हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

वि.सं. २००६ मा बर्दियाको गुलरियामा जन्मिएका डा. विश्वम्भर प्याकुर्याल अर्थविद्, पूर्वराजदूत, अर्थशास्त्रका प्राध्यापक, गीतकार र कथाकार समेत हुन्। श्रीलंका र माल्दिभ्सका लागि नेपाली राजदूत रहिसकेका प्याकुर्यालले अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

शिक्षण र अनुसन्धानमा चार दशक सेवा गरेका डा. प्याकुर्यालले अर्थशास्त्रमा पिएचडी र अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डबाट पोस्ट डक्टरल रिसर्च पनि गरेका छन्। 

कोलम्बो प्लान स्ट्यान्डिङ कमिटी र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था साउथ एसिया कोअपरेटिभ प्रोग्रामका अध्यक्ष समेत रहिसकेका प्याकुर्यालसँग वर्ल्ड बैंक, एडिबी, युएनडिपी, डब्ल्युएचओ लगायत करिब दुई दर्जन अन्तर्राष्ट्रिय संस्थाको परामर्शदाताको रुपमा काम गरेको अनुभव छ।

साहित्य, संगीत, कलाका पारखी प्याकुर्यालले विभिन्न साहित्यिक एवं अर्थतन्त्र सम्बन्धी पुस्तक लेखेका छन्। उनको ‘इन्द्रेणीको गुम्बजभित्र’, हरिभक्त कटुवालले सम्पादन गरेको ‘बान्की’ मा ‘तीन वटा घाउ’ लखुकथा  प्रकाशित छ। यस्तै जेल बसाइको क्रममा जेल भित्रकै यौन विकृतिमाथि उनले ‘समलिङ्गी’ नामक लघुकथा लेखेका थिए। 'तीन वटा घाउ'  हिन्दी भाषामा अनुवाद भएर भारतीय पत्रिकामा समेत प्रकाशित भएको थियो। 

नेपालको अर्थतन्त्रसम्बन्धी ‘नेपाल्स डेभलपमेन्ट ट्याजिडीः थ्रेट्स एण्ड पोसिबिलिटिज’ र ‘म्याक्रोइकोनमिक्स : अ र्याडिकल रिथिङ्किङ इन ग्रोथ, इनइक्वालिटी एण्ड इन्क्लुसिभनेस’ उनले लेखेका महत्वपूर्ण पुस्तक हुन्। 

स्वरसम्राट नारायण गोपालका नजिकका मित्र प्याकुर्याल नारायण गोपालले गाएको ‘तिमीले भनेका सारा देव छोएर’, प्रेमध्वज प्रधानले गाएको ‘झरेको आँशु नियाली हेर’ लगायत थुप्रै कालजयी गीतका रचनाकार पनि हुन्।

नारायण गोपाल, गोपाल योञ्जन, हरिभक्त कटुवाल, भुपी शेरचन, कृष्णप्रसाद भट्टराई लगायत दिग्गज व्यक्तित्वहरुसँग लामो समयसम्म सहकार्य गरेका प्याकुर्यालले ‘आफैंलाई खोज्दा-केही छोपिएका, केही उघारिएका’ शीर्षकको आत्मकथा लेखेका छन्।

स्वरसम्राट नारायण गोपालसँगको संगत तथा विगतका आफ्ना भोगाइ डा. प्याकुर्याल यसरी सम्झन्छन् :

स्कुले जीवनमा भारतको राष्ट्रिय गान
विद्यार्थी जीवन सकिएको दुई वर्षपछि म शिक्षण पेसामा संलग्न भएँ। भन्डै चार दशक पढाएपछि रिटायर्ड भएको पनि १० वर्ष भइसक्यो।

मैले गुलरियामा आठ कक्षासम्म पढें। नेपालमा गणित र अंग्रेजी पढाउने शिक्षक अभाव भएकोले भारतको लखनउ र बहराइचबाट ती विषयका शिक्षक ल्याएर पढाइन्थ्यो। मुसलमान शिक्षक धेरै हुन्थे। त्यहाँ पढ्दा स्कुलमा हामीलाई राष्ट्रिय गान गाउन लगाइन्थ्यो। त्यो बेला हामी ‘जन गण मन- अधिनायक जय हे भारत भाग्य विधाता!’ भन्दै भारतीय राष्ट्रिय गान गाउँथ्यौं। प्रधानमन्त्री को हो भन्दा ‘जवाहरलाल नेहरु’ भन्थ्यौं। भारतबाट ल्याइएका शिक्षकहरुले त्यस्तै सिकाउनुभएको थियो।

