चर्चा चुनावको, गाथा गगनको

चर्चा चुनावको, गाथा गगनको

नेपालका एक दुर्दान्त फोटो पत्रकार र अर्को दुर्दान्त फिचर पत्रकार मिले भने के होला? औसत मानिसको मनमा झट्ट उठी हाल्ने स्वाभाविक खालको प्रश्न होइन यो। फोटो पत्रकार चन्द्रशेखर कार्की र फिचर पत्रकार बिष्णु निष्ठूरीको मेलले के के हुनसक्छ देश र दुनियाँमा? अहिलेका लागि यो निकै बिचार पुर्याउनुपर्ने कुरा भएको छ। भर्खरैको कुरा हो : कार्कीको सदृश्य र निष्ठूरीको सरल पत्रिका मिलेर नेपालका तरुण–तरुनीका धड्कनका रूपमा चिनिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बारेमा रोचक र सदृश्य समाचार लेखेका छन्। त्यसो त गगनका बारेमा समाचार लेखिनु नयाँ र आश्चर्यजनक कुरा होइन। बरु गगनका बारेमा समाचार लेखिएन भने त्यो समाचार बन्छ। उनका बारेमा राम्रा नराम्रा समाचार लेखिई रहेकै हुन्छन्।

पछिल्लो चुनावभन्दा अघि, गगन स्वास्थ्यमन्त्री भएकै बेलादेखि, उनी माथि कुनै दोष लगाउन नपाएपछि, नुवाकोटे कम्युनिष्टहरुले गगनले खन्यायोखर्कमा बाख्रा पालन गरेर ‘अपराध’ गरेको दोष लगाउन थाले। गगनले आफू बाख्रा पालनमा ‘फयल’ भएको कन्फेशनगर्दै बाख्रा पालन योजनामा आफ्नै सम्पत्तिको सर्वनाश गरेको कबुल पटक-पटक गरेका छन्। तै पनि, कम्युनिस्टहरू गगनलाई प्रश्न सोध्न छाड्दैनन्'बाख्रा खै? 'भन्दै।

एउटा झुटलाई सय पटक दोहोर्याएपछि त्यो सत्य बन्दछ भन्ने भ्रमले थिचिएका छन् एक थरी कम्युनिस्टहरू। तिनलाई यो कुरा राम्ररी थाह छ, कम्युनिस्टहरू जतिसुकै उद्यमशील भए पनि ‘बाख्रा पालन योजना’ मा कुनै पनि जाति र प्रकारका कम्युनिस्टहरू कसैले पनि लगानी गर्दैनन्। उनीहरूले यो काममा हात हाल्नु भनेको बोका र बाख्रीको सर्वनाश गर्नु हो। अचेल केही कम्युनिस्टहरू भन्न थालेका छन् : बाख्रा पाल्ने काम सरकारको हो। गगनले पक्कै पनि आफ्नो पैसा लगाएर बाख्रा पालन गरेका होइनन्। बाख्रा त सरकारी फण्डमा नै पालेको हुनुपर्छ।

बल्ल जेलिएको कुराको लहरो खुल्यो। कार्की र निष्ठूरीले गगनका बारेमा नितान्त नयाँ कुरा बताए। उनीहरू चाहन्छन्, गगनले कान्तिपुर महानगरपालिकाको मेयरमा चुनाव लडुन्। निश्चय पनि, उनीहरूको कुरा संगतिपूर्ण छ। गगनले कान्तिपुर मेयरको पदमा चुनाव लडे भने यो महानगरका जनता गगनप्रति सदाकालका लागि कृतज्ञ हुनेछन्। कान्तिपुरको मेयर हुनु र नेपालको प्रधानमन्त्री हुनुमा कुन बढी कठिन र जटिल काम हो?  यसबारे जनमत सङ्ग्रह गराउने हो भने आजको जनमतले भन्नेछ : कान्तिपुरको मेयर।

उ बेला राजा वीरेन्द्रले पनि कान्तिपुरको जनमतलाई खुसी गराउनका लागि कट्टर वामपन्थी बिचारका राजनीतिक व्यक्तित्व तथा सुख्यात वकिल वासुदेवप्रसाद ढुंगानालाई ‘कानपा’का प्रधानपञ्च बनाउन पञ्चहरूलाई ‘हुकुम बक्सेका’ थिए। प्रधानपञ्च हुनुभन्दा पहिले वासुदेवप्रसाद ढुङ्गाना शिक्षामन्त्री भै सकेका थिए। ढुङ्गानाकै पालामा नेपालका सुप्रसिद्ध वामपन्थी पत्रकार मदनमणि दीक्षित ‘मास्टर साहेब’ कानपाका वडा अध्यक्षमा मनोनयनमा परेका थिए। त्यो विकास–निर्माणको युग थियो। जनता गीत गाउँथे : कलम समाऊ हे राजा, कविता हामी बनौँला। राजा कवि, जनता कविता। देशको एक मात्र रेडियो नेपाल डाँडा–काँडा घन्किने गरी गीत सुनाउँथ्यो, ‘कलम समाऊ हे राजा, कविता हामी बनौँला।’

कान्तिपुर महानगरको नेतृत्वमा आएका कमल चित्रकार, हरिबोल भट्टराई, पीएल सिंह र केशव स्थापित – चार अबिस्मृत अभिनेता हुन्। ती चारै जना असफल भए। जसोतसो, केशव स्थापित बागमती प्रदेशका मन्त्रीसम्म भए। हालै मात्र एमाले नेताबाट वामपन्थी नेताका रूपमा रूपान्तरण गरेका वामदेव गौतम पनि कामनपासंग जोडिएका छन्। उनको र केशव स्थापितको घनिष्ठ मित्रताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो कामनपा भित्रिने ‘सुन मार्ग’ बनेको थियो। वामदेव थिए देशका गृहमन्त्री।

