अधिवक्ता रुकमणीको प्रसव पीडा र खुसी : अप्रेसन गरेर बच्चा निकालिदिनूस् भन्दा डाक्टरले नमानेपछि

अधिवक्ता रुकमणीको प्रसव पीडा र खुसी : अप्रेसन गरेर बच्चा निकालिदिनूस् भन्दा डाक्टरले नमानेपछि

२०४१ सालमा पाटनको गाबहालमा जन्मिएकी रुकमणी महर्जन अधिवक्ता तथा नेपाल ल क्याम्पसकी उप-प्राध्यापक हुन्। विगत ८ वर्षदेखि अध्यापन गर्दै आइरहेकी उनी काष्ठमाण्डप ल च्याम्बरमा पनि आवद्ध  छन्। 

१० वर्षको प्रेम सम्बन्धपछि ललितपुरका सफ्ट्वयर इन्जिनियर सुरेश थापासँग अन्तरजातीय विवाह गरेकी रुकमणी एक छोराकी आमा हुन्। आमा बन्दाको प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन् रुकमणी:

म पाटन, गाबहालको किसान परिवारमा २०४१ सालमा जन्मिएकी हुँ। हामी तीन जना दिदी-बहिनीमध्ये म माइली छोरी। मेरो आमाबुबाको ६ जना सन्तानमध्ये तीन जना पहिले नै बिते। एउटा छोरा त नभई हुँदैन भन्ने पारिवारिक माहोलमा हुर्किएकी छोरी हुँ म। 

मेरो दाजुको निधन भइसकेपछि अर्को विवाह गरेर भए पनि छोरी जन्माउनुपर्छ भनेर आफन्तहरुले बुबालाई भनेको सुनिरहन्थेँ। हामीलाई भने घरमा स्वतन्त्रता नै थियो। आफ्ना छोराछोरी बितिसकेपछि बुबाले हामीलाई कुनै कुरामा पनि रोकतोक गर्नुभएन। 

मेरो बुबा साक्षर हुनुहुन्थ्यो। आमा पढ्न लेख्न नजान्ने। छोरीले पढेनन् भने आफूजस्तै दु:ख पाउँछन् भनेर आमाले हामीलाई पढ्नमा मात्र जोड दिइरहनुहुन्थ्यो। मैले घर नजिकैको मदन स्मारक विद्यालयमा पढें र त्यहीँबाट १५ वर्षको उमेरमा एसएलसी पास गरेँ। 

एसएलसीपछि मैले साइन्समा १२ कक्षा पास गरें र त्रिचन्द्र कलेजबाट अंग्रेजी साहित्य र दर्शनशास्त्रमा ब्याचलर गरें।

मलाई सुरुमा विवाह गर्नुपर्छ भन्ने नै लाग्दैनथ्यो। मेरो दिदी र आफन्त दिदी-बहिनीहरुलाई हेर्दा १३/१४ वर्षको उमेरमै कतिपयले भागेर विवाह गर्नुभयो भने कतिपयले मागी विवाह। मलाई भने विवाह गर्न मन थिएन। मैले बुबालाई मन लागे आफैँ विवाह गर्छु मन लागेन भने गर्दिनँ, कुनै किसिमको दबाब दिन पाउनुहुन्न भनेँ। 

०००
सन् २००५ मा पाटनस्थित युवा क्लबमा जाँदा धोबीघाट, ललितपुरका सुरेश थापासँग मेरो भेट भयो। चिनजान भएपछि भेटघाट बाक्लिँदै गयो र हामीबीच प्रेम बस्यो। त्यतिबेला हामी दुवै विद्यार्थी थियौँ। म ब्याचलर गर्दै थिएँ त्रिचन्द्रमा। 

