चौथो अंगमा प्रशान्त अर्याल : ‘इस्यु’ होइन, ‘इभेन्ट’ मा केन्द्रित छन् नेपाली टेलिभिजन

चौथो अंगमा प्रशान्त अर्याल : ‘इस्यु’ होइन, ‘इभेन्ट’ मा केन्द्रित छन् नेपाली टेलिभिजन
तस्बिर : कृष्पा श्रेष्ठ

पत्रकारिता भनेको जति सिक्यो उति जानिने भएको हुँदा टेक्स्ट मात्रै जाने पनि सिकाउने प्रकारको न्युजरुम छ भने भिडियो पनि सिक्छन्। ठ्याक्कै भन्नुपर्दा नेपाली टेलिभिजन पत्रकारिता गर्ने धेरैजसो पत्रकार काम गर्न सिक्दै छन्। 

डिजिटलको मारमा पर्यो टेलिभिजन
नेपालमा भिजुअल पत्रकारिताको इतिहास लामो छैन। २०४२ सालमा नेपाल टेलिभिजन आयो। पछि निजी क्षेत्रका टेलिभिजन त आए तर संख्या कम हुँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेनन्। इभेन्ट बेस टेलिभिजन पत्रकारिता धेरै भयो। प्रिन्टले जस्तोसुकै परिस्थितिमा पनि आलोचनात्मक चेत प्रकट गरिरह्यो। 

२०६२/०६३ को आन्दोलनपछि टेलिभिजन सुस्ताए। राजाको प्रत्यक्ष शासनकालमा टेलिभिजनले केही काम गर्न खोजेको जस्तो देखिन्थ्यो। माओवादी युद्ध संविधान सभा र संविधान जारी भएपछिको सामाजिक रुपान्तरणका बारेमा टेलिभिजनले काम गर्न सक्थे, तर गरेनन्। फेरि डिजिटल मिडिया आयो। रेडियो र टेलिभिजन त्यसपछि सुस्ताए। सामाजिक सञ्जाल, युट्युब धेरै हेरिन थाले। घरघरमा टेलिभिजन हेरिने चलन चटक्कै छोडियो। 

तर, आफूलाई परिर्वतन गर्ने र इस्युमा फोकस हुने हो भने टेलिभिजन जुर्मुराउन सक्छन्।

भारतमा पनि डिजिटल मिडियाले कुनै प्रभाव पारेन टेलिभिजिनको विकासमा। टेलिभिजनमा करिअर बनाउने पत्रकार धेरै छन् उता। यसो भन्दैमा नेपालको टेलिभिजन बजार डिजिटलले उठ्नै नसक्ने गरी खाएको भन्न खोजेको होइन।

पछिल्लो समय मल्टिमिडिया पनि आएको छ। प्रतिस्पर्धा धेरैसँग गर्नुपर्ने छ। तर नयाँ कन्टेन्ट दिएको खण्डमा टेलिभिजनले हस्तक्षेप नै गर्न नसक्ने भन्ने होइन। टेलिभिजनले हस्तक्षेप गर्नसक्ने स्थिति बन्दै गएको देखेको छु। 

प्रिन्ट मिडिया हावी 
सुरुमै मैले भनें, टेलिभिजन पत्रकारितामा पनि प्रिन्ट मिडियामा काम गरेका पत्रकारहरुकै बोलवाला छ।

२०४९ सालमा सुरुचि साप्ताहिकबाट पत्रकारिता सुरु गरेको मैले बीचमा केही समय दैनिक र १० वर्षभन्दा बढी नेपाल साप्ताहिकको नेतृत्व गरें। २०७४ फागुनदेखि मात्रै हो टेलिभिजनमा काम गरेको। एक हिसाबले भन्नुपर्दा सिक्दै र सिकाउँदै मेरो पत्रकारिता अघि बढेको छ। 

नेपाली मिडियामा कन्टेन्टको हिसाब गर्ने हो भने धेरैजसो अब्बल कन्टेन्ट प्रिन्ट/अनलाइन मिडियाले दिएका छन्। एक्सक्लुसिभ कन्टेन्टको लागि टेलिभिजनले खासै सम्झनयोग्य काम गरे जस्तो लाग्दैन।

