कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

शहरमा कडा निषेधाज्ञा जारी गरेपछि कोरोना महामारी कम भएको विश्वासमा मस्त निद्रामा सुतेका छन्, देशका क्रान्तिकारी शासकहरु। ती शासकहरुलाई थाहा छ- जनता कोरोना संक्रमित छैनन् भन्ने थाहा पाउनका लागि संक्रमणको परीक्षण गराउनुपर्छ। त्यसपछि मात्र थाहा हुन्छ, जनताको वास्तविक हैसियत।

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था नभएकोले कान्तिपुर बाहिरका मसानघाटको अवस्था जान्न सकिएन।

कान्तिपुरमा रहेको राष्ट्रिय स्तरको महामसान आर्यघाटको सुव्यवस्थापनमा पशुपति विकास कोष लगायतका संस्थाले चासो देखाएर महामारीमा मसानको महत्व स्थापित गरेका छन्। सरकारको यही चाला हो भने त्यो दिन धेरै टाढा नहोला जब कोरोना महामारीले आतंकित भएको यो देशमा मसानभूमिको महत्व हलक्क बढने छ।

कोरोना ख्यालख्यालको महामारी होइन भन्ने कुरा चिनियाँ जनताले जति कसैले बुझेका छैनन् होला। यो त सबैलाई थाहा छ- कोरोना अर्थात् कोभिड-१९ उत्पत्तिको केन्द्र चीनको बुहान थियो। चीनले एक वर्षअघि नै कोरोना नियन्त्रण गरिएको बताए पनि करोडौं करोड चिनियाँले खोप लगाएका थिएनन्।

अहिले त्यहाँ कोरोना भाइरसको नयाँ अवतार (भेरियन्ट) देखिएको छ। यो भेरियन्टलाई चीन आफैंले बनाएको भ्याक्सिनले नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ। चिनियाँहरुले ग्वाङ्गझाउमा कोरोना भाइरसको नयाँ संस्करण भेट्टाएका छन्। ‘डेल्टा’ भनेर चिनिने यो घातक भेरियन्टले भारतमा असंख्य मानिसको ज्यान लिएको थियो। अहिले पनि यो भेरियन्ट भारतमा सक्रिय रहेको बताइन्छ।

हामी नेपालीलाई त के भो र? हाम्रा दिनहरु मोजमस्तीमा बितेका छन्। सरकारले सूर्योदयदेखि सूर्यास्तसम्म शहरमा निषेधाज्ञा जारी गरेको छ। तर विशेष प्रकृतिका ‘राजनीतिक’ काममा लागेका ‘फन्टुस’हरुलाई निषेधाज्ञाले छुँदैन।

बालुवाटारदेखि खुमलटारसम्म चल्ने गाडीमा कुनै रोकतोक छैन। हो नि, महामारी भन्दैमा देशको राजकाज रोकिने काम त गर्नु भएन। देश चल्नै पर्छ। देश चलाउन गाडी गुड्नै पर्छ। अचेल खुमलटार क्षेत्रमा गाडीको आवागमन निकै कम भए पनि बालुवाटार क्षेत्रमा अति नै बढेको छ।

नयाँनयाँ मन्त्रीहरुको नियुक्ति, नयाँनयाँ अध्यादेशहरुको तर्जुमा, नयाँनयाँ राजनीतिक योजनामा कार्यक्रम बनिरहेका छन्। अर्थमन्त्रीको निकै फर्याकफुरुक छ। बजेटको तजबिज मिल्ने हो कि होइन? त्यो कुरो धनका मालिक कुबेरलाई त थाह छैन भने नेपालका अर्थमन्त्रीले कसरी थाह पाउनु? त्यसमा पनि, यो बजेट संसदमा प्रस्तुत भएको भए पो यसो केही भन्न पनि सकिन्थ्यो।

अहिले त अर्थमन्त्रीको आवाज राष्ट्रपति र प्रधानमन्त्रीको कानभन्दा बाहिर कतै पुगेन। संसदमा बजेट प्रस्तुत गर्दा छलफलमा समय बढी जाने भएकाले प्रधानमन्त्रीले आधा रातमा राष्ट्रपतिलाई निद्राबाट उठाएर दोस्रो पटक संसद् विघटन गराए।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा संसदलाई आफनो मुठीको माखो बनाउँदा पनि कांग्रेस, माओवादी र विद्रोही एमाले लगायत संसदमा उपस्थित दलहरुले चुईंक्क बोलेनन्। उनीहरुमा ज्यान र जोश–जाँगर नै थिएन। उनीहरु लोलाएका थिए।

जनता चाहन्थे, यस्तो संविधान, कानुन, नीति–नियम निरन्तर मिच्ने सरकारका विरुद्ध नेताहरु आवाज उठाउन्। कांग्रेस, माओवादी र विद्रोही एमालेका युवा नेताहरुको आवाजले सिंहदरबार थर्काओस्। यसका लागि युवा नेताहरु तयार भए पनि हाइकमान भद्रो हेर्दै थियो। सबै सामसुम भो।

त्यो दिन बानेश्वरमा रहेको संविधान सभा परिसर हुँदै पशुपति जाने मुल सडकबाट कसैको शवयात्रा पशुपति, आर्यघाटतिर जाँदै थियो- रामनाम सत्य है!

