उकेरा काेलम

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सिर्जना दुवाल श्रेष्ठ


३० को दशकमा संगठित रुपमा रंगमञ्चलाई ब्युँझाउने पात्रमध्ये एक हुन्– नाटककार तथा साहित्यकार अशेष मल्ल।

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त कुरै भएन। उनले गाडी त ७/८ कक्षा पढ्दा धरानमा देखेका थिए।

भौतिक रुपमा विपन्न भए पनि उनको बाल्यकालको धनकुटा समृद्घ संस्कृतिले भरिपूर्ण नै थियो। हरेक टोलमा नाटक मञ्चन, गीत–संगीत प्रतियोगिता, कविता गोष्ठी भइ रहन्थे। उनलाई यी सबै वातावरणले मोहित बनाएको थियो।

हुन पनि नाटक र नाट्य परम्परा नेपाली संस्कृतिको अभिन्न अङ्ग हो। नेपालमा मनाइने विभिन्न मौलिक चाडपर्व र उत्सवमा समेत नाट्य कौशल प्रदर्शन हुने गर्छ। उनी त्यसैमा रमाएका थिए।

धनकुटा एउटा त्यस्तो बस्ती हो, जहाँ उपत्यकाका नेवारहरुले भरिएको छ। विभिन्न अवस्थामा पुगेर त्यहाँ बसोबास गर्ने नेवारले आफूले मनाउँदै आएका कुनै पनि चाडपर्व मनाउन छोडेनन्। जसका कारण धनकुटामा भक्तपुर तथा काठमाडौंमा मनाइने धेरै जात्रा–पर्व समेत धुमधामसँग मनाइन्थ्यो। त्यसमा पनि भक्तपुरका मानिस धेरै भएकाले मिनी भक्तपुर जस्तै देखिन्थ्यो धनकुटा।

अशेष मल्लका पुर्खा भक्तपुरका मल्ल राजाका खलक हुन्। पृथ्वीनारायण शाहले उपत्यकामा हमला गर्दा भक्तपुरमा अन्तिम युद्घ गरेका थिए। जति बेला रणजीत मल्ल भक्तपुरका राजा थिए। पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि राजा रणजीत मल्ल बनारस गए भने त्यहाँका मल्ल परिवार सबै भागाभाग भए।

विस्थापित भएका मल्लहरुले आफ्नो थर समेत फेरेर प्रधानांग राख्न थाले। मल्लहरुलाई त्यतिबेला शाह राजाले छोड्दैनन् भन्ने डर थियो। भागेर धेरैजसो मल्ल जाति धनकुटा पुगे।

भक्तपुरबाट विस्थापित भएर धनकुटा पुगेका भुवन मल्लका ११औं पुस्ताका अशेष मल्लले मात्र मल्ल लेख्न थालेका हुन्। उनका बुबासम्मले पनि प्रधानांग नै लेख्थे । पछि कोही उपत्यकाबाट बिफरको महामारीमा विस्थापित भएर आएकाहरु र कोही व्यापार गर्न आएकाहरुबाटै धनकुटामा नेवार बस्ती बन्यो।

अभावको जीवन बिताइराख्दा पनि आफ्नो संस्कृतिलाई उनीहरुले छोडेनन्। उपत्यकाबाट बाहिर गएपछि आफ्नो भाषालाई त बचाएर राख्न सकेनन् तर आफ्नो संस्कृतिलाई भने बचाइराखे।

भक्तपुरमा मनाइने बिस्केट जात्रादेखि गाईजात्रा लगायत सबै सानातिना चाडपर्वलाई उस्तै तरिकाले मनाउने गरिन्छ। यी सबै संस्कृतिमाझ हुर्केका हुन्, अशेष मल्ल।

उनलाई दसैं–तिहारको समयभन्दा भदौ महिना मनपर्ने। भदौ महिनाभरि जात्रामा नाटक, गीत–संगीत प्रस्तुत गर्न सक्रिय हुन्थे उनी। मल्ल सानैदेखि कविता पनि लेख्थे। स्कुल, टोलमा हुने हरेक कविता प्रतियोगितामा सधैं पहिलो हुन्थे। उनी भन्छन्, ‘कविता प्रतियोगितामा म कहिल्यै दोस्रो भइनँ।’

