हुनेहरूकै फाइदाको सन्तुलन मिलाउन किन चाहियो मेयर बालेन्द्र?

हुनेहरूकै फाइदाको सन्तुलन मिलाउन किन चाहियो मेयर बालेन्द्र?

उकेरामा कनीकुथी, जसोतसो स्तम्भ लेख्दै थिएँ। आफ्नो स्तम्भ शुक्रबार प्रकाशित हुने भनेर तोकिए पनि प्रकाशन चाहिँ कहिले शनिबार र कहिले आइतबार नै पुग्दथ्यो। यस्तो अल्छी लाग्दालाग्दै लेखेको कति महिना बित्यो। त्यसको पत्तो छैन। अहिले त कान्तिपुर गाथा नलेखेको जुगै भएझैं लाग्दैछ। आफ्नो बढ्दो आलस्य देखेर आफैँसँग रिस नउठने होइन। रिस उठ्छ बेला–बेलामा।

तर, मानिस त मानिस नै हो। ऊ आफैँलाई गाली गर्न पनि सक्दछ। स्याबासी दिन पनि सक्दछ। यसलाई मानिसको निर्लज्ज व्यवहार भन्न पनि मिल्दैन । मानिसमा कतै न कतै लज्जा हुन्छ। जोसँग लज्जा हुँदैन तिनलाई के भन्ने? राजनीतिमा लागेका, पार्टीमा सक्रिय भएका, मैं हूँ भन्ने दम्भले पाकेका, धन र लोकप्रियताको अभिमानले चूर भएका थरि–थरिका मानिस भेटिन्छन् कान्तिपुर शहरमा। कान्तिपुर शहर ती व्यक्तिहरूबाट शासित छ जसको कान्तिपुरसँग स्वार्थको सम्बन्धभन्दा पर अर्को कुनैपनि सम्बन्ध छैन।

लागेको थियो अब एकैपल्ट दशैं सकिएपछि लेख्दछु। मेरो दशैं त हिजो शुक्रबारदेखि नै सकिएको हो। तर, शुक्रबार त्यत्तिकै बित्यो। शनिबार बिदाको दिन। कुनै समयमा शनिबारको हविगत यस्तो पनि थियो, जुनदिन माया–प्रीतिले पनि बिदा लिने गरेको थियो।

‘शनिवार पसलबन्द रहनेछ’, एकताका उद्योग वाणिज्य संघले कान्तिपुरका हरेक पसलमा सूचना टाँस्ने गरेको थियो। अहिले त उद्योग वाणिज्य संघको रूपान्तरण महासंघका रूपमा भै सकेको छ। हिजोका दिनमा शनिबार पसल बन्द गर्नु आवश्यकता थियो। आजको दिनमा शनिबार पसल बन्द गर्नु भनेको बिलासी कुरा भएको छ। हिजोका दिनहरू सुस्त थिए। मानिस आलेटाले गरेर अल्छी लाग्दो पाराले शनिबार बिताउँथे। शनिबारका दिन घर–घरमा खाल थापिन्थ्यो। भब्य रूपले तासको खेल जम्ने गर्दथ्यो।

अहिले दिनहरू तीव्र भएका छन्। शनिबारका दिन काम गर्ने चलनले विस्तार पाएको छ। शहर एकोहोरो फैलिएर कुरूप भएको छ। हुनेका लागि सँधै दशैं छ। नहुनेले जुन दिन हुन्छ त्यही दिन दशैं मनाउँछ। शहर अहिले नाटककार स्वर्गीय बालकृष्ण समको नाटक ‘नियमित–आकस्मिकता’ को शैलीमा ढलेको छ। आखिर शहर भनेको आकस्मिकता नै हो।

पचास वर्षअघि कसैले सोचेको थिएन होला : आदिकवि भानुभक्तको कवितामा वर्णन गरिएजस्तो ‘टाउकोमा गुनकेशरीको फूल सिउरेका चपला अवलाहरू’ एकसुरमा हिँड्ने यो कान्तिपुर शहर घनाबस्तीका रूपमा यसरी फैलिनेछ।

