कान्तिपुर गाथा : किन भए गगन, महामन्त्रीमा मगन ?

कान्तिपुर गाथा : किन भए गगन, महामन्त्रीमा मगन ?

पार्टीका बहुसंख्यक सदस्यले महामन्त्रीलाई सभापतिपछिको दोस्रो सभापति मान्ने चलन रहेको छ कांग्रेसमा। पार्टी सदस्यको पंक्ति त्योभन्दा माथि कुनै कुरा सोच्नु स्वभाविक नमान्ने रहेछन्। महाधिवेशनका सन्दर्भमा जिल्ला घुमेर कांग्रेसहरुसँग भेट्दा सबैतिर गगनले यसपालि महामन्त्रीको जिम्मेवारी लेओस् भनेको सुनियो। सभापति यो नै हुनुपर्छ भन्ने कसैले भनेन।

गगन महामन्त्रीमा नै अड्किए। सभापतिको पदमा लड्न उनलाई सुनियोजित हिसाबले रोकियो। गगनले यो कुरा बुझे कि बुझेनन् त्यो उनै जानून्। तर महामन्त्रीमा चुनाव लडेर पनि अहिलेसम्म उनी कसका असली अथवा वर्किङ महामन्त्री हुन् त्यो उनैलाई थाहा छैन। मुखले त हालका सभापति देउवा पनि उनैलाई आफ्नो महामन्त्री बताउलान्। अहिले जति पनि सभापतिका उम्मेदवार छन्, ती सबैलाई काम लाग्ने त गगन नै हुन्। पछि के हुन्छ? त्यो उनै सोचून्।

गगनले कांग्रेसको सभापति पदमा निर्वाचन लड्ने कुरा अलि जटिल पनि भयो होला। मुखले सभापति गगन भन्ने धेरै भए, मनले गगनका लागि काम गर्ने कोही देखिएन। गगनका लागि पनि समय खराब देखियो। निवर्तमान सभापति शेरबहादुर देउवा आफैं लौरो उचालेर ‘मैं हुन्छु सभापति’ भनिरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल एकातिर कांग्रेसका साथीहरुलाई यो जीवनमा एक पटक सभापति बनाइदिन आलाप-बिलाप गर्दैछन् भने अर्कोतिर कोइरालाहरुलाई फकाउन सकिन्छ कि भनेर त्यतातिर कोशिस पनि गर्दैछन्। 

बिपी कोइरालाका कान्छा सुपुत्र डा. शशांक कोइराला सभापतिको चुनाव लड्न मैदानमा उत्रिएको धेरै भइसक्यो। उनलाई योभन्दा अघिल्लो पटक शेरबहादुर देउवाको पक्षमा थामपुर पारिएको हो। उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा चुनाव लड्ने घोषणा गरेर चुनावी अभियानको घोषणा गरिसकेका छन्।

कोइराला परिवारका अर्का हस्ती शेखर सभापति पदमा चुनाव लड्न भिडिएका छन्। उनले त्यो लक्ष्यमा पुग्न बितेका पाँच वर्षदेखि प्रयासमात्र गरेका छैनन्, अभियान नै चलाएका छन्। यो बाहेक डा. रामशरण महत, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, कल्याण गुरुङ लगायतका वरिष्ठ कांग्रेस सल्बलाएका छन् सभापति बन्न। यो अवस्थामा गगनका लागि धर्मसंकट कि कोसँग प्रतिस्पर्धा गर्ने? कोसँग मिलेर महामन्त्री पदमा निर्वाचन लड्ने?

अलि अघि समसामयिक विषयहरुमा गगनसँग मेरो लामो कुरा भएको थियो। त्यतिबेला उनले महामन्त्री पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका थिएनन्। त्यतिबेला उनको विचार थियो, ‘काम गर्दा सजिलो हुने व्यक्तिसँग मिल्नुपर्छ। अघिल्लो पटक म महामन्त्री मात्रमा लडिनँ।

महामन्त्रीमा मात्र लडेको भए मेरो आफ्नो व्यक्तिगत कुरा हुन्थ्यो। त्यतिखेर मैले कृष्ण सिटौलासित मिलेर उम्मेदवारी दिएको थिएँ। पार्टीको नेतृत्व सधैंभरि एउटैको  हातमा हुनुहुँदैन, त्यो बदलिइराख्नुपर्छ भन्ने विचार थियो मेरो।’