प्रेम सम्बन्धमा रहँदा पनि म कन्फ्युज नै थिएँ, विवाह गर्ने कि नगर्ने भन्नेमा। विवाहको लागि सोच्न नै मलाई धेरै समय लाग्यो। १० वर्षसम्म प्रेम सम्बन्धमा रहँदा मैले एलएलएम सक्काएँ। त्यसपछि पढ्नका लागि एक वर्ष युके गएँ। युकेबाट फर्केपछि बल्ल हामीले विवाह गर्ने निर्णय गर्यौं र सन् २०१५ मा सुरेश र मैले विवाह गर्यौं्।

विवाह त गरियो तर म बच्चाको लागि मानसिक रुपमा तयार थिइनँ। यदि मलाई बच्चा जन्माउन इच्छा लागेन भने जन्माउँदिन भन्ने सहमतिमै हामीले विवाह गरेका थियौँ। 

परिवारमा भने बच्चाको लागि दबाब थियो। बच्चा कहिले जन्माउने भन्ने प्रश्नको सामना गरिरहनुपर्थ्यो। श्रीमान् परिवारको एक्लो छोरा भएको हुनाले पनि सासु-ससुरालाई नाति-नातिनाको रहर थियो। 

०००
विवाह भएको दुई वर्षभन्दा बढी भइसकेको थियो। त्यतिबेला मेरो महिनावारी नियमित हुँदैनथ्यो। सुरुमा त खासै ध्यान दिएको थिइनँ। तर खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने भएपछि शंका लाग्यो र चेकअपका लागि गएँ। त्यसपछि थाहा भयो, म गर्भवती भएको ९ हप्ता भइसकेछ।

गर्भवती भएपछि धेरै इमोसनल भइने रहेछ, एउटा जिन्दगी नै परिवर्तन हुँदैछ भनेर। पूरै बच्चा आमामा नै डिपेन्डेन हुने हुँदा सुरुमा अलिकति डर लाग्यो। श्रीमानले तिमी बच्चा जन्माउनका लागि पूर्ण रुपमा तयार छौ कि छैनौ भनेर बारम्बार सोधिरहनुहुन्थ्यो। तिमी तयार नभए हामी अर्को निर्णय लिन सक्छौँ भन्नुभयो। तर अब उमेर पनि पुगिसकेको हुँदा जन्माउनुपर्छ भन्ने भयो र म बच्चा जन्माउनका लागि तयार भएँ।

सुरुको तीन महिना मलाई असाध्यै गाह्रो भयो। एकदमै लज्जा महसुस हुन्थ्यो। गर्भवती छु भन्न निकै अप्ठ्यारो लाग्थ्यो। अरुले खानेकुरा किन नखाएको, यसो-उसो किन नगरेको भन्दा आफ्नो वास्तविकता बताउन सक्दैनथेँ। साथी तथा दिदीहरु भने ४/५ महिना भएपछि पेट देखिन थाल्छ अनि तिमी आफैं म गर्भवती छु भन्न थाल्छौ भन्नुहुन्थ्यो। 

खाना केही खान नसकेर त्यो तीन महिनामा म निकै कमजोर भएँ। खाना खायो कि बान्ता भइहाल्ने हुँदा शरीर सम्हाल्नै गाह्रो भएपछि आफ्नो कामको दायरा घटाउँदै लगेँ र नेपाल ल क्याम्पसमा मात्र पढाउन थालेँ।

लामो दुरीको यात्रा पनि निकै कम गरेँ। साथीहरु आफ्नो अनुभव सेयर गर्थे। मैले आफ्नो हेरचाहमा बढी ध्यान दिएँ।

तीन महिनापछि खाना खान थालेँ। फलफूलहरु धेरै नै खाएँ। मासु भने गन्हाउने भएकाले कम खाएँ। गर्भवतीको अवधिभर रातो सलगम धेरै नै खाएँ। हेल्दी खाना खाएँ। 

०००
पाटन अस्पतालमा डा. अलका सिंहसँग नियमित चेकअप गराइरहेको थिएँ। उहाँले निकै हौसला दिनुहुन्थ्यो। त्यसले गर्दा अहिलेको अवस्था सामान्य रहेछ भन्ने भान हुन्थ्यो।

