छि, फोहोरीहरु !

छि, फोहोरीहरु !

केही दिनअघि प्रोफेसर अभि सुवेदीले कान्तिपुर दैनिकमा प्रकाशित हुने आफ्नो साप्ताहिक स्तम्भमा ‘नेपाल मण्डल’ का बारेमा लेख्नुभएको थियो। ‘नेपाल मण्डल’ यही भूमि हो जहाँ अहिले हामी बसेका छौं। नेपाल मण्डल राज्य शक्तिको मुल केन्द्र हो। हाम्रा शासकहरु यहीं बसेर शासनको सूत्र चलाउँछन्।

प्राचीनकालदेखि नै सांस्कृतिक र सामाजिक हिसाबले ललितपुर र भक्तपुर नेपाल मण्डलबाट अलग थिएनन्। राजनीतिक हिसाबले ती अलग राज्य थिए। त्यत्ति नै हो। तीन शहरलाई नेपाल मण्डलसँग गाँस्ने सांस्कृतिक सूत्र अहिले पनि चुँडिएको छैन। कहिले पनि चुँडिने सम्भावना छैन। 

हो, त्यतिबेलाको नेपाल मण्डलमा राजनीतिको बाक्लो कुहिरो लागेको थिएन। अहिले नेपाल मण्डल कान्तिपुर उपत्यकाका रुपमा अस्तित्वमा रहेको छ। नेपाल मण्डलको नाम बदलिए पनि भूगोल बदलिएको छैन। यत्ति हो कि, यो उपत्यकामा पृथ्वीलाई नै अटेस-मटेस हुनेगरी ओइरिएका थिएनन् मानिसहरु। चार दशक अगाडिसम्म पनि उपत्यकाका नदी–नाला जीवित थिए। सफा बालुवामा नदीको सङ्लो पानी बगिरहेको हुन्थ्यो, कल-कल, कल-कल। मानिसहरु त्यही पानीले लुगा धुन्थे, त्यही पानीमा खाना बनाउँथे र बडो आनन्द मानेर जीवन बिताउँथे।

हो, त्यतिबेला पनि उपत्यका फोहोर नै थियो। सर्वसाधारणका घरमा चर्पी थिएनन्। मानिसहरु झाडी र कान्लाहरुमा आफूलाई अलिकति लुकाएर शौचादि कर्मबाट निवृत्त हुन्थे। 

अहिले त्यो वातावरण छैन। नेपाल मण्डलको स्वरुप फेरिएको छ। संस्कार फेरिएको छैन। नेपाल मण्डलका सम्पदाका रुपमा रहेका सांस्कृतिक धरोहरहरु सिमेण्टका जंगलभित्र छोपिएका छन्। नेपाल मण्डलमा कतै श्वास फेर्ने ठाउँसम्म भेटिँदैन।

शहर बदलिएको छ। मानिस बदलिएका छन्। भाषा बिग्रिएका छन्। भेष बदलिएको छ। यहाँका नागरिकहरुको स्वाभिमान लडखडाएको छ। आत्मबल खस्किन थालेको छ। जो आर्थिक रुपले सम्पन्न छन्, ती पनि लडखडाउन थालेका छन्।

अघि पो भोटसँग व्यापार हुन्थ्यो। समाजको अस्तित्व रुपैयाँ-पैसामा टिकेको थिएन। अहिले भोट पनि छैन। भोटसँगको व्यापार पनि छैन। नेपाल मण्डलले भोटमा सामान निर्यात गर्ने समयले नेटो काटेको छ। 

देशमा लोकतान्त्रिक चुनाव हुन थालेका छन्। तर लोकतान्त्रिक विधिको शासन सुरु हुन सकेको छैन। 

२०४६ सालमा निरंकुश राजतन्त्रका विरुध्द भएको पहिलो र निर्णायक जन-आन्दोलनपछि चुनावहरु नियमित नभए पनि हुँदै नभएका होइनन्। तर समस्याहरु झन्-झन् बल्झिँदै गएका छन्। निर्दलीय पञ्चायतको जमानामा रत्नपार्कको बाटो काटेर भोटाहिटी बजार पुग्ने पैदल यात्रुको सुविधाका लागि भूमिगत मार्ग बनाइएको थियो। अहिले त्यो मार्ग शहरको भूमिगत बजारमा परिणत भएको छ।

