प्रिन्सिपल जानुकाको प्रसव पीडा र खुसी : डाक्टरले पेटको बच्चा सुल्टो पार्नै सकेनन्

प्रिन्सिपल जानुकाको प्रसव पीडा र खुसी : डाक्टरले पेटको बच्चा सुल्टो पार्नै सकेनन्

२०२६ सालमा काभ्रेको पाँचखालमा जन्मिएकी जानुका नेपाल ३२ वर्षदेखि शिक्षण पेसामा संलग्न छिन्। उनी विगत १६ वर्षदेखि नीलबाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत छिन्।

जानुकाले २०४९ सालमा नेपाल सरकारका सहसचिव सुनसरीका बाबुराम पौडेलसँग मागी विवाह गरिन्। अहिले उनका दुई छोरा छन्। 

विवाहको साढे दुई वर्षपछि गर्भवती बनेकी जानुकासँग दुवै बच्चा पेटमा उल्टो हुर्किँदाका पीडाहरु अनगिन्ती छन्। गर्भावस्थाका समस्या, बच्चा जन्मिने बेला भोगेका दु:ख र आमा बनेपछिका खुसी जानुकाले अकेरामार्फत यसरी व्यक्त  गरिन्:  

मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो। हजुर-आमा पनि शिक्षित भएकाले हाम्रो परिवारमा छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेत थियो। सुरुमा मैले हजुर-आमासँगै अक्षर चिनेको हुँ।

६ वर्षको उमेरमा गाउँकै दुग्धेश्वर प्राविमा एक कक्षामा भर्ना भएँ। पढाइमा म अब्बल थिएँ। फस्ट, सेकेण्ड नै आउँथे। त्यहाँ तीनसम्म पढेपछि सर्वमंगला माविबाट सेकेण्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न म काठमाडौँ आएँ। 

मेरो दाजु बानेश्वर बस्नुहुन्थ्यो। म उहाँसँगै बस्थें। भक्तपुरको सानो ठिमी क्याम्पसमा छात्रवृत्तिमा नाम निकालेर पढ्न थालेँ। सर्टिफिकेट लेवल मैले साइन्समा गरेँ।

कलेज पढ्दा नै मेरो विवाहको कुरा निस्किएको थियो। त्यतिबेला म २० वर्षकी थिएँ। तर त्यो बेला भने विवाह भएन। 

०००
२०४६ सालमा मलाई टिचिङका लागि अफर आयो। त्यो बेला साइन्स पढेका व्यक्तिलाई टिचिङका लागि धेरै अफर आँउथ्यो। साँगामा रहेको जनज्योति निमाविमा पढाउन थालेँ। त्यसैबीचमा महेन्द्ररत्नमा व्याचलर भर्ना पनि भएँ।

व्याचलर दोस्रो वर्ष पढ्दा फेरि मेरो विवाहको कुरा चल्यो। २०४९ सालमा सुनसरीका बाबुराम पौडेलसँग मेरो मागी विवाह भयो। उहाँ काठमाडौँमै बस्नुहुन्थ्यो। माइती टाढा हुन्छ भनेर आमालाई भने त्यति टाढा मेरो विवाह चित्त बुझेको थिएन। विवाह गर्दा श्रीमान् विद्युत प्राधिकरणमा नासु पोस्टमा कार्यरत हुनुहुन्थ्यो। 

२०४९ सालमा नै म जनज्योतिबाट सरेर नीलबाराहीमा आइसकेको थिएँ। अस्थायी जागिर मेरो। दुवैजना जागिरे भएकाले दुवै जनाको जीवनशैली व्यस्त थियो।

विवाहको दुई वर्षपछि मात्र म गर्भवती भएँ। बच्चा जन्माउने योजना भएर भने होइन। गर्भ बसेपछि अब जन्माउने नै हो भन्ने भयो। श्रीमान् त खुसी नै हुनुहुन्थ्यो। उहाँको उमेर पनि भइसकेकाले होला। 

गर्भवती भएपछि मलाई पटक्कै केही खान मन नलाग्ने। त्यतिबेला म साह्रै दुब्ली पनि थिएँ। केही खान नसकेपछि बेडबाट उठ्न पनि नसक्ने भएँ।

