कान्तिपुर गाथा : फोहोरले घेरिएको सभ्यता

कान्तिपुर गाथा : फोहोरले घेरिएको सभ्यता

कान्तिपुर शहरमा बितेको साता त्यस्तो केही भएको छैन जसले शहरबासीहरुको मन चन्चल तुल्याओस्। हो, शहरमा थुपारिएका फोहर साता/दश दिनदेखि उठ्न सकेको छैन।

शहरको फोहोर थुपार्ने डम्पिङ साइट भरियो रे। अर्को डम्पिङ साइट बन्दै छ रे। यो फोहोरको कुरा सधैं यस्तै हो। उहिले शहरमा डम्पिङ साइट थिएन र पनि फोहोर फालेकै थिए जनताले। पछि जर्मन सरकारले कान्तिपुर शहरमा डम्पिङ साइट नभएको थाहा पायो। उसले शहरको फोहोर मैला व्यवस्थित रुपले तह लगाउन फोहोर मैलाको कार्यालय नै खडा गर्योश। त्यो अफिसमा धेरैले काम पाए। धेरैले आफ्नो परिवारको उद्धार गरे। तर शहरको उद्धार हुन सकेन। अन्ततः केही नलागेपछि जर्मन आफैं कान्तिपुर सफाइको काम छाडेर आफनै देशतिर लागे। 

त्यतिखेर, फोहोर मैलाको डम्पिङसाइट बनेको थियो गोकर्णमा। त्यो कान्तिपुर शहरका लागि एउटा अद्भूत परियोजना थियो। त्यो डम्पिङसाइटको नाममा बाटो बनेन कि स्वास्थ्यचौकी खुलेन कि केटाकेटीले औषधि पाएनन् कि फोहोरको दुर्गन्धले गोकर्ण र त्यस वरपरका बासिन्दाको नाक टट्याएन कि। हुने हुनामी, त्यहाँ के मात्रै भएन र!

जे जे भए पनि, कान्तिपुरको जनसंख्या बढ्दै जाँदा, फोहोर थुपार्न गोकर्णको डम्पिङसाइटले पुगेन। त्यसपछि कहाँकहाँ डम्पिङसाइटको खोजी भयो? कहाँ पाइयो? कहाँ पाइएन? यी सबैको लेखाजोखा गर्ने जाँगर पनि मर्न थाल्यो। आफ्नो गाउँमा डम्पिङसाइट राख्न दिनका लागि गाउँका मानिसहरुले अनेकन शर्त तेस्र्याउन लागे। कतै सडक चाहियो, कतै स्कुल चाहियो र कतै हेल्थपोस्ट चाहियो। 

शहरमा थुपारिएका फोहोरले शहरको सौन्दर्य समाप्त पारेको गुनासो सबैले गर्ने गरेका छन्। तर फोहोर व्यवस्थापन कसरी गर्ने? त्यसको विचार कसैले प्रकट गर्न सकेका छैनन्।

एकताका कान्तिपुर महानगरका मेयर थिए- केशव स्थापित। उनी फोहोरलाई मोहोर बनाउने उद्योगमा लागेका थिए। कुनै पनि कल्पनाशील उद्यमका बारेमा धाराप्रवाह बोल्न सक्ने कला थियो उनमा। फोहोरलाई कसरी मोहोर बनाउन सकिन्छ? यसबारे उनले दर्जनौं प्रवचन दिए। दर्जनौं मोटिभेसनल क्याम्पेन चलाए। तर फोहोर मोहर बनेको प्रत्यक्ष देखाउन सकेनन्। उनको योजना सोमशर्माको सातु जस्तै भयो।

सोम शर्माले भीखमा पाएको सातु जम्मा गरेर बेच्ने, त्यसबाट आएको पैसाको उपयोग गरेर धनी बन्ने, राम्री केटीसँग बिहे गर्ने जस्ता सपना देखेका थिए, जुन पूरा भएन।

स्थापित अहिले पनि फोहोरलाई मोहोर बनाउन सकिनेमा अडिग छन्। मानिसहरुले उनलाई स्वप्नजीवी भन्छन्। उनमा क्षमता भए पनि नभए पनि, देशमा उनको क्षमताको तारिफ नगर्ने कोही छैन।

सायद, यसै कारण होला, उनलाई बागमती प्रदेशको मन्त्री पनि बनाइयो। तर उनी धेरै दिन टिक्न सकेनन् मन्त्री पदमा। प्रदेशका मुख्यमन्त्रीसँगै निहुँ खोज्न थालेपछि उनलाई मन्त्री पदबाट सर्लक्क हटाइयो। अहिले उनी कान्तिपुर-हेटौंडा-कान्तिपुरको यात्रा चाहिँ गरिरहन्छन्। अहिले पनि उनी प्रदेश सभाको सदस्य छन्। 

