स्थानीय चुनावको दिन बिहानै, हाल केही समयदेखि अमेरिका निवासी साथीले सोध्यो –नयाँ बानेश्वरको संसद् भवन अगाडि ग्यास बम पकडिएको थाहा पाइस्?
उकेरा कोलम
कान्तिपुर गाथा : गाडिँदै गएको लोकतन्त्रको जरो
जवाफमा मैले भनेँ, अहँ थाह भएन त यार !
‘तिमी मूलाहरू के पत्रकारिता गर्छौ’, साथीले भन्यो। हो त, हामी मुला के पत्रकारिता गर्छौँ? आफ्नो विरोधी नेताको नाम लिएपछि मुख चोख्याउन कुल्ला गर्छु भन्ने त्यो कथित ‘राजनेता’, त्यो विद्रुप, असभ्यको अगाडि मुन्टो झुकाएर चाकरी बजाउने पत्रकार।
तर, खबर सोझै अमेरिकाबाट आएकोले पक्का थियो। नेपालमा गोली चलेको, बम पड्केको, चीनले पोखरा र भैरहवा विमानस्थल निर्माण गरे बापत नेपाल सरकारसँग लिनुपर्ने रकमको बिल बुझाएको र एक दिन यो सानो र शीतल देश टाट पल्टिएको जस्ता समाचार अमेरिकाबाटै आउँछन् अचेल।
खबर पक्का भए पनि, कच्चा भए पनि, के गरोस् यो शहरको साधारण मानिसले? शहरको मानिस सधैँ निरीह छन्। उसलाई साँचो बोल्ने, साँचो लेख्ने र साँचो देखाउने अधिकार नै छैन।
चुनावको दिन बिहान सखारै शहरमा बम पड्केको घटनालाई समाचार बन्न दिने पक्षमा थिएनन् देशका सेना,प्रहरी लगायतका सुरक्षाकर्मी।
यस्तो घटनाको प्रचारले जनताको मनोबल खस्किन्छ भन्ने सुरक्षा नेतृत्वको सोच होला। त्यसैले होला, सुरक्षाकर्मीहरूले ग्याँस बम पड्काइएको हो कि ग्याँसको सिलिन्डर पड्केको हो? भन्नेसम्म पनि खबर दिएनन्।
यसो सोधी हेरौँ न भनेर काठमाडौँको चुनावको सुरक्षाको जिम्मा लिएका एक प्रहरी अधिकृतलाई सोधी हेरे। सिधै बम पड्केको हो र भनेर सोधेर उनको सुरक्षा क्षमतामा धावा बोल्न मन लागेन।
शान्ति सुरक्षाकै भलाकुसारीमा गर्वगर्दै भने' हामी छौँ नि सुरक्षा दिन। के को चिन्ता।'
जब संसद् भवन अगाडिको बमको कुरा आयो उनले केही भएकै हैन झैँ गर्दै कुरा चपाए।
देशका सङ्घीय गृहमन्त्री आफ्नै गृह नगरमा थिए। ‘शक्तिशाली’ मन्त्रीका रूपमा जिल्लामा आफ्नो प्रत्यक्ष उपस्थिति भएपछि जनताले मतपत्रको थुप्रो लगाइ दिनेछन् भन्ने भ्रममा थिए शायद उनी। त्यसैले होला : उनलाई अरू कुराको चासो पनि थिएन। देशको सङ्घीय राजधानीमा बम पड्कियोस् कि मधेस–प्रदेशमा दङ्गा होस!
