डा. सञ्जुबाबु जसले पाँच हजार जनाको सुन्दरता निखारे, पाँच सयभन्दा बढीको टाउकोमा कपाल उमारिदिए

डा. सञ्जुबाबु जसले पाँच हजार जनाको सुन्दरता निखारे, पाँच सयभन्दा बढीको टाउकोमा कपाल उमारिदिए
तस्बिर: कृष्पा श्रेष्ठ

डा.सञ्जुबाबु श्रेष्ठ छाला, यौन रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ हुन्। उनले पाँच सयभन्दा बढी व्यक्तिको टाउकामा कपाल रोपेका छन्। 

जसमध्ये करिब पाँच वर्षअघि २७ वर्षका युवाको कपाल प्रत्यारोपण गरेको प्रसङ्ग उनी भुल्नै सक्दैनन्। भर्खर २७ का ती युवाको टाउकोको अगाडिको भागमा कपाल नै थिएन। 

ती युवाले डा. सञ्जुबाबुलाई भेट्नासाथ भने,– 'डाक्टरसा'ब लौ न। टाउकोमा कपाल नभएर मलाई त विवाह गर्न केटी नै दिएनन्। मेरो कपाल कसरी आउँछ?'

ती युवालाई पर्नु पीर परेको थियो। एक ठाउँ त केटी माग्न जाँदा उनका घर परिवारले गिज्याउनुसम्म गिज्याएछन्। ‘यो त चिन्डे रहेछ। अंकल जस्तो रहेछ’ भन्दै ती युवतीले विवाह गर्न अस्वीकार गरेकी रहिछन्। 

टाउकोमा कपाल नभएकै कारण आफूले रोजेजस्तो केटीसँग विवाहै नहुने हो कि भन्ने चिन्ता रहेछ उनमा। ती युवाले टाउकाको झरेको कपाल पुनः आउला भन्ने आशा नै थिएन।

तर, झिनो आशा बोकेर उम्री पो हाल्छ कि! भन्दै उनी डा. सञ्जुबाबुकहाँ पुगेका रहेछन्। 

सञ्जुबाबुले पनि ती युवाको टाउकामा कपाल उमार्न सकिने/नसकिनेबारे स्वास्थ्य परीक्षण गरे। सबै रिपोर्ट सकारात्मक आयो। कपाल रोपेर उमार्न सकिने निष्कर्षमा पुगे उनी। 

त्यसपछि उनले यो कुरा ती युवालाई बताए। उनी पनि औधि खुशी हुँदै सञ्जुबाबुलाई कपाल उमार्ने प्रक्रिया सुरु गरिदिहाल्न अनुरोध गरे।

प्रक्रिया अगाडि बढ्यो। टाउकोपछाडिको भागमा नझरेको कपाल थियो। त्यो निकालियो। अनि अगाडि कपाल उम्रन नसकेको ठाउँमा रोपियो। 

कपाल विस्तारै भरिँदै गयो। करिब ६ महिनामा त ती युवाको टाउकोमा झ्याप्पै कपाल उम्रियो। यो देखेर युवा त असाध्यै खुशी भए, डा. सञ्जुबाबु पनि आफ्नो चिकित्सकीय विधिको सफलता देखेर हर्षले गद्गद् भए। 

अब रमाइलो पक्ष त के छ भने, कपालकै कारण ती युवासँग विवाह अस्वीकार गर्ने युवतीसँग उनको भेट भएको रहेछ। तर त्यतिञ्जेल ती युवतीको अरूसँगै विवाह भइसकेको थियो। 

तर भेटमा युवतीले ती युवालाई हेरेको हेरेकै गरिन्। अब त कपाल रोपेका युवाको पनि विवाह भइसकेको छ। बेलाबेला उनी सञ्जुबाबुलाई भेट्न आउँदा रहेछन्। हरेक पटकको भेटमा उनले सञ्जुबाबुलाई 'म तपाईंको ऋणी छु' भन्छन् रे।

केही वर्षअघि एक जना ५९ वर्षका पुरुषको समेत कपाल प्रत्यारोपण गरिदिएका रहेछन् सञ्जुबाबुले। प्रत्यारोपण सफल भएपछि ती पुरुषले अगाडि नै कपाल प्रत्यारोपण गर्नुपर्ने रहेछ भनेर पछुतो मानेको समेत उनले सुनाए।

सेतो दुबीको उपचारपछि युवतीको विवाह
नौ वर्षअगाडि एक युवतीलाई उनका बुवाले उपचारका लागि सञ्जुबाबुकहाँ लिएर आएका थिए। २० वर्षकी थिइन् उनी। 

उनको समस्या थियो- अनुहारको सेतो दुबी। दुबीकै कारण उनको विवाह समेत हुन नसकेको रहेछ। युवती र उनको परिवार निकै तनावमा रहेछ। 