दुई/चार वर्षको लागि हामीलाई उर्दु विषय अनिवार्य गराइएको थियो। त्यसकै प्रभाव होला मैले पनि अलि-अलि उर्दु पढ्न र लेख्ने जानेको थिएँ। तर काठमाडौं आएपछि भने त्यो बिर्सें। 

काठमाडौंबाट चिठी-पत्र पठाउँदा १२/१५ दिनपछि पुग्थ्यो। त्यसबेला चिठी-पत्र आदान-प्रदान गर्दा आफ्नो ठेगाना बहराइच भनेर भारतको ठेगाना लेखिन्थ्यो। चिठी ल्याइदिने हुलाकी आउँथे। नेपाल, काठमाडौंबाट कसले चिठी पठायो भन्दै हेर्न आउनेको लर्को हुन्थ्यो। 

दशैं-तिहार, विहेबारीमा सपिङ गर्न बहराइच नै पुग्नुपर्थ्यो। बहराईच लखनउ जान बाँसी जंगलको बाटोहुँदै  रेल्वे स्टेशन ‘मुर्तिहा’ पुग्नु पर्थ्यो। बाटोमा डाँका लाग्थे। डाँकाले लुटेपछि कति त रित्तै र नाङ्गै घर फर्किनुपर्थ्यो। 

काठमाडौं पुग्न भारतको बाटो
गुलरियामा आठ कक्षासम्म अध्ययन गरेपछि म काठमाडौं आए। काठमाडौं आइपुग्न तीन दिन लाग्थ्यो। बर्दियाबाट सिधै काठमाडौं आउने बाटो थिएन। भारत हुँदै आउनुपर्थ्यो। भारत पुग्न गुलरियाबाट जंगलको बाटो हिँड्दै रेलवे स्टेसन पुग्नुपर्थ्यो।

वि.सं. २०१८ तिरको कुरा हो। काठमाडौं आएर ९ कक्षामा भर्ना हुनुपर्ने तर काका योगनाथ प्याकुर्यालले ‘तराईतिरको अध्ययन त्यति राम्रो हुँदैन, विषयवस्तुको ज्ञान पनि कम हुन्छ’ भन्दै मलाई सात कक्षामा भर्ना गरिदिनुभयो।

लैनचौरमा शान्ति गृह हाइस्कुल थियो। त्यसबेला म काकाको घरमा बस्थें। भर्ना भएको दुई/चार महिनासम्म त आफैंलाई नमज्जा लाग्यो। किनभने, मसँगैका साथी-भाइहरुले पढ्न सुरु गरिसकेकोले उनीहरु मभन्दा दुई तह माथि भए। त्यसबेला अधिकांश विद्यार्थी उपत्यकाभित्र र उपत्यका वरपरका मात्र हुन्थे। म पढ्दा उपत्यका बाहिरबाट आउने विद्यार्थीको संख्या निकै कम थियो। 

म सात कक्षामा पढ्दा कांग्रेसका नेता अर्जुननरसिंह केसी ९ कक्षामा पढ्थे। मेरो कक्षा नघटाइएको भए म पनि ९ कक्षामै हुन्थें। तर पछि गएर अर्जुन मेरो घनिष्ठ मित्र बने। आजका मितिसम्म पनि हामी मिल्ने साथी छौं।

सो विद्यालयबाट एसएलसी पास गरेपछि म पब्लिक साइन्स क्याम्पस हालको अमृत साइन्स कलेजमा भर्ना भएँ। 

