टाट पल्टिन लागेको देश

टाट पल्टिन लागेको देश

‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’: यो एक वाक्य मात्र होइन, नाटककार बालकृष्ण समको सुप्रसिध्द नाटक ‘मुकुन्द इन्दिरा’ को यो दृष्टिकोण हो।

देश चुत्थै भए पनि देशभक्ति मर्दैन भन्ने भावनालाई अहिलेको नेपालमा बस्ने कति नेपालीले यथार्थका रुपमा हेरेका होलान् वा हेर्लान्? के देशभक्तिको भावना बलियो भएको देश कहिल्यै टाट पल्टिएला? उसै पनि, देशभक्तिको गीत गाउन हामी नेपालीलाई कसले सिकायो र? जसले सिकाउने हर्कत गरे, तिनले जसोतसो आफ्नो ज्यान जोगाए।

अहिले कतिलाई थाहा होला बालकृष्ण सम र उनको कालजयी नाटक मुकुन्द इन्दिरा? कतिलाई थाहा होला विजय मल्ल र भीमनिधि तिवारी र गोविन्द गोठाले? साहित्य र संस्कृतिको रचनात्मक आन्दोलनमा लागेका कति नारीहरुले जागृतिको गीत लेख्ने र गाउने कवियत्री र गायिका पत्तो लगाए होलान्? यी र यस्तै कुराहरुले असीमित पाखण्डको लालकिल्ला बनाएको छ यो देशलाई! 

पन्ध्र वर्षदेखि देशले काँचुली फेरेको छ। यो देश गणतन्त्र बनेको छ। तैपनि, अहिले यहाँ हाहाकार मच्चिएको छ। देश पुरानो काँचुलीको बन्धनबाट मुक्त भइसक्यो। तर उसले नयाँ काँचुली फेर्न पाएको छैन।

देशका प्रमुख पार्टीहरु कांग्रेस, कम्युनिष्ट, माओवादी, जनमोर्चा, मधेशी, पहाडी सबै मिलेर संविधान बनाएका हुन्। देशका आदिवासी थारु समुदाय संविधान निर्माणमा बृहत्त रुपले संलग्न हुन चाहन्थ्यो। उल्टै उसले संविधान निर्माणमा भाँजो हाल्न खोजेको आरोपमा गोली खानुपर्यो। 

संविधान निर्माणमा थारु र अरु निमुखा समुदायको सहभागिता लिन चाहेनन् संविधान निर्माणकर्ताले। त्यसको बदलामा, राज्यको कुरा नमानेर विद्रोह गरेको एक जना थारु युवकले थुनाबाटै चुनाव लड्यो र धूमधामले जित्यो। सावित भयो, जति दुःख पाए पनि जनता कहिल्यै हार्दैन। ऊ हार्न जन्मिएको होइन।  

नेपालको संविधान बनाउँदा लामो समय खर्च भएको छ। त्यसमा प्रशस्त स्वदेशी-विदेशी पैसा लगानी भएको छ। त्यसैको प्रतिफल- हाम्रो देशमा यस्तो संविधान बनेको छ जुन समावेशी छ, लोकतान्त्रिक छ, गणतान्त्रिक छ, समाजवादी छ, धर्मनिरपेक्ष छ।

संविधान समाजवादी भए पनि अर्थतन्त्र बजारमुखी छ। देशका अर्थशास्त्रीहरु धुरन्घर छन्। उनीहरु बजारमुखी अर्थतन्त्रको जगमा समाजवादी सपनाको दियो जगाउन चाहन्छन्।

नेपालको संविधान बनेपछि देशका दुवै छिमेकी देश अर्थात् भारत र चीन अचम्मको द्वन्द्वमा परे। भारत ठुस्स परेको मौका छोपेर चीनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल भ्रमणमा आए। उनले नेपालका लागि बिआरआईको कोसेली ल्याएका थिए। उनले नेपाली जनताको सुविधाका लागि केरुङदेखि काठमाडौंसम्म रेल चलाइदिने आश्वासन दिए। पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाइदिने सम्झौता गरे। के-के गरे के-के! 

भ्रमणको यथार्थ पाटो तब खुल्यो जब चीनका विदेशमन्त्री मिस्टर वाङ पाकिस्तान र भारतको भ्रमण सकेर सुटुक्क नेपाल पसे। उनको भ्रमणपछि सरकार रनभुल्लमा पर्यो। किनभने, उनले नेपाल सरकारका हस्तीहरुलाई पोखरा विमानस्थल निर्माण गरेवापत पहिलो किस्ता रकम बुझाउने समय दैलोमा आइपुगेको सम्झाए। वाङको कुरा सुनेपछि सत्ताको मस्तीमा चुर्लुम्म डुबेका नेपाल सरकारका हस्तीहरुको होस उड्यो। 

‘ओहो! हाम्रो त देशै टाट पल्टिन लागेछ त’ सरकारले पालेका बोकाहरु तर्कको खोजीमा लागे- कसरी टाट पल्टिन्छ देश? 

