तीन नेता र एक राजा

तीन नेता र एक राजा

कान्तिपुर शहरलाई नजिकबाट नियाल्दा-नियाल्दै जिन्दगी सुस्ताउन थालिसकेछ। मानिसको जिन्दगीजस्तै यो शहरको पनि कुनै स्थायी भाव छैन। अन्तरा छैन। जसले जसरी गायो, अर्कोले त्यसैगरी बजायो।

इतिहासले समृध्द, भूगोलले रोचक- ‘नागह्रद’ को रुपमा रहेको यो खाल्डोको पानीलाई मन्जुश्रीले पहाड काटेर बनेको शहर। मन्जुश्रीको नामले भयो यो उपत्यकाको कीर्तिमय शहर ! कहिलेकाहीं लाग्छ, मन्जुश्रीको खड्ग प्रहारले यो विशाल पोखरीको पानीलाई निकास दिनुभन्दा अगाडिको समयमा मात्र कीर्तिपुर हुँदो हो यो देशको राजधानी।

आदिकालीन कान्तिपुर, मध्यकालीन कान्तिपुर र अहिलेको कान्तिपुर। इतिहासले बताउँछ, जुनसुकै काल र जुनसुकै समयमा कान्तिपुरका पात्र र प्रबृत्ति समान रुपले चन्चल रहेका छन्। कान्तिपुर उपत्यकामा तीन वटा राम्रा शहर बनेका छन- कान्तिपुर, भक्तपुर र ललितपुर। कान्तिपुर उपत्यकामा देशका तीन नेता खड्गप्रसाद शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बस्छन्। र, हनुमानढोकाबाट अलि उता उत्तरतिर एक राजा बस्छन् ज्ञानेन्द्र। 

अहिलेको कान्तिपुरको अतीत सम्झिँदा यस्तो लाग्छ, यो शहर सपना मात्र हो। सपनाभन्दा पर केही होइन। लोभ र लालचका बोरा बोकेर हिंड्छन् यहाँका मानिसहरु। यहाँका ठूला भनिने मानिसहरुलाई नै हेर्नुहोस्- हिजो जो ठूला थिए आज ती भिखारी भएका छन्। आज जो भिखारी छन् भोलि ती ठूला कहलिने छन्। न ठूलाको परिभाषा छ, न भिखारीकै अर्थ छ।

चाहे खड्गप्रसाद शर्मा ओलीलाई हेर्नुहोस्, जो दुई पटक प्रधानमन्त्री भइसके। अब तेस्रो अवसरको खोजीमा छन्। उनी बेचैन छन्। घोर छटपटीमा छन्। उनी आफैंले आफ्नो नेतृत्वको सरकार भीरको कान्लोमा लगेर ठोके। नियमले त्यो दुर्घटना ठहर हुन्थ्यो। तर, अदालतले भन्यो, अहँ, त्यो दुर्घटना थिएन। 

यहाँका ठूला भनिने मानिसहरुलाई नै हेर्नुहोस्- हिजो जो ठूला थिए आज ती भिखारी भएका छन्। आज जो भिखारी छन् भोलि ती ठूला कहलिने छन्। न ठूलाको परिभाषा छ, न भिखारीकै अर्थ छ।

उनको सरकार भीरको कान्लोमा ठोक्किएर पनि जोगियो। उनले दोस्रो पटक पनि आफ्नो नेतृत्वको सरकार भीरको कान्लोमा ठोकेर दुर्घटनामा पारे। यस पटक अदालतले उनलाई मौका दिएन। उनी सत्ताको कान्लो ओर्लिंदै ओर्लिंदै सडकमा आइपुगे। उनी फेरि एक पटक प्रधानमन्त्री बन्ने सुरमा छन्। 

उनी त्यस्तो प्रधानमन्त्री बन्न चाहन्छन् जसका विरुध्द कुनै अपोजिसनले नजितोस्। उनी एकाग्र भएर शासन गर्न पाउन्। उनका समर्थकहरुको भजनले बसन्तपुर थर्कियोस्। हनुमानढोका चर्कियोस्। अचेल उनी ओली बाका रुपमा चिनिन्छन्। 

चाहे शेरबहादुर देउवालाई हेर्नुहोस्, जो छैटौं पटक प्रधानमन्त्री बन्ने अवसरको प्रतीक्षामा छन्। उनका सबै औंला फर्च्युन रिङले बेरिएका छन्। गणतान्त्रिक हिसाबले देउवाभन्दा ओली जुनियर होलान्। जेल बसाइको हिसाबले ओली सिनियर होलान्। उमेरले पनि ओलीले देउवालाई भ्याउँदैनन्।

देउवा कहिलेकाहीं थाकेको जस्तो गर्छन् र सुस्केरा हाल्दै सोच्दछन्- छैटौं पटक प्रधानमन्त्री नभई त के राजनीति छोड्नु! देउवाले आफूलाई बुढो सोच्नुपर्ने कुनै कारण देखेका पनि छैनन्। उनलाई पार्टीभित्र जसले पनि दाइ भन्छ। दाइ भनेको बाभन्दा तन्नेरी नै हुन्छ। तै अहिलेसम्म रामचन्द्र पौडेलले दाइ भनेको छैन। सम्झिएर उनी मनमनै मुस्कुराउँछन्। 

दाइ भाग्यमानी त भाग्यमानी हुन्। अब कसैले उनको भाग्यको इर्ष्या गरेर हुन्छ र!

