कान्तिपुर गाथा : सरकारको राम-रमिता

कान्तिपुर गाथा : सरकारको राम-रमिता

सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता बन्धु पोखरेलले “आदरणीय नेकपा एमाले (एकतावादी) कामरेडहरु!” सँग भनेका छन्- यी काम असम्भव छन्ः 
क) हात्तीलाई काखमा राख्न,
ख) कमिलालाई लिपिस्टिक लगाइदिन,
ग) कुकुरको पुच्छर सोझो पार्न र, 
घ) केपी ओलीलाई सम्झाउन।

पोखरेलका यी भनाइ घतलाग्दा छन्। केपी ओलीलाई सम्झाउन असम्भव छ कि छैन? यो काम प्रयोगमा आएको छैन। तर हात्तीलाई काखमा राख्न खोज्दा थिचिएर मरेका मानिस यो संसारमा निकै होलान्। कमिलालाई लिपिस्टिक लगाइदिन खोज्नेहरु असफल भइहाले होलान्। कुकुरको पुच्छर सोझो पार्न पुच्छरमा ढुंग्रो झुण्ड्याएर दौडाउनेहरु पराजयले मात खाएको अन्दाज लगाउन गाह्रो छैन। कुकुरको पुच्छर भनेपछि त्यो ढुंग्रामा जति वर्ष राखे पनि सोझो हुँदैन। उसको जात नै घुम्रिने भएपछि कसैले भनेर सोझो हुन्छ त?

००० 
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जोडिएको पुच्छर कहिले छिनालेको थियो? त्यो तिथि-मितिको गुणन गर्नुको कुनै औचित्य छैन। किनभने, त्यो छिनालिएको पुच्छर कता गयो के भयो? त्यसको हिसाब राखेर कसैलाई फाइदा छैन। 

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रतिरबाट एमाले छिरेका केही भलादमीहरुलाई आफ्नै जिम्मामा राखेका थिए। तीमध्ये एउटालाई छाडेर अरु सबै निराश भइसके।

उनीहरु निर्वाचन आयोग पुगेर थपलियाजीलाई गुहारेनन् कि अनलाइनका अफिस चहारेर आफ्नो गुनासो बताएनन् कि! जता गए पनि काम बनेन। उनीहरु आगामी चुनावमा भाग लिने नलिने कुराको पनि ठेगान भएन। 

राजनीतिमा एकपटक टुहुरो भएपछि फेरि दिन फिर्न गाह्रो छ। यसमा, बन्धु पोखरेलको असम्भव सूत्र मननीय र ग्रहणीय छ। दशा लागेपछि भन्छन्, यसरी लाग्छ। हेर्नुहोस् त, ती टोपबहादुर रायमाझीलाई के भएको थियो र? साथीभाइको दैनिक सत्कार गरेकै थिए। हाटहुट र लाटलुट पञ्चबाटै सिकेका थिए। प्रचण्डले पत्याएको भए राजा ज्ञानेन्द्रसँग वार्ता गर्न पठाउँथे। पत्याएनन्। त्यति भएपछि, राजा ज्ञानेन्द्रले पनि पत्याउनु परेन। ती अर्का नेता प्रभु साह। शाह होइन साह। मधेश रौतहटका नेता। प्रचण्डसँग पनि राम्रो। आखिर मन्त्री बनेकै थिए भने प्रचण्डलाई धोका नै किन दिनुपथ्र्यो र? मानिस भुईंमा न भाँडोमा भएपछि हरिबिजोग हुन्छ।

उता, बादलले आफ्नी श्रीमतीलाई मन्त्री बनाइहाले। मन्त्रीमा पनि सञ्चारमन्त्री। बहाली गरेकै दिन उनको घरमा चार वटा आइफोन पुगेको हल्ला चलिहाल्यो। त्यसको सट्टा बरु दश लाखको पेटी नजराना आएको भए राम्रो हुन्थ्यो। पहिले पो पसल थियो र आइफोन बेच्न पनि झ्याउ हुँदैनथ्यो।