तर, शहर त अन्दाधुन्द फैलियो। महाराज महेन्द्रले राज्यको शासन–व्यवस्था आफ्नो हातमा लिएपछि कमलादी गणेश परिसरको अत्यन्त उर्वर फाँट आफनो कब्जामा लिए। ती जग्गामा आफ्ना तीन जना छोरी शाहज्यादीहरूका लागि दरबार बनाइदिए।

सिंहदरबार पश्चिमको लुमडी फाँट विभिन्न अफिसका लागि छुट्याइदिए। शहरको नाममा जुद्ध सडक, वसन्तपुर, इन्द्रचोक, असन र भोटाहिटी बाहेक कहिल्यै नयाँ केही देख्न नपाएका जनता दङ्ग परे। उनीहरूलाई के थाहा कि केही समयपछि यो कान्तिपुर शहरका मानिसहरू सास लिन नसकेर निसास्सिन थाल्नेछन्।

ऐतिहासिक कालदेखि नै कान्तिपुर शहरका ढुंगे धाराहरूमा बेला–बेलामा विकासका मूल फुट्ने गरेका थिए। महाराज महेन्द्रका जेठा छोरा वीरेन्द्र शाहको शासनकालमा जब निर्दलीय पन्चायत व्यवस्था गाउँ फर्क राष्ट्रिय अभियान नामको ‘सुधार’ल्याइयो, त्यसबेला नगर पन्चायतको नाममा चलेको कान्तिपुर नगरका प्रमुखमा बासुदेव ढुंगाना निर्विरोध ‘चुनिए’। प्रतिबन्धित नेपाली कांग्रेस र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कतिपय ‘हस्ती’मध्ये कम्युनिष्ट सिध्दान्तका अनुयायी ढुंगाना पनि प्रमुख थिए। 

त्यतिबेलाका पत्रकारहरू पनि दूधले धोएका थिएनन्। नेपाली पत्रकारिता जगतका हस्ती भनेर चिनिने स्वर्गीय मदनमणि दीक्षित कान्तिपुरको नगर पन्चायत सदस्यका रूपमा मनोनित भए। यस्तै–यस्तै के–के भइरह्यो कान्तिपुर शहरमा। २०३६ को जनमत संग्रहपछि सुधारिएको पन्चायतकाल शुरु भयो।

कांग्रेसका कार्यकर्ता कमल चित्रकारले कान्तिपुर नगर पन्चायतको प्रधानपन्चको चुनाव जिते। अर्का कार्यकर्ता हरिबोल भट्टराईलाई लौहपुरुष गणेशमान सिंहले आफनो ‘लौरो’ को रूपमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पक्षमा पन्चायतको ‘आउटपोष्ट’ (नगर पन्चायत)कब्जा गर्न खटाए। हरिबोलले चुनाव जिते पनि उनलाई धेरै दिन आउटपोष्टमा टिक्न दिइएन।

हालसालै मेयरको चुनाव जितेका बालेन्द्र साहले कान्तिपुर सुधारका प्रयत्नहरू शुरु गरेका छन्। उनले घरको भूमिगत तलालाई पार्किङ्गका नाममा नक्सापास गराएर पसल चलाउन भाडामा लगाउने घरपतिहरूको दोहोलो काडेका छन्। शहरभित्र मोटर पार्किङ्ग गर्ने ठाउँ नपाएर बिलखबन्द परेका मोटरका मालिकहरूलाई पार्किंङ्गको सुविधा जुटाइ दिएका छन्।

नक्सापास नगराइ बनाएका घर भत्काउने आदेश दिएका छन्। उनले शहरको भित्री भागमा बनेको सामुदायिक भवनमा समेत बुल्डोजर चलाएर शहरभित्र ‘खुलापन’ बढाउने काम गरेका छन्। शिवपुरी पहाडको बेंसीको उखुघारीबाट निस्केको टुकुचा नामको नालाको भूत, भविष्य र वर्तमानको खोजीमा अत्यधिक चासो देखाएका छन्।