उतिबेला फोहोरको खासै चर्चा थिएन। यतिबेला फोहोरको चर्चा चुलिएको छ। नागार्जुन परिसरमा रहेको ओशो आश्रमको छिमेकमा फोहोर केन्द्रित आन्दोलन चलेको छ। सिसडोलका नामले परिचित त्यहाँको गाउँ र वरपरका बासिन्दाहरु आफ्नो बसोबासको क्षेत्रमा नेपाल मण्डलले उत्पादन गरेको फोहोर फाल्न नदिनेमा अहिलेसम्म दृढ देखिएका छन्।

नेपाल मण्डल शब्दको उद्भव नै शक्तिको उपभोगको सन्दर्भमा भएको हो। देशको शक्तिलाई एकसरो उपभोग गर मजासँग। फोहोरमा पनि अदभूत शक्ति केन्द्रित हुने रहेछ- सिसडोलले त्यो देखाएको छ। जनता मरुन् कि बाँचून्। शासनकर्ताको चासो त्यो होइन। निर्वाचित प्रतिनिधिहरुले जनताको हितमा काम गर्थे भने सबभन्दा पहिला ‘सिष्टम’ बनाउँथे। फोहोरको नाममा जनतासँग कुस्ताकुस्ती गर्दैनथे। 

सरकार, महानगरपालिका र स्थानीय जनताका बीच चलिरहेको फोहोर व्यवस्थापन वार्ता हुने तोडिने भइराख्या छ। वातावरणमा दुर्गन्ध फैलिन नदिन फोहोरको थुप्रोले बनेका पहाडमा महानगरका मेयर र संघीय सरकारको पहलमा ‘अत्तर’ छर्किने व्यवस्था हुन लागेको पनि सुनिँदैछ।

फोहोरको पहाड जहाँ बनेको छ त्यो ठाउँलाई गोकुलधुप जलाएर हुन्छ कि केमिकल बर्साएर हुन्छ, दुर्गन्धमुक्त तुल्याउनु निकै राम्रो कुरा हो। तर यो कति स्थायी हुन्छ?, कति व्यावहारिक हुन्छ? त्यसको लेखाजोखा त नेपाल मण्डलमा गर्दै जाने नै होला।

यस्तो लाग्छ, जे-जसरी हुन्छ अहिलेको गर्जो टारौं, भोलि जे होला देखा जायेगामा लागेका छन् नगरका नेतृत्ववर्ग। 

नेपाल मण्डलमा उत्पादन भएका फोहोरका पहाड व्यवस्थापन कसरी गर्ने र कहाँ गर्ने? यहाँ एक/दुई डुंगुर होइन, एक/दुई पहाड नै थुप्रिएका छन् फोहोर।

भर्खरै चुनावबाट चुनिएर आएका प्रतिनिधिहरु जोशमा छन्। मानिसमा जोश हुनैपर्छ। तर त्यो जोशको के काम जुन जोशले जनताको हितमा एउटा माखो मार्न सक्दैन। 

आफ्नो डाँडा-पाखामा फोहोर फाल्न दिन्नौं भनेर प्रतिरोध गर्ने सिसडोलका जनता जति ‘धन्य’ हुन् त्यति नै धन्य महानगरपालिकाको गाडी नआएसम्म आफूले जम्मा गरेको फोहोर आफ्नै बुईंगलमा थुपारेर राख्ने जनता पनि हुन्।

बुईंगलमा नअटाएपछि मात्र अहिले सडक-पेटीका खुला किनारामा स्वतन्त्रतापूर्वक फोहोर थुपारिएको हो। सडकमा थुप्रिएको फोहोर कहिले उठ्ने हो त्यसको टुंगो छैन।

सिसडोल क्षेत्रमा जम्मा भएको फोहोरबाट निस्किएको ‘लिचड’ बगेर नजिकका खोला-नाला प्रदूषित भइरहेको जानकारी पलपलमा आइ रहेको छ। अहिले भएको वार्ताले समस्यालाई छोप्छ, समाधान निकाल्दैन। 

नेपाल मण्डलका मानिसका लागि फोहोर गर्नु बाध्यात्मक अवस्था हो। जान्ने-बुझ्नेहरु यसलाई संरचनागत अधिकार पनि भन्दा रहेछन्। महानगरका निर्वाचित पदाधिकारी फोहोर व्यवस्थापनका लागि दृढ देखिन्छन्। महा-नगरसँग पैसाको कमी छैन। तर फोहोर व्यवस्थापनका लागि ककनी छिचोलेर पर जाने राजनीतिक आँट कसैमा छैन। बडो दर्दनाक हिसाबले स-परिवार मारिएका महाराज वीरेन्द्रको पालामा ‘शान्ति क्षेत्र’ बनिसकेको देशमा फोहोरकै कारण अशान्ति फैलिएला र मुठभेडको परिस्थिति आउला भनेर सतर्क रहेका छन् देश चलाउने पण्डाहरु।