डा. सञ्जुबाबुलाई भेटेपछि युवतीका बुवाले आफू जति खर्च लागे पनि जग्गा बेचेरै भए पनि छोरीको उपचार गर्न तयार भएको बताएका रहेछन्। 

सञ्जुबाबुले पनि आफ्नो चिकित्सकीय धर्म निभाए। युवतीको अनुहारको दुबी हटाउन उपचार थाले। कस्मेटिक सर्जरी र अन्य चिकित्सकीय विधि अपनाएर ती युवतीको अनुहारमा आएको दुबी उनले पूर्णरूपमा हटाइदिए।

उपचारका लागि युवतीका बुवाले जग्गा पनि बेच्नु परेन। थोरै खर्चमै उपचार भयो। पछि त युवतीको विवाह समेत भएछ। विवाहपछि पनि एक पटक ती युवती फलोअपमा आएको उनले सुनाए। 

यसपटक पनि आफूले उपचार गरेको बिरामीको खुशी र उनका बुवाको आशीर्वादले गद्गद् बनायो सञ्जुबाबुलाई।

सौन्दर्यको अस्वाभाविक चाहना
त्यसो त उपचार गर्दा शतप्रतिशत सफलता मिल्छ नै भन्ने यकिन हुँदैन। कहिलेकाहिँ अथक उपचार प्रयास गर्दा समेत सफलता मिल्दैन। 

आफैँ चिकित्सक भएर पनि सञ्जुबाबुले कोरोना संक्रमित आफ्नै ससुरालाई बचाउन सकेनन्। यसले उनमा सधैँ एकप्रकारको ग्लानि महसुस गराउँछ।

सञ्जुबाबुको अनुभवले भन्छ- सबै आशाले सार्थक रूप लिँदैन। 

केही महिनाअघिको कुरा हो। २७ वर्षकी एक युवती उनीकहाँ पुगेकी थिइन्। तिनी सुन्दर नै देखिन्थिन्। उनले अरू चिकित्सककहाँ कपाल प्रत्यारोपण गराएकी रहिछिन्। गाला मिलाएर पुक्क पुक्क पनि बनाएकी थिइन्। तर, उनलाई आफ्नै अनुहारप्रति चित्त बुझेको थिएन। 

त्यसपछि ती युवतीले सञ्जुबाबुकहाँ पुगेर अझै गाला तथा अनुहार मिलाइदिन अनुरोध गरिन्। तर, सञ्जुबाबुले अनुहार थप मिलाउन उचित हुने देखेनन्। 

सोहीअनुसार 'तपाईंको अनुहार ठीक छ, मिलाउन आवश्यक छैन' भन्दै परामर्श दिए। सोचेजस्तो नहुने भएपछि ती युवती निरास भएर फर्किइन्। 

सञ्जुबाबु आफ्नो चिकित्सकीय धर्मबाट अलिकति पनि विचलित हुन चाहँदैनन्। सुन्दरता निखार्न आवश्यक नपर्नेहरूलाई थप उपचार नगर्न परामर्श दिन्छन् उनी।

दश कक्षामा भर्ना हुनै मुस्किल
भोजपुरको दावाँ बजारमा जन्मिएका हुन् सञ्जुबाबु। नौ कक्षासम्म स्थानीय ‘सिद्धेश्वर मावि’मा अध्ययन गरेका उनी दश कक्षा पढ्न काठमाडौं हानिए। 

तर अङ्ग्रेजी कमजोर भएको भन्दै उनले भर्ना पाउन कठिन भयो। बल्लबल्ल डिल्लीबजारस्थित विजय स्मारक माविमा उनी भर्ना भए। एसएलसीमा राम्रो नम्बर ल्याएर उत्तीर्ण पनि भए। 

पछि आइएस्सी अध्ययनका लागि अमृत साइन्स क्याम्पसमा भर्ना भए। आइएस्सीपछि उनले डाक्टर पढ्ने सपना बुन्न थाले। आइएस्सीमा त उनले कलेज टप नै गरेका थिए।

चटगाउँबाट एमबीबीएस
आइएस्सीपछि सञ्जुबाबुले शिक्षा मन्त्रालयको छात्रवृति कोटामा बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि छनोट परीक्षा दिए। भारतमा इञ्जिनियरिङ अध्ययनका लागि पनि छनोट परीक्षा दिएका थिए। 

दुवै हातमा लड्डु। दुवै अध्ययनका लागि छनोट परीक्षामा उनी सफल भए। उनले एमबीबीएस रोजे। सन् १९९० मा उनी एमबीबीएस पढ्न बंगलादेश पुगे। 

‘चटगाउँ युनिभर्सिटी’को ‘सिलेट ओस्मानी मेडिकल कलेज’मा भर्ना भएर सन् १९९६ मा अध्ययन पूरा गरे।

