बाल-साहित्यकार मञ्जुको प्रसव पीडा र खुसी : पेट बढ्दै गएपछि घरमै लुकेर बस्थें

बाल-साहित्यकार मञ्जुको प्रसव पीडा र खुसी : पेट बढ्दै गएपछि घरमै लुकेर बस्थें

गुल्मी जिल्लाको बाेहामा जन्मिएकी बाल साहित्यकार मञ्जु ज्ञवाली पौडेलले आफ्नो जन्मथलोमा धेरै समय बिताइनन्। एक कक्षा पास गर्नेवित्तिकै परिवारको साथ  लागेर बुटवल झरेकी मञ्जुले त्यहाँ दुई कक्षा पास गरिन्। बुटवलबाट परिवार नेपालगञ्ज गयो। र, उनको बाँकी बाल्यकाल नेपालगञ्जमै बित्यो।

२०५४ सालमा आइएड दोस्रो वर्षको परीक्षा दिने बित्तिकै मञ्जुको विवाह पश्चिम पाल्पाका बलराम पौडेलसँग भयो। पेसाले सिए (चार्टर्ड एकान्टेन्ट) उनका श्रीमान् हाल युएनडिपीमा कार्यरत छन्।

रिग्मा, रूमानी र देशान्तर गरी तीन सन्तानकी आमा मञ्जुले आफ्नो प्रशव पीडा र खुसी उकेरासँग यसरी साटिन्:

विवाह गर्दा भर्खर आएएड दोसो वर्षको परीक्षा दिएको थिएँ। सानैदेखि घरमा पढ्ने वातावरण भएकाले होला, मेरो दिमागमा कुनै विषयमा पढेर दक्षता हासिल गर्नैपर्छ भन्ने छाप बसेको थियो। त्यसैले विवाहको प्रस्ताव आउँदा मेरो पहिलो सर्त नै पढाइ पूरा गर्ने भन्ने थियो।

मेरा श्रीमान् त्यो समयमा हेल्वटास भन्ने संस्थामा काम गर्नुहुन्थ्यो। उहाँले भने स्नातकोत्तर गरिसक्नुभएको थियो। हाम्रो सात वर्षको उमेर अन्तर छ।

श्रीमान् धेरै सहयोगी हुनुहुन्छ। उहाँले मेरो करिअरका लागि सधैं सपोर्ट गर्नुभयो। तर सोचेजस्तो नहुने रहेछ। पढाइ पूरा गर्ने योजना हुँदाहुँदै विवाहलगत्तै गर्भवती भएँ। मानसिक रुपमा आमा बन्न तयार नभएरै म गर्भवती भएकी थिएँ। माघ महिनामा विवाह गरेको मैले अर्को माघमा पहिलो सन्तान जन्माइसकेको थिएँ।

एसएलसी दिएपछि मैले स्कुलमा पढाउन सुरु गरेको थिएँ। विवाहपछि पनि मैले पढाउँथें। तर बच्चा पेटमा आएपछि एक त शरीरले साथ दिएन, अर्को लाज पनि लाग्यो। सम्झँदा हाँसो लाग्छ, पेट ठूलो हुँदै गएपछि म घरबाट बाहिर निस्कँदै निस्किइनँ। अझ माइत त बच्चा जन्मिएपछि मात्रै गएको हो। 

ठूलो पेट देखाउन लाज लागेर दिदी-बहिनी, दाजु-भाइ, आमा-बुबालाई भेट्न मन हुँदाहुँदै पनि लुकेर बसें। अहिले भएको भए, गर्वका साथ पेट देखाएर हिँड्थें होला जस्तो लाग्छ।

तीन महिनासम्म पनि गर्भवती भएको पक्का गर्न सकिनँ। किनभने, कसै-कसैलाई फर्ल्स मेन्चुरेसन पनि हुने रहेछ। म पनि पेटमा बच्चा हुँदाहुँदै महिनावारी भएँ। तर वाकवाकी लाग्ने, रिंगाटा लाग्ने, निकै गाह्रो हुने भएपछि मात्रै गर्भवती भएँ कि भन्ने शंका लाग्यो। परीक्षण गर्दा भने गर्भवती भएको पक्का भयो।

पहिलो सन्तान पेटमा आएपछि मलाई निकै चिन्ता लाग्यो। गर्भपतन गराउने सोच समेत बनाएँ। तर मेरो श्रीमान् भने बच्चा जन्माउने पक्षमा हुनुहुन्थ्यो। उहाँले धेरै सम्झाउँदा पनि मैले स्वीकार गर्न सकिनँ। अन्त्यमा उहाँले फकाउँदै अस्पताल लैजानुभयो।

अल्ट्रासाउन्ड गरेर बच्चालाई पहिलो पटक महसुस गर्न पाएँ। ढुकढुक गरिरहेको बच्चाको धड्कन सुनेपछि मात्रै मैले बच्चा नजन्माउने सोच परिवर्तन गरेकी हुँ। आफूभित्र, आफूजस्तै मानिसले श्वास फेरिरहेको छ भन्ने थाहा पाएपछि एक्कासि मलाई मातृत्वको भाव पलायो।

पहिलो सन्तानलाई पेटमा हुँदा खासै माया गर्न सकिनछु भन्ने अहिले महसुस हुन्छ। किनभने, त्यो समयमा मैले स्वस्थकर खानेकुरा खासै खाइनँ। तरकारी पकाउँदा आएको तेलको बासनाले वाक्क आउँथ्यो। पकाएको कुरा केही खान मन लाग्दैनथ्यो। अझ झानेको तेलको बासनाले त दिक्कै बनाउँथ्यो।