बागमती नदी प्रणाली अन्तर्गत इच्छुमती नदीको पुनर्जीवनले कान्तिपुरको सौन्दर्य हलक्क बढाउनेमा बालेन्द्र विश्वस्त देखिन्छन्। उनको विश्वासमा किन शंका गर्नु र ? यस्ता काममा मेयर बालेन्द्र आफैं खटिएका छन्। उनका यी जोशपूर्ण कामहरूको तारिफ जति गरेपनि कमै हुन्छ। सामाजिक सञ्जालमार्फत प्रचार गरिएका यी महान कार्यको तारिफ नगर्नु भनेको कान्तिपुरलाई जानीजानी प्रतिक्रान्तितिर धकेल्नु हो।

तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले मेयर बालेन्द्रको जति तारिफ गरे पनि उनले तारिफयोग्य काम भने गर्न बाँकी नै छ। कान्तिपुर शहरको शासन गर्ने महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको संस्था हो। अहिलेदेखि होइन, उहिलेदेखि, नगर पन्चायतका रूपमा होस् वा महानगरपालिकाका रूपमा होस्, यो संस्था भ्रष्टाचारको महाकुण्ड भनेर चिनिन्छ। पैसा नखाइ नक्सापास नहुने, शहरका पर्ती जग्गा बिक्री गरेर पैसा कमाउने, ढुंगेधारा र मठ मन्दिरका सम्पत्ति बेचेर खाने संस्थाको रूपमा कामनपाले सबभन्दा धेरै कुख्याती कमाएको छ।

महानगरको आर्थिक र प्रशासनिक शुध्दिकरणका लागि बालेन्द्र साहले कामनपाबाट अहिलेसम्म भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गरेको खण्डमा कान्तिपुरवासीले उनको साँच्चिकै जयजयकार गर्नेछन्। उनले त्यस्तो साहस देखाउने हो भने नगरवासीले स्वतःस्फूर्त हिसाबले उनको जयगान गाउनेछन्। अहिलेको जस्तो भजनमण्डलीको आवश्यकता नै पर्नेछैन।

कुनै भव्य महलको भूमिगत तला पार्किङ्गका लागि खुला नराखेर त्यो ठाउँ भाडामा लगाएकोमा एउटा घरधनीलाई कारबाही गरे पनि अन्ततः त्यसको फाइदा अर्को धनीलाई नै हुन्छ। एउटा मोटरधनीको फाइदामा अर्को मोटरधनीको पनि फाइदा छ। हुने–हुने कै बीचमा फाइदाको सन्तुलन मिलाउने हो भने मेयर बालेन्द्र किन चाहियो? उनको नाममा भीडले जति जयगान गाए पनि शहरको अवस्था उस्तै रहनेछ।

एकपटक श्री ३ महाराज जंगबहादुर राणाले आफ्ना आठ पहरियाहरूलाई जम्मा गरेर एउटा बांगो रुख देखाउँदै भनेछन, ‘यो रुख कति सोझो छ हगि!’

चाकरीदारहरूले जंगबहादुरलाई खुशी पार्न भनेछन्, ‘हो सरकार, यो रुख त असाध्यै सोझो छ।’

तीमध्येका एउटा आठपहरियालाई देखादेखी बाङ्गोरुखलाई सोझो भनेको कुरा ठीक लागेनछ। आफ्नो पालो आएपछि उसले भनेछ, ‘खोइ सरकार, सरकारको आँखा डेढो हो कि, मेरो गर्दन चिलाएको हो। यो रुख त एक दुई तीन बाङ्गै छ।’

यति लेखेबापत बालेन्द्र शाहका घरपालुवा अरिंगालहरूले मलाई जति चिल्न सक्छन् चिलुन्। म त बाङ्गो रुखलाई बाङ्गै भन्छु। मेरो आत्माले बाङ्गो रुखलाई सोझो भन्न कदापि मान्दैन।

२२ असोज, २०७९, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।