देशमा समस्या थुप्रिँदैछन्। प्रधानमन्त्री आफैंले कुन्नि कुन धातु मिलाउन हो, संवैधानिक र राजनीतिक विषयहरु गुजुल्ट्याएका छन्। उनले आफ्ना जनताको हितमा भन्दा बाहिरतिरैको हितमा गहु्रंगो भारी बोकेको बताउनेहरु धेरै छन्। भारी पनि सकी नसकी बोकेका छन्।

देशमा सरकारको कठोर आलोचना भइरहेको छ। हेर्दाहेर्दै तीन वटा प्रदेशका सरकार ढलिसके। दुई नम्बर प्रदेशको सरकार ढलेकै बराबर भयो। अब अरु पनि ढल्ने हिसाबमा छन्।

देश निरन्तरको दुःखमा छ। श्रद्धाञ्जली र समवेदना सन्देशले अखबारका पाना-पाना भरिन थालेका छन्। सरकारले आफ्नो पैसा खर्च गरेर कोरोना प्रतिरोधक भ्याक्सिन ल्याउन सकेको छैन।

भारत र चीनबाट भ्याक्सिन आएका छन्। सरकार भ्याक्सिन वितरणमा पनि पक्षपात गर्छ। भारतबाट आएको कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोज लगाउन जेष्ठ नागरिक मात्रै होइन, थुप्रै कनिष्ठ नागरिक पनि पर्खेर बसेका छन्। सरकार नाजवाफ छ।

पहिले नै भ्याक्सिन व्यवस्थित ढंगले ल्याएको भए कति राम्रो हुन्थ्यो। कसैले पनि भ्याक्सिनको यो सकस खप्नुपर्ने थिएन। पहिलो खेपको भ्याक्सिन त त्यस्तै उस्तै भयो। साधारण जनताले पो खोप लगाउन पाएनन्। जसको ढोकामा पुग्नुपर्ने थियो, तिनकोमा पुगिहाल्यो। सरकारमा बसेकाहरु खुसी भइहाले।

आजको दिनमा सरकार, सर्वोच्च अदालत र संसदीय प्रतिपक्षको बीचमा धेरै कुराको छिनोफानो हुन बाँकी छ। सर्वोच्च अदालत जस्तो संस्थाले प्रधानमन्त्रीको मक्कारीको प्रतिरक्षा गर्ने त पक्कै होइन होला। तैपनि, किन सर्वोच्च अदालत भन्ने संस्थालाई देखाएर मानिसले औंला उठाउन थालेका छन्। यो विचारणीय कुरा हो।

प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनस्र्थापित भएयता अनेक असंगत निर्णय भएका छन्। अदालतको अवमानना हुने काम पनि त्यत्तिकै भएका छन्। प्रधानमन्त्रीको मनोमानी रोकिएको छैन।  

नेपालमा कोरोना संक्रमितको संख्या कति छ? त्यो पत्ता लगाउनु अहिले सरकारको प्रमुख कर्तव्य हो। यो कर्तव्य पालनामा सरकारको हेलचेक्य्राइँ स्पष्ट देखिएको छ। त्यसपछि सबै नेपालीका लागि भ्याक्सिनको व्यवस्था अर्को प्राथमिकता हो।

भ्याक्सिनको मामिलामा सरकार नराम्रोसँग नांगिइसकेको छ। विजय दुग्गड र सुरज वैद्यसँग प्रधानमन्त्री सोझै जोडिएको यो कर्मका अनेक फल फलेको देख्न पाइने छ आउँदा दिनमा।

अमेरिकाले देला, बेलायतले देला, चीनले देला, भारतले देला– हाम्रा भएजति सबै दुःख, कष्ट र पीडाको सम्बोधन मित्रदेशहरुले गरिदिने हो भने हामीले के गर्ने? दाताहरु मुखले कसैले केही नभने पनि तिरस्कार र उपेक्षा भाव आँखामा नै उत्रिएको देख्न सक्छौं हामी। तर हाम्रो सरकार चलाउनेहरुसँग लाज, घीन केही छैन। यति गति छाडा भइसकेका छौं हामी।

निषेधाज्ञाका प्रबन्धकहरु असार १ गतेबाट लकडाउनलाई लुजडाउन गर्ने मनसायमा देखिन्छन्। यो कुरा सार्वजनिक पनि भइसकेको छ। समयको यही अन्तरालमा देशमा कोरोना भाइरसका विभिन्न भेरियन्ट फैलिने सम्भावना पनि उत्तिकै देखिन्छ। धेरै विशेषज्ञहरुले यो कुरा बताइसकेका छन्। यसमा हाम्रो आफ्नै सरकारले महामारीसँग कसरी मुकाबिला गर्ने सोचेको छ? यसबारे जनताले थाहा पाउनुपर्छ।

त्यसरी फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआएसम्म सरकार सतर्क रहनुपर्छ। हामीकहाँ दोस्रो सिजनको कोरोना भाइरस महामारीले नै हायल–कायल तुल्याएको छ भने कोरोना भाइरसको अर्को भेरियन्ट आक्रमण गर्न आयो भने हामी के गर्न सक्छौं? यो अहिलेको महत्वपूर्ण प्रश्न हो।

२८ जेठ, २०७८, १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।