दाल-भात त खानै मन नलाग्ने हुन्थ्यो। दाल गन्हाएर गन्ध आउने ठाउँमा बस्नै नसक्ने। दिनकै नयाँ नयाँ कुरा खान मन लाग्थ्यो। जमिनमुनिको खानेकुरा मुला, तरुल, सखरखण्ड, स्कुसको जरा, पिँडालु आदि खान मन लाग्थ्यो। तर एक दिन खाएपछि दोस्रो दिन भने खानै मन नहुने।  

फलफूलमा चाहिँ अनार, खरबुजा खाएँ। सुन्तला भने जीवनमा अब कहिल्यै खान्न होला भन्ने लाग्थ्यो गन्हाएर। तीन/चार महिनापछि भने अलिअलि खान मन लाग्थ्यो। खाँदै बान्ता गर्दै गरेँ। 

त्योबेला म मैतीदेवीमा डरा गरेर बस्थेँ। अहिले जस्तो सुविधा थिएन। गाडी कुरेर स्कुल आउनु पर्थ्यो। गाडीमा बान्ता गर्दै पढाउन आउथेँ। 

मैतीदेवीमै डा. सरस्वती पाध्यको क्लिनिक थियो। मैले उहाँलाई नै देखाइरहेको थिएँ। मेरो बच्चा पेटमा उल्टो बसेका कारण हप्ता/दस दिनमा जचाउन गइराख्थेँ। उहाँकै उपचारबाट हामीले बच्चा सुल्ट्याएका थियौँ। 

मेरो पेट निकै ठूलो थियो। ठूलो पेट लिएर स्कुल जान मलाई अप्ठेरो लाग्थ्यो। श्रीमान् व्यस्त भए पनि मेरो धेरै नै ख्याल गर्नुहुन्थ्यो। खाने/नखाने कुराको खुबै ख्याल गर्नुहुन्थ्यो। स्कुल जाने बेलामा फलफूलहरु प्याक गरेर पठाउनुहुन्थ्यो। 

मेरो बच्चा पेटमा निकै चल्थ्यो। त्यो बेला भने खुबै रमाइलो लाग्थ्यो। चलिरहने बच्चा कहिलेकाहीँ चलेन भने म डाक्टरलाई देखाउन गैहाल्थेँ।

सरस्वती पाध्य थापाथली प्रसूति गृहमा काम गर्नुहुन्थो। बच्चा जन्माउन उहाँको क्लिनिकमा पनि मिल्थ्यो। तर महँगो भएकाले त्यहाँ सम्भव थिएन। आठ महिना हुँदा म टिचिङमा जँचाउन गएँ। त्यहाँ राम्रो र सफा-सुग्घर पनि भएकाले त्यहाँ बच्चा जन्माउन साथीहरुले सुझाव दिएका थिए। 

०००
कात्तिकको महिना थियो। डेलिभरीको समय पनि आइसकेको थियो। त्यो दिन म दिनभरि पढाएर घर फर्किएँ। अलिअलि पेट पनि दुखिरहेको थियो। अलिअलि दुखाइ हुँदाहुँदै खाजा पनि खाएँ। त्यसपछि घरी बेस्सरी दुख्ने घरी कम हुने हुन थाल्यो। 

मेरो भान्जी पनि हामीसँगै बस्नुहुन्थ्यो। यो कुरा मैले भान्जीलाई सुनाएँ। श्रीमान् अफिसबाट आउनुभएको थिएन। भान्जीले आत्तिएर घरबेटी आमालाई सुनाउनुभयो। घरबेटी आमा आत्तिँदै आएर व्यथा लागेछ तिमीलाई भन्नुभयो।

उहाँले भान्जीलाई तेल तताउन लगाउनुभयो। तातो तेल टाउकोबाट खन्याउनुभयो। कपडा खोल्न लगाएर पेटमा तेल पो लगाउन थाल्नुभयो। त्यही बेला घरबेटीकी बुहारी आएर कराइन्, तेल लगाएर हुन्छ? अस्पताल पो जानुपर्छ भनेर। 