कलेज पढ्दै गर्दा पार्ट टाइमको रुफमा मैले आफू पढेको शान्ति गृह स्कुलमा सातदेखि १० कक्षासम्मका विद्यार्थीलाई पढाउन सुरु गरें। म गणित, अंग्रेजी र पञ्चायत विषय पढाउँथे। त्यसबेला पञ्चायत विषय अलग पढाउनुपर्थ्यो। मैले धेरै वर्षसम्म पञ्चायत विषय पढाएँ। त्यो बेला निर्दलीय पञ्चायती व्यवस्थाले नै मुलुकलाई स्थायित्व दिन्छ, बहुदलीय व्यवस्था काम लाग्दैन भनेर पढाइन्थ्यो। त्यसमा राजा महेन्द्रको धेरै तारिफ गरिएको हुन्थ्यो।

पञ्चायतमा दलगत व्यवस्था भर्सेस निर्दलीय व्यवस्थाबारे पढाइन्थ्यो। त्यो बेला मैले पञ्चायत विषय पढाएका विद्यार्थीहरु जो मन्त्री बनिसकेका छन्, उनीहरु ‘सरले स्कुलमा पढाउन्जेल पञ्चायतलाई गाली गर्नुभो, जेल पनि पर्नुभो, त्यही पञ्चायत पढेरै मन्त्री भइयो’ भन्दै हाँस्ने पनि गरेका छन्। पञ्चायत विषय स्नातक तहसम्म पढाइ हुन्थ्यो। पछि त्यो विषय हटाइयो। 

त्यसपछि मैले नेपाल न्यासनल कलेज हालको शंकरदेव क्याम्पसमा पढें। विद्यार्थी राजनीति पनि सुरु गरें। एक पटक ६ महिना जेल परिसकेपछि भने मैले राजनीतिक जीवन त्यागें। 

त्यतिबेला शान्ति गृह स्कुलमा मैले पढाएका विद्यार्थीहरु अहिले कति जना आर्मीको कमाण्डर इन चिफ भएर सेवानिबृत्त भइसके। सन्तोष पन्तजस्ता नेपालका ठूल्ठूला कमेडियनहरु, सम्भुजीत बास्कोटाजस्ता संगीतकारहरु, राजेश हमाल जस्ता कलाकारलाई पनि मैले पढाएको थिएँ।

त्यो बेलाका मेरा कतिपय विद्यार्थी जागिरबाट रिटायर्ड भइसके, कतिपय विद्यार्थी मन्त्री भइसके, कोही बैंकका सिइओ छन्, योजना आयोगका अध्यक्ष भइसकेका छन्, नेपाल राष्ट्र बैंकको गर्भनर भइसकेका छन्। अहिले यो सबै हेर्दा साँच्चै आनन्द लाग्छ।

त्रिभुवन विश्वविद्यालयमा मैले पढाइ सुरु गर्दा कलेज थियो। पढ्दापढ्दै विश्वविद्यालय बन्यो। मैले जहाँ पढें त्यहीँ अध्यापन पनि सुरु गरे। यसरी मेरो जीवनको अधिकांश समय प्राध्यापनमै बित्यो।

साहित्यतिर रुचि 
स्कुलमा पढ्दा निस्कने पत्रिकाहरुमा फाट्टफुट्ट लेख, कथाहरु लेख्न थालें। त्यसपछि साहित्यतर्फ मेरो रुचि बढ्यो। त्यतिबेला नेपालमा मिडियाको नाममा एउटा गोरखापत्र थियो। राइजिङ नेपाल र रेडियो नेपालबाहेक अरु माध्यम थिएनन्। रेडियो नेपालमा सुनिने जो-कोहीको नाम राजा/महाराजाको जस्तै लाग्थ्यो। मलाई पनि एउटा/दुइटा कथा-कविता लेखेर रेडियो नेपालमा बजाउन पाए ठूलै मान्छे भइन्थ्यो जस्तो लाग्थ्यो। 

नेपाल न्यासनल कलेजमा बिए पढ्दै गर्दा मसँग पढ्ने सहपाठीहरु रेडियो नेपालमा कार्यक्रम चलाउँथे। विज्ञापन सेवाको सुरुवात भर्खर-भर्खर भएको थियो। त्यसबेला किरण खरेल, यादव खरेलहरुमध्ये दामोदर अधिकारी, विश्ववल्लभ मेरा साथीहरु कार्यक्रम चलाउनुहुन्थ्यो। उहाँहरु रेडियो नेपालको कार्यक्रम चलाउने भएपछि मैले केही लेखेर दिएँ भने बजिहाल्छ, केही संघर्ष नै गर्नुपर्दैन जस्तो लाग्थ्यो। 