एमबीबीएसपछि नेपाल फर्किएर उनले वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताल र आँखा अस्पतालमा एक वर्ष अनिवार्य गर्नुपर्ने इन्टर्नसिप गरे।

वीरमा अढाई वर्ष, सर्जरीमा आकर्षित 
एमबीबीएस अध्ययनपछि उनको जागिर यात्रा वीर अस्पतालबाट सुरु भयो। मेडिकल अधिकृतका रूपमा उनी वीर अस्पतालमा सन् १९९७ मा करार जागिरे भए। 

उनको काम अस्पतालको आकस्मिक कक्षबाट नै सुरु भयो। त्यो बेला उनले वीरमा तीन हजार तलब पाउँथे। त्यहाँ ६ महिना काम गरेपछि पार्टटाइमर जागिरेका रूपमा उनी निजी क्लिनिकमा पनि काम गर्न थाले।

सञ्जुबाबुले वीर अस्पतालमा रहँदा सर्जिकल, अर्थोपेडिक्स (हड्डी) लगायत विभिन्न विभागमा काम गरे। सर्जिकल विभागमा काम गर्दागर्दै उनलाई सर्जन बन्ने इच्चा जागेको थियो। 

करिब अढाइ वर्ष काम गरेपछि उनले वीर अस्पतालको जागिर छोडे। अनि काठमाडौंको सिनामंगलस्थित ‘काठमाडौं मेडिकल कलेज(केएमसी)’मा मेडिकल अधिकृतका रूपमा सन् २००१ मा काम गर्न थाले। 

उनको चाहनाअनुसार त्यहाँ पनि सर्जिकल विभागमा नै काम गर्न थाले। डा. सञ्जुबाबु शल्यक्रियामै रमाउन थालेका थिए।

‘छ्या भनिने छालारोग विषय’ को अध्ययन
थप अध्ययन गर्नु पनि थियो। त्यसैले सञ्जुबाबुले त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस) मा स्नातकोत्तर तहको ‘एमडी’ अध्ययनका लागि छनोट परीक्षा दिए। 

उनको पढ्ने चाहना त सर्जरी र अर्थोपेडिक्स विषय थियो। उनी ‘आँखा’,  ‘नाक, कान, घाँटी’, ‘मनोचिकित्सा’ जस्ता विषयमा अध्ययनका लागि त छनोट हुन्थे। तर यी विषय अध्ययनका लागि उनलाई आँखै लाग्दैनथ्यो।

महाराजगञ्ज क्याम्पसमा उनले आफूले चाहेको विषय अध्ययन गर्न पाएनन्। उनी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिन गए। 

त्यहाँ पनि न सर्जिकल न अर्थोपेडिक्स (हड्डी)मा नै अध्ययन गर्न सफल भए। चाहेको विषय पढ्न नपाउँदा निरास भए।

छनोट परीक्षाको नतिजाअनुसार उनले छाला तथा यौन रोग विषय अध्ययन गर्न पाउने भए। त्यो बेला यो विषयमा त्यति आकर्षण थिएन। राम्रो विषय पनि मानिदैनथ्यो। 

यो विषयलाई हेला गरिन्थ्यो। अध्ययन गर्नेहरूलाई 'कस्तो विषय पढेको?' भन्थे रे? 

तर आफूले यही विषय अध्ययन गर्न पाउने भएपछि उनले पढ्ने कि नपढ्ने भनेर ठन्डा दिमागले सोचे। एक जना सिनियर डाक्टरले यो विषयको भविष्य भएकाले पढ्न सुझाव दिए।

यो विषयमा पनि छालाको सर्जरी गर्न पाइने भएकाले सर्जरीको आफ्नो सपना पूरा हुने ठानेर उनले निष्कर्ष निकाले– यो नयाँ विषय हो। पढियो भने छुट्टै पहिचान बनाउन सकिन्छ। जे होला पढ्छु।

त्यसपछि उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘छाला तथा यौन रोग (डर्माटोलोजी)’ विषयमा ‘एमडी’ अध्ययनका लागि सन् २००१ मा भर्ना भए। सन् २००४ मा एमडी अध्ययन सकियो।

अध्ययनपछि पुनः काठमाडौं मेडिकल कलेजमा नै फर्केर सन् २००५ देखि काम गर्न थाले उनले। ‘लेक्चरर’ हुँदै पछि ‘असिस्टेन्ट प्रोफेसर’को रूपमा छाला तथा यौन रोग विभागमा काम गरे। 

त्यहाँ उनले सन् २०१९ सम्म करिब १५ वर्ष काम गरे। 

केएमसीपछि करिब तीन वर्षयता डा. सञ्जुबाबु ललितपुरको भैंसेपाटीस्थित ‘मेडिसिटी अस्पताल’मा कार्यरत छन्। उनी मेडिसिटीमा छाला तथा यौन रोग विभाग प्रमुखको जिम्मेवारीमा समेत छन्।

