालीको जन्म सफल भइहाल्थ्यो। नेपालमा त हामीले न कसैलाई सम्मान अर्पण गर्न जानेका छौँ, न हाम्रो सम्मान लिन योग्य कुनै सुपात्र नै जन्मेका छन्।

हाम्रा देशका सबै थरी नेता भारतमा हिन्दुत्वको लहर आएपछि त्यसैको पछिपछि दौडिने गरेका छन्। सबैथरी कांग्रेस र सबैथरी कम्युनिस्टका कतिपय नेताले उत्तर प्रदेशका मुख्यमन्त्री महन्त आदित्यनाथलाई गुरु मानीसकेको मात्र होइन, उनको वंशज गोर्खास्थित गुरु गोरखनाथ बाबाको पुजारी रहेको पत्ता लगाएर इतिहासको विवरणमा स्थापित पनि गरी सकेका छन्।

मैले मेरा हिन्दुस्तानी पत्रकार मित्रलाई ‘नमन’ गरेँ। नमन किन गरेँ भने, यो शब्द आधुनिक नेपालमा अभिवादनको मानक बनेको छ। माओवादी जनयुद्धपछि ‘नमस्ते’  र ‘नमस्कार’  शब्दलाई ‘सलाम’  शब्दले विस्थापित गरेको थियो।

तर, तिथि श्राद्धमा बढी नै बिश्वासगर्ने नेपालीको मनले पुरोहितलाई सलाम गर्न मानेन। नमस्कार नै चढाइ रह्यो।

मेरा हिन्दुस्तानी मित्र मेरो देश नेपाल जटिल अवस्थामा रहेको समयमा श्री पशुपतिनाथ र श्री मुक्तिनाथको दर्शनका लागि आए।

महाकवि देवकोटाको शब्दमा,‘आँखाको नानी’ जस्तो यो सुन्दर देश ‘हिन्दुस्तानको आँशु’ भनेर चिनिने श्रीलङ्काको गोता जान लागेको चर्चामा चुर्लुम्म डुबेको छ। बन्द-व्यापार छैन। पर्यटक दिनहुँ घटेका छन्।

भारतलाई बिजुली बेच्न थालेपछि देशमा झ्याप्प झ्याप्प बत्ती जाने रोग फैलिएको छ। यस्तो बेलामा मेरा पत्रकार मित्र आएका हुन्।

उनी झोले होइनन्, शानदार पर्यटक हुन्। निकै मोटो रकम खर्च गरेर नक्सालको तारे होटल म्यारियट बसे। महादेव श्री पशुपतिनाथको दर्शन गरे। इ–सेवा मार्फत भारतीय रुपैयाँ ११११ भेटी चढाए।

मलाई ब्रेकफास्टका लागि होटलमा बोलाए। म सँग गाडी-घोडा केही नभएको थाहा पाएपछि मलाई होटेलसम्म ल्याउने र फर्काउने सुविधाका लागि आफूले कान्तिपुर घुम्न भाडामा लिएको गाडी घरैमा पठाए।

गिरिजादेखि शेरबहादुरसम्म, माधवदेखि ओलीसम्म, प्रचण्डदेखि बाबुरामसम्म, उपेन्द्रदेखि महन्थसम्म : नेताहरूको यो भीडमा हेरौँ त। यी अनुहारलाई सिंगमरमरमा कुँदेर आफ्नो टेबुलमा जति सजाए पनि यिनबाट कोही प्रेरित हुनेवाला छैन।

म दिल्ली जाँदा उनलाई सधैँ भेट्थे। उनी मलाई इन्डिया इन्टरनेशनल सेन्टरमा कहिले लन्चका लागि, कहिले ड्रिङक्सका लागि त कहिले डिनरका लागि बोलाउँथे।

एक पटक मेरो अनुरोधमा उनी दिल्लीको इन्डिया कफी हाउसमा आएका थिए कफी पिउन। त्यो दिन पनि झन्डै पैसा उनैले तिरेका थिए।

यो पटक उनी नेपाल आए। नेपाल भ्रमणमा आउनुभन्दा एक साता अगाडि मेरो उनीसंग फोनमा कुरा भएको थियो। प्रसंगबशः मैले नेताहरू कसैसंग भेट्ने हो कि ? भनेर सोध्दा उनले जवाफ दिएका थिए- नेपालका मन्त्री, प्रधानमन्त्रीसंग हामी पत्रकारले भेट्ने होइन। उनलाई भेट्न त गोयलजीहरु बराबर काठमाडौँ भ्रमण गरी नै रहेका छन्।

यसपछि उनले राजनीतिका कुरै गरेनन्। भगवान् मुक्तिनाथको दर्शन गर्न मुस्ताङतिर लागे।

उनीसंगको भेटपछि म सोच्न थाले-साँच्चै हाम्रो देशमा हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै सिंगमरमरको ‘मूर्ति’ बनाएर, खोकिलामा हालेर हिँड्न सकिने खालको नेता को होलान्?  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी प्रचण्ड, गफाडी भनेर नाम कमाएका ओली, साँघुरिएका विद्धान झलनाथ, एकीकृत समाजवादी माधव, जनता समाजवादी उपेन्द्र, लोकतान्त्रिक समाजवादी महन्थ!