उनका हजुरबुबा गजेन्द्रबहादुर प्रधानांग स्वतन्त्रता सेनानीका साथै २००७ सालका धनकुटाका सभासद पनि हुन्। मल्लको साहित्यतिर झुकाव बढ्नुमा उनकाबुबाको साहित्यप्रतिको लगाव पनि हो।

उनका बुबा साहित्यकार खगेन्द्र प्रधानांग त्यतिबेला दार्जिलिङबाट म्याट्रिक्स (एसएलसी) पास गरेका व्यक्ति थिए। बुबामा बंगाली, फ्रेन्चदेखि धेरै भाषाको ज्ञान थियो। उनी नाटक, उपन्यास, कथा पनि लेख्थे। मल्लका बुुबाले रविन्द्रनाथ टैगोरको कृति ‘गीताञ्जली’ लाई नेपालीमा अनुवाद गरेर पुस्तक समेत प्रकाशित गरेका थिए।

अशेष मल्ल सानो छँदा उनका बुबाले कलकत्ता र दार्जिलिङबाट किताबको भारी बोकाउँदै ल्याउथे। ‘ठूलो हुँदै गएपछि तिनै पुस्तक मेरा साथी बने। त्यही विदेशी पुस्तकहरु पढ्दै हुर्कें,’ मल्ल सुनाउँछन्।

धनकुटामा एउटा ठूलो चौर थियो। जसलाई टुँडिखेल भनिन्थ्यो। त्यही चौरमा ठूलाठूला स्टेज बनाएर धनकुटाबासीका लागि नाटक मञ्चन हुन्थ्यो। नाटकका लागि आवश्यक पर्दाहरु कलकत्ताबाट ल्याइन्थ्यो। मल्ल सम्झन्छन्, ‘राति लालटिन बालेर नाटक देखाइन्थ्यो। त्यो बेला नाटकप्रतिको क्रेज गज्जबको थियो।’

सानो छँदा हरेक बालकलाकारको भूमिका निभाउन उनैलाई बोलाइन्थ्यो। उनी नाटकप्रतिको आफ्नो चाह बढुनुको जस धनकुटाको त्यतिबेलाको माहोललाई दिन्छन्। ‘हुन पनि हामी जेजस्तो परिस्थितिमा हुर्कियौं, त्यसको प्रभाव जीवनमा परेकै हुन्छ,’ उनी भन्छन्।

आइए सकेपछि पढ्नका लागि उनी धरान हुँदै विराटनगरमा पुगे। धनकुटामा आइए पढ्दै गर्दासम्म उनले साथीहरु मिलेर ‘नवकलाकार सांस्कृतिक समुदाय’ भन्ने संस्था खोलिसकेका थिए। त्यहाँबाट विभिन्न नाटक मञ्चन गर्थे।

यो बेलासम्म आइपुग्दा अशेष मल्लले कथा तथा कविता पत्रपत्रिकामा प्रकाशित गरिसकेका थिए। उनी आफैं सम्पादक भएर ‘लालुपाते’ नामको पत्रिका पनि निकालेका थिए। तर नाटक भने लेखेका थिएनन्।

साथीहरुले निकै कर गरेर उनलाई नाटक पनि लेख्न लगाए। मल्लले पहिलो पटक ‘तुवाँलोले ढाकेको बस्ती’ नाटक लेखे। ‘मैले धनकुटामा पहिलो पटक टिकट शो गरेर नाटक मञ्चन गरेको थिएँ,’ उनले सुनाए।

१० दिनसम्म विद्यालयको सानो हलमा टिकट शो गरेर धरान र विराटनगरमा नाटक देखाउन पुगेका थिए मल्ल। ‘त्यति बेलासम्म पनि धनकुटामा यातायात चलेको थिएन। दुई दिन हिँडेर धरान पुग्नुपथ्र्यो,’ मल्ल भन्छन्, ५० जना कलाकारको टोली लिएर त्यो नाटक मञ्चन गर्न काठमाडौंको प्रज्ञा भवनसम्म पुग्यौं। त्यहाँ एक महिनासम्म नाटक मञ्चन भयो।’

