उकेरा काेलम

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

किशोर नेपाल


एकै साता हो। महामारीको प्रारम्भ पनि त्यहींबाट भयो र उत्कर्षमा पनि त्यहींबाट पुग्यो। शहरमा कोभिड महामारी मच्चिएको एक साता पनि नबित्दै महामारीले पूरै देश तहस–नहस हुने सम्भावना देखियो।

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी गरेको समयदेखि यसले नेपाली जनतालाई लखेट्न थालेको थियो। आज पर्यन्त लखेट्दै छ।

यतिबेलासम्म कोभिडको लखेटोमा परेर देश पूरै तहसनहस हुन थालिसकेको छ। कान्तिपुर, ललितपुर, भक्तपुर जस्ता शहर र वरपरका काँठ–कछाडका त कुरै छाडौं। सुदूर–पूर्वका इलाम र तेह्रथुम र पश्चिमका डडेल्धुरा र बझाङ जस्ता रमणीय पहाड पर्वत र उपत्यकाको हुर्मत लिन छाडेको छैन कोरोनाले।

पूर्वको मेची र पश्चिमको कालीसम्म- अन्तिम सिमानादेखि नै नेपालीको बेहाल छ। भारतीय सीमा पार गरेर आफनै देश फर्किएका जनताले यो महामारीमा जुन भुक्तमान खेप्नु परेको छ त्यसको त कुरै नगरे हुन्छ।

मानिसलाई कोभिडको आतंकले लगातार लखेटिरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएअनुसार, २४ घन्टामा २०,३६७ जनाको पीसीआर परीक्षण गर्दा ९०७० नेपाली कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ५४ जनाको मृत्यु भएको छ। मृतकको संख्या बढ्दै गएको छ। यसको अघिल्लो दिन कोरोनाले ५८ जनाको मृत्यु भएको थियो।

देशमा मृत्युको सक्रियता बढ्दै गएको यो अवस्थामा मानिसहरु किंकर्तव्यविमूढ हुन थालेका छन्। हाम्रो तथ्यांक प्रणाली अपर्याप्त भएकोले प्रत्येक संक्रमित नागरिकको सूचना हामीसँग छैन। प्रत्येक घडी र प्रत्येक पला मृत्युको चाप बढ्दै गइरहेको यो समयमा को मर्यो र को बाँच्यो? त्यसको निक्र्योल कसरी गर्नु? यसमा कुनै शंका छैन कि संक्रमितको संख्या धेरै बढी छ देशमा। संक्रमणबाट मुक्तिको कुरा अहिलेका लागि अकल्पनीय छ।

देशमा नयाँ व्यापारिक अनुष्ठानका रुपमा आइसोलेसन, अक्सिजन र भेन्टिलेसन सहितका अस्पताल खुल्दैछन्। ती अस्पतालमा बस्ने मानिसको चाप दिनहुँ बढ्दो छ। मानिसहरु किन धाउँछन् अस्पताल? अस्पताल कहिल्यै जानु नपरोस् भन्ने मानिसका लागि पनि अहिले अस्पताल एउटा आश्रयस्थल बनेको छ। अरु केही नभए, अस्पतालमा मर्नेको शवको व्यवस्थापन नेपाली सेनाले त गर्दछ। बाहिर, कसको हातमा पर्छ पर्छ। मानिसका लागि आफनो मृत्युपछि आफ्नो शव अरु कसैको हातमा पर्ला वा कसैले छोला भन्ने कत्रो चिन्ता। धन्य परमात्मा!

कोरोना भएर मर्नेको शव व्यवस्थापनमा खटिएको नेपाली सेनाले तिलगंगा क्षेत्रमा रहेको विद्युत शवदाह गृहको पूर्वपट्टि बागमतीको किनारामा शव जलाउने नयाँ चिताहरुको निर्माण गर्दैछ। चिता बन्दैछ र मानिस जल्दैछन्। मानिसलाई पत्तो छैन चितामा जुन शव जल्दैछ, त्यो उसको आफन्तको शव हो कि अर्को कसैको? अवस्था यति बिग्रिइसकेको छ कि मर्नेका आफन्तहरु खुलेर रुनसक्ने अवस्थामा पनि छैनन्। कसैको पूरै परिवार सखाप भएको छ भने कसैको आधा परिवार। हिजोसम्म जो सँगसँगै थियो आज ऊ छैन।

