उकेरा काेलम

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

सिर्जना दुवाल श्रेष्ठ


काठमाडौं, न्युरोडस्थित रञ्जना सिनेमा हलभन्दा ठिक अगाडिको घर कभर डिजाइनर अनिल स्थापितको हो। बुबाका तीन दाजुभाइका २२/२३ जनाको परिवार त्यही पुर्ख्यौली घरमा सगोलमा बस्थ्यो। उनकै उमेरका ३/४ जना केटाकेटी थिए घरमा। सबै केटाकेटी लाइन लागेर एउटै कोठामा सुत्थे।

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो पसल खोज्दै आउँथे।

बाल्यकालमा टोलका साथीहरु बटुलेर गुच्चा, तेलकासा र लुकामारी खेल्थे अनिल। अहिले जस्तो न्युरोडमा ट्राफिक हुँदैनथ्यो। बाटो खाली-खाली हुन्थ्यो। साथीहरुसँग मिलेर डन्डाले हिर्काएर पांग्रा  गुडाउने, लप्सीको गेडा घुमाउने गर्थे। सुकेको लप्सीको गेडामा किला ठोकेर जुधाएर खेल्थे।

घरबाट टुँडिखेल पुग्न पाँच मिनेटको बाटो थियो। साथीहरु जम्मा भएर टुँडिखेल फुटबल खेल्न जान्थे उनी। राजु महर्जन, विक्रम शाक्य, महेन्द्र तुलाधर, सुशील स्थापित, रविन्द्र तुलाधर, सुरेन्द्र तुलाधर, इन्द्रलाल श्रेष्ठ, सुनिल स्थापित, प्रकाश शाक्य अनिलका बच्चादेखि अहिलेसम्मकै मिल्ने साथी हुन्।

घर अगाडिकै रञ्जना हलमा चलचित्र हेर्न उनले कहिल्यै टिकट काट्नु परेन। मन लाग्योकी दगुरिहाल्थे। हरेक चलचित्र कम्तीमा पनि ३/४ पटक त हेरेकै हुन्थे। ‘हिन्दी चलचित्र ‘कयामत से कयामत तक’ चलचित्र त कति हेरें कति, याद नै छैन,’ उनी भन्छन्, ‘नयाँ चलचित्रको पोस्टर टाँसेको देख्नासाथ दगुरेर गइहाल्थें।’

अनिललाई कयामत से कयामत तकको पोस्टरले विशेष तान्यो रे। उनी सम्झन्छन्, ‘त्यो चलचित्रको त पोस्टर नै साह्रै मन पर्थ्यो। दिनको ४/५ पटक ६ सिटरको सो पोस्टर हेर्न गइरहन्थें।’

०००
अनिल स्थापितले त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पढेको हुन्। पढाइमा खासै अब्बल विद्यार्थी थिएनन् उनी। स्कुल पढ्दा शुक्रबारको दिन उनलाई साह्रै मनपर्ने। स्कुलमा हाफ छुट्टि र भोलिपल्ट शनिबार स्कुल बन्द हुने हुँदा त्यो दिन विशेष लाग्थ्यो।

बिदा भयो की टेकुस्थित मामाघर पुगिहाल्थे अनिल। पाँच जना मामा थिए। मामाघर बस्न साह्रै मनपराउँथे उनी। मामाका छोराहरु हिमराज तुलाधर र अमुल तुलाधर राम्रो आर्ट गर्थे। उनीहरुकै सिको गरेर उनले पनि आर्ट गर्न थालेका हुन्। फुर्सद हुनासाथ खाली पानाहरु खोज्दै आर्ट गर्न थालिहाल्थे। गोरखापत्रको कतै खाली ठाउँ देख्नै नहुने, स्केच गरिहाल्थे।