पेटमा बच्चा चलेको थाहा पाउन थालेपछि म झन् रोमाञ्चित हुन थालें। बच्चा चल्दा एक किसिमको अनौठो अनुभव हुन्थ्यो। त्यो फरक अनुभवले अझै धेरै तयारी गर्न सिकाउने रहेछ। फरक किसिमको एट्याच्मेन्ट हुने रहेछ। 

म घरको काममा एक्टिभ रहन्थेँ, शरीर फुर्तिलो बनाउन। केही समय भने मुभी हेर्ने, कार्टुनहरु हेर्ने गर्थें।

सात महिनापछि मेरो तौल पनि बढ्न थाल्यो। २३ किलो बढेँ। पेट पनि निकै ठूलो थियो। शारीरिक परिवर्तनका कारण सुत्न, उठ्न र कोल्टे फेर्न निकै समस्या हुन्थ्यो। 

पेटमा बच्चा हुँदा स्वास्थ्य समस्या भने खासै देखिएन। ३७  हप्ता भएपछि एक पटक मैले बच्चा चलेको थाहा पाइनँ। त्यसपछि डाक्टरलाई देखाउन गइयो र एक दिन अस्पतालमा अब्जरभेसनमा बसेको हो। इमर्जेन्सी रहेछ भने अप्रेसन गर्नुपर्ने सल्लाह डाक्टरले दिएका थिए।

हरेक महिना वा पन्ध्र दिनमा चेकअपको लागि अस्पताल जान्थेँ। अस्पतालमा श्रीमानलाई पनि सँगै लिएर जान्थेँ। यो मेरो मात्र जिम्मेवारी होइन, तिम्रो पनि हो भनेर बुझाउनका लागि। दुवैको जिम्मेवारी बराबर हुन्छ भनेर बुझ्न जरुरी पनि छ। 

पेटमा बच्चा ९ महिनाको लागेपछि दही-चिउरा खुवाउने चलन छ। दही-चिउरा खुवाउन आउनेले मलाई तिम्रो छोरा होस् भनेर आर्शिवाद दिए। त्यो कुरा मलाई पटक्कै मन परेन। मन दुख्यो। यो त नजन्मँदै छोरा र छोरीबीचमा भेदभाव गरियो नि। यो विषयमा मेरो वादविवाद पनि भयो। 

०००
वैशाखको महिना। डेलिभरी डेट आउनै लागेको थियो। मैले अफिसबाट बिदा लिइसकेको थिएँ। पहिल्यै डाक्टरलाई मेरो बच्चा अप्रेसन गरेर निकालिदिनूस्, मलाई जन्माउन डर लाग्छ भनेको थिएँ। तर त्यो कुरा डाक्टरले मान्नुभएन। 

बच्चा ३९ हप्ताको हुँदा मेरो एउटा खुट्टा सुन्निएकाले डाक्टरलाई देखाउन अस्पताल गएको थिएँ। त्यो बेला डाक्टरले रिस्क लिनु हुँदैन, अब तपाईँ डेलिभरीको लागि अस्पताल बस्नूस् भनेर सल्लाह दिनुभयो। त्यसपछि घर फर्केर चाहिने सामान प्याक गरेर हामी पाटन अस्पताल गयौँ। श्रीमान्, सासुआमा, दिदीहरु पनि सँगै जानुभएको थियो। म अस्पताल भर्ना भएँ। 

व्यथा लागेको थिएन। त्यो रात त्यत्तिकै भयो । भोलिपल्ट बिहान १० बजे डाक्टरले  पहिलो डोज व्यथा लाग्ने औषधि लगाइदिए। त्यसले छोएन। साँझ ५ बजे दोस्रो डोज दिइयो। त्यसले अलिअलि व्यथा लाग्न सुरु भयो । रातभरी छटपटी भयो । म राति १२/१ बजे बेडबाट उठेर यताउता हिड्न थालेँ । अनि बिहान तेस्रो डोज लगाएपछि चर्काे व्यथा लाग्याे । डाक्टर आएर हेर्दा मेरो दुई घर खुलेको रहेछ। त्यसपछि नर्मल डेलिभरी हुन्छ भनेर पानी काटिदिए। 

