हिजोका कुरामा प्रकाश अमात्य : उपत्यकाका ती शौचालय- ‘पेटको खेतमा, खेतको पेटमा’

हिजोका कुरामा प्रकाश अमात्य : उपत्यकाका ती शौचालय- ‘पेटको खेतमा, खेतको पेटमा’

वि.सं. २०३० मा काठमाडौंको क्वाछें  केलटोलमा जन्मिएका प्रकाश अमात्य दुई दशकदेखि वातावरण, खानेपानी र सरसफाइको क्षेत्रमा सक्रिय छन्।

लामो समयदेखि सार्वजनिक शौचालय सुधारको लागि पैरवी गर्दै आएका अमात्यले सन् २०२० मा संयुक्त राष्ट्रसंघको दिगो विकास अवधारणाअन्तर्गत सार्वजनिक शौचालयको स्मार्ट एवं दिगो अवधारणा मोडलका लागि एरोसानको तर्फबाट अवार्ड समेत पाएका थिए। 

यस वर्ष पनि एरोसानको तर्फबाट नास्टले उनलाई पुरस्कृत गरेको थियो। अमात्यले स्मार्ट शौचालय निर्माणको क्रममा सोसल साइन्टिस्टको भूमिका निभाएका छन्। 

वातावरण व्यवस्थापन, माइक्रोबायोलोजी र बिजनेस म्यानेजमेन्ट विषयमा उच्च शिक्षा हासिल गरेका अमात्य वातावरण, खानेपानी र सरसफाइ क्षेत्रका समस्याको दिगो समाधानका लागि लामो समयदेखि  नीतिगत अध्ययन र पैरवी गरिरहेका छन्।

साथै, काठमाडौ उपत्यकाका ढुंगेधारा, पोखरी संरक्षण र पानी व्यवस्थापनको लागि ‘रिचार्ज काठमाडौं’ (रेन वाटर हार्भेस्टिङ) नामक कार्यक्रमको सल्लाहकारको रुपमा सक्रिय छन् उनी।

सार्वजनिक शौचालयलाई हल्का रुपले लिनुहुँदैन भन्ने मान्यता राख्ने अमात्यकै नेतृत्वको एरोसान हबले काठमाडौं र ललिपुरमा ६ वटा स्मार्ट शौचालय निर्माण गरेको छ। आफ्नो विगत यसरी सम्झन्छन् प्रकाश अमात्य:

उपत्यका भित्रका शौचालय
काठमाडौं उपत्यका भित्रका साना शहरहरु विकसित भएको करिब ३५ वर्ष भयो। त्यसअघि अन्यत्रझैं काठमाडौं उपत्यकाका बासिन्दा पनि कृषिमा आधारित थिए। कृषि भए पनि सानोतिनो बस्ती र बजार थियो। जनसंख्या कम थियो। त्यसबेला काठमाडौंमा तरकारी र धान राम्रो फल्थ्यो। काम गरेर खाने र अनुशासनमा बस्ने रैथाने तरिकाहरु थिए।  

यस्तै, शौचालयको पनि रैथाने तरिका थियो। यहाँ तराई भनौं या उपत्यका बाहिरजस्तो खुला शौच गर्ने चलन थिएन। यसको मतलब उपत्यकामा केही व्यक्तिले प्रयोग गर्ने निजी शौचालयबाहेक सार्वजनिक शौचालय थिए भन्ने होइन। तैपनि, उपत्यकामा सरसफाइको लागि अनुशासन/व्यवहार भने फरक थियो।