पुष्पकमल दाहाल प्रचण्डलाई हेर्नुहोस्, जो दुई पटक प्रधानमन्त्री भइसके। उहिले-उहिले राणाजीको दरबारमा नयाँ श्री ३ महाराजालाई किचकन्नी र ख्याकजस्ता भूतहरुले लखेट्थेरे। पहिलो पटक गणतान्त्रिक नेपालका प्रधानमन्त्री भएका प्रचण्डलाई पनि दरबारका किचकन्नी र ख्याकले खुब तर्साएपछि उनले प्रधानमन्त्री पद नै त्यागे। त्यो बेलादेखि उनको पार्टीमा त्याग नै ‘अध्यक्ष कामरेड’ प्रचण्डको बल हो भन्ने मान्यता स्थापित भयो। हुन पनि, कतै अलिकति विवाद पर्यो कि छोडिदिइहाल्ने। जे त होला।

अहिले चाहिँ प्रचण्ड एक पटक प्रधानमन्त्री भएपछि जीवनभर प्रधानमन्त्री हुन पाइने सम्भावनाको खोजीमा हिँडेका यायावर जस्तो लाग्छन्। उनी मार्क्सवादका पोथाहरु खोतल्दैछन्। उनी जर्मन र रुसी भाषा जान्दैनन्। उनले जानेको अंग्रेजी भाषामा मार्क्सका सबै पोथा अनुवाद भएका छैनन्। माओत्सेतुङ पढ्न चाहिँ सजिलो। चीनियाँहरुले माओका सबै पोथा नेपालीमा अनुवाद गरिदिएका छन्।

प्रचण्ड चीनियाँहरुसँग खुसी छन्। किनभने, त्यताका बौध्दिक नेता र प्रोफेसरहरु बेला-बेलामा काठमाडौं आउँछन्। फुर्सद निकालेर उनीसँग भेट्छन् र हवाना सिगार पिलाउँछन्।

अचेल सन्जालमा ज्ञानेन्द्र र प्रचण्डको खुबै चर्चा चल्ने गरेको छ। राजा आउ देश बचाउ भन्ने नारा पुरानो भैसक्यो। यो कमल थापा र उनका मित्र-मण्डलेले चलाएको नारा थियो। कमल थापाले ज्ञानेन्द्रलाई छाडेपछि यो नारा पनि छुट्यो।

अहिले देशमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रको शासन छ। गठबन्धनका पाँचमध्ये जनमोर्चाले साथ छाडेको सुनिएको हो, खान छाडेको चाहिँ सुनिएको छैन। खान त दिनु पनि पर्यो। गठबन्धनका नेताहरुले एकअर्कालाई राम्ररी चिनेका छन्। त्यसैले सानातिना गुनासाहरु प्रेस, पत्रिका, अनलाइन र सन्जालतिर ठूलाठूला अक्षरमा लेखेको देखिए पनि ती उपत्यका घेर्ने पहाडभन्दा अग्ला हुँदैनन्। 

अचेल सन्जालमा ज्ञानेन्द्र र प्रचण्डको खुबै चर्चा चल्ने गरेको छ। राजा आउ देश बचाउ भन्ने नारा पुरानो भैसक्यो। यो कमल थापा र उनका मित्र-मण्डलेले चलाएको नारा थियो। कमल थापाले ज्ञानेन्द्रलाई छाडेपछि यो नारा पनि छुट्यो।

हुन त पुराना कुरा के गर्नु र! एकथरी नयाँ मानिसहरु ज्ञानेन्द्रलाई राजाबाट हटाएकोले नेपाली जनताले दुःख पाएको फतुर्न थालेका छन्। कत्ति न ज्ञानेन्द्रका बारे थाहा भए जस्तो। ज्ञानेन्द्रले पहिले अधिराजकुमार र पछि राजा भएर देशको खजानामा कति मोज गरे, खजानाबाट कति लुँड्याए, त्यसको हिसाब कसैले राखेको छैन। तर प्रचण्डले झापाको प्रसाईंको होटलमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग खाएको मार्सी भात र खसीको मासुको हिसाब भने सबैले राखेका छन्। दुष्टताको पनि हद हुन्छ नि!

राजा ज्ञानेन्द्रले आफू प्रधानमन्त्री भएका बेला ‘मित्रराष्ट्र’ चीनबाट नेपाल वायु सेवा निगमका लागि खरिद गरेका दुई वटा एभ्रो विमान अहिले बेपत्ता भएका छन्। ती दुई विमानको अत्तोपत्तो छैन। तर त्यसको मासिक किस्ताबन्दी नेपाल वायु सेवा निगमले बुझाइरहेको छ। राजाको तानाशाही शासनको प्रशंसामा लैबरीको भाकामा भजन गाउनेहरुले यो कुरा बुझून्। अन्ततः तीन नेताको अन्तर्यको यो छानविनमा राजा ज्ञानेन्द्र पनि परे।

लोभ र लालच मानिसका सबभन्दा ठूला दुर्गुण हुन्। सत्ताको लोभ र पैसाको लोभमा कुनै फरक छैन। उतिबेला, देशका नेताहरुसँग मिलेर राजा भएर बसेको भए के हुन्थ्यो? अब अहिले आएर ज्ञानेन्द्रलाई कम्बोडियाका नरोदम सिंहानुक कसले बनाइदिने? कसले ओढाइदिने उनलाई ताज।

उसै पनि, राज्य भनेको चियाको विज्ञापन जस्तो ‘वाह ताज!’ त होइन नि। यो कुरा नबुझ्ने त को होला र?

गाथाहरू

४ चैत, २०७८, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।