कपाल उमार्ने सीप
डा. सञ्जुबाबुसँग लेजर सर्जरी विधि अपनाएर व्यक्तिलाई सुन्दर बनाउने सीप छ। 

केएमसीमै काम गर्दा १३ वर्षअघि एउटा निजी क्लिनिकमा पनि उनी काम गर्थे। सो क्लिनिकमा लेजर सर्जरी विधिबाट व्यक्तिलाई सुन्दर बनाउने उपचारात्मक विधि अपनाइन्थ्यो। उनले पनि त्यहाँ केही सिक्ने मौका पाए।

त्यसपछि लेजर सर्जरीको सीपको विकासका लागि दक्षिण कोरियाको देंगुस्थित ‘दोङ्गसान मेडिकल कलेज’मा पुगे उनी। दक्षिण कोरियालाई कस्मेटिक सर्जरीको उर्वर थलो मानिन्छ।

त्यहाँ उनले विभिन्न किसिमका लेजर तथा लाइट थेरापी गर्ने सीप सिके। कपाल प्रत्यारोपणको सीप सिके। 

अनि नेपाल फर्किएर उनले लेजर सर्जरी विधि अपनाएर व्यक्तिको सुन्दरता निखार्न थाले। कपाल प्रत्यारोपणको सीप सिकेकाले त्यो काम पनि थाले।

त्यो बेला कपाल प्रत्यारोपण गर्ने भन्दा हास्थे रे। कपाल प्रत्यारोपण गर्ने व्यक्तिलाई पनि जोकरका रूपमा हेरिन्थ्यो रे। 

तर, अहिले भने उपचारपछि प्राकृतिक रूपमा नै कपाल उम्रने भएकाले स्वाभाविक र आकर्षणका रूपमा हेरिने गरेको उनले सुनाए। 

अहिले लेजर प्रविधिको विकाससँगै छाला तथा यौन रोग विषयको अध्ययन गर्ने विद्यार्थीको आकर्षण पनि ह्वात्तै बढेको उनले सुनाए।

रौँ निकाल्ने महिला बढी
लेजर सर्जरी विधि सिकिसकेपछि यो विधिबाट करिब पाँच हजार व्यक्तिको सुन्दरता निखारिसकेका छन् उनले।

लेजर सर्जरी विधिबाट अनुहार लगायत शरीरको अनावश्यक ठाउँमा आएका रौँ निकाल्न सकिने उनले सुनाए। लेजर सर्जरी विधिबाट रौँ निकाल्ने मात्रै होइन उमार्ने काम समेत गर्छन् उनी।

विशेषगरी जुँगा जस्तै माथिल्लो ओठमाथिको भागमा आएका रौँ, अनुहारमा आएका अनावश्यक रौँ हटाउन चिकित्सककहाँ पुग्ने महिलाको संख्या पनि निकै हुने गरेको उनले सुनाए। 

यो विधिले स्थायी रूपमा फेरि नआउने गरी रौँ निकाल्न सकिन्छ। 

नाम र दाम दुवै
लेजर सर्जरी विधिबाट दाग हटाउने, गालाको मुजा हटाउने जस्ता काम गर्छन् उनी। 

बोटक्स, फिलर्स तथा थ्रेडलिफ्ट प्रविधिबाट अनुहार तथा गालामा परेका चाउरीपना हटाउने लगायत सौन्दर्यसँग सम्बन्धित काम पनि उनी गर्छन्।

सुन्दरता निखार्ने यो पेशामा ‘नाम र दाम’ दुवै भएको सञ्जुबाबुको अनुभव छ।  

पहिला छ्या, अहिले आहा!
डा. सञ्जुबाबुले एमडी अध्ययन गर्दाको समयसम्म छाला सम्बन्धी अध्ययनलाई बेवास्ता गरिन्थ्यो। अहिले यो विषय अध्ययनको आकर्षणमा  पर्ने गरेको उनले सुनाए। 

आजभोलि ‘ओपीडी’ टिकट काटेर अस्पताल पुग्नेमध्ये करिब एक तिहाई छाला रोगकै समस्या लिएर पुग्ने गरेको उनी सुनाउँछन्। जनचेतना, सोख लगायतका कारण छाला रोगप्रति व्यक्ति निकै सचेत हुन थालेको उनको अनुभव छ। 

त्यो बेला आफैंलाई ‘छ्या छाला’ भन्ने लागे पनि अहिले भने यो विषय उनलाई ‘आहा’ भन्ने लाग्छ। यो विषय अध्ययन गरेकोमा डा. सञ्जुबाबु खुशी छन्। आनन्द मान्छन्। 

डाक्टरको सुख-दुःख :

१९ चैत, २०७८, २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।