हिजोका कुरामा दिपर्शन : टिभी हेर्न बसेका मान्छे समाचारबाचकलाई नमस्ते फर्काउँथे

हिजोका कुरामा दिपर्शन : टिभी हेर्न बसेका मान्छे समाचारबाचकलाई नमस्ते फर्काउँथे

सुन्नको लागि मात्र गीत गाइने त्यो समयमा टेलिभिजनमा गीतको भिडियो नै हेर्न पाएपछि दर्शक आकर्षित त हुने नै भए। 

मिस नेपाल झरना बर्जाचार्यसँग दिपर्शन जंग राणाले अभिनय गरेको त्यो म्युजिक भिडियोको निर्देशन भुषण दाहालले गरेका थिए। त्यतिबेला म्युजिक भिडियो निर्देशन गर्नेमा भुषण दाहाल निकै अगाडि थिए। उनीसँग काम गर्न जो पनि लालयित हुन्थे।

र्याम्प मोडलबाट करिअर सुरु गरेर नाम कमाएका दिपर्शन जंग राणाले दाहालसँग काम गर्ने चान्स पाए। उनले विना पैसा नै मोडलका रुपमा काम गरे। पहिलो म्युजिक भिडियोबाट नै उनी हिट भए। राणाले अभिनय गरेको सनुप पौडेलको ‘सम्झना आइरहन्छ’, राजेश पायल राईको ‘नौ जाले मायाले’, ‘ऋतुहरुमा तिमी’ को रिमेक, ‘सुनैको दरबार’ धेरै रुचाइएका म्युजिक भिडियोहरु हुन्। 

०००
कपुरधारा सामाखुशी बस्ने दिपर्शन जंग राणाले लैनचौरको आदर्श योग हरि विद्यालयमा पढेका हुन्। बाल्यकालमा उनी घर नजिकैको विष्णुमती खोलामा खेल्न जान्थे। स्कुलबाट फर्केर साथीहरुसँग विष्णुमतीमा पौडी खेल्न गएको सम्झन्छन् उनी। 

राणा भन्छन्, ‘त्यतिबेला विष्णुमतीमा पानी निकै सफा हुन्थ्यो। हामी मजाले पौडी खेल्थ्यौं। पाँच कक्षा पढ्दासम्म त हरेक दिन पौडी खेल्ने गन्तव्य नै थियो, विष्णुमती।’

त्यसकै आसपासबाट ढुङ्गा बटुल्दै साथीहरुसँग स्वयम्भु पुग्ने राणा स्वयम्भूमा साथीहरुले चरालाई गुलेली हानेको हेरेर बस्थे। गुलेली हान्न भने उनलाई कहिल्यै आँट आएन। ६ कक्षा पढ्न थालेपछि पौडी खेल्न बसपार्क एरियाको पुलमुनि जाने गरेको उनी सुनाउँछन्।

बाल्यकालीन काठमाडौंको सम्झना साह्रै मिठो लाग्छ राणालाई। धुँवा-धुलोरहित, खोला-नाला पनि सफा।

पाँच पढ्दादेखि नै साथीहरुसँग घुम्ने बानी बसिसकेको थियो। राणाको एक जना साथीको घर थियो, साङ्ले खोला (झोर, टोखा)। उनी बिदा हुँदा प्रायः त्यहाँ पुग्थे। कपुरधाराबाट हिँड्दै, दगुर्दै झोर पुगेको सम्झन्छन् राणा। त्यहाँ पुगेपछि बहुरेश्वर महादेवको दर्शन गर्दै ठूलो झरनामा खेल्न जान्थे। अहिले त्यो झरनामा बसेर टिकटकहरु बनाउनेहरुको भीड लाग्छ।

‘मलाई साथीको घर जान साह्रै मनपर्ने। खेल्दाखेल्दै रात पर्यो भने त्यहीँ बसिदिन्थें। घरमा भने छोरा हरायो भनेर खोजी हुन्थ्यो। भोलिपल्ट घर पुग्दा सबैको गाली खाइन्थ्यो,’ राणा सुनाउँछन्, ‘तर मलाई गालीभन्दा साथीसँग खेल्नु धेरै प्यारो थियो।’

प्रकृतिले उनलाई सहरबाट गाउँको वातावरणमा तानिरहन्थ्यो। कहिले साथीको घरमा भ्याकुर खान्थे त कहिले गोठमा गाई, भैसी, कुखुराहरु हेरेर बस्थे। कहिलेकाहीँ आमालाई भैंसी चढेर आएको भनेर गफ पनि दिन्थे।

