कान्तिपुर गाथा : त्यो ‘फोसा’ को शितल-पिपी, यो हाई-प्रोफाइल दशैं

कान्तिपुर गाथा : त्यो ‘फोसा’ को शितल-पिपी, यो हाई-प्रोफाइल दशैं

काठमाडौं शहरमा अहिले बकैना र लप्सीका बोट र ढुंग्री फूलका झाडी पनि छैनन् जहाँ चराहरु लुकून् र गुलेली देख्ने वित्तिकै नाँच्दै उडून्। ती त थात-थलो बेचेर बसाईं सरेका मानिसहरु जस्तै आफू हुर्केको ठाउँको मोहले कहिलेकाहीँ एकछिनका लागि आउँछन् र फर्किन्छन्।

दशैं अब पहिलेको जस्तो रहेन। फूलपातीका दिन टुँडिखेलमा हुने बढाईं जस्तै दशैं अब औपचारिकता मात्र रहेको छ। शहरका प्रख्यात दुर्गा मन्दिरहरुमा नवरात्रिको पहिरन रातो भोटो र रातो धोतीमा चण्डी पाठ गर्ने पण्डितहरुको संख्या पातलिन थालेको छ। जो देखिन्छन् ती अघिल्लो साँझ पिएको गुह्येश्वरीको जलले लट्ठिएको अनुमान गर्नु त्यति असहज छैन। देवी शक्तिको चाडका समयमा मदिरा र मांसजस्ता शक्तिका प्रमुख तत्वबाट पण्डित मात्रै किन वन्चित रहने?

चार दशक पहिलेको तीन शहर नेपाल अर्थात् कान्तिपुर शहर चाडबाड र जात्राको हिसाबले अतुलनीय थियो। भदौ महिनाको मध्यतिर, बिहान चारै बजे वातावरणमा बाजाको मंगल धुन घन्किन थालेपछि दशैं आएको आभाष हुन्थ्यो। पितृ पक्षको पन्ध्र बिहान शहर सुनसान हुन्थ्यो। त्यसपछि फेरि चर्को कोलाहल।

घटस्थापनाका दिनदेखि नवरात्रि स्नान र देवी दर्शनका लागि बिहान तीन बजेदेखि नै नवरात्रि मेलाका सहभागीहरुको लर्को लाग्थ्यो बागमती र विष्णुमतीको किनारामा। मेला तन्नेरी उमेरका केटा-केटीहरुका लागि हलुका रोमान्सको अनुभव गर्ने मौका पनि हुन्थ्यो। विष्णुमती नुहाउनेहरु शोभा भगवतीको दर्शनपछि हाँस्दै, नाँच्दै गुह्येश्वरी आइपुग्थे भने बागमती नुहाउनेहरु गुह्येश्वरीको दर्शनपछि हतार-हतार शोभा भगवतीतिर हानिन्थे। बीचमा पर्ने मैतीदेवीदेखि भद्रकालीसम्म कुनै पनि देवीको दर्शन छुट्दैनथ्यो।

अहिले सामाजिक अवस्थामा उथल-पुथल नै आइसकेको छ। दशैंको बहानामा घरघरमा विभेदको पर्खाल खडा गरिँदैछ। दशैं हाम्रो होइन उसको हो भन्नेहरुले दशैं जसले मान्छ त्यसैको हो भन्ने सदाशय राख्न सकेका छैनन्। तैपनि, यो तीन शहरको खाल्डोमा चाडबाड र जात्रा भनेपछि हुरुक्क हुने रसिकहरुको संख्या घटेको छैन। दशैंको नवरात्रि मेलामा भाग लिनेहरु माइक्रो बसमा रिजर्भ हुन थालेका छन्। तिहारको न्हुँ दया भिन्तुनामा सहभागिता बढ्न थालेको छ। 

सम्झनाहरु ताजा भए यस पटकको दशैंमा। तर जति प्रयत्न गरे पनि श्रृंखलावध्द हुन सकेनन्। चाँदीको मसिनो धागोमा उनिएको मोतीको हार जस्तो, मिलेर आइदिए पो त सम्झनाहरु। कहिले तरकारी पसलमा काउली र मुला देखेपछि आउँछन्।

