ब्याच नम्बर ६९ : प्रहरी जवान नै लिएर गायब भए हेरोइन तस्कर असलम

ब्याच नम्बर ६९ : प्रहरी जवान नै लिएर गायब भए  हेरोइन तस्कर असलम

भारतबाट नेपाल भित्रिरहेको हेरोइनको जालो भत्काउन लागुऔषध नियन्त्रण इकाइले विशेष अप्रेसनको तयारी गर्यो 'अप्रेसन पेजर'। नेपाली बजारमा भारतमा बनेको लो क्वालिटीको हेरोइन छ्याप्छ्यापती भएपछि त्यो नियन्त्रण गर्न विशेष रुपमा यो अप्रेसनको तयारी गरिएको थियो।

यसको टार्गेट नेपालमा रहेका कारोबारीहरु त भए नै। मुख्य चाहिँ भारतमा बसेका कारोबारीहरु समेत थिए। कुनै प्रहरी अप्रेसन कारोबारी पक्राउ केन्द्रित हुन्छ। कुनै सामानसहित कारोबारी पनि। यसको मोडालिटी सामानसहित कारोबारी पक्राउ गर्ने थियो।

यसको प्रभाव राम्रै परिरहेको थियो। भारत गएर खैरो हेरोइन बोकेर नेपाल आएर बजारमा पठाउनेहरु टन्नै पक्राउ परिरहेका थिए। अनुसन्धानको क्रममा भारतमा रहेका २ भारतीय नागरिक कपिलदेव र असलम मुख्य कारोबारी रहेको खुल्यो। यी दुवैलाई निष्क्रिय नबनाएसम्म नेपालमा खैरो हेरोइन आउने क्रम पूरै रोक्न गाह्रै थियो।

त्यसैले इकाइको एक टोली यी दुवैलाई पक्राउ गर्ने रणनीति बनाउन लाग्यो। र, रणनीति अनुसार एक जना कपिलदेव भन्ने व्यक्तिलाई एक किलो हेरोइन बोकेर नेपाल आउन राजी गराउन सक्दा उनी थानकोटमा पक्राउ परे।

अघिल्ला २ अंक यही घटनाक्रम लेखेको थिएँ। अब यो खैरो हेरोइन अन्तर्गतको अप्रेसन पेजरको अर्को अंक। यसमा उस्मान पक्राउको प्रसंग लेख्दैछु।

०००
नेपाल आउनै नमान्ने कपिलदेवलाई इकाइको टोलीले बढो मिहिनेतका साथ नेपाल भित्र्यायो। उनी एक किलो हेरोइन बोकेर नेपाल आए। उनलाई थानकोटमा पक्राउ गरेर इकाइको नयाँबानेश्वमा रहेको कार्यालयमा लगेर ब्याग खोतल्दा हेरोइन बरामद भइहाल्यो। अब बाँकी रहे असलम।

एक टोली असलमको खोजीमा खटिएकै थियो। ऊ कपिलदेवभन्दा पनि चलाख थियो। उसलाई पनि कपिलदेवलाई नै नेपाल नभित्र्याएसम्म पक्राउ गर्न असम्भव थियो। त्यसैले अस्लमलाई जाल फ्याँनेहरु अनेक उपाय लगाइरहेकै थिए।

यता अर्को टोली नेपालमा फैलिएको हेरोइनको जालो भत्काउन सक्रिय थियो। काठमाडौँ त भई नै हाल्यो।  ललिलतपुर, भक्तपुर वीरगञ्ज, मकवानपुर, पोखरा सबैतिर फैलिएका थिए इकाइका प्रहरी। उनीहरुले स्थानीय प्रहरीसँग समन्वय गरेर कारोबारी पक्राउ गरेर उतै कारबाहीका लागि बुझाइरहेका थिए। 

कारोबारको पहिलो तहका त भारतमै भइहाले। नेपालमा रहेका दोस्रो तहका थिए जो रक्सौल पुगेर खैरो हेरोइन ल्याएर ठाउँ-ठाउँमा पुर्याउँथे। तेस्रो तहका कारोबारी तिनै भारतबाट हेरोइन बोकेर आउनेहरुसँग किनेर सानो अमाउन्टमा प्रयोगकर्ताहरुलाई बेच्ने। चौथो तह पनि हुन्छ यस्तोमा। त्यो चाहिँ आफैँ बिक्रेता, आफैँ सेवनकर्ता। किनेर आफैँ खाने पनि बेच्ने पनि।
नेपालमा चलिरहेको अप्रेसनमा यी सबै तहकाहरु टार्गेटमा परिरहेका थिए। 

