गीतकार सन्ध्याको प्रसव पीडा र खुसी : २३ घण्टाको व्यथा, भ्याकुम अनि अप्रेसन

गीतकार सन्ध्याको प्रसव पीडा र खुसी : २३ घण्टाको व्यथा, भ्याकुम अनि अप्रेसन

सन्ध्या केसी, एक स्थापित गीतकार। सानैदेखि गीत लेखनमा रुचि राख्ने सन्ध्याले निरन्तरको संघर्षपछि आफ्नो इच्छा पूरा गरिन्। अहिले उनी नेपाली लोक गीत-संगीत क्षेत्रमा शब्द लेखनमार्फत आफूलाई सक्रिय बनाइरहेकी छन्।

‘मेलम्चीको पानी’, ‘परदेशीको व्यथा’, ‘सालैजो’, ‘जोडी हिट’, ‘जवानीको छल्का हो’, ‘काली मनपरी’, ‘ठुम्का’, ‘कहाली’, ‘गुन्युचोली’, ‘फूलबुट्टे चोलीमा’, ‘मार्यो  मायाले’, ‘बिमा गराउँछु’, ‘पसिना’, ‘भदौरे झरी’, ‘तिम्रो पियारा’, ‘रोधीको खालै’ उनले लेखेका चर्चित गीत हुन्।

६ वर्ष लामो प्रेमपछि विवाह गरेर श्रीमानसँग विदेशिएकी सन्ध्याले गर्भवती हुँदाको अवस्थामा भाषा, खानपान र त्यसमाथि कोरोना महामारीका कारण निकै अप्ठ्यारो अवस्था झेल्नुपर्यो। 

डरैडरमा ९ महिना बिताएकी सन्ध्याले बच्चा पाउने बेला ब्यथा लाग्ने औषधि २३ घण्टासम्म दिएको सास्ती, भ्याकुमले बच्चा निकाल्ने प्रयास अनि अन्त्यमा अप्रेसन गरी बच्चा निकाल्नुपर्दाका पीडा भोगिन्। तर जति पीडा भए पनि बच्चा जन्मेपछि सुखानुभूति पनि उनी कहिल्यै भुल्न सक्दिनन्। आफूले भोगेको प्रसवको पीडा र त्यसपछिको खुसी सन्ध्या उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः 

सानैदेखि रेडियो र टेलिभिजनमा बज्ने गीतहरु सुन्ने-हेर्ने भएर होला ६/७ कक्षा पढ्दादेखि नै मेरो रुचि गीत-संगीतप्रति गयो। होमवर्क गरेकै कपीको पछाडि पानामा गीतका टुक्काहरु लेख्थें। यही कारण बेलाबेलामा शिक्षकको पिटाइ पनि खाएकी छु।

समयसँगै चाहना फेरिँदै गयो। १० कक्षामा पढ्दा मेरो दाहिने हात भाँच्चियो। त्यसपछि मेरो मलाई एकाएक नर्स बन्ने इच्छा पलायो। तर हाम्रो पारिवारिक अवस्था मलाई नर्सिङ पढाउन सक्ने थिएन। त्यसैले प्लस टु सकेपछि समाजशास्त्र लिएर ब्याचलर पढ्न सुरु गरें। साथै आफ्नो पहिलेदेखिको सपना साकार पार्नुपर्छ भनेर गीत लेख्न थालें। अहिलेसम्म मैले सात दर्जनको हाराहारी गीत लेखिसकेकी छु।

मास्टर्स पढ्दै गर्दा ६ वर्ष लामो प्रेमपछि मेरो विवाह सुमधुर केसीसँग भयो। उहाँ बागलुङको अनि म लमजुङको। उहाँ पाँच वर्षदेखि पोर्चुगलमा हुनुहुन्थ्यो। उहाँको छुट्टी नमिलेकाले नेपाल आउन पाउनुभएको थिएन। मेरो घरबाट बेहुला नै नहेरी फोनमार्फत हाम्रो विवाहको कुरा छिनिएको थियो।