सुदूर-अतीतदेखि आजका मितिसम्म नेपाल मण्डलको फोहोरले थन्किने थलो पाएको छैन। यो दुःखद कुरा हो। यसलाई सामान्य भन्न मिल्दैन। पीएल सिंह नेपाल मण्डलको मेयर हुँदा उनले शहरमा जम्मा भएको फोहोरको प्रयोग बागमती, बिष्णुमती र रुद्रमतीका किनारामा सडक निर्माण गर्दा गरेका थिए रे! फोहोरको थुप्रोमा उभिएर पत्रकार साथीहरुले नेपाल मण्डलमा उत्तेजना फैलाउनुभन्दा फोहोर बहसलाई रचनात्मक मोडमा लैजान अलिकति मिहिनेत गरे राम्रै हुन्थ्यो होला।  

महानगरपालिकाले आफूले गर्नसक्ने काम गरेको छ। महानगरका मेयर साहेबको आह्वानमा नेपाल मण्डलका व्यवसायीहरुले आ-आफ्नो पसल, वर्कसप, चियाघर, कफी पसल, खाजा घर, रेष्टुराँ तथा होटलमा रहेका शौचालयहरु जनताको प्रयोगका लागि बडो उदारतापूर्वक खुला गरिदिएका छन्। नेपाल मण्डलका दुई/चार व्यस्त ठाउँमा दुई/चार दर्जन ‘चर्पी’ कोठाको निर्माण गरिदिनसक्ने व्यवसायीहरुले त्यस्तो सदासय देखाउने साहस गरेका छैनन। बरु, आफ्ना विभिन्न कार्यालयमा रहेका चर्पीको सार्वजनिक प्रयोग गर्न दिने घोषणा गरेर बडो उदारता देखाएका छन्।

अंग्रेजी साहित्यका महान नाटककार शेक्सपियरको नाटक 'दि मर्चेन्ट हफ भेनिस'को एउटा महत्वपूर्ण पात्र थियो साइलक। नेपाल मण्डलमा चर्पी व्यवस्थापनका लागि अघि सरेका व्यवसायीहरुलाई देख्दा साइलकको सम्झना आउँछ। 

आशा गरौं, महानगरका नवनिर्वाचित मेयरको आह्वान पूरा गर्न मण्डलका धनाढ्य व्यवसायीहरुले देखाएको अग्रसरताले यो शहर दिसा-पिसाबको दैनिक झण्झटबाट छिटै मुक्त हुनेछ। शहरका कतिपय खाजा-घरहरुमा खाजा खानेको भन्दा सु-सु गर्नेको संख्या बढ्नसक्छ। यस्तो परिस्थिति उत्पन्न हुने कल्पना नगरका नयाँ नेताहरुले गरेका छन् कि छैनन् होला? यो नेताहरुको चासोको कुरा हो। यसमा जनताको चासोको कुनै अर्थ छैन।

सिसडोल घटनाकै सन्दर्भमा, महानगरको नेतृत्वले अब आइन्दा नेपाल मण्डलका जनताले कुहिने फोहोर र नकुहिने फोहोर छुट्टा-छुट्टै झोलामा राखेर दिएनन् भने फोहोर संकलन नगर्ने घोषणा गरेको छ। महानगरले जनतालाई चिची पनि दिने र पापा पनि दिने त कुरै आउँदैन।

महानगरको पदाधिकारी हुन कडा प्रतिस्पर्धाको सामना गरेर चुनाव लडेका व्यक्तित्वहरुले इज्जत-प्रतिष्ठा कमाउनका लागि मात्रै चुनाव लडेका होइनन्। उनीहरुका अरु धेरै एजेण्डा होलान्।

नेपाल मण्डल शब्दको उद्भव नै शक्तिको उपभोगको सन्दर्भमा भएको हो। देशको शक्तिलाई एकसरो उपभोग गर मजासँग। फोहोरमा पनि अदभूत शक्ति केन्द्रित हुने रहेछ- सिसडोलले त्यो देखाएको छ। जनता मरुन् कि बाँचून्। शासनकर्ताको चासो त्यो होइन। निर्वाचित प्रतिनिधिहरुले जनताको हितमा काम गर्थे भने सबभन्दा पहिला ‘सिष्टम’ बनाउँथे। फोहोरको नाममा जनतासँग कुस्ताकुस्ती गर्दैनथे। 

छि, फोहोरीहरु !

२७ जेठ, २०७९, १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।