विश्वविद्यालय पढ्न जानुअघि मेरा गीतहरु रेकर्ड भइसकेका थिए। हप्तामा एक दिन बिहीबार राती पौने आठ बजे ‘गीती कथा’ बज्थ्यो। त्यसबेला रेडियो कार्यक्रम रुपक र गीतिकथा निकै चल्थ्यो। मैले झन्डै चार वर्ष गीती कथा लेखें। दीप श्रेष्ठले भर्खरै रेकर्ड गरेको गीत चलाउन गीती कथा को टाइटल ‘बितेका कुरा ले केही चोट लाग्दा’ राख्दा त्यो गीत मैले लेखेको भन्ठान्थे।

पेट्रोलको मूल्य १ रुपैयाँ २० पैसा
स्नातक तह पढ्दा म मोटरसाइकल चलाउँथे। त्यसबेला पेट्रोल प्रतिलिटर २ रुपैयाँ २० पैसा मात्र पर्थ्यो। बसहरु थिएनन्। रसियन जिपहरु चल्थे। कलेजबाट पिकनिक गयो भने रसियन जिप रिजर्भ गरिन्थ्यो। दिनभरको १० रुपैयाँ मात्र लाग्थ्यो।

मैले आफ्नै कमाइले होन्डा बाइक किनेको थिएँ। होन्डाको ७ हजार चानचुन मूल्य परेको थियो। पछि भने गाडी किनें। मैले सुरुको गाडी २ लाख ७० हजारमा किनेको थिएँ। विश्वविद्यालयमा पढाउँदा म धनीमध्येमा गनिन्थें। किनकी, मेरो मासिक तलब ५ सय रुपैयाँ थियो। विद्यालयमा कोचिङ क्लासबाट पाँच/सात हजार कमाउँथे। 

मोटरसाइकल चढ्ने मान्छे पनि निकै कम हुन्थे। मोटरसाइकल चढ्दा फूर्ती नै बेग्लै हुन्थ्यो। मसँग ट्रम्फ ब्रिटिस बाइक थियो। त्योबेला काकाको छोरा मेरो दाइको जेठान पञ्चायतको कृषि सचिव हुनुहुन्थ्यो। उहाँ बेलायत गएको बेला उतैबाट झिकाइएको मोटरसाइकल थियो त्यो। नयाँ भएकोले टिलिक्क टल्किन्थ्यो।

रेडियो नेपालको भवन वरपर एक फन्को घुमाइदिन्थें। त्यो मोटरसाइकलको आवाज सुन्दावित्तिकै रेडियो नेपालका कार्यक्रम सञ्चालक/सञ्चालिका र साथीहरु झुम्मिन्थे।  बाहिर कतै आवाज सुनियो कि म त्यहाँ पुगें भन्ने संकेत नै हुन्थ्यो। त्यतिबेला म रेडियो नेपालको स्टाफजस्तै भइसकेको थिएँ। 

सो समयमा केही रचना लेखेको २० रुपैयाँ पारिश्रमिक आउँथ्यो। त्यसमध्ये २ लिटर पेट्रोल हाल्थें, रेडियो नेपालमा गएर पाँच रुपैयाँमा चार/पाँच जनालाई मासु-चिउरा, चना, तरकारी खान पुग्थ्यो। त्यति खर्च गरेपछि पनि गोजीमा सात रुपैयाँजति बच्थ्यो।

लेखेपछि पारिश्रमिक पनि आउँथ्यो र मान्छेसँग पनि चिनजान हुन्थ्यो। एक पटक गायक प्रेमध्वज प्रधानले बाटोमा भेटेका बेला मसँग गीत मागेका थिए। त्रिविमा पढ्दादेखि नै प्रेमध्वजसँग चिनजान थियो। विस्तारै हामी मिल्ने साथी पनि बन्यौं। २०२९ सालमा प्रेमध्वजले आफ्नै संगीतमा पहिलो पटक मैले लेखेको गीत गाएका थिए। त्यसअघि २०२८ सालतिरै मैले लेखेका चार/पाँच वटा गीत रेकर्ड भइसकेका थिए। मीरा राणाले पनि मैले लेखेको गीत गाउनुभएको थियो।  विस्तारै दीप श्रेष्ठ र अरुहरुले पनि मेरा गीतहरु गाउन थाले। 