स्कुलमा मीन पचास तथा अरु बिदाहरुमा साइकल भाडामा लिएर खेल्ने, बाटोमा पाङ्ग्रा गुडाउने, चोकमा साथीहरु जम्मा गरेर फुटबल खेलेर समय बिताउँथे राणा। एक घन्टा साइकल चढेको दुई रुपैयाँ लिने गरेको उनी बताउँछन्।

०००
नेपाल टेलिभिजनको स्थापना भएपछि उनको घरमा २१ इन्चको रंगीन टिभी किनियो। त्यतिबेला टोलमा मुस्किलले एक/दुई घरमा मात्रै टिभी हुन्थ्यो। ‘रामायण’ आउने दिन घरभरि मान्छे हुन्थे। सबै छिमेकीहरु आएर टिभी हेर्ने गरेको उनी सम्झन्छन्। ‘आफ्नो घरमा आफैंले आरामले बसेर हेर्न पाइँदैनथ्यो,’ उनी भन्छन्, ‘समाचार भन्ने क्रममा समाचार वाचकले नमस्ते भन्दा टिभी हेर्न आएका बुढाबुढीहरु नमस्ते फर्काउँथे। टिभीमा आउने मान्छेले हामीलाई देख्छ भनेर सोध्थे। यति सानो टिभीमा त्यत्तिका मान्छे कसरी अटाए भनेर प्रश्न गर्थे। गजबकै थियो त्यो समय।’

राणा टिभी हेर्न निकै मन पराउँथे। त्यसमा पनि सन्डेपप त कहिल्यै छुटाउँदैनथे। त्यतिबेला नेपाल टेलिभिजनबाट अंग्रेजी सिरियल र चलचित्र पनि प्रसारण हुन्थे। त्यो पनि छुटाउँदैनथे। पछि घरमा डेक किनेपछि भिएस क्यासेटमा फिल्म हेर्न आउनेहरु टन्नै हुन्थे। उनका साथीहरु पनि मन परेको क्यासेट ल्याएर फिल्म हेरिरहन्थे। 

०००
प्रकृतिप्रेमी राणाको रुचि टेलिभिजनको पर्दामा बढ्दै गयो। कलेज पढ्न थालेपछि आफन्त पर्ने दिदी, आन्टीहरुले हाइट पनि छ, लुक्स पनि राम्रो छ, मोडलिङमा ट्राई गर भनेपछि उनी मोडलिङप्रति चासो दिन थाले।

त्यही समयमा रेडियो नेपालबाट र्याम्प मोडलिङको लागि मोडल चाहिएको विज्ञापन आयो। त्यही विज्ञापनको आधारमा सन् १९९६ मा मोडलिङ एजेन्सी धाउन थाले।

त्यहाँ उनको भेट मोडल प्रकाश गोर्खालीसँग भयो। गोर्खालीले बलिउड कलाकार पद्मिनी कोल्हापुरीसँग मिलेर खोलेको सिल्भर स्टार मोडलिङ क्लासमा राणालाई बोलाए। त्यतिबेला कोरियोग्राफर अनुप सक्सेनाले पनि सिकाउँथे। त्यसपछि उनले काठमाडौंबाट मोडलिङको सुरुवात गरे। त्यतिबेलाका चर्चित मोडल थिए, प्रशान्त ताम्राकार, प्रकाश गोर्खाली लगायत।

सन् १९९७ मा पोखरामा माछापुच्छ्रे उत्सवका लागि राणा एक महिना पोखरा बसे। त्यतिबेला कामप्रति मान्छेहरु क्रेजिनेस बढी हुन्थ्यो। महिनौं आफ्नै खर्चमा होटलमा बसेर र्याम्पमा हिँडेका थिए उनी।

अरु सबै मोडल पोखराकै थिए। आयोजक भने काठमाडौंबाटै गएका थिए। काठमाडौंको ए ग्रेडको इभेन्ट काठमाडौं उत्सवका आयोजकहरुले नै सो कार्यक्रम आयोजना गरेका थिए।

पोखराको र्याम्पमा हिँड्दा राणालाई केटीहरुबाट बढी हुटिङ आउँथ्यो। कसैले चकलेट, कसैले क्याडबरी भनेर कराउँथे। उनलाई ती साढे दुई दशकअघिका फ्यान, मोडल र इभेन्ट अहिलेको भन्दा धेरै नै स्तरीय र व्यवस्थित लाग्छ।

