गायिका सविनाको प्रसव पीडा र खुसी : औषधिले बच्चालाई तीन महिनासम्म पेटमै रोकियो

गायिका सविनाको प्रसव पीडा र खुसी : औषधिले बच्चालाई तीन महिनासम्म पेटमै रोकियो

विवाहअघि नै संगीत सिकेकी सविना कार्कीले गीत गाउने इच्छा भने श्रीमानसामु कहिल्यै व्यक्त गरिनन्। छोरा १४/१५ को भएपछि श्रीमतीको रुचि थाहा पाएर श्रीमान् आफैंले उनलाई गीत गाउन लगाएका थिए।

हालसम्म तीन वटा गीति एल्बम निकालिसकेकी सविनाका सयौं गीत कलेक्सन एल्बममा समावेश छन्। अहिले उनी भजन संग्रह निकाल्ने तयारीमा छिन्। 

पद्मकन्या क्याम्पसमा आइए पहिलो वर्ष पढ्दापढ्दै विवाह गरेकी सविना विवाह गरेको केही महिनामै गर्भवती भइन्। गर्भवती हुँदाको अवस्थामा  प्रेसर लो हुने, हिँड्दाहिँड्दै ढल्ने जस्ता समस्या भोगिन् सविनाले।

त्यतिमात्र होइन, खानामा एलर्जी हुने, जिउ चिलाउने, पिडुँलाको मासु फर्किने र बच्चा बसेको ठाउँमा पानी खाली भएपछि बच्चालाई भ्याकुमले तान्दा तानेर निकाल्नुपर्दाको पीडा भोगेकी छिन् उनले। 

बच्चा ७ महिनामै जन्मने खतरा रोक्न तीन महिनासम्म औषधि खानुपरेको सकसपूर्ण अनुभव पनि उनीसँग छ। प्रसव पीडा र खुसीका यस्तै–यस्तै अनुभूतिहरु गायिका सविना उकेरामार्फत यसरी व्यक्त गर्छिन् :

आइए पढ्दापढ्दै मेरो विवाह कुपन्डोलका दिनेशबहादुर कार्कीसँग भयो। त्यतिबेला घरबाट कुरा छिनिएपछि नाइँनास्ती गर्ने कुरै हुँदैनथ्यो। म पानीपोखरीबाट कुपन्डोलमा भित्रिएँ। जतिबेला ममा परिपक्वता नै आइसकेको थिएन।

०००
स्कुलमा स्वास्थ्य र विज्ञान विषय पढ्दा महिनावारी र गर्भावस्थाको बारेमा पढ्ने र बुझ्ने मौका पाएकी थिएँ। विहेपछि बच्चा पाउनुपर्छ र विवाहित महिलाका लागि बच्चाको कति हुन्छ भन्ने महत्व पनि बुझेकी थिए।

विवाह गरेको केही महिनापछि मेरो महिनावारी समयमा भएन। डाक्टरकहाँ देखाउन जाँदा गर्भवती भएको रहेछु। म गर्भवती भएको कुराले मलाई भन्दा घर र माइतीमा उल्लास भयो। मेरा श्रीमानलाई पनि बच्चा साह्रै मनपर्ने भएकाले बच्चा चाहिँ पाइहाल्नुपर्छ भन्नु हुन्थ्यो। आमा र सासुको खुसीको त सीमा नै नै थिएन। उहाँहरुको खुसी हेरेर मैले केही रियाक्ट नै गर्न सकिनँ।  त्यत्तिकै दंग भएँ।

गर्भावस्थामा के गर्नुपर्छ, के गर्नु हुन्न, खासै ज्ञान थिएन। आमा र सासुले भने जस्तै आफूले आफैंलाई स्याहार्दै गएँ।

पहिलेदेखि मेरो प्रेसर निकै कम हुन्थ्यो। झन् गर्भवती भएपछि त प्रेसर झनै घट्थ्यो। कति पटक चिट्–चिट् पसिना आएर एक्कासि अँध्यारो भएर ढलेकी पनि थिएँ।

आफूलाई बलियो बनाउन प्रोटिन, क्याल्सियम मिलाएर खाइरहन्थें। श्रीमान् व्यस्त हुनुहुन्थ्यो। तैपनि, हरेक दिन दुई बजे मलाई अनार छोडाएर खुवाउन घर पुग्नुहुन्थ्यो। म भने हात कालो हुन्छ भनेर अनार छोडाएर खान अल्छी गर्थें।

आठ महिना लागेपछि अचानक पानी बग्यो। त्यतिबेला मैले डा. भोला रिजाललाई देखाइरहेको थिएँ। उहाँले एक दिन हस्पिटलमै बस्न भन्नुभयो। त्यसपछि एक महिना पूरै बेड रेस्ट गर्न लगाउनुभयो। म एक महिना माइतीमै बसें।

