आज रमिता छ

आज रमिता छ

मैले ढाँटेको होइन, धरोधर्म, सत्तेसत्ते- आज रमिता छ।

‘आज रमिता छ’ मैले जन्माएको शीर्षक होइन। इन्द्रबहादुर राईको खाताबाट सुटुक्क सारेको हुँ। शीर्षक अथवा टाउको। 

टाउको बचाउनु भनेको धेरै अप्ठ्यारो काम हो। अझ नेपालमा त सारा प्राणीहरु तह-तहमा टाउको बचाउने अभिक्रममा बिहानदेखि साँझसम्म दौडिइरहेका हुन्छन्।

अहिले नेपाली फिल्म स्टार करिश्मा मानन्धर टाउको जोगाउन लागेकी छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापामा आयोजित कुनै एउटा चुनावी कार्यक्रममा भाषण गर्दै थिए। भाषण गर्दागर्दै उनले करिश्मालाई फुर्क्याइदिए- कति राम्री हुनुहुन्छ करिश्मा। लौ हेर्नूस् त सौन्दर्यले धपक्कै बलेकी। करिश्माको पढने चाहनालाई कामरेड बाबुरामले सघाउन सकेनन् त। अब हेर्नूहोस, अहिले उनी मेरो पार्टीसँग मात्रै होइन, मेरो ताप्लेजुङ घरसँग पनि नजिक भएकी छिन्। अहिले त करिश्मा बाबुरामको नाम सुन्न समेत चाहन्नन्।

स्रोता/कार्यकर्ताहरु खुसी भए। एउटाले भन्यो, ‘बाले जानेनन्। रेखा थापालाई पनि यही पार्टीमा ल्याउनुपर्ने थियो। अरु पनि सिनेमा सुन्दरीलाई पार्टीमा ल्याउन सके चुनाव हारे पनि वातावरण उज्यालो हुन्थ्यो।’

कतिपय पत्रकारले भन्न थालेका छन्- ओलीको मन ठेगानमा छैन। उनी कहिले आगामी चुनावमा माधव नेपालसँग नारिएर जाउँ भन्छन्। कहिले ‘मैले अहिलेसम्म कहिल्यै प्रधानमन्त्री पद पाउनकै लागि दाम राखेर राजाको दर्शन गरेको छु र? भनेर ठाउँ-कुठाउँ उफ्रिन्छन्।

केपी ओली प्रचण्डसँग त बिहान-बेलुकै टेलिफोन सम्पर्कमा छन्। प्रचण्डका लागि चाहिँ अहिलेका केपी ओली ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबाको अनुहार’ जस्तो भएका छन्। प्रचण्डलाई लागेको छ- केपीसँग एक पटक फेरि मिलेरै भए पनि एकल नेपाल कम्युनिष्ट पार्टी बनाउन पाए त हुन्थ्यो। तर उनको भर-विश्वास नै छैन।

कम्युनिष्ट फाँटका कार्यकर्तालाई लाग्दैछ- यो पटकको चुनाव कांग्रेसले नै जित्ला। जितेन भने पनि कांग्रेसको साथ र सहयोग बिना सरकार कुनै पार्टीले बनाउन सक्दैन। यसलाई यसरी पनि भन्न सकिन्छ, कम्युनिष्ट नेताहरु सरकार कसले बनाउने भन्ने निर्णयमा कहिल्यै पुग्न सक्दैनन्। त्यसैले कम्युनिष्टहरुको अनिर्णय कांग्रेसको पक्षमा हुन्छ। 

बिमलेन्द्र निधि, प्रकाशमान सिंह, चन्द्र भण्डारी लगायतका नेताहरु त्यत्तिकै रिङ बाहिर परेका होइनन्। यी लोकप्रिय अनुहारलाई अनायाश राजनीतिको कालो बादलले छोप्नु सही कुरा थिएन। अब उनीहरु राजनीतिको भ्रामरी खेलबाट उत्रिन सकेनन् भने बिपिन कोइराला र स्व. शिववहादुर खडकाझैं हराउनेछन्।