दिसा-पिसाब गर्नको लागि टोल या बस्तीपिच्छे एउटा सामूहिक ठाउँ या निश्चित ठाउँ छुट्याइएको हुन्थ्यो। त्यसलाई नेवारी भाषामा ‘खिखांमुग' भनिन्थ्यो। जसको अर्थ सार्वजनिक शौचालय हो। खुला ठाउँमा हुने खिखांमुगमा आफ्नो टोलभरका मानिस दिसा-पिसाब गर्न जान्थे। दिसा गरिसकेपछि धानबाट निस्केको भुस र खरानीले छोप्ने गरिन्थ्यो। त्यसबेला म त्यस्तै १०/१२ वर्षको थिएँ। सामाखुसीमा मेरा पुर्खाहरुको खेतबारी थियो। त्यहाँ मैले पनि त्यस्तैखाले शौचालय प्रयोग गरेको अझै याद छ। 

अरुको बारीमा, टोलमा गएर दिसा-पिसाब गर्ने चलन थिएन। त्यसैले पेटबाट निस्कने मलमूत्र खेतबारी मलिलो बनाउन प्रयोग हुने र त्यही खेतबारीको उत्पादन पेटमा जाने भएकोले त्यसबेला हाम्रो यहाँ ‘पेटको खेतमा, खेतको पेटमा’ भन्ने पद्धति थियो। जे-जति निस्कन्थ्यो सबथोक प्रयोगमा आउँथ्यो। 

खेतबारीमा काम गर्न जाँदा बारीभित्रै दुई/तीन तले घरजस्तै टहरा बनाइएको हुन्थ्यो। खेतबारीमा काम गर्न जानेहरुका लागि दिसा-पिसाब गर्न बनाइएको टहरा पनि सामुदायिक नै हुन्थ्यो। टहराको माथिल्लो तलामा दिसा गरिन्थ्यो भने त्यो दिसा तल्लो तलामा जम्मा हुन्थ्यो। जहाँ दिसा खस्थ्यो त्यहाँ भुस र ढुटो जम्मा गरिएको हुन्थ्यो। भुसले पुरेपछि दिसा कुहिन्थ्यो र खेतबारीमा मलको रुपमा प्रयोग गरिन्थ्यो। 

‘पेटको खेतमा, खेतको पेटमा’    
त्यतिखेर अहिलेजस्तो कंक्रिटका घरहरु थिएनन्। बस्ती भएको ठाउँमा तोकिएको एउटा निश्चित ठाउँमा गएर दिसा-पिसाब गर्ने चलन थियो। त्यो सबै मानव मलमूत्र खेतीपातीको मलको रुपमा काम प्रयोगमा आउँथ्यो। 

अरुको बारीमा, टोलमा गएर दिसा-पिसाब गर्ने चलन थिएन। त्यसैले पेटबाट निस्कने मलमूत्र खेतबारी मलिलो बनाउन प्रयोग हुने र त्यही खेतबारीको उत्पादन पेटमा जाने भएकोले त्यसबेला हाम्रो यहाँ ‘पेटको खेतमा, खेतको पेटमा’ भन्ने पद्धति थियो। जे-जति निस्कन्थ्यो सबथोक प्रयोगमा आउँथ्यो। 

यस्तै, भान्साको फोहोर प्रयोगमा आउने गरी अर्को विधि अपनाइन्थ्यो। भक्तपुर, ललितपुर र काठमाडौंको कोर एरियामा पनि छिंदि, माटन, बुइँगल भन्ने हुन्थ्यो। बुइँगल भनेको भान्सा, साटन भनेको पहिलो तला र छिंदि भनेको भर्याङ वा भुइँतला भन्ने हुन्थ्यो।

छिंदिमुनि एउटा सानो कर्नरमा आगोबाट निस्केको खरानीको थुप्रो राखिएको हुन्थ्यो। पिसाब फेर्नको लागि नौगा बनाइएको हुन्थ्यो। ‘नौ’ भनेको खरानी र ‘गा’ भनेको खाल्डो। राति बाहिर निस्कन डरलाग्ने हुँदा त्यही खरानीको थुप्रोमा पिसाब फेर्ने गरिन्थ्यो। त्यो पिसाब घरभित्रै हुन्थ्यो। खरानीले पिसाब सोस्ने हुँदा गन्ध पनि आउँदैनथ्यो। खरानीमा फस्फोरस र पिसाबमा नाइट्रोजनको मात्रा हुने भएकोले  दुवैको सम्मिश्रण भएको मल राम्रो मानिन्थ्यो। त्यही नौगामा जम्मा भएको पिसाबबाट कम्पोस्ट मल बन्थ्यो र त्यसलाई बारीमा हालिन्थ्यो। 