त्यो नाटक हेर्न तत्कालीन राजा वीरन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका व्यक्तिहरु आएको उनले बताए। सो नाटक सकेर सबै कलाकार धनकुटा फर्के तर अशेष मल्ल भने काठमाडौंमै रोकिए।

त्यसपछि उनी कीर्तिपुरमा एमएमा भर्ना भए। ‘एमए पढ्नु त मेरो बहाना मात्रै थियो। मैले नाटक क्षेत्रमै केही गर्ने सपना बुनेको थिएँ,’ उनले पुराना दिन सम्झिए।

एमए भर्ना भएपछि मल्ल होस्टेलमा बस्न सुरु गरे। कीर्तिपुरको हल उनका लागि बरदान सावित भयो। कीर्तिपुर बस्दा उनका सहपाठी थिए, पूर्वमुख्यसचिव विमल कोइराला।

त्यतिबेला काठमाडौंमा दाउराको अचाक्ली समस्या थियो। त्यही समस्यालाई कथावस्तु बनाएर कोइरालासँग मिलेर नाटक लेखे उनले। नाटकमा दाउरामा हुने भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाइएको थियो।

सो नाटक कीर्तिपुरको अडिटोरियम हलमा मञ्चन भइरहँदा  पञ्चायत समर्थकबाट उनीहरु दुवैजना नराम्रोसँग पिटिए। त्यो पिटाइले गर्दा अशेष मल्लले राजनीतिक नाटकहरु लेख्न थाले।

२०३६ सालमा जनमतसंग्रह भएपछि अशेष मल्लले नाटकभन्दा सडक कविता क्रान्तिलाई अगाडि बढाए। खुलामञ्चबाट सुरु भएको उनको कविता क्रान्ति धनकुटा, धरानसम्म पुग्यो। धरानको छाता चोकमा उनी एक्लै उभिएर कविता बाचन गर्थे। ‘त्यो समय मलाई धेरै धम्कीहरु आए। प्रजातन्त्रको पक्षधर भएकोले प्रहरी प्रशासन पछाडि लाग्थ्यो। तर पनि म कहिल्यै विचलित भइनँ,’ उनले सुनाए।

पञ्चायतका समर्थकहरुले अति नै दुःख दिन थालेपछि समूहको आवश्यकता देखेर उनले २०३८ सालमा सर्वनाम स्थापना गरे। त्यसपछि २०३९ सालमा नाटकलाई सडकमा उतारे।

कीर्तिपुरको चौरबाट पहिलो पटक नेपाली नाटक इतिहासमा सडक नाटक आरम्भ गरेका थिए मल्लले। उनले भने, ‘जनतालाई सिधा देखाउन र बुझाउन पाउने हुँदा सडक नाटक त्यतिबेलाको लागि उपयोगी संयन्त्र थियो।’

सन् १९९४ मा हङकङमा ७ देशका लेखकलाई संयुक्त नाटक लेखनका लागि बोलाइएको थियो। मल्ल भने नाटक बाचनका लागि बोलाइएका थिए। त्यहाँ उनले एउटै छतमुनि कतै नाटक मञ्चन, कतै चित्रकला प्रदर्शनी त कतै कविता गोष्ठी देखे।

उनलाई त्यो वातावरण साह्रै मन पर्यो। नेपालमा पनि यस्तै धारणाको थियटर बनाउन पाए हुन्थ्यो भन्ने सपना बुन्न थाले उनी। त्यहाँ बुनेका सपनालई पूरा गर्न उनले नेपाल आएर कालिकास्थानस्थित बाँसको झ्याँङमुनि ४ आना जग्गा २ लाखमा किने।

नाटक देखाउँदै ८ वर्ष भित्रमा सर्वनामको भवन तयार भयो। उनले सोचे जस्तै चित्रकला, नाटक, कविता र संगीतको लागि एउटै छत बनेको छ, सर्वनाम थियटर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Roshan Pradhananga

संम्भवत आधुनिक नेपालि कलाकारिता, साहित्य नाटक लेखनमा आशिस मल्लजि प्रधाना‌‌‍ङग् ,मल्ल परिवारबाट एक मात्र व्यक्ति हुनुहुन्छ ।


सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....