म नेपाल साप्ताहिकमा हुँदा बाबुराम भट्टराईसँगको कुराकानीमा उहाँले  नयाँ शक्तिको खाँचोबारे औंल्याउनुभएको थियो। हामीले उहाँलाई आफ्नो विचार राख्न भन्यौं र उहाँले बोल्नुभएको कुरा ट्रान्सक्राइब गरेर सम्पादन गर्न पठायौं। भट्टराई आफैंले सम्पादन गरेपछि नेपाल साप्ताहिकको कभर स्टोरी बन्यो। त्यो स्टोरीले नेपालमा नयाँ शक्तिको खाँचो कति छ?, खाँचो किन छ? आधार के-के हुन्? कसरी जाने? भनेर औंल्याइएको थियो। यो स्टोरीले नयाँ खाँचोबारे नेपाली राजनीतिमा निरन्तर बहस सिर्जना गर्यो। प्रिन्ट मिडियाले राष्ट्रिय/अन्तर्राष्ट्रिय बहस सिर्जना गर्ने हैसियत राख्छ। 

त्यस्तै २०५५/०५६ सालमा म कान्तिपुर दैनिकमा काम गर्थें। त्यो बेला मैले गरेको स्टोरी सम्झिन्छु। नेपाल एयरलाइन्सले अमेरिकी एक कम्पनीसँग जहाज भाडामा ल्याउने सम्झौता गर्यो। सम्झौतालगत्तै नेपाल एयरलाइन्सले ७ लाख डलर पनि पठायो। पछि थाहा भयो, त्यो कम्पनी त नाम मात्रैको रहेछ। त्यसले जहाज नै पठाएन। अमेरिका र नेपालमा मुद्दा-मामिला भयो। त्यतिबेलाका नेपाल एयरलाइन्सका अध्यक्ष हकङ राना जेल पनि परे। 

यसले के प्रष्ट पार्छ भने, प्रिन्ट मिडियाले नेपालमा नीतिगत तहमा राम्रै हस्तक्षेप गरेका छन्। मिडिया बलिया हुँदैनथे भने लोकतन्त्र यतिको बलियो हुन्थ्यो भन्ने मलाई लाग्दैन।

यसरी नै सम्झने गरी टेलिभिजनले पनि काम गर्नुपर्ने दायित्व हामी माझ छ। टेलिभजनले कामै गरेन भनेको होइन २०६३ सालपछि भने सशक्त भूमिकामा नदेखिएको भने अवश्य हो। 

इस्युभन्दा इभेन्टमा फोकस्ड छन् टेलिभिजन 
म्यागेजिनमा काम गर्दा ४ हजार शब्दभन्दा माथिसम्मका स्टोरीहरु सम्पादन गरियो। टेलिभिजन आएपछि पूरै फरक भयो। २ मिनेटको समयमा धेरै कुरा भन्न सक्नुपर्ने। त्यसमा भिडियो, बाइटदेखि रिपोर्टसम्म पढिसक्नुपर्ने हुन्छ। प्रिन्ट मिडियाबाट आउनेलाई सुरुआतमा यो काम गर्नै गाह्रो हुन्छ। म आफैंलाई अभ्यस्त हुन ६/७ महिना लाग्यो।

टेलिभिजनमा एउटा स्टोरी तयार हुन रिपोर्टिङ, भिडियो-अडियो सम्पादन, इन्जिनियरिङ र प्रस्तुतिले प्रभाव पार्छ। लामो भिडियो बन्यो भने पनि बोर लाग्नु भएन। पत्रकार यसमा अभ्यस्त हुनुपर्यो। टेलिभिजनमा स्पेसलाइजेसन गरेका पत्रकारको अभाव छ।

टिभीमा काम गर्ने जनशक्तिको अभाव छ। त्यसमाथि चुस्त टिम निकै कमको मात्रै छ। नेपाली टेलिभिजन बाल्य अवस्थामा नै छ। अभ्यासको कमी छ। त्यसैले त इस्युभन्दा इभेन्टमा फोकस छन् नेपाली टेलिभजन। इभेन्ट कभर गर्ने तर विश्लेषण कम भएको देखिन्छ टेलिभिजन पत्रकारितामा। 

यसो भन्दै गर्दा पछिल्लो समय खुलेका र पुराना टेलिभिजनले आफूलाई केही संरचनागत रुपमा परिवर्तन गर्न खोजेको देखिन्छ। मिडियाले दिने कन्टेन्टमा परिर्वतन गरेको छन्। इस्यु उठाइरहेका देखिन्छन्। केही दशकमा नै टेलिभिजन यही रफ्तारले जान सक्यो भने सफल हुनसक्ने देखिन्छ। 