श्रीमान् पनि आउनुभयो। भान्जीले श्रीमानलाई व्यथा लागेको कुरा सुनाउनुभयो। श्रीमान् त झन् अस्पताल लैजाने व्यवस्था गर्नुको साटो आत्तिएर आफ्नो केटी साथीकोमा सोध्न पो पुग्नु भएछ। उहाँको साथीले गाली गरेर अस्पताल लैजान भनेपछि फर्केर आउनुभयो। सात, साढे सात बजे टिचिङ अस्पताल पुगियो। 

अस्पतालले तुरुन्तै भर्ना लिएर सुत्केरी कक्षमा लग्यो। व्यथा लागिरहेको छ। सलाइन पानी पनि दिइरहेको छ। बच्चा जन्मिने सुरसार भने छैन। व्यथा चर्कै लागिरहेको छ।

त्यो रातभरि व्यथा लाग्यो। एकदमै दुख्ने। म चिच्याउने रैछु। नर्सले बल गर्न भन्छन्। सकेको बल त गरेकै छु तर मुखमा आएर बसेको बच्चा जन्मिँदैन। दुखाइ यस्तो छ कि अब बाँकी दुख्नलाई केही छैन, यो नै अन्तिम दुखाइ हो भन्ने लाग्यो। 

बिहान पौने चार बजेतिर मलाई अर्को कोठामा सारियो। दुई जना डाक्टरले मेरो पेट थिच्दै बल गर्न लगाए। बेस्सरी पेट थिचेर बल गर्दा छोरा जन्मियो तर मेरो घर धेरै च्यात्तियो। 

बच्चा ठूलो भएकाले जन्मिन गाह्रो भएको रैछ। छोरो जन्मिँदा पौने चार केजीको थियो। घाउमा अप्रेसन गरेजतिकै १० वटा टाँका लगाउनुपर्यो। 

छोरा देखेपछि त्यो दुखाइ त कता हरायो कता। छोरा देख्दा बरबर आँसु खस्यो। डाक्टरले छोराको रुवाइ र हाउभाउ फरक मानेछन् क्यारे, ल्याएर मलाई दिँदै भने, ‘तपाइँको छोरा त ठूलो गायक हुन्छ।’

श्रीमान् पनि निकै खुसी हुनुभयो। त्यो दिन अस्पतालमा बसेँ। घाउ दुखेर उठेर बस्न नसकेको मैले बच्चालाई दूध पनि चुसाउन सकिनँ। बाबुले पनि रोएर हैरान पार्यो। 

श्रीमान् मेरो लागि खाना लिन घर जानुभयो। रमाइलो कुरा के भने, श्रीमानले मलाई खुवाउनका लागि पाँच लिटरको दुई वटा जर्किनमा घिउ ल्याउनुभएको थियो। उहाँले सुत्केरीलाई खुवाउन भनेर ज्वानोको झोल पनि घिउ नै घिउमा पकाउनु भएको, पानीको थोपा नै नराखी। अहिले त्यो कुरा सम्झँदा पनि हाँसो लाग्छ। 

दुई दिनको अस्पताल बसाइपछि घर फर्कियौँ। तिहारको बेला थियो। न्वारन सकेर म माइत गइहालेँ। श्रीमान् काममा व्यस्त हुनुपर्ने, ख्याल गर्ने कोही नहुने भएकाले म माइत गइहालेँ। सासु आमा भए पनि बुढी भइसक्नुभएको थियो। 

स्कुलबाट दुई महिनाको बिदा पाइन्थ्यो। फेरि दुई महिना बेतलबी बिदा बसेर छोराको हेरचाह र आफू आराम गरेँ। त्यसपछि भने स्कुल जान थालेँ।

०००
पहिलो बच्चा अठार महिनाको हुँदा नै फेरि म गर्भवती भएछु। त्यो कुनै योजनामा नै थिएन। थाहा नपाई महिनावारी रोकिएछ। 

योजना नभए पनि दुई वटा सन्तान त चाहिन्छ भनेर जन्माउने निर्णय गरियो। पहिलो बच्चा सानै थियो। सँगै दुई वटा बच्चा हुर्किन्छन् भन्ने लाग्यो। 

