गठबन्धनबाट बाहिर आओस् कांग्रेस

गठबन्धनबाट बाहिर आओस् कांग्रेस

देश चकमन्न छ। देशमा सन्नाटा छाएको छ। यद्यपि, हजारौं मानिस एमसीसीको विरोधमा जुलुसमा दौडिइरहेका छन्।

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा आवागमन रोकिएको छ। जुलुसमा सहभागी ठिटा-ठिटीहरु अमेरिकी फन्दा एमसीसीबाट नेपाल आमाको इज्जत जोगाउन कस्सिएर जुटेका छन्।

यो एमसीसीले हामी नेपालीलाई के ठानेको छ? जुलुसका सहभागी जोड-जोडले चिच्याउँदैछन्, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन।

हो, देश बेच्न पाइँदैन। यो सत्य हो। तर देश कसले बेच्न चाहेको छ त? जुलुसमा सरिक भएका मानिसहरुको मनमा खुल्दुली छ, उनीहरु केका लागि चिच्याउँदैछन्? यो एमसीसी भनेको के हो? धेरैलाई थाहै छैन। देश बेच्न को-को लागेका छन्? यो पनि धेरैलाई थाहा छैन। एमसीसीको विरोधमा लागेका नेताहरुलाई त एमसीसीका बारे जानकारी छैन भने अरु सामान्य मानिसका के कुरा गर्नु! 

जुलुस बहुआयामिक छ। जुलुसमा सहभागी एकथरी प्रदर्शनकारी घाँटीका नसा फुल्नेगरी नारा लगाउँदैछन् भने अर्काथरी सहभागी तिनको भिडियो फिल्म खिच्दैछन्। अचेलका केटाहरुलाई थाहा छ, यस्ता आक्रोशमय दृश्यहरुको भिडियो युट्युबमा राखेपछि पैसा आउँछ। युट्युबमा भिडियो राख्दा देशभक्ति पनि हुने, अमेरिकाको विरोध गरेर पैसा पनि कमाउने मौका मिल्ने।

यो शहरमा सबभन्दा पहिले भिडियो भित्रिदा यहाँका साहुजीहरुले आ-आफना घरको छिंडीलाई मिनी सिनेमा हल बनाएका थिए। एक जना दर्शकसँग एक शोको बीसदेखि पचास रुपैयाँ चार्ज गरेर साहुजीहरु दंगदास पर्थे। यो ब्यबसायको अन्त्यपछि उनीहरु भिडियो बेचेर वा भाडामा लगाएर जीवनयापन गरिरहेका थिए।

तर, गुगलको व्यापार चम्किन थालेपछि शहरमा युट्युबको व्यापार पनि चम्कियो। युट्युबको धन्दा गरेर सहरका धेरै मानिस धनी भइसकेका छन्। हिजोसम्म हङकङ र बैंककबाट लुकाइ-छिपाइ ल्याएको छाडा भिडियो भाडामा लगाएर धन आर्जन गर्ने व्यापारीहरु अहिले करोडपति बनेका छन्। उनीहरु विभिन्न राजनीतिक पार्टीका सञ्जालसँग जोडिएका छन्। आन्दोलनको विस्तारमा उनीहरुको योगदान सानो छैन।

भन्छन् नि- जसरी हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ, त्यसरी नै हरेक आन्दोलनमा आम्दानीको स्रोत हुन्छ। अचेलको जमानामा खर्च नगरी केही हुँदैन। राजनीति त झनै खर्चालु हुन्छ।

बितेको तीन सातादेखि देशमा एमसीसीले धूम मच्चाएको छ। एमसीसी विद्युत प्रसारण लाइनको एउटा टुप्पोमा अमेरिका छ। अर्को टुप्पोमा हामी छौं। अमेरिकनको प्रस्ताव छ- नेपालले एमसीसी स्वीकार गरोस्। एक पैसा ब्याज तिर्नु नपर्ने यो अमेरिकी लगानी नेपालले जल-विद्युतको विकासमा लगाओस। तर, नेपाली जनताको एक हिस्साले अमेरिकनको आश्वासन र नेपाल सरकारको ग्यारेन्टी पत्याएको छैन। उनीहरुको मनमा चीनप्रति पर्याप्त आदरभाव छ। चीनले नेपालका बुच्चे र फुच्चे डाँडामा चुच्चे रेल कुदाइदिने सपना देखेका छन् उनीहरुले। कुती-केरुङको पहाड छेड्दै चिनियाँ चुच्चे रेल सहजै पर्वत र बागलुङ पुग्ने कुरा त केपी ओलीले नै बताइसकेका छन्।

नेपालका राष्ट्रवादी कम्युनिष्ट नेताहरुले नेपाली जनताको कानमा कालकूट विष भरेका छन्। ती नेताहरुको भनाइ छ- अहिलेसम्म देशको जे-जति बिनास भयो त्यो बिनास कांग्रेसले गरेको हो।