आज देशमा रमिता छ। चुनावी भाषण गर्नका लागि नेताहरु हेली चढेर जिल्लामा आउँदै गर्दा देशभरि समस्याहरु थपिँदै गएका छन्। खाने तेल र गुड्ने तेलको संकट, पकाउने ग्याँसको संकट, नुन र चिनीको संकट, खेतीमा हाल्ने मलको संकट, शिक्षाको संकट, स्वास्थ्यको संकट, कोरोनाले गर्दा विदेशमा रहेका श्रमजीवीहरुलाई संकट, टन्न बिजुली उत्पादन गरेर भारत र बांगलादेशलाई बेचौंला भनेर आशा गरिरहेको देशमा बिजुली उत्पादनकै ठेगान छैन। देशका लागि बनेका र बनाइएका ठूला आयोजना बाढीले बगाउने र पहिरोमा पुरिने चलन यहाँ पहिलेदेखि नै छ। यो सानो देशमा समस्या पनि कति-कति र कस्ता-कस्ता!

आज रमिता छ। साँच्चै रमिता छ। 

यस्ता रमिताहरुको बीचमा पनि हाम्रा हजुरबाहरुले देशको शासन चलाइरहेका छन्। पचहत्तर वर्ष उमेर पुगेका हजुरबा पुस्ताका ज्येष्ठ नागरिकहरुको शासन चलाउने पालो पुगेको छैन भने बा पुस्तामा पर्ने बुध्दिजीवीहरुको पालो कहिले आउने? बा पुस्तामा पनि रोलक्रम होला।

अस्ति भर्खर जंकु गरेका एक जना मित्र भन्दै थिए- पार्टीले टिकट दिने हो कि नदिने हो? केही ठेगान छैन। तर माधवजीसँग त मेरो घनिष्टता नै रहेको हो। माधवजीले नाईं भन्न सक्नुहुन्न। साह्रै व्यावहारिक विद्वान व्यक्ति हो माधवजी। उहाँलाई मार्सी चामलको भात पनि चाहिँदैन। जुम्ली सिमीको दाल पनि चाहिँदैन। 

यता कांग्रेसका गगन थापाले झण्डै दुई दशक संघर्ष गर्नुपर्यो पार्टी नेतृत्वमा स्थापित हुन। जो स्थापित भैसकेका थिए, उनीहरुले राजनीतिको गोटी राम्ररी खेल्न नजान्दा राज लक्ष्मी र धन लक्ष्मी दुवैको आशिर्वाद गुमाए। अब उनीहरुको पुनर्स्थापना आगामी चुनावले नै गर्नसक्छ।

बिमलेन्द्र निधि, प्रकाशमान सिंह, चन्द्र भण्डारी लगायतका नेताहरु त्यत्तिकै रिङ बाहिर परेका होइनन्। यी लोकप्रिय अनुहारलाई अनायाश राजनीतिको कालो बादलले छोप्नु सही कुरा थिएन। अब उनीहरु राजनीतिको भ्रामरी खेलबाट उत्रिन सकेनन् भने बिपिन कोइराला र स्व. शिववहादुर खडकाझैं हराउनेछन्। उत्रिए भने शेरबहादुर देउवाझैं चम्किने छन्? यसको चिन्ता कसैलाई छैन। राजनीति गर्ने मानिसले हारेर भाग्ने सुविधा पाउँदैन। उसले दिन पर्खेर बस्नुपर्छ। संसारको रित यही हो।

आज रमिता छ। रमिता कहिले थिएन र? रमितामा हामी रमाएका छौं कि छैनौं? कुरो यति मात्रै हो। 

कांग्रेसजनले सोचेका छन् कि छैनन्- राजनीतिमा हरेक दिन एक न एक रमिता हुन्छ र आज पनि रमिता छ। राजनीतिमा रमिता नियमित आकस्मिकता हो।

अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको मेसोमा दिल्लीमा छन्। उनी भ्रमणको पहिलो चरणमा नै किन पुगे भारतीय जनता पार्टीको कार्यालय? पत्रकार गोविन्द अधिकारीका अनुसार, प्रमले ‘म जान्न’ भन्न सक्नुपर्थ्यो।

यो त कुनै तर्क भएन। पाहुनालाई छान्ने स्वतन्त्रता हुँदैन। छान्ने स्वतन्त्रता हुँदो हो त उनी कि बिरला मन्दिर कि लोटस टेम्पल जान्थे होलान्।

हो, हिजो जस्तै आज पनि रमिता छ यहाँ।
रमिता दिनहुँ भइरहने छ। 
कहिलेसम्म? त्यसको ठेगान छैन। 

गाथाहरू

२० चैत, २०७८, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।