नारायण गोपाल र गोपाल योञ्जन पारिवारिक मित्र 
रेडियो नेपालको गीतिकथामा लेख्न थालेपछि त्यसको पारिश्रमिक लिन जान्थें। सोही क्रममा नारायण गोपालसँग भेट हुन्थ्यो। रेडियो नेपालमा आवतजावत गर्दागर्दै नारायण गोपालसँग मेरो दोस्ती भयो। उनीसँग मेरो घनिष्ठता विस २०३१/३२ देखि सुरु भयो। त्यसबेलादेखि उनी मृत्युशय्या पुग्दासम्म त्यो घनिष्ठता कायम रह्यो। 

नारायण गोपालसँग यतिसम्म नजिक भएँ कि उनीसँग छुट्टिएको र टेलिफोनमा कुरा नभएको कुनै दिनै हुँदैनथ्यो। त्यतिबेला म त्रिविको प्रोफेसर हेडक्वार्टरमा बस्थे। छुट्टिने दिन या त नारायण गोपाल मकहाँ खाना खाएर छुट्न्थिे नभए म उनको घर गएर खाना खान्थें। 

नारायण गोपालले साह्रै मिठो खाना पकाउँथे। अनेकथरी तरिकामार्फत विभिन्न किसिमका परिकार पकाउँथे। उनी खसीको टाउकोमा दही मिसाएर ग्रेभी बनाउँथे। साह्रै मिठो हुन्थ्यो। पोर्कमा साग र मुला मिसाएर पकाउँथे। कहिले टिपिकल नेवारी परिकार बनाउँथे। उनले सानैदेखि खानेकुरा पकाउन थालेको भन्थे। उनले पकाउने हरेक रेसिपी हाम्रो चुल्होमा पाक्ने चलन-चल्ती बाहिरका हुन्थे। संगीतजस्तै उनले पकाउने हरेक परिकारको आफ्नै खाले रेसिपी थियो।

नारायण गोपाल बिरामी भएपछि पहिलो पटक टिचिङ र दोस्रो पटक वीर अस्पतालमा मैले भर्ना गराइदिएको थिएँ। वीर अस्पतालको भित्तामा ‘मासु एक पिस, गेडागुडी यति’ भन्दै विभिन्न खानेकुराको मात्रा लेखेर झुन्डाइएको थियो। छेउमै म थिएँ। भित्तामा टाँसेको देखाउँदै उनी भन्थे, ‘मलाई मासु यतिविघ्न मन पर्छ। डाक्टरले भित्तामा एक पिस, डेढ पिस भनेर लेख्ने? यदि मलाई सलाइन नचढाएको भए, म त्यो च्यातेर फालिदिन्थें।’

कहिलेकाहीँ नारायण गोपालले मलाई खुसी पार्न आफ्नो घर बोलाएर जिनमा टनिक वाटर र कागती हालेर ड्रिंक तयार पारिदिन्थे। उनले भाउजु (नारायण गोपालकी श्रीमती) लाई ‘सोम’ भनेर बोलाउँथे। ‘बार टेन्डरभन्दा राम्रोसँग मात्रा मिलाउँछे’ भन्दै भाउजुलाई नै टनिक र जिनको मात्रा मिलाउन लगाउँथे।

उनी रक्सी थोरै खान्थे, खाएपछि या त लोकल ठर्रा खान्थे नभए आयातित जिन खान्थे। मलाई पनि खुवाउँथे, आफु पनि खान्थे (अचेल त मैले पिउन छोडिसकें)। तयार भएको ड्रिंक मेरो अगाडि राखेर ‘ल गीत लेख’ भन्थे। ड्रिंक लिएपछि गीत लेख्ने मुड गायब हुन्थ्यो। अनि हामी विभिन्न गफगाफ गर्दै बस्थ्यौ।

