कान्तिपुर गाथा : मृत्युको घण्टा

कान्तिपुर गाथा : मृत्युको घण्टा

कोरोना धनीलाई मात्रै लाग्ने रोग होइन। तर यसको उपचार भने धेरै नै महँगो छ। कोरोना उपचारका लागि अस्पताल पुगेका एक जना धनाढ्यको मृत्यु भयो अस्पतालमा। अस्पताललाई २३ लाख रुपैयाँ नबुझाएसम्म उनको शव उठाउनै दिएनन्।

कोरोना उपचारका लागि अस्पतालहरुले औषधि खर्च बाहेक दिनको ४० हजार रुपैयाँ असुल गर्नु सामान्य कुरा भएको छ। देशमा अहिले कति मानिसको कोरोना परीक्षण भयो? कति संक्रमित भेटिए? र, कतिको मृत्यु भयो? यसको लेखाजोखा भएकै छैन।

स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको जानकारी अनुसार, हिजो जेठ ६ गते बिहीबार बाइस हजार व्यक्तिमा कोरोना परीक्षण गरिएको थियो। तीमध्ये आठ हजार दुई सय मानिस कोरोना संक्रमित थिए। बिहीबार मात्रै कोरोनाबाट १९० जनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना तथ्यांक कति मिथ्यांक हो? कति तथ्यांक हो? यो कुरा भन्न सकिँदैन। किनभने, यहाँ कोरोना तथ्यांक गतिलोसँग बटुलिएको छैन। नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या सरकारले देखाएकोभन्दा धेरै बढी छ। कोरोनाले मरेका कतिपय मानिस गणनामा नै परेका छैनन्। यो ठट्टा होइन।

कान्तिपुरको कोरोना–पथमा पैसाको थुप्रो ओछ्याएर उपचार गराउन नसक्नेहरु जिम्बू–पानी खाएर बौरिन खोज्दैछन्। तर, न जिम्बू–पानी, न बेसार–पानी, न अम्बाको पातको पानी– केहीले पनि कोरोना भएको मानिस बौरिदैन।

हिजोआज शहरमा घरबाट बाहिर जाने प्रवृत्ति घटेको छ। मानिसले मास्क लगाउन पनि बिर्सेका छैनन्। यो चेतनाको विस्तारमा मानिसको आफ्नै जिज्ञासा र जिन्दगीप्रतिको आफनै मोहले काम गरेको छ।

हो, कान्तिपुर शहरमा यतिखेर मृत्युको घण्टा बजिरहेको छ। यो शहरमा पञ्चायतकालका प्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि बिष्टले राजनीतिक कारणले धेरै अघि बजाएका थिए मृत्युको घण्टा। त्यो घण्टाको आवाजले आफ्ना सबै खालका विरोधीलाई तर्साउन खोज्दथ्यो। त्यतिबेलाका मुख्य विरोधी– प्रतिबन्धित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी– राजासँगै तर्सिदैनथे भने प्रधानमन्त्रीसँग किन तर्सिन्थे?

कोरोना महामारीको यो पृष्ठभूमिमा पनि कान्तिपुरमा मृत्युको घण्टा बजिरहेको छ। अहिले प्रधानमन्त्री खड्गप्रसाद ओली मृत्युको घण्टा बजाइरहेका छन्। उनी जुन परिस्थितिमा मृत्युको घण्टा बजाउँदैछन्, त्यो परिस्थिति आफैंमा विध्वंशक राजनीति हो। राजनीतिको कखग बुझने जो कसैलाई थाहा छ– प्रधानमन्त्री ओलीले बजाएको यो बेमौसमको घण्टाले कसैको भलो गर्दैन।

देशको मुख्य नेता भएको मानिसले विपत्तिको यो समयमा छर–छिमेक, हिमालपारि, समुद्रपारिका युरोप तथा अमेरिका, क्यानडा, जापान, कोरिया लगायतका मित्रदेशहरु गुहारेर, उनीहरुसँग छलफल गरेर, सहयोगको याचना गरेर नेपाललाई कोरोना विरुध्द तयार गर्नुपर्ने समयमा राष्ट्रपति विद्या भण्डारीसँग जुटपत्ती खेलेर तथा प्रतिपक्षी नेता शेरबहादुर देउवा र प्रतिस्पर्धी नेता माधव नेपाललाई बाघचालको खेलमा चुनौती दिएर समय बिताइरहेका छ। यो पनि विडम्बना नै हो।  

