हिजोका कुरामा साहित्यकार मोतिशोभा : रातभर डबलीमा आवाजविहीन सिनेमा हेरेर बस्थें

हिजोका कुरामा साहित्यकार मोतिशोभा : रातभर डबलीमा आवाजविहीन सिनेमा हेरेर बस्थें

पातलो बस्ती, खुला बाटो, सुनसान र सफा वातावरण, नजिकै विष्णुमती नदी, न गाडीको डर न त भीडभाड नै।

पूर्वप्रशासक एवं साहित्यकार मोतिशोभा श्रेष्ठको जन्म हुँदा काठमाडौंको मुटु मानिने काष्ठमण्डपको छेउछाउको बस्ती यस्तै थियो।

काष्ठमण्डपको छेउमै पर्ने मरुटोलको पिःगः नःनी अर्थात् मरुसत्तलको गल्लीबाट दुई वटा चोकपछिको अर्को चोकमा बित्यो उनको बाल्यकाल।

जात्रा, पर्व र सांस्कृतिक चहलपहलमा हुर्केकी मोतिशोभालाई सानैदेखि संस्कृति र पर्वप्रति विशेष लगाव रह्यो। सानो छँदा उनको समय बढीजसो घरबाहिर नै बित्थ्यो। चोक र डबली उनका खेल्ने अखडा हुन्थे। 

मोतिशोभाका आमाबुबाले विद्यालयको अनुहार देखेका थिएनन्। तर आफूले नपढे पनि सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना भने उनीहरुमा थियो।

उनको परिवार त्यतिबेलाको हुनेखानेमा गनिन्थ्यो। जग्गा-जमिन धेरै भएकोले मोतिशोभाको परिवारमा खान-लाउनको दुःख कहिल्यै भएन।

पाँच तलाको उनको घरमा सुनचाँदीका गहना बनाउने काम हुन्थ्यो।  गहना बनाउनका लागि सुनारहरु आउँथे। सुनारले हातको सिपले आकार दिएर सुनचाँदीका गहना बनाएको कला देख्दा मोतिशोभा अचम्म मान्थिन्।  सुनारको सिपलाई उनी लुकीलुकी नियाल्थिन्।

०००
मोतिशोभाका आमा-बुबाको १० जना सन्तान जन्मेकोमा सात जना बाँचेका रहेछन्। सातमध्ये उनी बीचकी थिइन्।

सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोच भएका उनका बुबाले छोराछोरीलाई बराबरी पढाउने व्यवस्था मिलाएका थिए। तर जेठी छोरीले भने पढिनन्। त्यसपछिका उनका दाइ डाक्टर भए भने अर्की दिदीले एमएस्सी पास गरिन्। मोतिशोभाले चाहिँ अर्थशास्त्रमा एमए पास गरेकी छिन्।

मोतिशोभाकी जेठी दिदी, उनीभन्दा मुनिकी बहिनी र कान्छो भाइ बितिसके भने कान्छो भाइ रमेश ताम्राकार नेपाली र नेपाल भाषाका गायक छन्। उनले चार सयभन्दा बढी गीतमा स्वर दिएका छन्। 

सानो छँदा धेरै खेलेको, उफ्रिएको कारणले होला उनी अहिलेसम्म शारीरिक रुपमा फिट देखिन्छिन्। 

इन्द्रजात्रा मोतिशोभालाई निकै मनपर्ने पर्व हो। इन्द्रजात्राका धेरै कामहरु मरु, काष्ठमण्डपतिरै हुन्थ्यो। शाक्य, ताम्राकार, तुलाधर परिवारमा मान्छे मर्दा गाईजात्रामा गाई पठाउने चलन थिएन। इन्द्रजात्रामा बच्चाहरुलाई श्रृंगारेर राति देवताहरुमा पाला चढाउँदै कुमारीको रथसँगसँगै जान्थे। मोतिशोभा साथीहरुसँग तिनै पालाहरु लिन दगुर्थिन्। पाला बटुलेपछि साथीहरु सँगै बसेर गन्थे।

इन्द्रजात्राको आठै डबलीमा लाखे नाच हुन्थ्यो। उनलाई लाखे नाच, पुलु किसी हेर्न साह्रै रमाइलो लाग्थ्यो। 

पञ्चदान पनि मोतिशोभालाई मनपर्ने पर्व हो। उनी भन्छिन्, ‘शाक्य, बज्राचार्य भिक्षा माग्न आउँथे। उनीहरुलाई खिर, फलफूल, चामल र अक्षता मिसाएर पूजा गरेर पठाइन्थ्यो।’

त्यो समय हाम्रो घरमा गुठीको पूजा हुन्थ्यो। ठूलो भाँडामा खिर बनाउनुपर्थ्यो। भिक्षा माग्न आएकाहरुलाई गुलःपाः (बुद्धले बोक्ने भाँडा) भरि खिर दान दिनुपर्थ्यो। भिक्षा लिन आएका सबैलाई दान दिनै पर्थ्यो। 