नारायण गोपाल वीर अस्पतालमा अन्तिम अवस्थामा हुन्जेल म सँगै थिएँ। उनी अन्तिम पटक अस्पतालमा हुँदा म कति रात निदाइनँ, कसैले पालो दियो भने अस्पताला बाहिर आएर मोटरमा सुतें। तर पनि उनले जीवनमा मैले लेखेको एउटा मात्र गीत गाए। 

गोपाल योञ्जनसँग पनि मेरो यस्तैखाले घनिष्ठता थियो। अहिले गोपाल योञ्जनकी श्रीमती हुनुहुन्छ। उनको एक छोरी अमेरिकामा सेटल भइसकेका छन्। गोपाल योञ्जनसँग नजिक भएकोले परिवारका सदस्यहरुसँग अचेल पनि कन्ट्याक्ट भइरहन्छ। नारायण गोपाल र गोपाल योञ्जनसँगको मेरो संगत नितान्त पारिवारिक र व्यक्तिगत थियो। स्वार्थविहीन थियो। 

नारायण गोपालको स्वाभाव 
नारायाण गोपाल अरु व्यक्तिहरुसँग हत्तपत्त घुलमिल हुन सक्दैनथे। निकै थोरै व्यक्तिलाई मात्र साथी बनाउँथे। उनीसँग कसैको स्वभाव मिल्दैनथ्यो। घरमा गीत गाउँदा धेरै अभ्यास गर्थे। कहिलेकाहीँ उनले गायन अभ्यास गरिरहेको बेला म टुप्लुक्क पुग्थें। अरुको लागि ढोका बन्द भए पनि मेरो लागि भने खुलै हुन्थ्यो। राति भए पनि गोप्य ढोकाबाट उनको घरभित्र प्रवेश गर्थें। कहिलेकाहीँ गाइरहेको बेला म पुगें भने नेवारीमा गाली गर्थे। 

स्टुडियो पुग्ने बेलासम्म सबै गीत कन्ठ पारिसकेका हुन्थे। धेरै अभ्यासपछि मात्र उनी स्टुडियो जान्थे। तर पनि आफूले गाएका कतिपय संगीत उनैलाई चित्त बुझेनन्। उनले गाएका गीतमा पनि करिब २०/३० प्रतिशत आफ्नै फ्लेभर छ।

नारायण गोपालको स्वरमा रेकर्ड भइहाल्यो भने त्यो ऐतिहासिक हुन्छ र हाम्रो गीत चल्छ भन्ने संगीतकारहरुको धारणा हुन्थ्यो। उनले गाएका गीतमा कहीँ कतै ‘टड’ आयो भने पनि म नसच्याइदिन्थें। मैले सुन्दै रेकर्ड गरेका उनका गीतमा भने त्यस्तो छैन। मैले उनलाई स्टुडियोमै गएर, कट टेक गराइदिन्थें। मुडमा भएर गाइरहेको बेला बिग्रियो भने कट भनिदिन्थें। कहिलेकाहीँ उनलाई रिस उठ्थ्यो, तर रिटेक लिन मान्थे। पछि उनले पर्फेक्ट गाएका थिए।

गोपाल योञ्जनका धेरै गीतहरु मलाई थाहा छैन। मसँग संगत हुनुअघि नै उनका धेरै गीत रेकर्ड भइसकेका थिए। पछि बनेका गीतहरुमाथि पनि हामीले कुरै गर्दैनथ्यौं। तर नारायण गोपालका धेरैजसो गीत भने पछि रेकर्ड भए। 

रेडियो नेपालको गीति कथा भाग १ मा त उनलाई म नै लिएर जान्थें। त्यतिबेला म्युजिक नेपाल भन्ने थियो, कतिपयले त नामै सुनेका थिएनन्। घट्टेकुलो जाने बाटोमा रुख नजिकै एउटा थोत्रो घर थियो। त्यहाँभित्र स्टुडियो थियो। साउन्ड ट्र्याक पनि भर्खर सुरु भएको थियो। त्यहाँ रेकर्डका लागि सँगै जान्थ्यौं।

नारायण गोपाल स्टुडियोभित्रै चुरोट तानिदिन्थे। कसैले चुरोट नखानूस् भन्न नसक्ने हुँदा मसँग गुहार माग्थे। मैले ‘ओ नाराण, स्टुडियोभित्र नो स्मोकिङ। बाहिर आएर खाउ न!’ भन्थें। त्यसपछि उनले स्टुडियोभित्र चुरोट तानेनन्। 