आमा दशैंका लागि आवश्यक गरम मसला र अन्य सरसामान किनमेलका लागि फूलपातीको दुई दिनअघि छिमेककी एक जना सहयोगीलाई साथ लिएर शहर जानुहुन्थ्यो पैदल। सार्वजनिक सवारीका साधन थिएनन् त्यतिखेर। उहाँको सारीको फेर समातेर पछिपछि लाग्नुको आनन्द नै अर्को हुन्थ्यो। यो आनन्द किनमेल सकिएपछि पसलेले ‘फोसा’ दिने पुष्टकारी र शितल-पिपीको पोकामा केन्द्रित हुन्थ्यो। आमा अन्नपूर्ण मन्दिरको आँगनमा रहेको त्यो पसलको स्थायी ग्राहक भएकोले फोसाको पोको अलि ठूलै हुन्थ्यो। शितल-पिपी अहिलेको पोलोजस्तै हुन्थ्यो हुबहु। त्यो पोको हुन्थ्यो प्राइम पोसेसन। खानमा भन्दा पनि साथीभाइलाई देखाएर लोभ्याउन साह्रै मज्जाको।

किनमेल सकिएपछि सहयोगी पोको बोकेर घरतिर लाग्थिन्। आमा संकटा र महाँकालको दर्शनपछि बागबजारको बाटो घरतिर फर्किनु हुन्थ्यो। टुकुचाको पुलमा बेच्न राखिएका यामानका प्युठानी मुला र फूलगोभी देखेपछि उहाँका पाइला टक्क अडिन्थे। निकै बेरको कडा मोलतोलपछि जम्मा पाँच मोहरको तीन वटा फूलगोभी र चार वटा प्युठानी मुला सकी-नसकी बोकेर आफूलाई घिच्याउनु हुन्थ्यो आमा। अहिले त रासायनिक मलको चिम्टी नहालेको त्यो साइजको फूलगोभी र मुला पाउनु त के सम्झिनु पनि दुर्लभ छ। फूलगोभी काउलीमा खुम्चिएको छ, प्युठानी मुला प्युठानमा नै पाईंदैन।

दशैं एचपी भएको छ। एचपी अर्थात् हाई-प्रोफाइल। कहाँ उतिबेलाको असन इन्द्रचोकको किनमेल। कहाँ अहिलेको विभिन्न अफरहरु सहितको सपिङ। 

दशैंका लागि किनिएको कम्ब्याट ड्रेस लगाएर रमाइरहेका केटाकेटी देख्दा एक लर्को सम्झना उर्लेर आयो। नयाँ नानाको चाड थियो दशैं उतिखेर। नैनसुतको सेतो सुरुवाल र छिरबिरे रङको कमिज लगाउन पाएपछि भुईंमा पाइला राख्नै मन नलाग्ने केटाहरु। घाँघर र बडो मुजा पारेर सिलाएको पन्जावी सुरुवालमा रमाउने केटीहरु। 
छर-छिमेकका घरमा खसी काटिँदैनथ्यो। घरमा केटाकेटी मात्रै मांसाहारी। हाम्रो सानो बजारमा मासु पसल एउटै थियो। त्यो पसलेमाथि आमाको विश्वास थिएन। गाउँमा छिमेकीहरु मिलेर खसी ल्याउँथे, ढाल्थे र दामासाही भाग लगाएर बेच्थे। एक-एक भाग हरेक घरमा भित्रिन्थ्यो। घर नै पो कति थियो र। एक दर्जनभन्दा कम।

घरको टीका सकिएपछि कोजाग्रत पूर्णिमासम्म आफन्त र मान्यजनका घरमा टीका लगाउन हिंड्नेको ताँती लाग्थ्यो। साँझ घर फर्केर दक्षिणामा पाइएको सिक्का गनिन्थ्यो। स्वयम्भू, सीतापाइला हुँदै भीमढुंगाको उकालो उक्लिएर मामाघर लागिन्थ्यो टीका लगाउन। त्यसपछि दशैं सकिन्थ्यो।