सोचेका थिए- पार्टीमा एक्लै परेका छन् कामरेड ओली। हामी गएर ओत लाग्यौं भने उनलाई पनि राम्रो, हाम्रो पनि भलो। तर त्यो भएन। उनीहरु हैरान परेसान। उता, प्रचण्डकहाँ जाउँ माधव नेपाल छन्। कता जाउँ, के गरौं। गफ लगाएर जोगिने ठाउँसम्म नरहेपछि अचेल नेताजीहरु हराएका छन्। 

गफ लगाउन पनि के लगाउनु र? रामकुमारी झाँक्रीले निर्वाचन आयोगभित्र लैजान माधवजीको हात समातेर तानेकै हुन्। त्यो गफ भएन। बन्धु पोखरेलले असम्भव ‘स्टेटस’ ले फेसबुक रंगाइहाले। अब के बाँकी रह्यो र? केही छ त? छैन।

राजनीति भनेको यस्तै हुन्छ। एकपटक हातबाट फुस्किएपछि फुस्कियो, फुस्कियो। फेरि समात्नलाई वडादेखि नै सुरु हुनु पर्यो। वडामा उम्कियो, इलाकामा डरायो, इलाकामा उम्कियो, क्षेत्रमा डरायो। क्षेत्रबाट माथि केन्द्रमा जानै टिकट चाहियो। टिकट पनि त अब टिकटक भैसक्यो।
०००

एक महिना भइसक्यो मन्त्रिमण्डल बनेको। मन्त्रीहरुको मण्डल नै पूरा गठन हुन पाएको छैन, कहाँबाट गठन होस् मन्त्रिपरिषद। चार जना मन्त्री छन् एक जना राज्यमन्त्री। प्रधानमन्त्री पालैपालो सबै मन्त्रीको मुख हेर्छन्। सबै दबिएका, दलिएका जस्ता देखिन्छन् आफनो पार्टीका। माओवादीका हेर्यो खाइलाग्दा छन्।

प्रधानमन्त्रीलाई यो भन्दा अगाडि धेरै झोक चल्थ्यो। अहिले धेरै थकाइ लाग्छ। जतिखेर पनि शक्ति नास भएको जस्तो। अनुहार र आकृति हेर्दा नै प्रधानमन्त्रीको शक्तिको अहसास हुने।

वास्तवमा, पावर भनेपछि त्यति जाँगर चलाउने मान्छे। यस्तो पावरको तन्तु मिलाउन खप्पिस। तर यो पटक फूर्ति र उत्साह दुवै छैन। उमेर पनि धेरै होइन। बुढेसकाल लाग्यो भनौं भने असी वर्ष नपुगेको मानिसलाई कसरी बुढो भन्ने? हातमा आएको पावरको कुरा। छाडेर अर्कालाई दिने कुरा पनि भएन।

सत्ताको सुखका बारेमा साह्रै सजग छन् मोराहरु। माओवादीसँग अघिल्लो चुनावमा मेलजोल नभएको होइन। साह्रै कडा मोराहरु। व्यवहार गर्नै हम्मेहम्मे पर्ने। यता, जसपा भनौं, त्यस्तै। यो भीडमा माधवजीले आफ्नो सेना मन्त्रिपरिषदमा पठाएपछि के होला? 

ती अहिले दश जना छन नि, बाहिरै बसेका। ती एमाले पार्टी मिलाएर एकता गर्न बसेका कि माधवजीसँग पावर बार्गेनिङ गर्न? प्रधानमन्त्री प्रायः यस्तै कुरा सोचिरहेका हुन्छन्। उनलाई यो पावर धान्न मन लागेको छैन। जस पाउने काम होइन यो अहिलेको समयमा। यो प्रेस पनि कस्तो! त्यो, केरे केरे, स्वास्थ्य राज्यमन्त्रीलाई कति खेदेको। 

प्रधानमन्त्रीको विचार-प्रक्रियाको पर्यवेक्षण गर्दा यो पटक उनी साँच्चै थाकेका छन्। हुने भए, राजपाठ श्रीमतीलाई जिम्मा लगाएर बस्थे होलान्।

गाथाहरु 

४ भदौ, २०७८, १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।