रानीसँग प्रेम सम्बन्ध, हल्ला मात्रै
२०४४ सालतिरको कुरा हो। नेपालमा भर्खर-भर्खर टेलिभिजनका सेटहरु भित्रिएका थिए। केही व्यक्तिहरुसँग मात्र टेलिभिजन सेटहरु थिए। नेपाल टेलिभिजनको पनि स्थापना भइसकेको थियो।

त्यतिबेला मसँग पनि एकसेट टेलिभिजन थियो। तर त्यति बेलासम्म पनि नारायण गोपालसँग टेलिभिजन थिएन। उनलाई फिल्म र फुटबल हेर्न मनपर्थ्यो। त्यसको लागि उनी मकहाँ आएर टेलिभिजनमा फुटबल र फिल्म हेर्थे। 

त्यतिबेला नायक शिव श्रेष्ठ खुब चर्चित थिए। एक दिनको कुरा हो, एउटा कार्यक्रमको लागि श्रेष्ठ र मसँगै उभिएका थियौं। अकस्मात नारायण गोपाल पनि मोटरसाइकलमा आइपुगे। त्यतिबेला म परिवार नियोजनको संघको संयोजक थिए। मसँग गाडी भएकोले हामी दुई/तीन जना सँगै कार्यक्रममा जान तयार थियौं। अनि सबै जनाले 'हिरो शिव श्रेष्ठ होइन' भन्न थाले। तर नारायण गोपाललाई त कसैले पनि चिन्दैनथे। अनि मैले उनलाई भनें, ‘शिवलाई सबैले चिन्छन्, तिमीलाई त कसैले चिन्दैनन्। चिनिनु परेन?’

उनले ‘अँ त्यो त पर्छ’ भनेपछि नारायण गोपाल एक ऐतिहासिक व्यक्ति हुन्, यिनको लागि केही न केही गर्नुपर्छ, उनले गाउने साँझ गोल्डेन हुनुपर्छ भनेर मैले नै ‘स्वर्णिम सन्ध्या’ नाम दिएर कार्यक्रम आयोजना गरेका थियौं। नारायण गोपालकै लागि भनेर आयोजित स्वर्णिम सन्ध्या कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

स्वर्णिम सन्ध्यामा नारायण गोपालले गीत गाउँदा रानी ऐश्वर्याले टेलिभिजनबाट उनको लाइभ हेरिराख्नुभएको थियो। त्यसबेला रानीलाई उनले गाएको गीत असाध्यै मन पर्यो। 

स्वर्णिम सन्ध्याको दुई दिनअघि दरबारमा एउटा बैठक भएको थियो। त्यसबेला म नेपाल परिवार नियोजन संघको महासचिव थिएँ। मेरो अध्यक्षमा रानीको साख्खै बहिनी प्रेक्षा राज्यलक्ष्मी देवी शाह हुनुहुन्थ्यो। म समाज कल्याण परिषद्को बैठकमा भाग लिन दरबारमा गइरहन्थे। 

स्वर्णिम सन्ध्यापछि क्यासेट निस्केको थियो। स्वर्णिम सन्ध्याकै क्यासेट रानीलाई दिनुपर्ला भनेर मैले एक सेट किनेर लगेको थिएँ। तर त्यसअघि नै वसन्त चौधरीले उहाँलाई क्यासेट दिइसक्नुभएको रहेछ।

नारायण गोपालले स्वर्णिम सन्ध्यामा ‘‘एउटा मान्छेको मायाले कति फरक पार्दछ’ भन्ने गीत गाएको एक महिनाजति मात्र भएको थियो। त्यो गीत रानीले सबैभन्दा मन पराउनुभएको रहेछ। 

स्वर्णिम सन्ध्या कार्यक्रम भएको झन्डै एक महिनापछि हामीसँगै सुर्खेत गएका थियौं। त्यसबेला राजा वीरेन्द्र र रानी ऐश्वर्या पनि एउटा कार्यक्रममा सुर्खेत पुग्नुभएको थियो। वसन्त पञ्चमीको दिन थियो। त्यो कार्यक्रममा थुप्रै पुराना कलाकार पनि पुगेका थिए।