विस्तारै अनिलमा आर्टप्रति रुचि बढ्दै गयो। साथै, संगीतप्रतिको रुचि र लगाव पनि मामाका छोरा हिमराज तुलाधरकै कारण भएको मान्छन् उनी। मामाघर जाँदा ओमविक्रम विष्टका गीतहरु टेबुल बजाएर सुनाइरहने हुँदा संगीतप्रति रुचि बढ्दै गएको अनिल बताउँछन्।

घरमै ठूलो बुबाको छोरा तीर्थमान स्थापितले क्यासेट पसल खोलेका थिए। उनी त्यहाँ बसिरहन्थे। दाइको पसलमा बस्दा गीतहरु बजिरहन्थे। त्यो समय उनी हरेक गीत डायरीमा टिप्थे। प्रेमध्वज प्रधान, नारायणगोपाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, दीपक खरेलका गीतहरु सुन्दै डायरीमा उतार्नु उनको दिनचर्या जस्तै बनेको थियो।

०००
एसएसलसी दिएपछि उनका बुबाहरुको अंशवण्डा भयो। क्यासेट पसलमा बस्दाबस्दै गीत-संगीतप्रतिको लगाब बढिसकेको थियो। त्यसैले आफैंले क्यासेट पसल खोल्ने निधो गरे। घरको मुनि उनले हारती नामको पसल खोले।

त्यतिबेला आधुनिक संगीतको स्वर्णीम युग थियो। नारायणगोपाल, प्रेमध्वज प्रधान, दीपक खरेल, गुलाम अलीका एल्बम खुब चल्ले। रत्न रेकर्डसले निकालेको नारायणगोपालको ब्लु नोटस्, प्रेमध्वजको गोल्डेन भ्वाइस आफ प्रेमध्वज, सुकमित गुरुङका एल्बमहरु खुब चलेका थिए।

विसं. २०४० सालमा म्युजिक नेपालको स्थापना भएपछि आधुनिक गीतहरुको आधिपत्य भयो। २०४५ तिरबाट भने गीत-संगीतले आधुनिकबाट पप-संगीतमा फड्को मार्यो। आधुनिक र लोक संगीतको एकछत्र चलेको त्यो समय पश्चिमा प्रभावमा प्रकाश गुरुङको संगीत तथा ओमविक्रम विष्टको स्वरमा सुन-चाँदी भन्दा, जीवन त्यसै बितिजाला, म सम्झन्थें आदि गीतले स्रोताको मन जिते।

त्यसपछि गायिका सुकमित गुरुङले गाएका पप गीतहरु पनि उत्तिकै रुचाइए। उनले ओमविक्रम विष्ट र दीपक थापाको संगीतमा धेरै पप गीतहरु गाइन्। थापाको संगीतमा रहेको ‘ओ मेरो प्रियतम’ गीत त युवा पुस्तामाझ निकै लोकप्रिय भयो। त्यही दौरानमा हरिश माथेमा, सुनिल उप्रेती, भीम तुलाधर, सञ्जय श्रेष्ठले आआफ्ना पप एल्बम बजारमा ल्याए।

हारती क्यासेट सेन्टर खोलेपछि अनिलको रुचि संगीतका अन्य पाटाहरुमा पनि बढ्न थाल्यो। पपको बजार फैलिँदै थियो, आफू पनि पपको पारखी। केही नयाँपन दिनुपर्छ भन्ने सोचले उनले आफ्नो कम्पनीबाट विसं. २०४७ सालमा ट्यालेन्ट्स नामक एल्बमको परिकल्पना गरे, नयाँ प्रतिभाको एउटा-एउटा गीत राखेर कलेक्सन एल्बम निकाल्ने।

बबिन प्रधान, निमा रुम्बा, जोहेब मानन्धर, सृजन ताम्राकार जस्ता पपका हस्तीहरु त्यही एल्बमबाट संगीत क्षेत्रमा प्रवेश गरेका थिए। क्यासेटको कभरमा कलाकारको नाम र एल्बमको नाम मात्रै राख्ने त्यो समयमा अनिलले कभरमा पनि नयाँपन दिए। क्यासेटको कभर थ्री फोल्डको त्यही एल्बमबाट सुरु भयो। त्यतिबेला नर्मल कभरको एक रुपैयाँ र थ्री फोल्ड कभरको तीन रुपैयाँ पर्थ्यो।