यस पटक पनि दशैं आजैदेखि सकिएको छ। सरकारी तथा सरकारी स्वामित्वका स्वायत्तशासी संस्थान खुलेका छन्। निम्न-मध्यम वर्गीय पत्नीहरु थोरैमा पनि आधा लाखको लगानीमा मनाइएको दशैंपछि मान्यजनबाट पाएको आशिर्वादको थुप्रो एकै लयमा केलाउँदैछन् : अर्को दशैंमा आउँदा ज्वाईंछोरीको सवारी कारमा भएको देख्न पाइयोस्। ज्वाईंको मान बढोस्। कतिले त धकै नमानी बढी आम्दानी हुने अफिसमा सरुवाको कामना समेत गर्ने गरेका छन्।

कृषि प्रधान देश नेपालमा शरद ऋतुको आगमनसँगै किसानहरु खेती-पातीको व्यवस्थापनको काम सक्छन्। पितृ पक्षमा आफना बाबु-बराजेका नाममा पार्वण श्राध्द गर्छन्। त्यसपछि काठमाडौं उपत्यकाबाट सुरु हुन्छ- चाडबाड, जात्रा र पर्वको सिलसिला। तर एक महिनाको अन्तरालमा आउने दशैं-तिहारभन्दा ठूलो हैसियत अरु कुनै चाडपर्वले पनि पाएका छैनन्। 

धेरैको मतमा दशैंभन्दा रमाइलो चाड हो तिहार। दशैं अलि गह्रुंगो हुन्छ। खर्चिलो पनि। जुवा खेल्नेका लागि त तिहार पनि बोझिलो हुनसक्छ। तिहारलाई जुवाको मार्रासँग जोडनेहरु बिर्सिन्छन- तिहार त उज्यालोको अभ्यर्थना हो। तिहार अर्थात् फूलको उत्सव। फलफूल खाने आदत नपरेको देशमा फलफूलको उत्सव।

फूल र फलफूलको प्रसंगमा कुनैबेला पूरै उपत्यका रंगीचंगी फूलहरुले ढाकिएको देखिन्थ्यो। रंगी-विरंगी पुतली फूलहरु, सयपत्री, मखमली र लाहुरे। हरेक घरका गमलामा गुनकेशरी फूल्नै पर्थ्यो। नत्र कसरी देख्ने थिए कवि भानुभक्तले गुनकेशरी फूलले शिर सिंगारेर एकसुरमा हिंडेका चपला-अवलाहरु? उपत्यकाको मौलिक प्रकृतिको देन। त्यो फूल आँखामा चढ्नेहरु सबै काल-कवलित भइसकेका छैनन्।

तर, फूल अचेल देखिँदैन। साग जातको तरकारीमा चम्सुर र फूलमा गुनकेशरी। उपत्यकामा वाहेक चम्सुर अन्यत्र कतै भेटिँदैन। तिहारको तरकारीमा आलु-गोभी र चम्सुर-पालुंगो भएन भने पूरै भान्सा खल्लो हुन्छ। 

तिहारको पहिलो दिन केटाकेटीहरु कागको बथान देखेर रमाउँथे। कागको बथान केहीबेर रछानका सिता टिपेर बेपत्ता हुन्थे। घरमा भात पाकेपछि स-साना बोहोतामा दाल-भात, दुबो र तेल, धुप-बत्ती, अबिर-केसरी कागको नाममा छुट्याइन्थ्यो। ती बोहोताहरुलाई नांगलामा राखेर केटाकेटीहरु आँगनमा ओर्लिन्थे र कागलाई बोलाउन थाल्थे- काग, काग, काग।

निकै बेरको प्रयत्नपछि काग आउँथ्यो र नांगलाबाट चुच्चोले केही टिपेर भाग्थ्यो। कुकुर तिहारको दिन त झन् रमाइलो हुन्थ्यो। कुकुरहरु यतिविधि थिएनन्। सिक्रीमा बाँधेर कुकुर पाल्नेहरु त हाम्रो गाउँमा त के, पूरै शहरमा नगन्य थिए। एउटै कुकुरले चार-पाँच घरको रखवाली गर्दथ्यो। सामान्य समयमा समेत भात-भान्साको समयमा उसलाई फुर्सद नै हुँदैनथ्यो। कसैको भान्सामा मासु पाकेको रहेछ भने घण्टौं त्यही घरमा अलमलिन्थ्यो। कात्तिक महिना कुकुरको मेटिङ सिजन मानिन्छ। कुकुर त्यसमा अलमलियो भने त दिन डुब्थ्यो। तैपनि, हाम्रो गाउँको रैथाने कुकुर ज्ञानी र भद्र नै थियो। ऊ गाउँका सबै घरको पूजा ग्रहण गर्न भ्याउँथ्यो।