अमिलो-पिरोमा ध्यान धेरै जान्थ्यो। आइरन चक्कीदेखि अरु शरीरलाई चाहिने औषधिहरु डस्टबिनमा फलिदिन्थें। खानेकुरा सबै छाडेर भुड्की खान्थें। भुड्की भनेको माटोबाट बनाएको पैसा जम्मा गर्ने भाँडो हो। माटोको भने बास्नै मनपर्थ्यो।

चिकित्सकले जहिल्यै मेरो बच्चा उल्टो बसेको छ भन्नुहुन्थ्यो। त्यसैले होला, नर्मल डेलिभरी भए पनि मैले लामै बेड रेस्ट गर्नुपर्यो। पहिलो सन्तान मैले छोरी जन्माएँ। जब छोरीलाई स्तनपान गराएँ नि, त्यो खुसीलाई मैले शब्दमा व्याख्या गर्न सक्दिनँ।

उनका साना-साना आँखा, नाक, मुख अनि दूध चुसिरहेको त्यो क्षण मेरो आँखामा सधैं आइरहन्छ। त्यो समयमा मलाई हाँस्न पनि मन लागिरहेको थियो र रुन पनि। इमोसन कन्ट्रोल गर्नै सकेको थिइनँ।

पहिलो सन्तान जन्मेको २२ दिनपछि हामी पाल्पाबाट काठमाडौं आयौं। उपत्यकामा आउँदा हाम्रो सम्पत्ति भनेकै छोरी थिइन्।

राजधानीमा आएको केही समयमा म ताहाचल क्याम्पस बिएडमा भर्ना भएँ। कक्षामा उपस्थित हुन नसके पनि घरमै बसेर बिएड पास गरें। छोरी पढ्ने भएपछि ज्ञानोदय माविमा पढाउन थालें।

०००
जेठी छोरी ६ वर्षकी भएपछि अर्को बच्चाको योजना बनायौं। दोस्रो बच्चा भने योजनामै बनाएकाले धेरै कुरामा ध्यान दिन पायौं। योजना दोस्रो सन्तान पनि छोरी नै जन्माउने भन्ने थियो। श्रीमान् दुईटा छोरी त नभई हुँदै हुन्न भन्नुहुन्थ्यो। उहाँ त अझ पहिलो सन्तान नै जुम्ल्याहा छोरी भए हुन्थ्यो भन्नुहुन्थ्यो।

दोस्रो सन्तान पनि हामीले योजना अनुसार छोरी नै जन्मायौं। पहिलो सन्तान जन्माउँदाको अनुभव, योजनादेखि खानपान सबै कुरामा ध्यान दिन सकियो। ओम हस्पिटलमा दोस्रो बच्चा जन्माएँ। दोस्रो सन्तान जन्माउँदा पनि समस्या आए, बेड रेस्ट टन्नै गर्नपर्यो।

दोस्रो सन्तान जन्माएपछि भने श्रीमान् पढाइका लागि बेलायत जानुभयो। म पनि उहाँसँगै गएँ। बेलायतमा एक वर्ष बस्दा धेरै कुरा सिक्न पाएँ। टियुमा पढाइरहेका प्राध्यापक टोपी बेचिरहेको, तरकारी केलाइरहेको देख्दा आफ्नै देशमा केही गर्नपर्छ भन्ने मनमा आयो।

मेरो बुबा लेखनाथ ज्ञवाली नेपालगञ्जका सक्रिय पत्रकार हुनुहुन्थ्यो। त्यसैले मलाई पनि मिडियातिर झुकाव थियो। बेलायतको अवस्था देखेपछि मलाई केही गर्नैपर्छ भन्ने धारणा आयो। नपुग्दो केही नहुँदा पनि मिडियाहरुमा इन्टर्न गर्न दगुरें। सँगसँगै ग्रामीण विकास र नेपाली साहित्यमा स्नातकोत्तर गरें।

०००
बेलायतमै हुँदा अर्को बच्चा पेटमा आयो। तेस्रो बच्चा योजनामै थिएन तर आइसकेपछि गर्भपतन गर्न मन लागेन। दोस्रो सन्तान जन्मेको साँढे दुई वर्षपछि मैले कान्छो सन्तान जन्माएँ।

मेरो मनमा देशप्रेम यति धेरै थियो कि, बेलायतमा गर्भवती भएको, पाँच वर्षे भिसा भएको मानिस एक वर्षमै नेपाल फर्केर यतै बच्चा जन्माएँ। त्यसैले उसको नामै देशान्तर राखेका छौं। 

छोरो जन्माउँदा झनै गाह्रो भयो। लामो प्रशव पीडा सहनुपर्यो। झण्डै १२ घण्टा व्यथा लागेको थियो। पाटन अस्पतालमा तेस्रो बच्चा जन्माएँ।

अहिले जेठी छोरी रिग्मा पढाइको सिलसिलामा अष्ट्रेलिया छिन्। कान्छी छोरी रुवानी ए लेबलको पढाइ गरिरहेकी छिन् भने छोरा देशान्तर ९ कक्षामा पढ्छन्। 

अहिले यिनै छोराछोरीका हर्कतहरुमा कथा लेख्छु। उनीहरुलाई नजिकबाट नियाल्दा देखेका कथाले धेरै अभिभावकलाई सहयोग मिलोस् भन्ने लाग्छ।

बच्चा पेटमा आएदेखि उनीहरुले थाहा पाउन थाल्छन्। त्यसैले पेटमा आएदेखि एक आमाले ध्यान दिनपर्ने कुरा मेरो समयमा थाहा भएन। अहिलेका आमाहरुलाई समस्या नहोस् भनेर बाल साहित्यमा कलम चलाएकी हुँ।

यो पनि

२० चैत, २०७८, १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।