साग, तरकारी, बासी खानेकुरा आदिजस्ता भान्साबाट निस्कने फोहोरलाई पनि त्यहीँ व्यवस्थित गरिन्थ्यो। सो फोहोर व्यवस्थापनको लागि बस्ती नजिकै सानो चोक हुन्थ्यो। चोकमा भएको खाली ठाउँमा खाल्डो खनेर कम्पोष्टिङ गरिन्थ्यो। सो विधिलाई साःगा भनिन्थ्यो। 

घरको माथिल्लो तलामा भएको बुइगल अर्थात् भान्साको सानो झ्यालबाट बस्तीमा बस्ने सबैले त्यही खाल्डोमा फोहोर फाल्ने हुन्थ्यो। त्यसरी भान्साबाट वर्षभर साःगामा फालिएको फोहोर रोपाईंको सिजनमा काम लाग्थ्यो। खेती-किसानी गर्नेहरुले कम्पोष्टिङ मल लिएर जान्थे।

किचेनको फोहोर पनि मलको स्रोत भयो, मान्छेको दिसा-पिसाब पनि मलको रुपमा प्रयोग हुन्थ्यो। यसरी फोहोर र दिसा-पिसाब व्यवस्थापनको लागि ऊबेला प्राकृतिक तथा रैथाने तरिका अपनाइन्थ्यो। 

अचेल अन्य फोहोर सिसडोलमा, पेटबाट निस्कने फोहोर नदीमा
अहिले जीवनशैली परिवर्तन भयो। कृषि भूमि कंक्रिटको जंगलमा परिणत भयो। जनसंख्या वृद्धि भयो। मानिसहरु कार्यालय जान थाले।

अहिले फोहोर र दिसा-पिसाब प्रदूषणको स्रोतको रुप बनेको छ। बिकराल रुप लिएको छ। भान्सा र अन्यत्रबाट निस्कने फाहोरजति सिसडोल र कहिलेकाहीँ सडक र नदी किनारमा हुन्छ। पेटबाट निस्कने फोहोरजति सिधै नदीमा जान्छ। 

साग, तरकारी, बासी खानेकुरा आदिजस्ता भान्साबाट निस्कने फोहोरलाई पनि त्यहीँ व्यवस्थित गरिन्थ्यो। सो फोहोर व्यवस्थापनको लागि बस्ती नजिकै सानो चोक हुन्थ्यो। चोकमा भएको खाली ठाउँमा खाल्डो खनेर कम्पोष्टिङ गरिन्थ्यो। सो विधिलाई साःगा भनिन्थ्यो। 

नदी भनेको हाम्रो सभ्यता हो। अचेल हाम्रो बाग्मती नदी ढलले प्रदूषित भैसकेको छ। जबसम्म हामीले दिसा-पिसाब र अन्य फोहोरलाई रोक्न सक्दैनौं तबसम्म नदी सफा हुँदैन। नदी प्रदूषित हुन नदिन सुरुमा शौचालयको व्यवस्थापन गर्नुपर्छ। हैन भने बाग्मती बचाउँ भनेर जति उफ्रिए पनि केही काम लाग्दैन। 

विगतमा हाम्रा पुर्खाहरुले अपनाउँदै आएको रैथाने ज्ञानलाई आधुनिकीकरण गरेर व्यवहारमा ल्याउन सकेमात्र सुधार आउन सक्छ। हामीले रैथाने र स्विडेनजस्ता मुलुकबाट पाठ सिक्नुपर्छ।