प्रिन्ट मिडियाले जसरी एजेन्डा सेटिङ गरेका छन्। टेलिभिजनले एजेण्डा सेटिङमा गर्न सकेका छैनन्। प्रिन्ट मिडियामा अघोषित रुपमा सल्लाह नगरे पनि सल्लाह गरे जस्तै गरी एजेन्डामा बोलिरहेका हुन्छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध अनलाइन/प्रिन्ट मिडियाले राम्रो भूमिका खेलेका थिए। 

सशक्त छन् हाम्रा मिडिया 
१४ वर्ष पुग्छ मैले सम्पादकको रुपमा न्युजरुम हाँकेको। १० वर्ष प्रिन्ट मिडिया र ४ वर्ष टेलिभिजन। 

सम्पादकको रुपमा काम गर्दा चुस्त टिम छान्नु उस्तै चुनौतीपूर्ण काम हो। मैले छानेको टिम म आफैंले र व्यवस्थापनलाई बोझ हुने गरी छानिनँ। मैले कसरी काम गरें भन्ने कुरा त समयले भन्ला। तर समग्रमा नेपाली मिडियाले लोकतन्त्रको सच्चा पहरेदार भएका छन्। 

२०७४ पछि सरकारमा तत्कालीन नेकपा भए पनि सशक्त प्रतिपक्षीको भूमिकामा मिडिया नै देखिए राजनीतिक दलभन्दा। त्यसकारण नेपाली मिडियाले सीमित स्रोत र साधनमा गरेको कामप्रति सन्तुष्ट छु। 

हामी पत्रकारको एउटा कमजोरी छ। हामी अरुलाई मान्छे गन्दैनौं, हामीलाई अरुले गन्दैनन्। हामी फरक चरित्रका हौं भन्ने भ्रम छ। यो क्षेत्रभन्दा बाहिरकाले पत्रकार यस्तै हुन् भन्ने सोचाइ राखेको देखिन्छ।

पत्रकारिताले आलोचनात्मक चेत राख्छ। पत्रकारले अरुको आलोचनालाई कमै मात्र खप्छन्। यसको अर्थ पत्रकार दम्भी, घमण्डी छन् भन्न खोजेको होइन। नेपाली पत्रकारिताको यतिको दरिलो उपस्थिति हुँदैनथ्यो भने हाम्रो लोकतन्त्र यो ढंगले मौलाउँदैन्थ्यो।

लगानी अझै आउनुपर्छ
मिडियामा जति धेरै लगानी भयो उति धेरै पत्रकारिता मौलाउने हो। पत्रकारितामा लगानी बढ्दा समाजमा मिडियाको उपस्थिति दरिलो हुन्छ। सिंहदरबार वरपर रुमल्लिएको छ नेपाली मिडिया।

खै हामीले सामाजिक पुनर्संरचनाका मुद्दा उठाएको? सिप कम भएका पत्रकार छन्। राम्रा पत्रकार खोज्नै गाह्रो हुन्छ। यो क्षेत्रमा लगानी कम भएर होइन? यदि लगानी प्रशस्त हुन्थ्यो भने त धेरैको आर्कषण हुन्थ्यो नि। क्षमता अभिवृद्धि गरेर पत्रकारलाई वाच डग बनाउनु आजको आवश्यकता हो। 

जागिर खाने, अलमल गर्ने प्रबृत्तिका पत्रकार धेरै भए भने पत्रकारिताको विकास हुन सक्दैन। 

समग्र पत्रकारको कुरा गर्दा पत्रकार जुन माध्यममा काम गरे पनि आफूलाई ‘बिक्री’ योग्य बनाइराख्नुपर्छ। पत्रकारले सुरक्षा खोजेर बस्ने होइन।  

अन्त्यमा, टेलिभिजनले अब एजेण्डा उठाउनुपर्छ। दक्ष जनशक्तिमा ध्यान दिनुपर्छ र डिजिटल प्लेटफर्मलाई पछि पार्न सक्नुपर्छ। चुनौती त छन् तर नसकिने होइन।

(कान्तिपुर पब्लिकेसनको सहप्रकाशन नेपाल साप्ताहिकको सम्पादक, कान्तिपुर टेलिभिजन हुँदै अहिले ग्यालेक्सी फोर के टेलिभिजनका प्रधानसम्पादक रहेका अर्यालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

२१ मंसिर, २०७८, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।