सन् १९९८ मा भृकुटीमण्डपमा अडिसन दिन जाँदा आयोजकले राणालाई एउटा इभेन्टको लागि महिनौं खर्च गरेर बस्ने कस्तो क्रेजी मोडल भन्थे। काठमाडौं उत्सवमा मोडलका रुपमा दुई वटा अवार्ड पनि दिइन्थ्यो। बेस्ट मोडल अफ दि इयर र बेस्ट चार्मिङ मोडल अफ दि इयर थियो। त्यो इभेन्टमा राणाले बेस्ट चार्मिङ मोडल अफ दि इयर अवार्ड हात पारे।

उनी त्यो समय सम्झन्छन्, ‘त्यतिबेला इभेन्ट कमै हुन्थे। अडिसनमा छानिनु पनि ठूलै कुरा हुन्थ्यो। त्यसमाथि अवार्ड पाउनु भनेको त धेरै ठूलो कुरो।’

पुरस्कारस्वरुप पाएको पाँच हजारको चेक र ट्रफी लिएर घर फर्केपछि उनलाई मोडलिङमा नलागे हुन्थ्यो भन्ने सबै दंग थिए। चेक र ट्रफी अगाडि राखेर खाना खाएका थिए राणाले।

र्याम्पमा जमिसकेपछि, मोडलका रुपमा धेरै फ्यान कमाइसकेपछि इभेन्टका निर्णायकमध्येका एक भुषण दाहालले म्युजिक भिडियोका लागि उनलाई अफर गरेका थिए।

‘मेरो साथीहरुको माझ’ गीतमा अभिनय गरेपछि उनको यात्रा र्याम्पबाट म्युजिक भिडियोतिर मोडियो। एकपछि अर्को उत्कृष्ट म्युजिक भिडियोमा अभिनय गरेपछि चलचित्रमा अभिनय गरे। चलचित्रमा आउनुअघि उनले नाँचघरमा अभिनय कक्षा पनि लिएका थिए। नेसनल स्कुल अफ ड्रामा नयाँदिल्लीबाट एकेडेमीमा एक महिने थिएटरको कोर्ष गराउँदा त्यहाँ पनि भाग लिएका थिए। कोर्षपछि ‘अन्धो योग’ नाटकमा अभिनय पनि गरे। 

र्याम्प मोडलिङ र म्युजिक भिडियोमा सफल दिपर्शन जंग राणाको लागि चलचित्र यात्रा भने फापेन। उनले ‘औंठा छाप’ र ‘ग्रहण’ मा नायकका रुपमा अभिनय गरे। त्यसपछि फर्केर म्युजिक भिडियोमै लागि परे।

त्यो समय म्युजिक भिडियोमा आउने मोडलहरुलाई पैसा दिने चलन थिएन। धेरैले त आफैं पैसा राखेर आउँथे। तर उनले पहिलो म्युजिक भिडियो विनापैसा खेले पनि दोस्रोदेखि राम्रै पारिश्रमिक लिएर अभिनय गरे। 

०००
पद्मकन्या क्याम्पस अगाडि राणाको मिल्ने साथीको सुन पसल थियो। त्यहाँ उनलाई देखेपछि फ्यानहरुको ताँती नै लाग्थ्यो। पिकेका विद्यार्थी लाइन लागेर उनीसँग अटोग्राफ माग्न आउँथे। उनले जीवनको पहिलो अटोग्राफ त्यही सुन पसलमा दिएका थिए।

ह्यान्डसम, चकलेटी मोडलको छवि बनाएका दिपर्शनले कान्तिपुर टेलिभिजनमा प्रसारण भएको २६ भागको पहिलो सिरियल ‘अग्निकुण्ड’ मा अभिनय गरे। उनीसँग सो सिरियलमा झरना बज्राचार्य र मेलिना मानन्धर थिए। सो सिरियलपछि पनि धेरै सिरियलको लागि अफर आयो तर उनले गरेनन्। बरु टिभी र पत्रिकाको लागि धेरै विज्ञापनहरुमा काम गरे। 

अहिले उनी चिल्ड्रेन थिएटरको काममा व्यस्त छन्। राणा लैनचौरस्थित नेपाल चिल्ड्रेन लाइब्रेरीमा हरेक शनिबार निःशुल्क अभिनय सिकाउने गर्छन्। उनैले नेपालमा पहिलो पटक हस्पिटल क्लाउन सुरु गरेका हुन्।

थप हिजोका कुरा

२ मंसिर, २०७८, १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।