तर, त्यसो नहुने रहेछ। कांग्रेसमा त झनै नहुने रहेछ।

गगनलाई थाहा छ, नेपाली कांग्रेस पार्टीभित्र एक जनाले पनि संसदीय प्रजातन्त्रको कुरा गर्दैन। यो अर्को अलमल छ। कांग्रेसभित्र, यो बीचमा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा पनि चल्यो। गगनहरुले नै चलाए। त्यतिखेर कांग्रेसका नेताहरू अरू सबै कुरामा तयार देखिए।

तर संसदीय व्यवस्थामा अलिकति पनि तलमाथि गर्ने कुरामा सहमत भएनन्। नेपाली कांग्रेसमा लोकतन्त्र भनेकै संसदीय व्यवस्था भन्ने मान्यता बनेको छ। तर पार्टी सञ्चालन र संसदीय प्रजातन्त्रमा कहीँ कतै कुनै संगति नै छैन। हाम्रो पार्टीको नेतृत्वमा जो मान्छे आउँछ, उसले चुनाव जित्यो भने प्रधानमन्त्री हुन्छ, चुनाव हार्यो भने पद छाड्नुपर्छ। चुनावमा हारेको नेताले पार्टीको नेतृत्व लिने नैतिक आधार के हो?

गगन भन्छन्- मेरो कार्यक्रमको आधारमा मैले संगठन परिचालन गरेर पार्टीलाई देशको सत्तामा पुर्याउँछु, त्यसको आधारमा मेरो कार्यक्रम लागू गर्छु भन्ने कहीं छैन। चाहे वडास्तरमा होस् वा केन्द्रीयस्तरमा। वडामा पार्टीको एकाइ अध्यक्ष हुन्छ, ऊ वडामा हार्छ। तर ऊ कहीँ जवाफदेही हुनु पर्दैन।  मलाइ नै हेर्नुहोस्। म तेस्रो पटक सांसद भएँ।

मैले आजसम्म प्रभावकारी सांसद हुनका लागि आवश्यक ओरियन्टेसन, पार्टीभित्रको ट्रेनिङ केही पाएको छैन। हामीले काम गरेको कसैले हेरेन। मैले आफूभन्दा अगाडिको सांसद जस्तो हुन्छु भनेर सिक्नका लागि त्यसको अभ्यास पनि केही गरेको छैन। हाम्रो प्राथमिकतामा त्यो कुरा छैन। कुनै पार्टीमा पोजिसन लिएर त्यसको आधारमा सांसद चुनिने स्थिति छ। त्यो स्थिति हाम्रो लागि होइन नि। त्यो कम्युनिस्ट पार्टी हो वास्तवमा। हाम्रो त त्यस्तो नहुनुपर्ने हो। 

पछिल्लो समयमा त कस्तो हुन थालिसक्यो भने संसदभित्रका विधेयकका विषयमा संसदमा छलफल हुनुभन्दा पहिले पार्टीले बोलिदिन्छ र पोजिसन बनाइदिन्छ। किनभने धेरैजसो वरिष्ठ नेताहरू सबैले चुनाव हारेका छन्। यो त संसदलाई नटेरेको हो नि। अर्को कुरा, शेरबहादुर देउवालाई संसदीय दलको नेताको रूपमा कसैले चिन्दैन।

उहाँलाई नेपाली कांग्रेसको सभापतिको रूपमा मात्रै चिन्छन्। उहाँले पावर एक्सरसाइज गरेको पनि संसदीय दलको नेता भएर होइन। उहाँ केपी ओलीसँग भेट्न गएको पनि संसदीय दलको नेताको रूपमा होइन। कांग्रेसको सभापतिको रूपमा हो।

कांग्रेसको संसदीय दलको नेता कमजोर छ। वास्तवमा कांग्रेसले संसदीय व्यवस्थाभित्रका प्रत्येक सांसदलाई प्रभावकारी तुल्याएर जनतालाई यो व्यवस्थाप्रति विश्वास दिलाउनुपर्ने हो। सारा विकास निर्माण लगायतका कुराहरू कांग्रेसका सांसदमार्फत जानुपर्ने हो, त्यो छैन।