जिउ यति चिलाउँथ्यो कि कनाउँदा नङले घाउ नै घाउ हुन्थ्यो। ढाड र पिडुँलाको मासु फर्कन्थ्यो। सुरुका ७ महिना आराम नै भए पनिपछिल्लो एक महिनामै निकै गाह्रो भयो।

०००
माइतीमा आमासँग थिएँ। डाक्टरले दिएको समय नजिकिँदै थियो। बेस्सरी पानी बग्न थालेपछि कम्मरमा धोती बाँध्न लगाइयो र टिचिङ अस्पताल लगियो। त्यो दिन भोमिट पनि धेरै भयो।

मलाई अस्पतालको क्याबिनमा राखियो। तर केटा मान्छेलाई भेट्न नदिने रहेछ। अस्पतालमा मसँग काम गर्ने एक जना केटी थिइन्। तर श्रीमान् पनि लुकेर क्याबिनमा मसँगै बस्नुभएको थियो। डाक्टर, नर्सको भिजिट हुँदा  कोठा ढक्ढक्याउने वित्तिकै उहाँ ट्वाइलेटमा लुक्न जानुहुन्थ्यो।

व्यथा लाग्दा श्रीमान् लुकेर नबस्नु भएको भए मलाई झनै गाह्रो हुन्थ्यो होला।

मलाई लेबर रुममा लग्यो। त्यतिबेला भर्खर १९ वर्ष टेक्दै थिएँ। नर्सहरु मलाई हेर्दै कति सानी रहिछन् भन्दै जान्थे। मलाई भने यति गाह्रो भइरहेको थियो कि, ‘सिस्टर, मैले बच्चा कहिले पाउँछु’ भनेर चिच्याउँथे। डाक्टर तथा नर्स ‘नानी भर्खर त यति घर खुल्यो, अझैं घरहरु खुल्नै बाँकी छ’ भन्दै सान्त्वना दिन्थे। 

कहिले रक्तस्राव त कहिले भोमिट भइरहने। अब मर्छु कि जस्तो लाग्थ्यो। मैले १३ घण्टा लामो ब्यथा कष्टले सहेर बसें। 

पहिले नै धेरै पानी बगिसकेकाले बच्चा भ्याकुमले तान्नुप¥यो। त्यस्तो अवस्थामा सकभर अप्रेसन गर्न नखोज्ने रहेछ। चारैतिर विद्यार्थीहरु राखेर प्राक्टिकल कक्षा लिँदै मेरो बच्चा तान्दै रहेछन्। म उनीहरुको पढाइको लागि प्राक्टिकलको साधन जस्तै बनेछु। त्यतिबेला त रिस पनि उठेको थियो। 

बच्चा जन्मिएपछि मैले निकै आनन्द महसुस गरें। बाहिर घर र माइतीका आफन्तहरु लस्करै बसिरहनुभएको थियो। उहाँहरुलाई देखेपछि सबै पीडा भुलेर म मुसुक्क हाँसेछु। म हाँसेको देखेर उहाँहरुले यो त हाँसेर पो आई, दुखेन कि क्या हो, भन्नुभएको थियो। मलाई भने लडाईं जितेर घर आएको एउटा योद्धा जस्तो महसुस भइरहेको थियो।

मलाई छोरी मनपर्ने तर श्रीमान् चाहिं छोरा नै पाउँछे भन्नेमा ढुक्क हुनुहुन्थ्यो। छोरा जन्मिएपछि श्रीमान् दंग। 

सासुआमाको उमेर अलि बढी भएकोले न्वारन सक्नासाथ मलाई माइतीमा लगियो। मेरो ममी ३५ वर्षको मात्रै हुनुहुन्थ्यो। उहाँले नातिको खुब स्याहार गर्नुभयो। बच्चा पाएपछि दूध खुवाउने रहर सबै आमाको हुन्छ। तर मेरो दूध आएन। छोरालाई आफ्नो दूध खुवाउन नपाउँदाको पीडा भने मलाई सधैं रहिरह्यो।

०००
हामी श्रीमान्–श्रीमती नै दुई वटा बच्चा जन्माउने सोचमा थियौं। नभन्दै छोरा तीन वर्ष पुग्नै लाग्दा दोस्रो बच्चा कन्सिभ भयो। दोस्रो बच्चाको पालामा चाहिँ सुरुको महिनादेखि नै भोमिट हुन थाल्यो। बासनाको एलर्जी हुने, प्लास्टिकका बट्टाहरु गन्हाउने भयो। 

सात महिना हुँदा नै मेरो पेट एकदमै ठूलो थियो। श्रीमान् पनि जुम्ल्याहा भएको र जुम्ल्याहा भाइ चार दिनपछि बितेकोले उहाँ मेरो पेटमा पनि जुम्ल्याए बच्चा छ कि भन्ने ठान्नुभएको रहेछ।