समुद्र र टापु भएको मुलुक स्विडेनमा रैथाने ज्ञानलाई प्रयोगमा ल्याइएको छ। त्यहाँ ढल बनाउन सम्भव छैन। सम्भव भए पनि निकै खर्चिलो हुन्छ। त्यसकारण त्यहाँका बासिन्दाले फ्लस नगर्ने गरी ड्राइ ट्वाइलेट प्रयोग गर्छन्। यसरी दिसा अलगै कम्पोष्ट हुन्छ र खेतमा प्रयोग गर्छन् भने पिसाब ट्यांकीमा जम्मा गरेर फर्टिलाइजरको रुपमा प्रयोग गर्छन्।

साग, तरकारी, बासी खानेकुरा आदिजस्ता भान्साबाट निस्कने फोहोरलाई पनि त्यहीँ व्यवस्थित गरिन्थ्यो। सो फोहोर व्यवस्थापनको लागि बस्ती नजिकै सानो चोक हुन्थ्यो। चोकमा भएको खाली ठाउँमा खाल्डो खनेर कम्पोष्टिङ गरिन्थ्यो। सो विधिलाई साःगा भनिन्थ्यो। 

त्यस्तो विकसित मुलुकले त अहिले पनि रैथाने एवं प्राकृतिक रुपमै समाधान खोजिरहेका छन् भने हामीले आफूसँग भएको रैथाने विधिलाई आधुनिकीकरण गरेर पनि प्रयोग गर्दैनौं।  हामी भने पाश्चात्य समाजले सत्रौं-अठारौं शताब्दीमा प्रयोग भएको प्रविधि अनुशरण गर्दैछौं। सोही कारण समस्या बढ्दो छ। 

‘शहरका शौचालयको विगत र वर्तमान उस्तै’
म निजी स्कुल सिद्धार्थ बनस्थलीमा पढ्थें। स्कुल पढ्ने समयमा सार्वजनिक शौचालयको अवस्था निकै नाजुक थियो। शौचालयको नाममा एउटा टहराजस्तो थियो। त्यहाँ मात्र नभई सरकारी र अन्य निजी विद्यालयका शौचालयहरु पनि त्यस्तै हुन्थे। सफा-सुग्घर, हाइजेनिक हुँदैनथे। १० मिनेटको ब्रेक टाइम शौचालयको लाइनमै बित्थ्यो। म अस्कल कलेज पढ्दा पनि त्यस्तै थियो। कलेजको ट्वाइलेट स्कुलको भन्दा बढी फोहोर थियो।

अहिलेको जस्तो विभिन्न ठाउँमा सार्वजनिक शौचालय भनेर अलग-अलग बोर्ड राखिएको हुँदैनथ्यो। सार्वजनिक शौचालयको नाममा त्यसबेला ‘पाइखाना’ भन्ने हुन्थ्यो। पछि तिनै पाइखानालाई संरचनागत हिसाबले सुधारेर सार्वजनिक शौचालय बनाइयो। तर ती शौचालय पनि व्यवस्थित थिएनन्।

त्यसबेला अन्य सरकारी एवं निजी कार्यालय, विद्यालय, अस्पताल सबैतिरको शौचालयको हालत उस्तै थियो। सय मिटर टाढाबाटै शौचालयको गन्ध आउँथ्यो। गन्धले शौचालय कहाँ छ भन्ने थाहा हुन्थ्यो। सार्वजनिक शौचालयको हालत अहिले पनि लगभग त्यस्तै छ। 

आजभन्दा २० वर्षअघि सार्वजनिक शौचालय एकाध मात्र हुन्थे। पुरुषको पिसाब फेर्ने ठाउँ त्यही भित्ता हुन्थ्यो। दिसा गर्न त्यही क्युबिकल हुन्थ्यो। महिलाको लागि पनि त्यही क्युबिकल हुन्थ्यो। पानीको सुविधा हुन्थेन। मानिसहरु लोटामा पानी लिएर शौच जाने गर्थे।