राजा वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्रको चुरोट कारखानालाई देशमा चुरोटमाथिको एकाधिकार सुम्पिन जनकपुर चुरोट कारखानालाई नियोजित तवरले कसरी बन्द गराइयो? कामरेडहरु यो कुरा बोल्दैनन्। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको जमानामा कम्युनिष्ट पार्टीका महासचिव माधवकुमार नेपालले कसरी विश्व बैंकलाई अरुण तेस्रो जल विद्युत आयोजना नेपाललाई नचाहिने भनेर चिठी लेखेका थिए, त्यसबारे त हाल माधव नेपालका कट्टर दुश्मन केपी ओलीले पनि विरोध गरेनन्। कांग्रेसले जतिसुकै गुन लगाए पनि कम्युनिष्टहरुले कांग्रेससँग कहिल्यै मित्रवत व्यवहार गरेनन्। 

कांग्रेसका नेताहरुमा त प्रतिकारको संस्कार नै छैन। उनीहरु हार्न तयार छन्। प्रतिकारका लागि तयार छैनन्। कम्युनिष्टका विरोधमा प्रतिकारको झण्डा उठाउनुभन्दा चुनावमा पराजित हुनु नै राम्रो भन्ने मानसिकताले दबेका छन् कांग्रेस। गएको चुनावमा कांग्रेसहरुले आफू धोबी चुटानमा परेको कुराको सम्झना नै राखेनन्। यता माओवादी एमालेसँग घाँटी जोड्ने, उता कांग्रेसले यो कुराको पत्तो नै नपाउने। कति अनौठो!

हिजो पनि शेरबहादुरजी झुक्किए। आज पनि उनै झुक्किएका छन्। अहिलेको गठबन्धन प्रचण्ड र माधवको चरम आवश्यकता थियो। उनीहरुले देउवाजीलाई दुवईको आरनमा पगालेर बनाइएको सुनको मोटा-मोटा बाला देखाए। देउवाजीको आँखा चकाचौंध भैहाल्यो। त्यो बालाको लोभमा उनी प्रधानमन्त्री भए। अहिले न रुनु, न हाँस्नुको अवस्थामा छन्। 

देउवा यो माखे साङ्लोबाट उम्किन चाहन्छन् भने उनले आगामी चुनावमा एकला चलो रे! को नीति अपनाउनुपर्छ। एकला चलो रे! को अर्थ आफ्नो पार्टी र साथीभाइलाई छाडेर एक्लै हिँडने होइन। प्रचण्ड, माधव, ओली लगायतका नेताहरुबाट अलग हिंडने।

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन भासुको भीरदेखि मेचीको तीरसम्म छरिएर रहेका कांग्रेसहरुलाई समेट्ने। उनीहरुको आत्मबल बढाउने। वीर बिश्वेश्वर अमर रहुन्, लौहपुरुष गणेशमान जिन्दावाद र सन्तनेता किशुनजी अमर रहुनको नारा उच्च स्वरमा घन्काउने। 

व्यावसायिक प्रचार नीतिलाई अलिकति आध्यात्मिक बनाउने। पत्नी र सन्तानको माया-मोह स्वाभाविक हो। तर अतिशय माया-मोहले सर्वनाश गर्छ भन्ने चेतना मनमा जगाउने। घर-परिवारको स्वार्थबाट अलिकति पर हट्ने। 

अहिले प्रधानमन्त्री देउवा केपी ओलीसँग सहयोग माग्दैछन्। दायाँ-बायाँ देउवाका पति-पत्नी, केन्द्रमा केपी ओली, यो तस्बिर देख्ने कुनै पनि मानिस निरीह भावमा प्रधानमन्त्रीलाई देखेर दुःखी हुँदैन? प्रधानमन्त्री देउवाका लागि प्रचण्ड र केपी ओलीमा कति फरक छ? दुवै कम्युनिष्ट हुन्। प्रचण्ड लाल कम्युनिष्ट, केपी लालची कम्युनिष्ट। 

प्रधानमन्त्री देउवाले सपत्निक केपी ओलीको दरबारमा पुगेर आर्तनाद गरेको सन्देश उनको आँखाको भावले दिइसकेको छ। प्रधानमन्त्री देउवा कम्युनिष्टसँग मिल्न सक्ने मानिस होइनन्। उनी संगठनका मानिस पनि होइनन् जसले कुशलतापूर्वक संगठन चलाउन्। बिपी जस्तो ज्ञानी, असीम धैर्यवान, आकर्षक व्यक्तित्वको धनी र संगठन कुशल नेताले बनाएको पार्टी कसरी चलाउने? 

अबका दिनहरुमा प्रधानमन्त्री देउवाले यसमाथि चिन्तन-मनन गर्नु आवश्यक छ।

गाथाहरू

६ फागुन, २०७८, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।