सात महिनामा अल्ट्रा साउन्ड गरियो। पेटीकोटको इजार कस्दा मेरो पेटमा दुख्थ्यो। त्यतिबेला डा. सुप्रातालाई देखाएका थियौं। डा. सुप्राताले सात महिनामै जन्मिन्छ जस्तो छ भन्दै बच्चा रोक्ने औषधि दिनुभयो। साथमा निस्सासिएको जस्तो हुन थालेकोले मलाई दमको औषधि पनि खान दिइयो। मैले बेड रेस्ट गरेर पूरै तीन महिना औषधिले बच्चा पेटभित्रै रोकेर बसें। 

यति मात्र होइन, बच्चा जन्मिने समयमा ग्रहण आउँदै थियो। ग्रहणमा जन्मिएला भनेर ससुराले डाक्टरकहाँ गएर १५ दिनको औषधि थपेर ल्याउनुभएको थियो।

ग्रहण लागेको समयमा पेटमा हात राख्दा बच्चाको जुन भागमा हात पर्यो त्यस भागमा दाग लाग्छ भन्ने भनाइ थियो। ग्रहणको अवधिभर श्रीमानले मेरो हात समाएर बस्नुभएको थियो।

मलाई दोस्रो बच्चा छोरी नै होस् भन्ने थियो तर श्रीमानलाई भने दोस्रो पनि छोरा नै होस् भन्ने चाहना थियो। उहाँलाई छोरी मन नपर्ने होइन। तर छोरीले अर्कोको घरमा जानुपर्छ, कस्तो घरमा पुग्छे? श्रीमान् कस्तो पर्छ भन्ने पिरले नै छोरी नहोस् भन्ने सोच रहेछ।

दुखाइ र चिलाइ बढ्दै गएकाले अप्रेसन गरेर बच्चा पाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। तर नर्मल नै जन्म्यो। दोस्रो पटक पनि छोरा नै। सानो छोराको पालामा पनि तीन महिना पूरै माइतीमै बसें।

दुवै बच्चाको पालामा मेरो बुबाले निधार थिच्ने, नाक बनाउने, दाँत थिच्ने, गाला सेक्ने गर्नुहुन्थ्यो। त्यतिबेला बच्चाहरुलाई जस्तो सेपमा बनाउन चाहे पनि सम्भव हुने उहाँ बताउनुहुन्थ्यो। 

मेरा दुवै छोरा सानोमा एक दम बिरामी भइरहने। ठूलो छोराको त जन्मनेवित्तिकै दिसामा रगत देखिएको थियो। ल्याबमा जनाउँन जाँदा केही देखिएन भन्ने। पछि दिल्लीमा लगेर जनाउँदा पोलिब देखिएपछि निकालेर फालियो।

पछि ठूलो छोराको पिसाबमा पनि रगत देखियो। टन्सिलले किड्नीमा असर परेको रहेछ। पेन्सिलिनको इन्जेक्सन दिएपछि कम भयो।

गर्भवती हुँदाभन्दा बच्चा जन्मिसकेपछि मलाई बढी गाह्रो भयो। बच्चा बिरामी भइरहँदा आमालाई जस्तो गाह्रो कसैलाई नहुने रहेछ।

०००
म गायिका बनोस् भन्ने बुबा–आमाको इच्छा श्रीमानले पूरा गरिदिनुभयो। विवाहअघि नै बुबाले घरमा हार्मोनियम, तबला, तानपुरा किनिदिनुभएको थियो। म संगीत सिक्दै पनि थिएँ। तर विवाहपछि श्रीमानलाई भन्न सकिनँ। पछि उहाँले नै मेरो रुचि थाहा भएर गीत रेकर्ड गर्न, एल्बम निकाल्न सहयोग गर्नुभयो। ठूलो छोरा पनि १५ वर्षको भएपछि संगीत कक्षा लिएर संगीतमा लाग्यो।

पहिले छिटो विवाह भयो, छिटो बच्चा पाएँ जस्तो लागे पनि अहिले सही भएको रहेछ जस्तो लाग्छ। ठूलो छोरा, बुहारी क्यानडामा बस्छन्। एक महिनापछि म हजुरआमा बन्दैछु। कान्छो छोरा अमेरिकामा पढेर हामीसँगै बस्ने भनेर फर्केको छ। 

दुवै सन्तान ज्ञानी र संस्कारी भएको देख्दा मेरो मन गद्गद् छ। आमाको महत्व, आमाको मतलब आमा बनेपछि मात्रै थाहा पाइने रहेछ। प्रसव पीडाको त्यो छोटो अवधिले जीवनभरिको खुसी निर्धारण गर्ने रहेछ।

यो पनि

११ पुस, २०७८, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।