स्वर्णिम सन्ध्या कार्यक्रम मन परेकोले नारायण गोपाललाई रानीले निम्तो दिनुभएको थियो। म घुम्नेक्रममा त्यता पुगेको थिए। राजा-रानीको कार्यक्रममा नारायण गोपालले त्यही ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ’ भन्ने गीत गाएका थिए। 

कार्यक्रम सकिएपछि यता नारायण गोपालको रानीसँग प्रेम रहेको हल्ला निकै चल्यो। तर त्यो कुरा सतप्रतिशत गलत हो। प्रेम त परैको कुरा रानीसँग उनको बोलचाल समेत थिएन।

गीत गाइसकेपछि पनि राजाले ‘तिमीले असाध्यै राम्रो गायौ’ भनेर प्रतिक्रिया दिँदा नारायण गोपालले, ‘ए हो, ठिक छ’ मात्र भनेका थिए। राजारानीको कार्यक्रम नसकिँदै उनी मकहाँ आएर बसेका थिए। पेमला भाउजुबाहेक उनको कसैसँग प्रेम परेन। भाउजुलाई नै उनले असाध्यै माया गर्थे।

अर्को, नारायण गोपाल रक्सीले मातेर मात्रै गीत गाउँथे भन्ने भ्रम अहिलेसम्म पनि छ। त्यो पनि वास्तविकता होइन। नारायण गोपालले रक्सीले मातेर मात्र सबै गीत गाएको होइन। जवानीमा, उमेर हुँदा, शरीरमा ताकत छँदा, डाइबेटिजले नसताएको बेलामा भने उनले दुई/चार पेग रक्सी तानेर स्टेजमा गाउँदा पर्फेक्ट गाएको चाहिँ हो। रक्सी पिउँदा गीत गाउने कन्फिडेन्स बढेर आउँथ्यो या के हुन्थ्यो। तर त्यसको अर्थ नारायण गोपालको स्वर, उनले गाएका हरेक गीत रक्सीले बनाएको होइन। उनको स्वर दैविक वरदान हो।

नारायण गोपालले गीति यात्रा भाग १ र अन्य थुप्रै गीत गाउँदा एक थोपा रक्सी नपिएरै गाएका छन्। त्यसको साक्षी एउटा म, अर्को सन्तोष शर्मा र एउटा त्यस बेलाका रेकर्डिस्ट मदन उपाध्याय हौँ।

स्वर्णिम सन्ध्यासम्म पुग्दा उनको डायबिटिज बिग्रिसकेको थियो। त्यतिबेला पनि कथंकदाचित नारायण गोपालले गाउन सकेनन्, गाउँदागाउँदै घाँटी बस्यो, कार्यक्रम स्थगित भयो भने हुलदंगा हुन्छ, कार्यक्रम खल्लो हुन्छ, त्यसको लागि आवश्यक परे थोरै रक्सी खुवाउनुपर्छ भन्ने योजना भाउजु र हामीहरुको हुन्थ्यो। उनको लागि तयार पारिएको रक्सी भाउजु पेमला गुरुवाचार्यले लुकाएर आफ्नो ब्यागमा राख्नुभएको हुन्थ्यो। तर यता साहित्य-संगीतको क्षेत्रमा लेख्नेहरुले कार्यक्रममा यसलाई पनि विभिन्न भ्रमपूर्ण कुराहरु लेखेको देखें। त्यो गलत हो।

अन्तिम समयसम्म साथ दिने हामी जानकार र साक्षी हुँदाहुँदै नारायण गोपालको बारेमा अनावश्यक हल्ला फैलाउनु भनेको अपराध हो। हजारौंले बोलेको झुट सत्यमा परिणत हुन्छ भनेझैं अचेलका युवा-पुस्ताले ब्रेकअप हुँदा, वियोग हुँदा नारायण गोपालका गीत सुन्छन् भन्नेसम्म भ्रमहरु छन्। वास्तवमा नारायण गोपालका बारेमा फैलाइएका यी सबै हल्ला मात्र हुन्।

थप हिजोका कुरा

९ असार, २०७९, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।