संसारभरका हिन्दू समाजका आराध्यदेव पशुपतिनाथ अहिले कडा नजरबन्दीमा रहेका छन्। चाँदीले बनेका उनका चार ढोकामा भोटे ताल्चा ठोकिएको छ। उनकै परिसरमा रहेको भष्मेश्वर मसानमा हिजोआज शवहरुको अचाक्ली भीड लाग्ने गरेको छ।

तीलगंगामा रहेको विद्युत शव दाहगृहको यति धेरै शव जलाउने क्षमता छैन। त्यसैले, कोरोनाबाट मृत्यु भएकाहरुको शव जलाउने जिम्मा पाएका नेपाली सेनाका जवानहरुले भष्मेश्वर मसानको विस्तार गरेका छन्। साबिक चिताले नपुगेपछि विद्युत शव दाहगृह अगाडि, बागमतीको किनारसम्म नयाँनयाँ चिता बनाइएका छन्।

सरकारका बनमन्त्रीले आफ्ना मातहतका कर्मचारीलाई कडा आदेश दिएका छन्, शव जलाउन दाउराको अभाव नहोस्। सरकारले शव जलाउने कामदारलाई एक हजार रुपैयाँ अतिरिक्त भत्ताको व्यवस्था गरेको छ। कोरोनाबाट जनताको जीवन जोगाउन केही गर्न नसके पनि मृत्युपछि केही गर्न पाएकोमा सरकार आफैं दंग परेको छ।

सञ्चार माध्यमहरु भन्दछन्– कान्तिपुर शहरमा मात्रै होइन, देशभरि फैलिएको छ कोरोना आतंक। बझाङ–बाजुराका गाउँघरतिर कोरोनाका बिरामीहरु टाइफाइडको औषधि खान बाध्य छन्। सरकार देशैभरि छ। तर अस्पताल र स्वास्थ्यचौकीको संख्या अपर्याप्त छ।

कोरोना संक्रमण भएका बिरामीहरु सामान्य हिसाबले श्वास फेर्न सक्दैनन्। उनीहरुका लागि अक्सिजन अनिवार्य छ। कतिलाई भेन्टिलेटरमा राखेरै उपचार गर्नुपर्छ। आइसीयु वार्ड र आइसोलेसन वार्ड त्यत्तिकै आवश्यक छ। सरकारले ‘मार्ग प्रशस्त’ गरिदिएको छ। तर मार्गमा रुकावट धेरै छन्।

सञ्चार माध्यमहरुले लेख्ने गरेका छन्– मन्त्रीको छोराको कमिसनका कारण चीनबाट भेन्टिलेटर आउन सकेन। मन्त्रीको स्वार्थका कारण रुसबाट भ्याक्सिन ल्याउने काममा रुकावट आयो। प्रधानमन्त्रीका मानिसहरु सुरज वैद्य र विजय दुगडका कारण भारतमा निर्मित भ्याक्सिन नेपाल आउन पाएन। तथ्य के हो? कसैलाई थाहा छैन। समाचार गलत हो भनौं भने सरकारले नै गलत भनेको छैन।

महामारीको यो मौसममा प्रत्येक दिन बहुरुपिया समाचार ओइरिइराखेका हुन्छन्। ती समाचार सत्य र असत्य के हो? त्यसको कुनै भर छैन। सुनाइएको समाचार होइन भने खास समाचार के हो त? त्यो कसैलाई थाहा पनि छैन।

मृत्युको घण्टा अविरल बजिरहेको छ। कोरोनाका किटाणुहरु घण्टाको धुनमा नृत्यमग्न छन्। प्रत्येक दिन अपराह्न, जब सरकारले कोरोना संक्रमित र कोरोनाबाट मर्नेको संख्या बताउँछ, कान्तिपुर शहरको उदासी बढ्दै जान्छ। सकारात्मक समाचारको खोजीमा लाग्नेहरु चित्त बुझाउँछन्, हिजोभन्दा मर्नेको संख्या आज अलिकति बढेको छ।

७ जेठ, २०७८, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।