तिहारको मुख्य आकर्षण, गाई तिहार र गोरु तिहार बढी संगठित हुन्थ्यो। सबैको घरमा गाई पालेकै हुन्थ्यो। शहरको भित्री भाग इटुम्बहालदेखि नरदेवी हुँदै विष्णुमतीसम्म गाईका बथान हुन्थे। पूजाको समस्या थिएन।

काग, कुकुर, गाई, गोरु- अहिले पनि तिहार सबैको मनाइन्छ। काग कहिलेकाहीँ कतैकतै देखिन्छन बथानमा। कुकुरको समस्या छैन। उपत्यकामा अरु जीव-जिवात नदेखिए पनि कुकुरको संख्या बढदो छ। घरघरको ढोकामा केनेल क्लबको पाटी झुन्डिएको देखिन्छ, ‘कुकुरदेखि सावधान।’ गाई-गोरुको समस्या नै भएन। तिहारको दिन दाम्लोमा बाँधिएका गाई-गोरु डोर्याएर ढोका-ढोकामा होम डेलिभरी दिने समूहको संख्या बढ्दो छ।

तिहारको सबभन्दा रमाइलो पक्ष हो मिठाइ। उतिबेला शहरमा थोरै मात्र थिए हलुवाइका पसल। अहिलेको जस्तो बहुराष्ट्रिय कर्पोरेट मिठाइ कम्पनीको विस्तार भएको थिएन काठमाडौंमा। उपत्यका मौलिक मिठाइ थिए, शुध्द घ्युमा तयार पारिएका जुल्फी र जेरी, बम्वइसन र बर्फी, लालमोहन र रसभरी, लाखामरी र ऐंठे, पेडा र लड्डु, खाजा र निम्की- सम्झनामा आएका मिठाइ यत्ति नै हुन्। 

तिहारका लागि प्रायः सबै घरमा भित्रिने मिठाइ हुन्थे पेडा, लड्डु र वर्फी। सेल, अर्सा-अनर्सा, मालपुवा, बाबर, पुवा र खुवा...घरैमा बन्थ्यो। कसले पकाएको सेल राम्रो र मिठो? एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो प्रत्येक घरका बीच। स्नेह र सद्भावका साथ तयार पारिएका यी मिष्ठान्न र पकवानहरु स्वादिलो र स्वस्थ्यकर हुन्थ्यो। अहिले बजारमा पाइने मिठाइका रुप र आकार सयथरी भए पनि स्वाद एउटै हुन्छ। मिठाइ पनि औपचारिकतामा परिणत भएको छ। 

जे भए पनि र जस्तो भए पनि, दशैं छ र तिहार छ। उपत्यकाको पूरै नक्सा बदलिएको अहिलेको अवस्थामा दशैं र तिहारको हुलिया बदलिनु अनौठो होइन। जनताको संस्कृतिलाई धर्मसँग जोड्नु मात्रै अनौठो हो। देश गणतन्त्र र धर्म-निरपेक्ष हुने वित्तिकै संस्कृति बेमाख हुँदैनन्।

दशैंमा किन जमरा लगाइस् वा तिहारमा किन म्हःपूजा गरिस् भनेर प्रश्न सोध्नु कठोर हठवाद हो। यो दशैंका बेला त्यस्तो हठवाद कम देखियो। अब तिहारका बेला पनि यस्तै देखियोस्। तिहार धनधान्यको आलोकमा भाइदेखि गाईसम्मको आराधना गरिने चाड हो। पुरोहित्याईंका विकृत पक्षलाई सेलाएर समृध्दिको उत्सवका रुपमा हाम्रा चाडहरुलाई स्थापित गर्नुपर्छ।

शक्ति र लक्ष्मीको आवश्यकता सबैलाई छ। जात, धर्म, थर, गोत्र सबैतिर निरपेक्ष हुन्छन् शक्ति र लक्ष्मी। यहाँसम्म कि उनीहरुको घरमा इमान्दार र बेइमान दुवैले कमाएको शक्ति र धनका बीच कुनै भेदभाव हुँदैन। संस्कृतिको महिमा नै यही हो।

२२ असोज, २०७८, १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।