त्यतिखेर महिलाहरु हत्तपत्त घरबाहिर निस्कदैनथे। निस्के पनि उनीहरुलाई शौचालयको समस्या हुन्थ्यो। पुरुषहरु जहाँ उभिने ठाउँ पायो त्यही पिसाब फेर्थे। 

त्यसबेला इन्द्रचोक, असन, रन्जना गल्ली लगायत अधिकांश गल्लीहरु दुर्गन्धित हुन्थे। साघुँरा गल्लीका सबै भित्तातिर पिसाब फेरिएको हुन्थ्यो। ती सबै दुर्गन्धित बनाउने पुरुष नै हुन्थे। अस्पताल, अन्य कार्यालय जता गए पनि महिला र पुरुष सबैको लागि एउटै शौचालय हुन्थ्यो। महिलामैत्री शौचालय न अहिले थिए न पहिले। 

पञ्चायत बेलादेखि ५० वर्षमा पुग्दा पनि खासै परिवर्तन र लगानी भएको देखिँदैन। सार्वजनिक शौचालय चाहिँ छेपारोको कथा जस्तो बनिदियो। शौचालय आफूलाई समस्या भएपछि मात्र सम्झिने त्यसपछि बिर्सिने वस्तुजस्तो भयो।  

विगतभन्दा सकारात्मक 
उसो त सार्वजनिक शौचालयप्रति विगतमा भन्दा अहिले केही सकारात्मक पाटाहरु पनि देखा परेका छन्। विगतमा शौचालय आवश्यक छ भन्ने खालको चेतना मानिसमा थिएन। तर अचेल भने सार्वजनिक शौचालय सबैको आवश्यकता हो, आवश्यकतासँगै आफूले प्रयोग गर्ने शौचालय गुणस्तरीय हुनुपर्छ, व्यवस्थित हुनुपर्छ भन्ने खालको जनचेतना बढेको छ। 

यस्तो सुधार हुनुमा सञ्चार माध्यमको ठूलो हात छ। विगतमा शौचालय सुधारबारे बोलिदिने, लेखिदिने, भनिदिने कुनै माध्यन थिएन। अहिले सामाजिक सञ्जाल र सञ्चारको पहुँचका कारण मानिसमा शौचालय सम्बन्धी चेत पलाएको छ। चेतनाको स्तर बढेको छ।

विगतमा अखबार र अन्य सञ्चारमाध्यहरुले शौचालय सम्बन्धी विषयवस्तु कभर गर्दैनथे। त्यसबेला मिडियाले ‘शौचालय पनि लेख्ने चिज हो र?’ भन्ने धारणा राख्थे। हुन त अहिले पनि शौचालय मिडियाको प्राथमिकतामा कमै पर्ने गरेको पाइन्छ। तर पनि पछिल्लो समय शौचालय राजनीतिक एजेन्डा बनेको कारण शौचालयबारे विभिन्न सामग्रीले स्थान पाइराखेको देखिन्छ। 

शौचालयमा सुधार 
शौचालय सुधार गर्न मुख्य तीन वटा विषयमा ध्यान दिन जरुरी छ। ती हुन्- पहिलो, शौचालय सम्बन्धी मापदण्ड नभएसम्म जतिवटै, जस्तोसुकै ट्वाइलेट बनाए पनि सुधार आउँदैन।

दोस्रो, प्रयोगकर्ताहरुमा सचेतना, व्यावहारिक शिक्षा, नियमन, अनुगमन गर्ने विषयमा ध्यान दिनुपर्छ।

तेस्रो, शौचालय सुध्रिन राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता चाहिन्छ। राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता नभएसम्म जतिसुकै चिच्याए पनि केही सुधार देखा पर्दैन। चुनावी नाराले मात्र हुँदैन।

सार्वजनिक शौचालयका समस्या छन्। किनकी, यससम्बन्धी कानुन नै छैन। कार्यविधि नै छैन। यो नभएसम्म सुधार अघि बढ्दैन। 