अनिलले ट्यालेन्ट्स १, २, ३, ४ र टच १, २ कलेक्सन एल्बम बजारमा ल्याए। तिनै पप कलेक्सन एल्बमबाट चल्तीका पप गायकहरु जन्मेका हुन्।

उनकै कम्पनीबाट नेपथ्यको पहिलो र दोस्रो एल्बम, निमा रुम्बाको, गिरीश खतिवडाको मिनिङलेस र्‍याप एल्बमहरु बजारमा आए। त्यतिबेला हारती भीम तुलाधरको अन्नपूर्ण, सिंगल साउन्डले पप एल्बम बजारमा ल्याउने र म्युजिक नेपाल लोक, आधुनिक क्यासेट निकाल्ने कम्पनीको रुपमा रह्यो।

२०४८ सालतिर हारतीले जुन क्यासेट निकाले पनि हिट हुन्छ भन्ने समय थियो। ६ वर्षको दौरानमा अनिलले आफ्नो कम्पनीबाट जम्मा २१ वटा एल्बम बजारमा ल्याए, जसमा १६ वटा सुपरहिट थिए। गायकलाई चिनाएका क्यासेटहरु थिए।

क्यासेट निकाल्नु व्यवसाय थियो तर उनमा आफ्नै कला देखाउने हुटहुटी थियो। गायक राहुल प्रधानको युनिक ब्याण्डको एल्बमको कभर डिजाइन गरेपछि विस्तारै गायकहरुले उनैलाई डिजाइन गरिदिन अनुरोध गर्न थाले। त्यसमा पनि निमा रुम्बाको ‘सुन सुन’ एल्बमको डिजाइनपछि उनी डिजाइनरको रुपमा स्थापित भए।

डिजाइनमा बढी झुकाव बढेपछि अनिल आफैंले एल्बम निकाल्न छोडिदिए। आफैंले एल्बम निकाल्दा अरु कम्पनीले कभर डिजाइन गर्न नदिने हो कि भन्ने डर थियो। विस्तारै उनले क्यासेट पसल पनि छोडे। व्यापारी अनिल स्थापितवाट उनको परिचय कभर डिजाइनरको रुपमा स्थापित हुँदै गयो। त्यसपछि एल्बमको लागि फोटो सुट पनि उनी आफैं गर्न थाले। उनले दीपक बज्राचार्य, नवीन के भट्टराई, निमा रुम्बा आदि सबैको फोटो सुट गर्दै डिजाइन गर्दै गए।

०००
अनिलको फोटोग्राफीमा रुचि कभर डिजाइन गर्नुअघिकै हो। उनको घर अगाडि मारबाडी सेवा समिति रहेको घरको मुनि जेएस फोटो स्टुडियो थियो। उनी त्यहाँबाट ५० रुपैयाँ भाडा तिरेर क्यामेरा लान्थे। अनि साथीहरु बटुलेर फोटो खिच्न थाल्थे। जब उनले २६ सयमा यासिका क्यामेरा किने, त्यतिबेला आफूलाई संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति सम्झेका थिए।

त्यसपछि कोडाक तथा फुजीका रिल राखेर फोटो खिच्न हिँड्थे। एउटा रिलबाट ३६ वटा फोटोसम्म खिचिन्थ्यो। बढी फोटो आओस् भनेर कालो कपडा मिलाएर भित्र राख्दा ३९ वटासम्म फोटो आउँथ्यो। ती दिन सम्झँदै अनिल भन्छन्, ‘फुजीको एक रिलको ९० रुपैयाँ र कोडाकको ११० रुपैयाँ पर्थ्यो। अनि धुलाउँदा एउटाको तीन रुपैयाँ।’

