हिजोको कुरा : जीवित देवी कुमारीसँग क्यारम खेल्दै हुर्किएका गौतमरत्न

हिजोको कुरा : जीवित देवी कुमारीसँग क्यारम खेल्दै हुर्किएका गौतमरत्न

कुमारीको रेखदेख अर्थात् पहरेदारको काम गर्नेले चिताइदारको पदवी पाउँछन्। चिताइदार शाक्यको वंशको ११ औँ पुस्तादेखि सरकारले दिएको पदवी हो।

चिताइदारको जिम्मेवारी कुमारी घर तयार भए देखि नै उनको पुस्ताले पाएको पदवी हो।  कुमारी रथ यात्राको इतिहास र उनीहरूको परिवारले कुमारीको चिताइदारको पद पाएको सँगसँगै नै हो। 

जनश्रृती अनुसार तत्कालीन राजा जयप्रकाश मल्ललाई एक रात सपनामा कुमारी आएर उनको राज्य भोगको समय समाप्त हुन लागेको र आफ्नो समय अवधि बढाउने इच्छा भए कुमारीको लागि स्थायी वासस्थान र रथयात्रा चलाउनु, यति गरे उनको राज्यकाल १२ वर्ष लम्बिने आदेश दिइन्। 

जयप्रकाश मल्लले सपनाको कुमारीको आदेश अनुसार वि.सं १८१३ मा कुमारी घरको जग हालेको उल्लेख छ। जुन १८१४ भदौमा पुरा भयो। त्यसै बेलादेखि काठमाडौँका १८ महाविहार मध्यबाट शाक्य कुलको निर्धारित लक्षणले भरिपूर्ण कन्यालाई विधिवत् कुमारी बनाइन्छ। त्यसैसरि धर्म चक्र महाविहारका शाक्य परिवारका गौतमरत्न शाक्यका ११ औँ बंसदेखि चितादारको पदवी निभाउदैं आएका छन्।

चितादार पद महिलालाई दिइन्छ। तर कुमारी सम्बन्धी धेरै कामहरू हुने भएकाले एक जनाले मात्रै जिम्मेवारी पुरा गर्न सम्भव थिएन। त्यही कारण उनका परिवारहरू नै संलग्न हुँदै आएको छन् यो जिम्मेवारीमा।

त्यही भएर सबै परिवारलाई नै चितादार भनिन थालियो। चितादार पद घरकी जेठी बुहारीमा हुने परम्परा छ। वंशावलीमा राजा जयप्रकाश मल्लबाट पहिलो पटक चितादार पद पाउने श्रीलक्ष्मी शाक्य हुन्। उनकै शाखा सन्तानबाट सर्दे आज गौतमरत्न शाक्यको आमासम्म आइपुगेको छ यो पदवी र जिम्मेवारी।

शाक्य कुमारी घरमै जन्मे र हुर्के। बाल्यकालको सम्झना गर्दा उनको मानसपटलमा कुमारी घरमा कुमारीसँगै पढ्ने, खेल्ने सम्झनाहरू ताजै छ। गौतमरत्न कुमारीलाई द्य : मा भन्थे। 

‘साँझ भयो कि कुमारीसँग क्यारीमबोर्ड र नागपासहरु खेल्न जान्थेँ, त्यति बेलाको सम्झना गर्दै उनी भन्छन्, स्कुलबाट आएर नुहाएपछि द्य : माको कोठामा पुगी हाल्छु। उहाँ हामीसँग खेल्नलाई कुरिरहनु भएको हुन्थ्यो।’ 

कहिले क्यारम बोर्ड, कहिले नाग पास त कहिले माथि कौसीमा साइकल खेल्थे कुमारीसँग। अरू जस्तो बाहिर खेल्न जाने माहौल त्यति बनेन। उनलाई अरू साथीहरूसँग खेल्नु पर्छ भन्ने पनि लागेन। हरेक दिन कुमारीको सेवा, खेल्नमै बित्यो उनको बाल्यकाल। 

उनको घरमा बिहान झिसमिसेदेखि नै कुमारीको नित्य पूजाको सरसामान जोरजाममा बित्थ्यो। उनी सानैदेखि आमासँगै बसेर पूजाका सरसामानहरू मिलाउन सहयोग गर्थे। जन्मे देखि पूजाआजा र कुमारीको अगाडी पछाडि व्यस्त भइरहँदा उनको पनि जीवनका लक्ष्य नै कुमारीको पहरेदारको भूमिका निभाउनु पर्यो। जुन कर्तव्य अनि जन्मसिद्ध जिम्मेवारी पनि।

उनले वसन्तपुरस्थित ब्राइटलाइन स्कुलमा ५ कक्षासम्म पढेर जुद्धोदय माविबाट एसएलसी सम्म पढे। स्कुल जाने अवधि बाहेक अरू समय पुरै कुमारीकै वरिपरि हुन्थे। 