आफ्नो बेडको वरिपरिका महिला भने व्यथाले चिच्याइरहेका थिए। म भने चिच्याउनै नसक्ने अवस्थामा थिएँ। लामो श्वास तानिरहने, शान्त राख्ने, कन्ट्रोल गर्ने कोशिस गरिरहेको थिएँ। 

६ घण्टाको प्रसव पीडामा अब मरिन्छ भन्ने लागेको थियो। दुखाइको त कुनै मापन नै थिएन। बच्चा जन्माउनका लागि बल गर्नुपर्ने, मसँग इनर्जी नै थिएन। धेरै समयको प्रयासपछि १२ः३० मा मेरो छोरा जन्मियो। 

बच्चा जन्मिँदा ३.६ केजीको थियो। मलाई भने बच्चा पटक्कै राम्रो लागेन। एकदमै कच्याकुचुक्क परेको जस्तो मात्र देखेँ।

बच्चालाई दूध चुसाउनूस् भनेर छातीमा टाँसिदिँदा भने आँसु बरर झर्यो। बच्चाको एकदमै माया लाग्यो। तर मेरो दूध आएन। अनि बच्चाले आफ्नो औँला चुस्यो। छोरा देखेपछि मेरो श्रीमान् एकदमै खुसी हुनुभएको थियो।

एक दिन अस्पताल बसेर हामी घर फर्कियौँ। घर फर्केपछि पनि सुतक बार्ने कि नबार्ने भन्ने कुरामा वादविवाद भयो। मैले नबार्ने निर्णय गरेँ। तर कन्भिन्स गर्न गाह्रो भयो। 

मेरो चार दिनसम्म पनि दूध आएन। त्यसपछि बच्चालाई फर्मुला खुवाइयो। बच्चालाई आमाको दूध खुवाउनुपर्छ भनेर  पम्प गरेर बोतलमा राखेर खुवाउँथेँ। 

टाँका लगाएको घाउले पनि निकै दु:ख दियो। धेरै दुख्ने हुँदा नदुख्ने औषधि खाएँ। ४५ दिनसम्म घाउ निको भएन। त्यो घाउले गर्दा भने धेरै पीडा भयो। एन्टिबायोटिक औषधि चलाएर निको पारियो घाउ। 

०००
बच्चा स्वस्थ नै थियो। बच्चालाई डिपिटीको सुई लगाइएको थियो। ४५ दिनमा बच्चाको सुई लगाएको ठाउँमा पाक्यो। पाकेको पीप निचर्नुपर्ने हुँदा बच्चालाई एकदमै गाह्रो भयो। 

क्याम्पसले साढे दुई महिना बिदा दिन्थ्यो। त्यो समय रेस्ट गरेँ। बच्चा बिरामी भएपछि मैले फेरि बिदा लिएर बच्चाको मात्र ख्याल गर्ने निर्णय गरें। थोरै मात्र क्लास लिएर बच्चा केन्द्रित भएँ। 

अहिले छोरा चार वर्षको भयो। नर्सरीमा पढ्छ। आमा हुनु भनेको साँच्चै एउटा अनौठो अनुभव रहेछ। पहिलाको प्रसव पीडा सम्झेर दोस्रो बच्चाको योजना बनाएको छैन। म अर्को पटक रिस्क लिन सक्दिनँ। बच्चा पूर्ण रुपमा आमामा निर्भर हुने भएकाले अनेक कुरा त्याग गर्नुपर्ने रहेछ।

यो पनि

१३ चैत, २०७८, १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।