अघिअघि मानिसको अनियन्त्रित हुल र पछिपछि कोरोना नाम गरेको अदृश्य राक्षस। यस्तो राक्षस, जसको अदम्य शक्ति र साहसको सामान्य अहसाससम्म पनि छैन मानिसलाई। यो त अति नै भयो। एउटा सानो भाइरस पूरै मानिस जातिका विरुद्ध खनिएको छ। त्यो भाइरसका अगाडि कति निर्बल छ मानिस। त्यो मानिस जो आफूलाई शक्तिशाली ठान्दछ। चन्द्रमामा पाइला टेक्ने मानिस। अनेक थरिका हातहतियार बनाएर आपूmलाई शक्तिशाली बनाउने मानिस। नयाँ र वैज्ञानिक आविष्कार गरेर दुनियाँलाई चमत्कारमा डुबाउने मानिस। अहिले उसका चुरीफुरीलाई चुनौती दिएको छ कोभिडले। तैपनि, मानिस हारेको छैन। ऊ कोभिडका विरुद्ध भ्याक्सिनको तयारीमा लागेको छ। समान्तरमा, उसको स्वार्थ, धनलिप्सा र तृष्णा जारी छ।

खासगरी, शासन र शक्तिको केन्द्रमा रहेका मानिसहरु विपत्तिका यस्तो समयमा पनि आफ्नो स्वार्थ र सामथ्र्यको व्यापार गर्न छाड्दैनन्। उनीहरु बिर्सिन्छन्, लुटमा आउने पैसाको हिसाब-किताब गर्दागर्दै मानिसको मृत्यु हुन किन्चित बेर लाग्दैन।

पूरै देशलाई थाहा भइसकेको छ– कोरोना महामारीको यही बेलामा राजनीति गर्ने मानिस र व्यापारीहरु औषधि दलालीको धन्दामा लागेका छन्। सरकारका नेताहरु र दलालीको धन्दामा लागेकाहरुको अंक र अक्षर नमिलेसम्म देशमा भित्रिनुपर्ने औषधि भित्रिने सम्भावना छैन।

मानिस कोभिडको खोपको दलालीमा लाग्यो। त्यस्तो मानिसलाई जनताले आफनो मृत्युमा समेत कमिसन खोज्ने जल्लादको संज्ञा दिए। खोपबाट आउने कमिसनमा अल्झिएर जनता विरुद्ध अपराध गर्ने कस्ता मानिस हुन् यी? यो भन्दा गतिछाडा कुरा अर्को के हुन सक्दछ? मानिसको लोभले कोभिड विरुद्धको खोपमा दलालीलाई त छाडेन भने देशलाई के छाड्थ्यो!

कोरोना विरुद्धको खोपबाट आउने दलालीमा कुनैबेला देशका प्रतिष्ठित व्यापारिक घरानाका सदस्य मुछिएको देखियो। हुकुमचन्द दुगड नेपालका प्रतिष्ठित उद्योगपति व्यापारी थिए। उनका सन्तान विजय दुगड नेपालमा ‘स्वस्थ्य र स्वच्छ पानी’ आक्वा हन्ड्रेडका निर्माता थिए। विजय दुगडका लागि तीस-पैंतीस करोडको कमिसन ठूलो कुरा थिएन।

विजय कमिसनको त्यही थुप्रोमा गाडिए। त्यही थुप्रोमा गाडिए विजय गजानन्द वैद्यका छोरा सुरज वैद्य पनि। यो कुरा त निश्चित नै छ- कमिसनको यो जालोमा उनीहरु एक्लै थिएनन्। विजय र सुरजलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्नेह प्राप्त थियो। रु ३५ करोडको कोरोना पदक विजय र सुरजले प्राप्त गरे। यति ठूलो महामारी चम्किएको समयमा देशका होनहार बनियाँहरुले यति पनि मुनाफा कमाएनन् भने त यो महामारी नै भएन।

देश यसरी नै चलेको छ। यतिबेला बिहानदेखि साँझसम्म कोरोनाको भयले कोठामा गुम्सिएर बसेका नेपालीहरुको अवस्थाको कसलाई मतलब? सरकारले भनेको छ- अस्पतालमा बेड उपलब्ध छ, अक्सिजन उपलब्ध छ, भेन्टिलेटर उपलब्ध छ। भरे, सरकारले भने अनुसार, ती कुनै पनि सुविधा पाइएन भने त्यो पनि ठिकै छ। अहिलेको लागि कोरोनाले बच्नु नै अहोभाग्य हो। अरु भनेको त्यस्तै हो।

सरकारको काम वचन दिने हो। उसले विजय र सुरजलाई ठेक्क दिने वचन दिएको थियो उनीहरुले त्यो ठेक्का पाए। सेठ हुकुमचन्द दुगड र विजय गजानन्द वैद्यको आत्माले सन्तुष्टि पाओस्।

मास्क लाउन कहिल्यै नछाडनु होला। आजको जिन्दगी तपार्इंका लागि आनन्दमय बितोस्। तपाईंको आत्माले शान्ति पाओस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....