उनी कभर डिजाइनको लागि फोटोग्राफी पनि गर्न थाले। पहिलो पटक निमा रुम्बाको फोटोसुट गरेपछि प्रायः पप गायक-गायिकाहरु उनीसँग फोटोसुट गर्न थाले। उनले पहिलो पटक प्रमोसन पोस्टरको अवधारणा ल्याए। ब्ल्याक एन्ड ह्वाइट पोस्टरमा फलानोको एल्बम आउँदैछ भन्ने विज्ञापन हुन्थ्यो। त्यो पोस्टर टाँस्न गायक-गायिका आफैं हिँड्थे।

हुन पनि नेपाली पप संगीतलाई नियाल्ने हो भने २०४५ देखि २०५० को अन्त्यसम्म गायक-गायिकाबीच स्वस्थ प्रतिस्पर्धा र मिहिनेत देखिन्थ्यो। २०५० पछि भने बढी कमर्सियल बन्दै गए। एक समय रामकृष्ण ढकाल जस्ता आधुनिक गायकले पनि नवीन के भट्टराईको कम्पोजिसनमा ‘तिम्रो आगमनले’ बोलको पप गीत गाए।

हेमन्त रानाको सिक्का, राजेश पायल राईको तिमी बाहेक, सन्तोष लामाको बटुवा जस्ता चर्चित गीत अनिल आफैंले रचना गरेका हुन्। उनले दर्जनौं गीतहरु रचना गरेका छन्। साथसाथै म्युजिक भिडियो पनि निर्देशन गरे। सञ्जीव प्रधानको ‘परीकी रानी’ बाट सुरु गरेका उनले एक दर्जन जति भिडियो निर्देशन पनि गरे। तर उनको मुख्य काम भने कभर डिजाइनिङ नै हो। अनिलले अहिलेसम्म चार हजारभन्दा बढी क्यासेटको कभर डिजाइन गरेका छन्।

०००
नेपालमा टेलिभिजन च्यानलहरुको विस्तारपछि पप कालकारको बढी चर्चा पाउन थाले। साथै विकृतिहरु पनि बढ्दै गए। गायक-गायिकाहरु आफ्ना गीत बजाउनकै लागि मिडियामा धाउनुपर्ने समय आयो। त्यति मात्र होइन, गीत बजाउन त्यहींकै डाइरेक्टर, भिजे, आरजेलाई मोडलसम्म लिनुपर्ने समय आयो।

अनिल स्थापित त्यसबाट नै वाक्क थिए। झन् अहिलेको युट्युबे पुस्ताबाट त दिक्क नहुने कुरै थिएन। उनी भन्छन्, ‘आफैंले लाखौं खर्च गरेर गीत र भिडियो बनायो, युट्युब बुस्ट गरेर युट्युबका केही पत्रकारलाई बोलाएर ‘म हिट छु , ट्रेन्डिङमा छु’ भनेर अन्तवार्ता दिन थाले। कस्तो समय आयो।’

हुन पनि अहिलेको युट्युब पुस्ता र कलाकारले गर्दा राम्रा श्रष्टाहरु ओझेल परेका छन्। जो टेक्नोलोजी र पैसामा अगाडि छ, ऊ नै हिट हुन्छ। अहिलेको विडम्बना! अहिलेको यो अवस्थाबाट अनिल स्थापित मात्रै होइन, धेरै सर्जकहरु संगीतको भविष्यप्रति चिन्तित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....

चौथो अंगमा श्रीरामसिंह बस्नेत : नेताको खल्तीबाट नियुक्ति पाएकाहरुबाट सही सूचनाको के आश?

नेपालमा भने गोरखापत्र, रेडियो, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजन राज्यबाट सञ्चालित छन्। यी सञ्चार माध्यमलाई धेरैले सरकारी सञ्चार माध्यम भन्ने गरेका छन्। तर यसमा....