२०७६ फागुन ४ गते विवाह गरेर हामी एक हप्तामै हामी पोर्चुगल आयौं। केही समयपछि कोभिड– १९ देखा पर्यो । गएको एक महिनामै लकडाउन भइहाल्यो। कतै घुमफिर गर्न समेत पाएनौं। पहिलो पटक विदेश आएको, कोठाभित्रै सीमित हुनुपर्दा म त झनै आत्तिएँ। घरपरिवार धेरै सम्झिएँ। तर विस्तारै यहाँको माहोलमा भिज्न थालें।

०००
कोरोनाले धेरै प्रभाव पार्यो। कामहरु सबै बन्द भए। त्यसपछि हामीले बच्चाको प्लानिङ गर्यौं। फुर्सद भएकोले बच्चालाई पर्याप्त समय दिन सकिन्छ भन्ने हाम्रो सोच थियो।

२०७७ भदौमा म गर्भवती भएँ। मलाई यसको बारेमा खासै थाहा थिएन। सोध्न र सल्लाह लिन पनि त कोही थिएन। फोनबाट घर तथा माइतीमा सोध्न त मिल्थ्यो, तर लाज र अप्ठ्यारो लागेर केही भन्दिनथें। 

विदेशको ठाउँ, भाषा पनि नबुझिने। हस्पिटलमा त्यहींको भाषा बोल्ने, आफूलाई नआउने। कोरोनाले गर्दा श्रीमानलाई भित्र जान पनि नदिने हुनाले त्यतिबेला निकै समस्या झेल्नुपर्यो । 

गर्भवती भएको पाँच महिनासम्म भोमिट हुने, रिंगटा लाग्ने तथा खाना नरुच्ने भयो। त्यसपछि विस्तारै खाना रुच्न थाल्यो। एक त पेटमा बच्दा हुँदा जिउ असहज हुने, अल्छी लाग्ने, गाह्रो हुने त छँदै थियो, त्यसमाथि कोरोना महामारीले थप मानसिक तनाव थपेको थियो।

संसारभरिका समाचारमा म अपडेट भइरहन्थें। कोरोनाका यति बिरामी थपिए, यतिको मृत्यु भयो जस्ता समाचार आइरहन्थे। झनै नेपालका चिनेका मान्छेहरुको समवेदनाका तस्बिरहरु सामाजिक सञ्जालमा आइरहँदा एकदमै डिस्टर्भ भएँ। एक्लै रोइरहन्थें। आफूलाई र पेटको बच्चालाई केही नहोस् भनेर प्रार्थना गरिरहन्थें। भगवानले मेरो प्रार्थना सुन्नुभयो, बच्चालाई कुनै पनि असर परेन। सबै नर्मल नै भयो। 

डाक्टरले दिएको समयभन्दा तीन हप्ता अगाडि पिसाब जस्तो पानी एक घन्टासम्म बगिरह्यो। व्यथा कस्तो हुन्छ, पानी किन बग्छ भन्ने विषयमा मलाई केही ज्ञान थिएन। आत्तिएर श्रीमान् र म हस्पिटल गयौं। हस्पिटल जानासाथ मलाई भर्ना गरिदिए। पानी धेरै बगिसकेकोले ब्यथा लाग्ने औषधि पनि चलाइदिए।

पोर्चुगलमा सकेसम्म नर्मल डेलिभरी गराउन खोज्ने रहेछ। २३ घन्टासम्म औषधि चलाए। त्यो अवधिमा खान केही दिएनन्। म तड्पिरहेको थिए। तर फकाउने र सान्त्वना दिने कोही थिएनन्। धेरै गाह्रो भयो। त्यतिबेला अमालाई निकै सम्झिएँ।