अर्का महत्त्वपूर्ण व्यक्तित्व – सञ्चार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि आफ्नै गृह जिल्लामा थिए आज।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका बिच मधुरतम सञ्चार सम्बन्धका सूत्रधार मानिने सञ्चार मन्त्री कार्कीमा देउवा सत्तालाई निरन्तरता दिने क्षमता रहेको बताइन्छ।
संचारमन्त्री कार्की कुनै बेला सन्त नेता कृष्णप्रसाद भट्टराईका निकट मानिन्थे। अहिले उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकटतम सम्बन्धमा रहेका छन्। कोही मानिसको भाग्यले नै राजनीतिलाई निर्देशित गरेको हुन्छ। हो, हाम्रो समाजमा यस्तै हुन्छ।
झन्डै सातादिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराको रुवा खोलाको किनारमा रहेको सानो गाउँ गन्यापधुरामा आफ्नो राजनीतिको परीक्षण गर्दैछन्। उनले आज बिहानै मतदान गरे। अब फर्किँदै होलान् सङ्घीय राजधानी।
गणतन्त्रको यो महायज्ञमा प्रचण्ड बढी गम्भीर देखिनु पर्दथ्यो। गिरिजाप्रसाद कोइरालाको निधनपछि राजकाजको मामिलामा प्रचण्ड गम्भीर भई दिएको भए यो देशले यति बिध्न दुःख पाउने थिएनन्।
शीतल र शान्त डडेलधुरापछि तापक्रम चालीस डिग्रीभन्दा माथि नै रहेको लुम्बिनी! हो प्रधानमन्त्री देउवाले लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको स्वागत गर्नेछन्। उनीसँगै बसेर बौद्ध योग साधना गर्नेछन्। त्यसपछि उनी मोदीजीसँग नेपाल–भारत वार्तामा सहभागी हुनेछन्।
राजनीतिक हिसाबले प्रधानमन्त्री देउवाले आफ्नो पूर्ववर्ती खड्ग ओलीले जस्तो भारतीय खुफिया एजेन्सी ‘र’ का हाकिमलाई सरकारी निवासमा बोलाएर देशकै बेइज्जती गरेनन्।
ओलीले आफ्नो पदीय मर्यादा नै बुझेनन्। शक्तिका हिसाबले भारत शक्तिशाली छ। त्यसमा कुनै शङ्का छैन। तर, राजनीतिक हिसाबले, भारत र नेपाल समान सम्बन्ध र मर्यादाका पक्षधर हुन्।
प्रधानमन्त्री देउवा लुम्बिनी पुग्दा स्थानीय चुनावको परिणाम आउन सुरु भई सकेको हुनेछ। कसले जित्ला? कसले हार्ला? नेपालीको प्रवृत्ति हेर्ने हो भने, केही अपवादलाई छाडेर, जनता सत्ता सँगसँगै हिँड्न चाहन्छ।
अहिलेको चुनावमा विभिन्न दलका कथित विद्रोहीहरूले जतिसुकै पाखुरा सुर्किए पनि तिनीहरूको भविष्य संरक्षित देखिएको छैन।
आज बिहान बत्तीसपुतलीको एउटा बुथमा एक जना महिला मतदाता सतर्क भएर मतदान गर्दै थिइन। बुथबाट बाहिर आएपछि थाह भयो – मतपत्रमा छाप लगाएर ती महिला ठुलो तनावमा थिइन्। उनको, उनको छोराको र उनको नातिको उम्मेदवार अलग थिए। उनी राप्रपाकी मतदाता थिइन। उनको छोरो एकीकृत समाजवादीको मतदाता थिए। उनको नातिको उमेर पुगेको थिएन। उनी बालेनले जितोस् भन्ने चाहन्थे।
उता रौतहटबाट आएको समाचार अनुसार, नव गठित एकीकृत समाजवादीका सर्वेसर्वा माधवकुमार नेपालका विरुद्ध गौरमा चर्का नाराबाजी भयो। फेसबुकमा माधवजीका विरुद्ध नाराबाजी घनघोर त सुनियो। मानिसको भीड भने त्यति घनघोर भएजस्तो लागेन।
मधेसका नेताहरू पनि कोही बचेनन् आक्रोशबाट। मधेसका कद्दावर नेता महन्थ ठाकुर, क्रान्तिकारी नेता उपेन्द्र यादव, वाणिज्य नेता राजेन्द्र महतो, पत्रकार नेता बिपी साह, मधेसका नेता बृशेषचन्द्र लाल : नाम यति धेरै छन् कि सम्झेर पनि साध्य नलाग्ने, बिर्सिन पनि सम्भव नहुने।
कान्तिपुर गाथाका यी हरफहरू प्रकाशित र प्रसारित हुँदासम्म स्थानीय चुनाव सकिनेछ। खुसीको कुरा यो चुनावमा जनताले व्यापक चाख देखाए।
साबित भयो कि गणतान्त्रिक नेपालमा लोकतन्त्रको जरो मजबुतीका साथ गाडिँदैछ। समावेशी समाज निर्माणका लागि जमजमाएका छन् जनता। तर नेताहरू कसैले आफ्नो प्रतिष्ठा जोगाउन भने सकेका छैनन्।
गणतन्त्रको यो महायज्ञमा प्रचण्ड बढी गम्भीर देखिनु पर्दथ्यो। गिरिजाप्रसाद कोइरालाको निधनपछि राजकाजको मामिलामा प्रचण्ड गम्भीर भई दिएको भए यो देशले यति बिध्न दुःख पाउने थिएनन्।
गाथाहरू
२०७९ वैशाख ३० गते १७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।