पञ्चदानको अन्त्यमा कीर्तिपुरबाट पाँच जना भिक्षाको लागि आउने चलन छ। बाँकी सबै खिर उनीहरुलाई दिएर पठाउनुपर्छ। त्यो सबै हाम्रै मरुटोलमा हुन्छ। त्यही दिन इन्द्रलाई उनीहरुकै गुठीले यमरीको माला लगाएर पूजा गर्नुपर्छ। यस्ता संस्कृतिले अस्तित्व जीवित रहने उनको विश्वास छ। 

घोडे जात्राको एक दिनअघि पाःचह्रे मनाइन्छ। पाःचह्रे हेर्न उनी मामाघर पुग्थिन्। चैते दशैंको दिन सेतो मच्छेन्द्रनाथ तानेको हेर्न पुग्थिन्, लगनटोलसम्म।

०००
मोतिशोभा सानो छँदा सिनेमा आएका थिएनन्। उनीहरुको रमाइलो नै जात्रा, पर्व र डबलीमा आयोजना हुने नाँच-गान, साहित्यिक कार्यक्रमहरु हुन्।

मरुको डबलीमा त्यतिबेला पुरुष नै महिला बनेर धेरै नाटक र नाँच आयोजना हुन्थे। रातभरि डबलीमा बसेर नाटक हेरेको सम्झना उनलाई अझै छ।

त्यहीबीचमा आवाज विनाका सिनेमा आए। ब्ल्याक एन्ड ह्वाइटमा आवाज विनाका सिनेमा डबलीमा देखाइन्थ्यो। आवाज नआए पनि सिनेमा हेर्नेको भीड लाग्थ्यो। सिनेमा हेर्न भने टिकट किन्नुपर्थ्यो। तर मोतिशोभा सानो भएकोले निःशुल्क हेर्न पाउँथिन्।

उनको घरबाट तीन वटा चोक नाघेपछि काष्ठमण्डपको सिःल्यः सतःल (बाँकी भएको काठको पाटी) को बीचमा अर्को चोक छ। त्यो चोकको बीचमा डबली छ। त्यही डबलीसँग उनको गहिरो सम्बन्ध जोडिएको छ। साथीभाइ बटुलेर खेल्न र नाँच्न जाने ठाउँ नै त्यही हो। घर र स्कुलपछि बढी समय पनि उनको त्यही बित्यो। 

त्यो बेला अहिले जस्तो घरघरमा धारा हुँदैनथे। मरुबासीको नुहाउने ठाउँ नै मरु हिःति हो। त्यहाँ भएको ढुंगेधारामा तातोपानी आउँथ्यो। उनी पनि त्यही धारामा नुहाउन जान्थिन्।

त्यो धाराभन्दा तल शान्ति निकेतन सह-शिक्षालय थियो। मोतिशोभाले त्यही शिक्षालयमा पढिन्। पढ्नमा निकै अब्बल उनले १३ वर्षको उमेरमै प्रवेशिका परीक्षा दिइन्। पढाइ राम्रो भएकोले उनलाई डबल प्रमोसन गर्दै कक्षा उकालिएको थियो।

०००
जोग्राफी विषयमा एमए गर्ने मोतिशोभाको सपना थियो। तर त्यो विषय त्रिचन्द्र क्याम्पसमा मात्रै पढाइ हुने भएकोले घरबाट नजिकैको दरबार कलेजमा उनलाई भर्ना गरियो। घरबाट विष्णुमती नदी नाघेपछि कलेज पुगिहालिन्थ्यो।

उनले अर्थशास्त्र, अंग्रेजी, नेपाली, नागरिक शिक्षा विषय लिएर पढिन्। त्यो समय आर्टस् विषयमा दोस्रो श्रेणीमा आउने नै हुँदैनथे। मोतिशोभा दोस्रो श्रेणीमा उत्तीर्ण भएकी थिइन्।

बिए पास भएपछि उनलाई रसियामा पढ्न जाने अवसर मिलेको थियो। तर घरबाट स्वीकृति नपाएपछि त्रिपुरेश्वरस्थित त्रिवि अर्थशास्त्र विभागबाट स्नातकोत्तर (एमए) पूरा गरिन् उनले। पछि त्यो दरबार कलेज, त्रिचन्द्र कलेजसँग मर्ज गरियो। 

अर्थशास्त्रमा एमए गरेपछि जागिरका लागि जहाँ-जहाँ आवेदन दिइन्, सबैतिर नाम निस्कियो। तर २१ वर्ष उमेर नपुगेका कारण उनले जागिर खान भने पाइनन्।