एकथरी बोकाहरुको भनाइ थियो, ‘यो अवस्था आउनुको मुख्य कारण हो अमेरिका। अमेरिकाले हाम्रो देशमा एमसिसीतन्त्र नपठाएको भए यो नौबत नै आउने थिएन। नेपालले एमसीसी ल्याउन हतारिनै पर्दैनथ्यो। बिजुली नआउँदा किन आएन भनेर सोध्यो भने कुलमान घिसिङ देखाइदिए पुगिगयो। जे सुकै होस्, अब हामीले एमसिसीमा सहीछाप गरिसकेपछि हामीलाई चाहिएजति डलर दिन त बाध्य भयो नि अमेरिका।’ 

भन्छन्- हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ। सामान्य जनताको बुझाइमा अहिलेको लागि चीन हाम्रो लागि कालो बादल हो भने अमेरिका त्यो बादलमा लागेको चाँदीको घेरा हो। चीनले अमेरिकासँग नेपालमा प्रतिस्पर्धा नै गर्ने हो भने पोखरा विमानस्थल बनाएवापत एक पैसाको पनि दावी नगरोस्।  

धेरैलाई लागेको छ- चीन र अमेरिकाले नेपालको भलो नगरे पनि कुभलो गरेका छैनन्। हामी पर्यौं वीर नेपाली। चीन र अमेरिका दुवै परे ठूला-ठूला दुःख झेलेर परिपक्व भएका देश। नेपाली पनि उस्तैपरे नवलपुरमा रहेको होङ्सी सिमेन्ट कारखानादेखि दुई बोरा सिमेन्ट पिठ्यूँमा लादेर रातारात कलंकी पुग्न नडराउने राष्ट्रियता। अमेरिका जान पाए लुसुक्क जाने र उतै हराउने हाम्रो चाहना।

दोस्रो विश्वयुद्ध कालमा नेपालीको नाम लेखिएको बिल्लामा छापिएको इमान्दार शब्द खुइलिएर मेटिन लागिसक्यो र पनि हाम्रो इमान्दारी यथावत् छ। यो त मान्नैपर्ने कुरा हो। यो बाहेक हिजोआज नेपाल देशवासीहरुको आचरण पनि बदलिएको छ। बिल्लामा छापिएका अनुहारको रङ फुंग उडिसकेको छ। 

देशलाई हालको श्रीलंकाको अवस्थामा नपुर्याउने हो भने बलिया-बांगा नेपालीले युद्ध कलामा ध्यान दिनुपर्छ। 

निश्चय पनि, नेपाल शान्तिप्रिय देश हो। हामी आफ्नै देशमा बसेर युद्धको समर्थन गर्दैनौं। तर जब हामी विदेशमा कुल्ली-कवाडी, उँटको गोठालो जस्ता काम गर्न जान्छौं र गोठमा पनि उँटको लिदी सोर्ने काममा लाग्छौं, त्यतिबेला अरु कुरा सोच्नु आवश्यक छैन। 

संसार युद्धको संघारमा छ। युद्धको अण्डा फुटेर कतिबेला जताततै छ्यालब्याल भएर छरिने हो, कसैलाई थाहा छैन। 

तेस्रो विश्वयुद्धलाई जनताको अपरिहार्य आवश्यकता बन्न नदिन विश्वका सबै देशका नेताहरुले बराबर प्रयत्न गर्नुपर्ने हो। अहिलेसम्म त्यस्तो प्रयत्नको छेउ-पुच्छर केही पनि त देखिएको छैन। पुराणमा वर्णित युगान्तरणको समय पनि आइसकेको छैन।

यो सही कुरा हो, युद्ध भएको खण्डमा युद्धकलामा संसारका पारखी देशहरुबाट सबभन्दा बढी नेपाली जनशक्तिकै माग हुनेछ। गोर्खालीहरुको उपनाम 'गुर्खा' बडो लोकप्रिय हुनेछ। सुनौली, पक्लिहवा, फुस्रे लगायतका मानवीय नाकाहरु पुनर्जीवित हुनेछन्। 'बेनीको बजार...' गीतका सयकडौं संस्करण बजारमा पाइनेछन्। 

समजीले देशभक्ति त मर्दैन चुत्थै देश भए पनि- भनेर लेख्नुभएको असत्य होइन। त्यो सत्यको जगेर्ना गर्न हामी कति सक्षम भयौं त? यो सोच्नपर्ने कुरा हो। मानिसको जनसंख्याले भ्याउन नसक्ने युद्ध भयो भने के गर्ने?

आज बागमती र विष्णुमतीका मुहान नजिकका गाउँमा खानेपानीको अभाव छ। भोलि पानीकै खोजमा ठूल्ठूला नदी-नालाको किनारामा सुकुम्बासी बन्न जानुपर्यो भने? अन्तको के कुरा गर्नु? हामी नेपाली जनता त यस्तो देशका नागरिक पो भयौं जसको आँखा छ, दृष्टि छैन। जसको जिब्रो छ, वाक्य छैन।

गाथाहरू

२५ चैत, २०७८, १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।