अहिले कांग्रेसका ७/८ जना सिनियर नेता जो-जति हुनुहुन्छ, उहाँहरूलाई सबभन्दा बढी समयको बर्बादी लाग्ने भनेकै संसद्मा आउँदा हो। उहाँहरू संसदका बैठकहरूमा सहभागी हुनुहुन्न। उहाँहरूलाई संसद्मा बोल्ने कुरा थाहा नभएर होइन। यहाँ बोलेर के हुन्छ? भन्ने लागेर हो। संसदमा कहिल्यै बोल्नुहुन्न। तर कुनै गाउँमा दुई जना मान्छे कांग्रेस प्रवेश गरे भने त्यो कार्यक्रममा दौडेर जानुहुन्छ। पार्टीमा दुई जना सदस्य बनाउने कुरा त्यति महत्वपूर्ण छ। 

यो परिस्थितिमा गगन महामन्त्रीकै पदको प्रत्यासिमा मगन नभएर गरुन् पनि के र? उनी सभापतिमा को जित्छ भन्ने चिन्ताबाट मुक्त छन्। सभापति पदका उम्मेदवारहरु जसले जिते पनि गगन थापा जत्तिको व्यक्तित्व खुलेको महामन्त्री पाएर आफैं मगन हुनेछन्। उनी शेरबहादुर देउवादेखि कल्याण गुरुङसम्म जो सभापति भए पनि महामन्त्रीको पदमा ‘फिट’ हुनेछन्।

तर यो भन्न सकिँदैन, महामन्त्री पदमा उनको उपस्थिति सबैका लागि उत्तिकै ग्राह्य हुनेछ कि छैन?

गगन भन्छन्, ‘नेपाली कांग्रेसभित्र बाटो बनाउँदै गरेको एउटा युवालाई सघाउने को हो त यहाँ। गिरिजाबाबु भन्नुहोस् वा शेरबहादुरजी, उहाँहरू सबैको चरित्र एउटै हो। पार्टीभित्र खेलकुद गर्यो। संख्यामा खेलकुद गर्यो। लोकले के भन्छ भन्ने कुरामा सरोकार छैन। संख्याको महत्व छ। बरु संख्यामा कहिलेकाहीँ तलमाथि परे परोस् तर जनताले हाम्रो बारेमा भन्ने कुरा के त? हामीलाई जुन विश्वासले जनताले हेरिरहेको छ, त्यो विश्वास तल नझरोस् भन्ने कुरामा म धेरै सजग छु। मेरो शक्ति भनेकै, मैले आर्जन गरेको कुरा भनेकै, त्यही विश्वास हो।

त्यो घट्यो भने म कमजोर हुँदै जान्छु। मैले त्यो मेन्टेन गरिरहेको छु। मेरो लागि मापन गर्ने कुरा त्यो हो। हामीले संगत गर्न नपाए पनि गणेशमानजी, किसुनजीहरूलाई देख्यौं नि त। उहाँहरू पावर पोलिटिक्समा भए पनि उहाँहरूको एउटा स्पेस रह्यो, आइडेन्टिटी रह्यो, त्यसले गर्दा एउटा खालको हामीहरूलाई लुक अप टु भन्ने खालको बनाएको थियो।’

‘त्यो बेला पावर पोलिटिक्स यति धेरै गिजोलिएको पनि थिएन। राजनीतिसँग पैसा त जहिले पनि जोडिएको हुन्छ। तर पहिला अहिले जस्तो थिएन। यस्तै अवस्था रहिरह्यो भने पैसा भएको मान्छे मात्र पार्टीको ठूलो पदमा पुग्ने अवस्था आउँछ। चुनाव पनि त्यस्तै भयो। महँगो हुँदै गयो। अब कांग्रेसको नेतृत्व यो सिस्टमलाई सुधार्नुपर्छ भन्नेतिर लागेन कि अब त्यो महँगो निर्वाचन लड्न आफूले पनि पैसाका लागि नेटवर्क बढाउनुपर्छ भन्नेतिर लाग्यो। वडा, गाउँ जतातिरकाले पनि त्यस्तै सोच्ने भयो। पूरा कांग्रेसकै ओरियन्टेसन हेर्यो भने त्यतैतिर गएको देखिन्छ।’

गाथाहरु 

१८ भदौ, २०७८, ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।