मोतिशोभा २१ वर्ष पुगेपछि भूमिसुधार मन्त्रालयमा चार जना कर्मचारीको माग भयो। चार जनाका लागि सयौं जनाले परीक्षा दिए। परीक्षाको प्रश्न नेपालीमा आएको थियो। उनलाई भने अंग्रेजीमा लेख्न सजिलो लाग्ने। नेपाली प्रश्नलाई अंग्रेजीमा उत्तर लेखेर मोतिशोभाले भूमिसुधार मन्त्रालयमा नाम निकालिन्। अन्य ३ जना भने पहिले विभिन्न संस्थामा काम गरिसकेका अनुभवीहरु छानिएका थिए।

भूमिसुधार मन्त्रालयमा शाखा अधिकृतका रूपमा काम गरिन् मोतिशोभाले। त्यसपछि राष्ट्रिय योजना आयोग, उद्योग मन्त्रालयमा उपसचिव, होटल व्यवसाय तथा तालिम केन्द्रमा एक्जुकेटिभ डाइरेक्टर, वातावरण मन्त्रालय, वाणिज्य विभागको डाइरेक्टर हुँदै उनले श्रम तथा यातायात मन्त्रालयमा सहसचिव भएर काम गरिन्। 

मोतिशोभाले जहाँ काम गरे पनि प्रोजेक्टहरु बढी हेर्नुपर्थ्यो। विदेशमा हुने कार्यक्रमहरुमा उनी नै छानिन्थिन्। अंग्रेजी र प्रिजेन्टेसनमा पनि राम्रो भएकोले विभिन्न बैठकमा जाने अवसर पनि उनैले पाउँथिन्। 

५८ वर्षमा रिटायर्ड भएकी उनी सचिव नभई रिटायर्ड भएकोमा भने अलि खिन्न छिन्। तर उनले निमित्त सचिवका रुपमा भने धेरै काम र जिम्मेवारी सम्हालेकी थिइन्।

त्यतिबेला अहिले जस्तो महिला कोटा, राजनीतिक दलका कोटामा जागिर पाउने समय थिएन। पुरुषहरुसँग लड्दै, अब्बल काम देखाएर, लोकसेवा लडेरै काम पाइन्थ्यो। उनी भन्छिन्, ‘महिलाले के काम गर्लान् र भन्ने समय थियो। महिलाले आफूलाई योग्य छु भनेर देखाउन पुरुषले भन्दा डबल काम गर्नुपर्थ्यो।’

काममा अब्बल भए पनि मोतिशोभाको प्रमोसन भने ढिलै भएको थियो। जागिर सुरु भएपछि उनको विवाह भयो। तीन जना बालबच्चा भएपछि झन् दोहोरो भार पर्यो। बच्चा र परिवारको कारण करिअरकै लागि जिल्ला-जिल्ला गइनन्।

त्यतिबेला जिल्लामा गएर काम गर्नेहरुलाई वर्षमा ५ नम्बर दिइन्थ्यो भने काठमाडौंमै बसेर काम गर्नेलाई वर्षमा १ नम्बर मात्रै। जिल्लामा गएकाहरुले ५ वर्षमा २५ अंक पाए भने मोतिशोभाले ५ वर्षमा ५ अंक मात्रै पाइन्। त्यही कारण उनको प्रमोसन तुलनात्मक रुपमा ढिला भयो। 

०००
मोतिशोभालाई पहिल्यैदेखि साहित्यप्रति रुचि थियो। तर कामको व्यस्तताले गर्दा लेख्न पाएकी थिइनन्। जागिरबाट अवकाश पाएपछि उनले साहित्यलाई पाठकसमक्ष ल्याइन्। नेपालमा घरेलु ‘उद्योगको विकास’ पुस्तक प्रकाशित गरिसकेकी उनले हालै ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ तथा ‘आसु’ गरी चार वटा लघु उपन्यास सार्वजनिक गरेकी छिन्। अहिले उनले उपन्यास र लघुकथाहरु प्रकाशित गर्ने तयारीमा छिन्।

श्रीमान् विश्वमान श्रेष्ठ तत्कालीन भूमिसुधार सचिव हुँदै निर्वाचन आयुक्त भएर रिटायर्ड जीवन बिताइरहेका छन्। मोतिशोभाका छोरीहरु डा. सिर्जना श्रेष्ठ र डा. सविना श्रेष्ठ साहित्य यात्रामा पनि उत्तिकै सक्रियताका साथ लागिरहेकी छिन्। 

आफूले बाल्यकालमा बिताएको काष्ठमण्डप वरिपरिको संस्कृति, जात्रा पर्वहरु नै नेपाललाई चिनाउने कसीको रुपमा लिन्छिन् मोतिशोभा। उनी भन्छिन्, ‘जबसम्म आफ्नो सम्पदा, संस्कृति र रहनसहनलाई बचाउन सकिन्छ, तबसम्म मात्र हाम्रो अस्तित्व रहन्छ। नत्र अस्तित्व नै संकटमा पर्ने खतरा हुन्छ।’

२५ कात्तिक, २०७८, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।