हाम्रा शौचालय बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री छैनन्। प्रतिस्पर्धा छैन। एउटा रेष्टुरेन्टको खाना मिठो नभए हामी अर्कोमा जान्छौं तर एउटा शौचालय जति नै फोहोर भए पनि अर्को विकल्प नै हुँदैन। जता जस्तो भेट्यो त्यस्तै शौचालय प्रयोग गर्छौं। 

हरेक शहरी क्षेत्रमा ३ सय मिटरमा सार्वजनिक शौचालय हुनुपर्छ भन्ने छ। मुख्य क्षेत्रमा सार्वजनिक शौचालय भए पनि गुणस्तरीय छैनन्। शौचालय देख्दावित्तिकै भागौंभागौं लाग्ने खालका छन्। शौचालय भनेको आपतकालीन अवस्थामा जाने हो भन्ने खालको सोचले हामी ग्रसित छौं। 

शौचालय पहिले र अहिले  
पहिलेका शौचालय प्राकृतिक पद्धतिमा आधारित भएकोले हामीले हाम्रो व्यवहारलाई अनुशासनमा राखेका थियौं। मानव मलमूत्र खेर नफाली मलको रुपमा प्रयोग गरेर खेतमा प्रयोग गर्ने प्रचलन थियो। 

आधुनिकीरणसँगै हाम्रो जीवनशैली परिवर्तन भयो साथै व्यवहारले झन् समस्या निम्त्यायो। विगतमा मानव मलमुत्र मलको स्रोतको रुपमा उचित तरिकाले व्यवस्थापन गरिने हुँदा समस्या थिएन। आधुनिकमा आएपछि झन् विकराल रुप लियो। 

विश्वमा औद्योगिकीकरणपछि घर-घरमा पाइपबाट धारा बाँड्न सुरु भयो। नेपालमा भने राणाहरुले पाइपबाट घर-घरमा धारा ल्याउने काम सुरु गरे। धारा घर-घरमा आइसकेपछि शौचालय पनि घर-घर, कोठा-कोठा पुग्यो। कोठा-कोठामा पुगेपछि शौचालयको कान निमोठ्यो, ह्वार्र पानी खन्यायो, मलमूत्र नदीमा पठायो, सक्कियो। 

पछिल्लो समय ‘एरोसान हब’ स्मार्ट ट्वाइलेटको अवधारण  विकास गरेका छौं। त्यो संरचनागत डिजाइनमा महिलामैत्री, अपाङ्गमैत्री, मात्र आधुनिक र आकर्षक नभई व्यवस्थित पनि छ। त्यहाँको दिसा-पिसाब ढलमा राख्दैनौं।

हामीले रैथाने ज्ञानलाई नै प्रयोग गरेका छौं। दिसा-पिसाब मल बन्छ, ऊर्जा बायोग्याँसबाट चिया खाजा बन्छ। पानीको लागि आकाशे पानी संकलन गरेका छौं। जमिनमा रिचार्ज गर्छौं। त्यही पानी शौचालयमा प्रयोग गर्छौं।

सरसफाइ क्षेत्रमा काम गरेर त्यसमा आश्रित समुदायलाई रोजगारी दिएका छौं। उनीहरुले आत्मसम्मान, प्रतिष्ठा पाएका छन्। यतिमात्र नभई समावेशीको अवधारणा ल्यायौं। श्रवण शक्ती गुमाएका व्यक्तिहरुलाई पनि रोजगारी दिलायौं।

हिजोको रैथाने प्रविधिलाई आधुनिक मोडलमा ढालेर दिगो बनायौं। स्मार्ट शौचालय दिगो र पर्यावरण मैत्री छ। आगामी दिनमा सार्वजनिक शौचालयको अवस्थामा सुधार होला भन्ने आशा छ।

२६ जेठ, २०७९, २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।