के नेपाल भियतनाम बन्ला ?

के नेपाल भियतनाम बन्ला ?

देशको राजधानी शहर कान्तिपुरको बडो प्रसिद्ध टोल हो नयाँ बानेश्वर। यो टोल राजनीतिक हिसाबले साह्रै महत्वपूर्ण छ। देशको भूगोल र राजनीतिका बारेमा जान्न चाहनेले बानेश्वरका बारेमा जान्नै पर्छ।

मेरा अभिन्न मित्र तथा सुप्रसिद्ध कानुनविद श्रीहरि अर्यालले बानेश्वरका बारेमा एउटा मोटो ग्रन्थ तयार गरेर बजारमा ल्याउनुभएको छ। त्यो ग्रन्थमा देशका अत्यधिक प्रभावशाली राजनेता कृष्णप्रसाद भट्टराई प्रत्येक शनिबार लक्ष्मी दिदीको चिया पसलमा चिया पिउन आउनुहुने घटनाको सबिस्तार रोचक वर्णन छ। 

बानेश्वरका सामान्य मानिसको कथालाई उनीहरुको जीवनको कथाका रुपमा रुपान्तरण गर्न श्रीहरिले गर्नुभएको मिहिनेतको प्रसंशा गर्नैपर्छ। श्रीहरिको बानेश्वर ग्रन्थका बारेमा देशका अनलाइन र अफलाइन छापाहरुमा चर्चा हुनु जरुरी छ।

अहिले बानेश्वर आन्दोलनको आगोमा दनदनी दन्किइरहेको छ। यो आन्दोलनले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (जनमोर्चा) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई कति पोल्ने हो? त्यसको लेखाजोखा छैन।

अमेरिकाले एमसिसी सहयोग अन्तर्गत नेपाललाई दिन ठिक्क पारेको ५० करोड अमेरिकी डलरको सहयोग लिन हुने कि लिन नहुने? भन्ने विवाद चर्किएको छ कान्तिपुरमा। कांग्रेस र एमाले एमसिसीमार्फत आउन लागेको ५० करोड डलर लिने पक्षमा छन्। माओवादी केन्द्रका निर्णयकर्ता प्रचण्ड द्विविधामा छन्। उनलाई अमेरिकाले दिन लागेको, ब्याज पनि नलाग्ने र ‘घ्यु खाने’ पनि नकाटिने, ५० करोड डलर भित्र्याउने तीव्र इच्छा छ। तर नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलजस्ता जनमोर्चाबाट माओवादीमा आएका तमाम मित्रहरु, माओवादीका देव गुरुङहरुले उनको इच्छाका विरुध्द संसद् भवनमा विरोधको तम्बू गाडेका छन्। त्यो तम्बूभित्र अनेक झमेला छन्।

यी नेताहरु अमेरिकी सहयोगका घोर विरोधी हुन्। तर उनीहरुले चिनियाँ सहयोगका बारे एक शब्द पनि स्पष्ट बोलेका छैनन्। यतिबेला अध्यक्ष कामरेड प्रचण्डको उपस्थितिमा यी नेताहरुलाई ‘कथम भोलि गएर भारत र चीनले नेपाललाई पारस्परिक लडाईंको थलो बनाए भने के होला?’ भनेर सोध्ने हो भने के जवाफ देलान्? यी महान मित्रहरुले त्यो परिस्थितिको व्याख्या कसरी गर्लान्?  यी यावत् प्रश्नहरु यथावत राखेर कामरेड प्रचण्डले के भन्लान्?

बानेश्वरमा एमसिसीको विरोधमा तीनथरी मानिस भेटिन्छन्। एकथरी पार्टी र सिद्धन्तका नाममा जुटेका कार्यकर्ता छन् जो भोलि हुने चुनावमा टिकट पाउने आशाले यता आएका छन्। अर्काथरी छन्- पार्टीले आफ्नो फण्ड खर्च गरेर जुलुस प्रदर्शनका लागि जुटाएका ज्यालादारी कार्यकर्ता। तेस्राथरी, केटी जिस्क्याएर रमाइलो गर्ने ‘कुत्सित’ उद्देश्य पूरा गर्न आफैं जुटेका कार्यकर्ता छन्।

यी कार्यकर्ता सडक भत्काउने, घर फुटाउने, इँटाका टुक्रा थुपारेर सर्वसाधारणको पुर्पुरो ताक्ने काममा लागेका छन्। धन्न, एमसिसीको समर्थनमा उभिएका मानिसहरुले आफ्नो परिचय दिएका छैनन्। सडक छेउको कफी पसलमा बसेर तमासा हेर्दैछन्। एमसिसीका विरोधीहरुले थाहा पाए भने उनीहरुको टाउको फुट्न कत्ति पनि बेर लाग्दैन। 

कान्तिपुरवासीलाई डर छ, ‘कतै यो देशको हविगत तिब्बत र भियतनामको जस्तो हुने त होइन?’ नेपालमा चीन हावी हुने हो भने नेपाल तिब्बत बन्न बेर लाग्दैन। अमेरिका हावी हुने हो भने नेपाल भियतनाम बन्न बेर लाग्दैन।

यति लामो, पछिसम्म काम लाग्ने विचार नेपाली नेताहरुले गर्दैनन्। उनीहरु राज्य व्यवस्थालाई मनखुसी चलाउँछन्, ‘यो नाटक हो। यो नौटंकी हो।’ उनीहरुका लागि राजनीति बाहेक जिन्दगीका आनन्दहरु केही छैनन्।

कुनै बेला देशमा राजतन्त्र थियो। राजाको जन्मोत्सवका दिन हर्षबढाईं हुन्थ्यो। अहिले गणतन्त्र छ। नेताहरु आफ्नो जन्मदिन भव्य रुपमा मनाउँछन्। राजाको जन्मोत्सवमा जस्तो हर्षबढाईं हुँदैन। कमी त्यति मात्रै हो। 

के नेपालले एमसिसी सहयोग लिन पाउला? अहिले नै केही भन्न सकिँदैन। प्रधानमन्त्री देउवा यसका लागि आफ्नो शक्तिको भरपूर प्रयोग गर्दैछन्। अध्यक्ष प्रचण्डसँग कुरा नमिलेपछि उनले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरे। केपी ओली सकारात्मक थिए। 

एमसिसी छलफलका लागि संसदमा उनैले दर्ता गराएका थिए। उनले प्रधानमन्त्री देउवालाई जवाफ दिए- म पनि एमसिसी पास होस् भन्ने चाहन्छु। त्यसका लागि हाम्रो पार्टीले निकालेका चौध जना सांसद आइन्दा सांसद नभएको पूर्जी टाँसियोस्। अनि, सभामुखलाई पदबाट हटाइयोस्। त्यति भो भने एमसिसी भरे नै पास भैहाल्छ।

नेपालमा एउटा उखान प्रचलित छ- कुमाइको घुमाइ। सम्माननीय प्रधानमन्त्री त्यही कुमाइको घुमाइमा परे। अब बाँकी रह्यो यो प्रश्न- कि, के नेपाल भियतनाम बन्ला? अथवा, कि नेपालले तिब्बतको नियति भोग्ला?

प्रश्नको जवाफ मसँग छैन। नेताहरुको मुखारबिन्दबाट केही झर्छ कि?

गाथाहरू

१३ फागुन, २०७८, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।