दोस्रो बच्चा पेटमा हुँदा पनि उस्तै कमजोरी, खान मन नलाग्ने, बान्ता हुने नै भयो। कामलाई पनि प्राथमिकतामा राख्नु नै पर्यो। 

दोस्रो बच्चा पनि उल्टो नै बसेछ पेटमा। फेरि पनि डाक्टर सरस्वती पाध्यलाई नै देखाएँ। पहिलो बच्चा जस्तो दोस्रो बच्चा पनि सुल्ट्याउन खोजेको डाक्टरले सकेनन्। 

डाक्टरले बच्चा चलेन र गाह्रो भयो भने अस्पताल आउनु भनेका थिए। बच्चा सात महिनाको हुँदा एक दिन स्कुलबाट फर्किदाँ म बाटोमै ढलेँ। चेक गर्दा बच्चा कोल्टो थियो। डाक्टरका अनुसार हेरचाहमा ध्यान दिएँ। 

०००
शनिबारको दिन थियो। घरमा आएका पाहुनालाई खाजा बनाएर खुवाएँ। सबै जना रमाइलो गरेर बसेका थियौँ। देवरहरु पनि हुनुहुन्थ्यो। राति साढे ९ बजेको हुँदो हो, म ट्वाइलेट गएँ। त्यहाँ एक्कासि पानी बग्यो र पानीसँगै केही वस्तु पनि गयो। 

यो देखेपछि बच्चा खेर जाने त होइन भन्ने पिर भयो। घटना सासुआमालाई सुनाएँ। आमाले अस्पताल गइहाल भन्नुभयो। पेट केही दुखेको छैन। ट्याक्सी रोकेर अस्पताल जान लाग्यौँ। त्यो बेला भने मेरो पेट निकै दुख्न थाल्यो।

अस्पताल पुग्दा ढिलो नै भइसकेको थियो। त्यो दिन पनि रातभरि व्यथा लाग्यो। बिहानपख छोरो जन्मियो। पहिला जस्तो गाह्रो भने केही भएन। जन्मिने बेला भने बच्चा सुल्टो नै भएको रहेछ। घाउमा टाँका भने फेरि पनि लाग्यो। छोरो साढे तीन केजीको जन्मिएको थियो। हामी त्यही दिन अस्पतालबाट घर फर्कियौँ। 

अब भने दुई वटा साना बच्चा हुर्काउने जिम्मेवारी आइलाग्यो। ठूलो छाराको पनि माया लाग्यो। त्यसको मायाले माइत पनि गइनँ। घरमै बसेर बच्चा स्याहारेँ। श्रीमान् पनि कामले भ्याली बाहिर जानुपर्ने भयो। बच्चाको सबै जिम्मेवारी मेरो नै भयो। 

तीन महिना बिदा बसेपछि स्कुल जान थालेँ। काम र परिवारलाई सँगै लैजान चुनौती नै हो। तर सामना गरियो। २०६१ सालमा स्कुलको प्रधानाध्यापक भएर अहिलेसम्म जिम्मेवारी निर्वाह गर्दै आइरहेको छु। प्रधानाध्यापक हुँदा बच्चाहरु पनि ठूला भइसकेका थिए। त्यसैले स्कुलका लागि दिनरात मिहिनेत गरेँ। आफ्नो पढाइलाई निरन्तरता दिएँ र पिएचडी गरेँ। 

अहिले त छोराहरु ठूला भइसके। जेठो छोरा अहिले एमबीए आइटी गर्दै छन्। पढाइको साथै व्यवसाय पनि गर्छन्। कान्छो छोरा पढाइकै सिलसिलामा अमेरिकामा छन्। म्याथमा मास्टर्स गर्दै छन्। खुसी परिवार छ। 

आमा हुनु भनेको महिला हुनुको सार्थकता हो। आमा भएनन् भने महिला पूर्ण हुँदैनन् जस्तो मलाई लाग्छ। आमा हुनु भनेको गौरव र सन्तुष्ट हुनु पनि हो। आमा सबैभन्दा महत्वपूर्ण अनुभव हो।

यो पनि

चैत ६, २०७८ आइतबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।