यी कुनै पनि नेताको न त सिंगमरमरमा मूर्ति कुदिने औकात छ, न यिनीहरूको व्यक्तित्व यिनका मूर्ति खोकिलामा हालेर हिँड्न लायक नै छ।

उता भारतका प्रधानमन्त्री मोदीको कुरै छाडौँ। हेर्दा उनी सामान्य साधु जस्ता देखिन्छन्। काम उहिलेको पाटलीपुत्रका राजा चन्द्रगुप्त मौर्यका गुरु चाणक्यको जस्तो गर्दछन्।

हिन्दुस्तानमा प्रधानमन्त्री मोदीको मूर्तिले विभिन्न पेसा र व्यवसायमा लागेका मानिसलाई ‘अभयदान’ दिएको छ। हिन्दुस्तानका साहू-महाजन, व्यापारी–व्यवसायी, कर्मचारी सबै प्रधानमन्त्री मोदीप्रति नतमस्तक छन्। कट्टर हिन्दु हुन्, राजनीतिक बिचारले दक्षिणपन्थी हुन, भ्रष्टाचार छैन, घूस खाँदैनन्।

हामी कहाँ त नेताहरू सधैँ लोकतन्त्र र गणतन्त्रमाथि ‘प्रतिगमनको खतरा’ भन्छन्न्। यो वाक्यले अहिलेसम्म राजनीति र अर्थनीतिलाई अलमल्याउन ठुलो काम गरेको छ।

प्रतिगमनको खतरा त्यति बेला पनि थियो जति बेला देश गणतन्त्रमा थिएन। प्रतिगमनको खतरा अहिले पनि छ जब देशमा लोकतान्त्रिक गणतन्त्र सक्रिय छ। प्रतिगमन नेपाली राजनीतिको स्थायी थेगो हो।

विक्रम संवत् १९९० सालदेखि २०७९ सम्म यो देशले कति वटा भुईँचालो थेग्यो? कसैले त्यसको हिसाब राखेको छैन होला। राणा शासनदेखि अहिलेको पाँच दलीय गठबन्धनको शासनसम्म देशले लगातार दुख पाएको पाएकै छ।

अहिले पनि सतहमा कांग्रेस एउटा छ। कम्युनिस्ट तीन वटा छन्। जनता समाजवादी पार्टीलाई पनि कम्युनिस्ट मान्ने हो भने चार वटा कम्युनिस्ट भए।

यता, कांग्रेस सभापतिको चुनावमा ‘चालीस प्रतिशत जीत हासिल गरेका’ शेखर कोइराला समानान्तर कांग्रेसको छाया सभापति बन्ने दाउमा रहेको सुनिन्छ। उनी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग मिलेर गठबन्धन सरकार बनाउने धुन्धुकारि खेलमा लागेको सुनिएको छ।

नेपाली राजनीतिका वयोवृद्ध पात्र विश्वबन्धु थापाको संस्मरण छ : केटाकेटीमा भाँडाकुटी खेल्दा आफू ले नजित्ने भएमा गिरिजाप्रसाद कोइराला सारा खेल नै भत्काइदिने गर्नुहुन्थ्यो। शेखर कोइरालाले आफ्नो सानो बुवाको राम्रो कुरा मात्रै होइन, नराम्रा कुरा पनि पछ्याएका छन्।

राजनीति यस्तो विकराल परिस्थितिमा रहेको अहिलेको अवस्थामा अब कसको मूर्ति बनाउनु?  नेताहरूको मूर्ति बनाएर पनि के गर्नु ? देशका ज्यूँदा शहीद मानिएका टंकप्रसाद आचार्यको मूर्ति विमानस्थल रनवेको कोटेश्वरपट्टिको कान्लोमा फालिएको छ। सन्त नेता कृष्णप्रसाद भट्टराईको मूर्ति नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटो काट्न बनेको आकाशे पुल मुनी फालिएको अवस्थामा छ। आदर्श निख्रिँदै गएको हाम्रो समाजमा नेताका मूर्ति उसै पनि प्रभावकारी हुँदैनन्।

हिन्दुस्थानमा पो प्रधानमन्त्री मोदीको मूर्तिको प्रभाव दिन दुना रात चौगुनाको दरले बढ्दो छ। हामी कहाँ त नेताको काम बजेट निकासापछि टुङ्गो लाग्दछ।

अहिले त्यो पनि हुने हो कि होइन ? क्या पता !

गिरिजादेखि शेरबहादुरसम्म, माधवदेखि ओलीसम्म, प्रचण्डदेखि बाबुरामसम्म, उपेन्द्रदेखि महन्थसम्म : नेताहरूको यो भीडमा हेरौँ त। यी अनुहारलाई सिंगमरमरमा कुँदेर आफ्नो टेबुलमा जति सजाए पनि यिनबाट कोही प्रेरित हुनेवाला छैन।

‘मा फलेषु कदाचन!’ नेपाली जनताका लागि यो नै शाश्वत हो।

भनौँ बाँच्ने मेलो।

 

२४ असार, २०७९, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।