काँचो वायुमा परिणत हुन लागेका कम्युनिस्टहरू गगनका विरुद्ध एकोहोरिने छन्। राजनीतिक घमन्डको एउटा कालखण्ड भत्किनेछ। दम छैन : कांग्रेसले कम्युनिस्टको होइन, आफ्नै पार्टीका साथीहरूको विरोध गर्छ। आफ्नैलाई सिद्ध्याउन माहिर छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रोटोकल अर्थात् मर्यादाक्रमको ठुलो महत्त्व हुन्छ भन्छन् विद्वानहरू। तर, स्तम्भकारलाई त्यस्तो लाग्दैन। नेपालमा महानगरको मेयर हुने मानिसले यसो पानी–ढलो, फोहोर–मैलाको राम्रो व्यवस्थापन गर्यो भने मानिसहरू जय गान गाउन थाली हाल्छन्। कान्तिपुर सफाइ अभियानका मुख्य अभियन्ता भएपछि त देशको मुख्य अभियन्ता हुने प्रमाणपत्र पाएसरह नै भयो।

मानिसको विश्वास जित्न केही गर्नै पर्दैन। जनतामा कान्तिपुर सफा गर्नेले देश सफा गरी हाल्छन् भन्ने मानसिकताको विकास हुन्छ। जनता खुसी हुन अलिकति पनि बेर लाग्दैन। पछि, सांसदमा चुनाव लड्दा ‘मल्ल राजादेखि शाह नरेशसम्म’ कसैको पालामा हुन नसकेको कान्तिपुर सफाइको काम यिनैको पालामा भएको थियो भन्ने फैलिई हाल्छ।

तन्नेरी विचारक शङ्कर तिवारीले हालै गगनको पक्षमा लेखेको एउटा राजनीतिक टिप्पणीमा शेरबहादुर देउवाको काँधमा गगनको हलो नार्न खोजेका छन्। निश्चय पनि, देउवा सक्षम छन्। उनले गगनको हलो तान्न नसक्ने त कुरै भएन। तर, गगन आफ्नो हलो तान्न आफैँ समर्थ छन्। मैले गगनलाई ठिकै बुझेको हो भने, उनी पनि शेरबहादुर देउवाजस्तै आफ्नो बाटो आफैँ बनाउन सक्ने मानिस हुन्।

स्तम्भकारको बिचारमा, नेपालको राजनीतिमा यो समय गगनको समय होइन। उनको पार्टी नेपाली कांग्रेसभित्र नेतृत्वमा रहेको सबभन्दा तन्नेरी बरिष्ठ नेताको उमेर सत्तरी वर्षभन्दा कम छैन होला। ती महान्तम हस्तीले जीवनको कुनै मोडमा केही योगदान दिनु भएको थियो होला। त्यत्ति हो। अचम्म छ, त्यो योगदानको कूत उहाँहरू अहिलेसम्म खाइ रहनु भएको छ। पार्टीमा दाइहरूको लर्को छ। कति दाइहरूलाई मरेपछि ‘चार तारे न ओढाइदेलान्’ भन्ने डर छ। त्यसैले उनीहरूले आफ्नो नाप अनुसारको चार तारे ठिक्क पारेर राखेका छन्।

उनीहरू चाहन्छ-पार्टी सभापति घाटसम्म गएर आत्म शान्तिको कामना गरुन्। पार्टी सरकार र आफू मन्त्री पदमा रहेको बेला मरियो भने त गजब नै भै हाल्यो। कांग्रेसको मात्र होइन, हरेक पार्टीका नेताहरूको हाल यही हो। पार्टी जति बूढो भयो, त्यत्ति इतराउँछ। छोरा-नाति देशको राजनीतिको भारी बोक्न चाहँदैनन्। जो चाहन्छन् तिनलाई हजुरबा, बा र काकाहरू अवसर नै दिँदैनन्। अचेलका पत्रकारहरू पनि उस्तै छन्। नेताजीहरूको अविच्युअरीमा ध्यानै दिँदैनन्।

राजनीति यो विषम परिस्थितिमा हिँडेका बेला कार्की र निष्ठूरीले गगनलाई कान्तिपुरको मेयरमा चुनाव लड्न सुझाएका छन्। यो सुझावमा दम पनि छ। दम पनि छैन। दम छ : काँचो वायुमा परिणत हुन लागेका कम्युनिस्टहरू गगनका विरुद्ध एकोहोरिने छन्। राजनीतिक घमन्डको एउटा कालखण्ड भत्किनेछ। दम छैन : कांग्रेसले कम्युनिस्टको होइन, आफ्नै पार्टीका साथीहरूको विरोध गर्छ। आफ्नैलाई सिद्ध्याउन माहिर छन्।

यी दुवैको नियति भारतका कांग्रेस र कम्युनिस्ट पार्टीको जस्तै छ। दिल्ली सरकारका आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल पार्टीको झन्डा बोकेर पन्जाब पुग्नासाथ कांग्रेसको अस्तित्व खतरामा पर्यो। त्यहाँ त्यो भन्दा निकै अघि नै कम्युनिस्ट पार्टीको पतन भै सकेको थियो।

पतन मार्गमा केजरीवाल कारक थिएनन्। उही कांग्रेस र कम्युनिस्ट नै थिए।

गाथाहरू

११ चैत, २०७८, १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।