०००
असलमलाई नेपाल भित्र्याउन कस्सिएको टोली जति लागे पनि उसलाई विश्वासमा लिन सफल भइरहेको थिएन। जति प्रयास गरे पनि ऊ नेपाल आउन मान्दै नमान्ने। जे जति कारोबार गर्ने हो भारतबाटै गर्ने भन्ने। उसलाई नेपाल नभित्र्याएसम्म पक्राउ असम्भव।

नेपालमा असलम विरुद्ध टन्नै मुद्दा थिए। त्यसैले उसलाई नेपाल भित्र्याउन सके खैरो हेरोइन फेला पार्न पनि पर्दैनथ्यो। त्यही भएर पनि उसलाई सके हेरोइनसहित नसके उसलाई मात्रै पक्राउ गर्न सके पनि ठूलै सफलता हुने थियो।

इकाइको संरचना बदलियो। मैले सरुवा मागें। मेरो सरुवा भए पनि अप्रेसन भने चलिरहेको थियो।

म हेडक्वाटर गएको थिएँ। अर्कै कार्यालयमा गए पनि इकाइले चलाइरहेको अप्रेसन पेजरबारे चासो त हुने भयो नै। त्यहाँ काम गर्नेहरुसँग लामो समय उठबस भएकाले के-के भइरहेको छ उनीहरुले पनि बताउँथे।

'असलम पक्राउ परे नि।'

म्यासेज पाएँ। गजब। उसलाई नेपालमा ल्याएर पक्राउ गर्न सक्नु ठूलो सफलता थियो। 

तर कसरी? असलम मात्र समातिए कि हेरोइन पनि फेला पर्यो?

असलमलाई पक्राउ गर्न खटिएको टोलीले अनेक गरेर उसलाई मकवानपुरसम्म आउन राजी गराएछन्। यस्तो अप्रेसनमा अपनाउने मोडल स्टिङ नै हो। 'बाई एण्ड ब्रस्ट' पनि गरिन्छ।

डिल गर्न मकवानपुरमा आएको बेलामा इकाइको टोलीले असलमलाई पक्राउ गरेर काठमाडौँ ल्यायो। उसँग हेरोइन भने फेला परेन। तर मुद्दा चलाउन पुरानै केसहरु काफी थिए। हेरोइनसहित जति समातिए उनीहरुले असलमको नाम लिएका थिए।

पक्राउ, अनुसन्धान सबै अधिकार इकाइसँग थियो नै। हिरासत पनि थियो। तर बेलुका पक्राउ परेकाहरुलाई हिरासतमा राख्दैनथ्यौं। बेलुका नजिकै हिरासत भएको प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा पठाउँथ्यौं।

असलम पक्राउ परेको एक साताजति भएको थियो होला।

मेसेज आयो, 'असलम त भाग्यो।'

कसरी?

असलम पक्राउ परेपछि मकवानपुरमै इकाइको टोलीलाई नियन्त्रणमुक्त गरेवापत जति पैसा चाहिन्छ त्यति दिने प्रस्ताव गरेको रहेछ। मुद्दा प्रक्रिया सकिएर अदालत पुग्न पाएको भए २० वर्ष जेल त पक्का थियो।

तर, उसलाई एक साता पनि नेपालको हिरासतमा राख्न नसक्नु प्रहरीको ठूलो असफलता थियो।

इकाइले अनुसन्धानका क्रममा बेलुका असलमलाई महानगरीय प्रहरी परिसर काठमाडौँको हनुमानढोकामा रहेको हिरासतमा पठाउने गर्थ्यो। हिरासतमा जाने-आउने क्रममा उसले प्रहरीसँग सेटिङ मिलाउन भ्याएछ। हिरासतमा राखेर इकाइ ल्याउने क्रममा जुन प्रहरी जवानले जिम्मेवारी पाएका थिए उनी असलमसहित गायब भए।

त्यसपछि न असमल पक्राउ परे न उसलाई भगाउने प्रहरी नै।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

ब्याचका पुराना अंक

२७ असोज, २०७८, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।