लामो समय प्रयास गर्दा पनि बच्चा नजन्मिएपछि भ्याकुमले तान्न खोजियो। भ्याकुमले तान्दा पनि बच्चा निस्किएन। अन्त्यमा केही सिप नलागेपछि अप्रेसन गरेर बच्चा निकालियो। २३ घण्टाको व्यथा, भ्याकुमले तान्दाको पीडा अनि अप्रेसन। मैले एउटा बच्चा जन्माउन तीनथरीको पीडा खप्नु पर्यो।

छोरी जन्मिएपछि पाँच दिन हस्पिटल बसें। त्यो पाँच दिनको बसाइ मलाई पाच वर्ष जस्तो लायो। श्रीमानलाई बस्न नदिन, अरु आफन्त पनि कोही थिएनन्। अप्रेसनको घाउ दुखेको छ, भ्याकुमले तानेको दुखाइ पनि उस्तै पीडादायी। नानिलाई उचाल्ने, डाइपर फेर्ने, दूध खुवाउने सबै आफैंले गर्नुपर्ने। केही जिम्मेवारी ननिभाएकी मलाई विदेशी भूमिमा एकै पटक सबैथोक आइपर्यो।

नेपालमा दिदीहरु, साथीहरु सुत्केरी हुँदा ज्वानोको सुप, चार छाक खाना, तेल मालिस गरेको देखेको थिएँ। तर आफू हस्पिटल बसुञ्जेल केरा, बिस्कुट र जुस मात्रै खान पाएँ। चिसो लाग्ला भनेर जुस, केरा खान डर लाग्थ्यो। तर भोकै बस्ने कुरा भएन। नर्सहरुले जे दिन्थे त्यही खाइदिन्थें। बल्ल–तल्ल पाँच दिनपछि घर गएँ। कोठामा पुगेपछि स्वर्ग पुगे जस्तो भयो। श्रीमानले बनाएको ज्वानोको झोल र भात खान पाउँदा धेरै खुसी भएँ। 

श्रीमानको १५ दिने सुत्केरी बिदा थियो। विदेशमा कोही नहुँदा आमाले गर्ने सबै काम उहाँले नै गर्नुहुन्थ्यो। घरमा केही नगरेको मान्छे, उहाँले म र नानीलाई मजाले स्याहार्नुभयो। त्यसको लागि युट्युब हेर्नेदेखि नेपालमा आमा, दिदीहरुसँग सोधखोज गर्नुभयो। नानी र मलाई नै नुहाइदिने, तेल लगाइदिने, सेक्ने, खाना बनाएर खुवाउने सबै गर्नुहुन्थ्यो।

अहिले नानी सात महिनाकी भइन्। आजसम्म एक छिन पनि उनलाई छाडेका छैनौं। मेरो लागि सारा खुसी नै उनमा अडेको छ। उनी हाँस्दा, रुँदा, चिच्याउँदा संसार जितेको अनुभूति हुन्छ। छोरी बिरामी हुँदा आफैं बिरामी भएझैं हुन्छ। 

आफू आमा बनेपछि आमाको महत्व झनै बुझ्न थालेको छु। आमाको माया थप चुलिएको अनुभव गरेको छु। म परदेशमा छु, चाहेर पनि आमालाई भेट्न पाएको छैन। आमालाई भेटेर कहिले नातिनी काखमा राखिदिउँ जस्तो भएको छ। तर चाहे जस्तो परदेश नहुने रैछ। अभाव केही कुराको छैन। खुसी पनि छु। तर आमाको अभाव, आमाको अत्यास केही चिजले पनि पूरा नहुने रहेछ।

विदेश आए पनि गीत-संगीतप्रतिको मोह भने कहिल्यै घटेन। यहाँ आएपछि पनि गीतहरु लेखिनै रहेको छु।

यहाँसम्म आइपुग्दा मेरो जीवनकालको उच्चतम खुसी नै म आमा बनेपछिको भन्ने लागेको छ।

यो पनि

पुष १८, २०७८ आइतबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।