यो पटक कान्तिपुरका सडक पेटीमा थुप्रिएका फोहोर कहिलेसम्म उठनेछन्? त्यो कसैले भन्न सक्दैन। नयाँ डम्पिङसाइट बन्चरे डाँडामा छ भन्छन्। त्यो डाँडो कता छ? धेरैलाई थाहा छैन। सबैभन्दा पहिलो कुरा त कान्तिपुरका मेयर साहेबलाई नै त्यो ‘लोकेसन’ थाहा छैन।

मेयर साहेबलाई थाहा भएको योजना त मेट्रो चलाउने थियो। त्यो मेट्रो चलाउन गाह्रो हुने कुरा बुझेपछि उनी चूप लागेका छन्। शहरको फोहोरको नयाँ गन्तव्य बन्चरे डाँडाका बारेमा उनले जान्ने कुरा भएन। न उनले कहिल्यै बन्चरो चलाए, न बोके। यस्तोमा कसरी उनलाई थाहा हुन्छ बन्चरे डाँडा कहाँ छ!

कान्तिपुर महानगरपालिकाले सारा शहरका लागि एउटै केन्द्रीय डम्पिङसाइटको खोजी गर्नुभन्दा शहरका चार दिशामा चार वटा डम्पिङ साइटको व्यवस्था गर्नु अति उत्तम हुनेछ।

चारै दिशाका फोहोर बटुलेर एकै ठाउँमा थुपार्दा खाल्डो छिटो भरिनु स्वभाविक नै हो। त्यसको सट्टा कान्तिपुर शहरका लागि पश्चिम र उत्तर दिशामा एकएक वटा, भक्तपुर शहरका लागि पूर्वी दिशामा एक वटा र ललितपुर शहरका लागि दक्षिण दिशामा एक वटा डम्पिङसाइट बनाउने हो भने जनताले फोहोरबाट फाइदा लिन सक्नेछन्।

के थाहा, केशव स्थापित फेरि मन्त्री भएर जनतालाई फोहोरबाट मोहर बनाउने कौशल सिकाउने हुन् कि? जसरी राजनीति सम्भावनाको खेल हो, त्यसरी नै फोहोरको राजनीति अतिशय सम्भावनाको खेल हो। यसमा शंका नगर्दा हुन्छ।

कान्तिपुर शहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर पहिले दुई टुक्रा भयो। त्यसबाट माओवादी केन्द्र पन्छियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पन्छिन सकेन र एक हुन पनि सकेन। अहिले त्यो दुई भएको छ। एउटा नेपाल कम्युनिष्ट पार्टी एमाले नै रहेको छ भने अर्को नेपाल कम्युनिष्ट पार्टी, शाब्दिक लय मिलाउनका लागि पनि, एकीकृत समाजवादी भएको छ।

एकीकृत समाजवादी प्रदेश नम्बर १ र बागमती प्रदेशमा एकीकृत माक्र्सवादीभन्दा अगाडि छ। केशव स्थापित समाजवादी हुन चाहे भने बागमती प्रदेशको सत्ता परिवर्तन सहज हुनेछ। त्यतिबेला, नयाँ सरकारले केशव स्थापितको सेवा ग्रहण गर्न सक्नेछ उनलाई फोहोर व्यवस्थापन मन्त्री बनाएर।

फोहोर व्यवस्थापन मन्त्रालय बागमती प्रदेशको आवश्यकता हो। यसले बागमती, बिष्णुमती, रुद्रमती, मनमती, हनुमती, इच्छामती लगायतका नदी र ती नदीमा मिसिने नालाहरुको व्यवस्थापन गर्नेछ। यो मन्त्रालयको जिम्मा फोहोरलाई मोहोर बनाउने सिप भएको मानिसलाई दिइयो भने राम्रो हुनेछ। यद्यपि, अहिलेसम्म देशका कुनै मन्त्रीले राम्रो नगरेको समयमा केशव स्थापितले राम्रो गर्छन् भन्ने कुराको के ग्यारेन्टी छ?

राजनीतिमा त्यस्तो ग्यारेन्टी हुँदैन। त्यस्तो ग्यारेन्टी कसैले दिन पनि सक्दैन, कसैले लिन पनि सक्दैन। उहिले पहिलो जन–आन्दोलनपछि, देश पक्कै बन्ने ग्यारेन्टी सबै दलले लिएका थिए। तर देश बनेन।

देश नबनेको बहानामा राजा आए देश बनाउन। उनको आगमन उनैलाई महँगो पर्यो। २०६२/०६३ को जन-आन्दोलनको हावाले उनी सहित उनका सारा सपना उडाइदियो।

अब, अहिले नयाँ नेपालका पुराना शहर फोहोर भएका छन्। शहरमात्र होइन, शहरबासी पनि फोहोर भएका छन्। सबैलाई बन्चरे डाँडाको प्रतीक्षा छ। बन्चरे डाँडा नभरिउन्जेल त ल भैगो। त्यसपछि के हुन्छ? तीन शहर नेपालका कुनै नागरिकले भन्न सक्छ?

गाथाहरु 

११ भदौ, २०७८, १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।