कान्तिपुर गाथा : कोरोनाको शान्ति-स्वस्ति

कान्तिपुर गाथा : कोरोनाको शान्ति-स्वस्ति

पोहोर देशमा दशैं आएन। कोरोना महामारी आयो। मानिसहरु मन्दिर जान पाएनन्। शंख-घण्ट बजेनन्। दुर्गा सप्तशतीको पाठ पनि भएन। जनतालाई अस्पताल धाउँदैमा दिन बित्यो। जनतालाई कोरोना महामारीको प्रकोपबाट जोगाउन सरकारले लकडाउनको घोषणा गर्यो। त्यसपछि त जनता झन् आत्तिए। पहिलो लकडाउनका बेला कान्तिपुर शहरको अवस्था भ्रमित थियो। दोस्रो लकडाउनका बेला गलित भयो।

त्यतिबेलाका प्रधानमन्त्रीले महामारीको समाचार आउने बित्तिकै गुर्जो र बेसार पानी खाएर ‘खाक खुक’ गरे कोरोनाको दोहोलो काढिने भाषण गरे। काठमाडौंको सडक पेटीमा गुर्जोको जरा र डाँठको व्यापार फैलियो। तर, प्रधानमन्त्रीको यो सुझावले कोरोना महामारी भागेन। शहर, बजार, टोल, गाउँ, जताततै महामारी फैलिन लाग्यो। मानिसहरु भकाभक मर्न थाले। यो कस्तो रोग हो? कसैले थाहा पाएन। पशुपति भष्मेश्वर महा-श्मसानमा लासको थुप्रो लाग्न थाल्यो। सरकारले कोरोना महामारीले मरेका मानिसको लास जलाउने जिम्मेवारी सेनालाई दियो। सरकारको यो निर्णय कोरोनाको संक्रमण रोक्नका लागि थियो। दिनहुँ सयौं मानिसको मृत्युले देशमा जताततै हाहाकार, जताततै कोलाहाल मच्चियो।

कोरोनामय पछिल्लो एक वर्ष नेपालीले कति कष्टसँग बिताए त्यो कसैले भन्न सक्दैन। महामारीले धनी र गरिबलाई एकै ठाउँमा र एउटै लहरमा उभ्याइदियो। धनीहरु रातभर अक्सिजनको खोजीमा दौडिन्थे। 

भेन्टिलेटरको सुविधा भएको अस्पतालमा बेडको खोजीमा लाग्थे। अहिले हरेक अस्पतालमा भेन्टिलेटर जडेका कोठाहरु छन्। अक्सिजनको छेलोखेलो छ। हो, सेवा अनुसार अस्पतालको शुल्क महँगो छ। गरिबले सुन्यो भने उसलाई रिंगटा लाग्छ। गरिब जनता टेकु अस्पतालको बलेसीमा आफ्नो पालो पर्खेर उभिइरहेका हुन्थे। अहिले पनि त्यहीँ भेटिन्छन्। टेकु सरुवा रोग अस्पताल हो र कोरोना महामारी सरुवा रोग हो। टेकु अस्पतालमा अहिले पनि यो दृश्य देख्न पाइन्छ। 

कोरोना महामारी सकिएको छैन। अलिकति कम मात्रै भएको छ। यत्ति हो कि, सरकारका गणकहरुले कोरोना पीडित बिरामीका दृश्यलाई देखेको नदेख्यै गर्नु भन्ने आदेश पाएका छन् माथिबाट। बिरामीको बढ्दो संख्या र मर्नेहरुको लामो सूची सुनेर जनता नआत्तियून् भनेर पछिल्लो समयमा सरकारले शान्ति स्वस्तिका लागि गरेको प्रबन्ध हो यो। कोरोना महामारीको आतंक कम गर्न सरकारले उपलब्ध गराएको भ्याक्सिनले मानसिक र शारीरिक दुवै तरीकाले ठूलो काम गरेको छ। अलिकति आत्मबल उकासिएको छ। 

हो, दशैं करेसाबारीमा आइसकेको छ। कोरोना पनि कतै बारीकै डिलतिर लुकेको त छैन? भन्ने आशंका छ मानिसको मनमा। जनताले डेल्टा भेरियन्टका कुरा सुनेका छन्। डेल्टा भेरियन्ट कोरोना महामारीको तेस्रो चरण हो। यो अमेरिका, युरोप र भारततिर फैलिन थालेको बताएका थिए विज्ञहरुले। त्यो खतरा अझै टरेको छैन।

कान्तिपुरमा लकडाउन हटिसकेको छ। जिल्ला अधिकारीले कोरोनाबाट जोगिन राति पार्टी नगर्ने, भोज-भत्तेर बन्द गर्ने लगायतका केही नरम सूचनाहरु जारी गरेका छन्। अरु त्यस्तो केही छैन। सेनाले अचेल दैनिक कति जनाको सदगत गर्छ? त्यो अंक थाहा पाए कोरोना महामारीको औकात थाहा हुने थियो।

हामी देशका रुपमा अचम्मको देश छौं। भाग्यवादी पनि, डर-छेरुवा पनि। हामी बिरामी हुन डराउँछौ। तर मर्न तयारै हुन्छौं। साँच्चै हामी के जाति हौं? किन हामी यति लाचार हुन्छौं? 

देशमा कोरोना भाइरसले दश हजारभन्दा बढी मानिस मरे। हामीलाई लाग्छ, भारतको तुलनामा यो संख्या निकै कम हो। तर होइन। भारत झन्डै डेढ अरबको देश। त्यहाँ महामारीले लाख दुई लाखको मृत्यु हुनु अस्वभाविक नहोला। हामी पुगनपुग, तीन करोड मानिस बसेको देशमा दश हजारभन्दा बढीले ज्यान गुमाउनु सानो कुरा होइन। के यो तथ्यांक सानो हो र?

भारतमा हामी कहाँभन्दा बढी मानिस मरेका मात्रै होइनन्, हामीभन्दा बढी बाँचेका पनि छन्। उनीहरु आफैं भ्याक्सिन बनाउँछन् र त महामारीको सामना गर्नु त्यति कष्टकर छ भने हामी त सकेसम्म दान माँगेर नै जनताको हित गर्ने राज्य पर्यौं भनेपछि अरुथोक केही पनि भन्नुपर्छ र? 

कोरोना भाइरस महामारी हाम्रा देशका महान भनिने नेता, व्यापारी, कर्मचारी र बिचौलियाका लागि ठूलो अवसरका रुपमा देखियो। भेन्टिलेटरदेखि भ्याक्सिनसम्म, कोरोना महामारीको एकछेउ पनि यस्तो देखिएन जहाँबाट भ्रष्टाचारको दुर्गन्ध नफैलिएको होस्।

प्रधानमन्त्रीका इष्टको सूचीमा रहेका व्यापारी दुगड, उनका पार्टनर वैद्य, ओम्नी समूह केही यस्ता नाम हुन् जसको उल्लेख नगरेको खण्डमा यो प्रकरणको अन्त्य नै हुँदैन। कम्युनिष्ट सरकार जनताका विरुध्द कतिसम्म तल ओर्लिएर यस्ता गलत काम गर्न सक्दोरहेछ, त्यसको ज्वलन्त उदाहरण कोरोनाकालमा नै देखियो। 

चीनमा कोरोना भाइरस महामारीले हाहाकार मच्चाउँदा चीनबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना संक्रमण भेटिएको हो। सरकारले त्यतिखेर लकडाउन गरेर राम्रै काम गरेको थियो। तर यो राम्रो कामको परिणाम आएन। महामारीको सामना गर्न सरकार मनसा बाचा कर्मणा लाग्न सकेन। जोकर जस्ता उप-प्रधानमन्त्री ईश्वर पोखरेल र मन्त्री भानुभक्त ढकालले महामारीलाई लुटपाटको अवसर बनाए। यसरी कचल्टियो देशमा कोरोना महामारी।

अर्को सातादेखि त दशैं नेपालीको दैलोभित्र छिरिहाल्यो। पोहोर दशैं मान्न नपाएर नियास्रिएका नेपालीले यो पटक मच्ची-मच्ची दशैं मनाउने छन्। मित्रराष्ट्र चीनबाट आएका ‘नाना’ र ‘खाना’ मा रत्तिएर रमाउने दशैंको अवसर कसले पो गुमाउला!

कोरोना महामारीको डेल्टा भेरियन्टको प्रवेश नेपालमा हुनसक्छ दशैंपछि। यो त निश्चित नै छ- नेपालीले यो पटकको दशैं अलि उत्ताउलो मनाउनेछन्। ‘एकबारको जुनीमा मरिलानु के छ र!’ भन्ने जाति हो यो। तर यो पटक नेपाली जनता उत्ताउलो हुने वातावरण छैन। कोरोनाले मरेका त्यत्रा नेपालीको सम्झनाका बीचमा कसरी उत्ताउलो हुनु?

१५ असोज, २०७८, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।