कुमारीसँगै बसेर पनि खुबै पढे उनले। कुमारीलाई हरेक दिन एक जना शिक्षिका आएर पढाउँथिन्। उनीसँग गौतमले पनि पढ्ने मौका पाए। साँझको ४ बजे पछि उनको कुमारीसँग खेल्ने समय हुन्थ्यो। 

स्कुलबाट दगुरेर आएर चोखो गरेर खेल्न पुगिहाल्थे। गौतमका हजुरआमाले कुमारीको अगाडी आफ्ना  बच्चाहरू जम्मा गरेर कथाहरू सुनाउँथिन्। गौतमलाई अझै याद छ, कथामा देवीदेवता, जात्रा, पर्व, समाजका चित्रणहरू बढी हुन्थे। 

ती कथाहरू सुन्न सबै जना हजुरआमालाई कुरिरहेको उनी अहिले पनि सम्झन्छन्। अहिले जस्तो टिभी, मोबाइल, इन्टरनेट केही थिएन। कहिलेकाहीँ मधुरो स्वरमा रेडियोका गीतहरू सुन्थे। 

हरेक वर्षको माघ महिनाभरि गौतमका बुबाले कुमारी घरमा कुमारीको अगाडी सबै परिवारलाई वरिपरि राखेर स्वस्थानी पढेर सुनाउने चलन थियो। 

जीवित देवी कुमारीको लागि परिवारका सबैले सबैले चोखो गर्नु पर्ने हुन्थ्यो। बाहिर गएर आए पछि घरमा नुहाएर मात्रै भान्छा कोठामा जान पाइन्थ्यो। बच्चादेखि बुढासम्मलाई एउटै नियम थियो। 

कुमारी घर भित्र जीवित देवी कुमारी नै बस्ने भएकोले बिहानदेखि बेलुकासम्म पुरै हेरविचार गर्नुपर्ने जिम्मेवारी उनकै परिवारको काँधमा थियो। गौतमको परिवार कुमारी र कुमारी घरको सेवामा २४ घण्टा नै खट्नु पर्छ। त्यही भएर पनि अरू कुरामा उनको ध्यानै जान पाएन। 

कुमारीको दैनिक पूजाआजा देखि सबै विधि व्यवहार चिताइदारले नै गर्नुपर्छ। कुमारीको रेखदेख, स्याहार–सुसार, खानपिन, स्नान, शृङ्गार, पढाइलेखाई लगायत भएभरका सबै कामको जिम्मा गौतमकै परिवारकै हो। 

नित्य पूजाको लागि कुमारीलाई धुवाइदिइनु गराउने, वस्त्र पहिराउने, श्रृंङ्गार गराउने गौतमको आमा, दिदीले गर्ने। त्रिनयन र त्रिकोणात्मक रातो टिका लगाउने परम्परा छ। पूजाका लागि  त्रिकोण मुद्रामा बसालिन्छ। 

नित्य पूजा पछि १० बजे तिर भोजन ख्वाउने छुटै भोजन गृहको व्यवस्था छ। जहाँ उनको परिवार बाहेक अरूले छिर्ने पाउदैंनन्। कुमारीको भोजनमा कुखुराको मासु र अण्डा भने चल्दैन त्यसैले चितादारका परिवारले पनि त्यो खान मिल्दैन। 

कुमारीको दैनिकीसँग प्रत्यक्ष जोडिएको गौतमले ८ वर्षको उमेरदेखि अहिलेसम्म ७ जना कुमारीलाई बोक्ने अवसर पाए। काठमाडौँका कुमारी वर्षको १३ पटक विभिन्न जात्रा, पर्वको अवसरमा निस्कनु पर्छ। 

त्यति बेला कुमारीलाई बोक्ने गौतम र उनकै परिवारका हुन्छन्। कुमारीले सानोमा गौतम नै भनेर सम्बोधन गर्दथे भने गौतमको उमेर अनुसार कुमारीले दाइ र अहिले अङ्कल भनेर सम्बोधन गर्छन्। 

सामान्यतया कुमारीले बोल्दैनन् तर चिरीदार त परिवारकै सदस्य जस्तै भइहाले। त्यही भएर कुमारीसँग कुराकानी नहुने कुरै भएन। 

आफ्नै आँखाले ७ जना कुमारीलाई देखेका गौतमलाई कुमारी घरबाट कुमारी फर्किने बेला निकै गाह्रो हुन्छ रे। एउटै परिवार जस्तै बसी रहेकी कुमारी जाँदा आफू निकै भावुक हुने उनले बताए।

‘घरबाट छोरीलाई बिहे गरेर पठाए जस्तै हुन्छ नि,’ उनले भावुक हुँदै भने।

तर सबै कुमारीसँग उनी अहिले पनि उतिकै नजिक छन्। कुमारी घरको हरेक कार्यक्रममा सबैलाई बोलाउन भुल्दैनन्। 

आइएलसम्म पढेका उनले कुमारी घरको काममा बढी व्यस्त हुन थालेपछि पढाइलाई निरन्तरता दिन सकेनन्। सानैदेखि कुमारीको रथ यात्रा, कुमारी पूजामा व्यस्त गौतम अहिले र पहिलेको सांस्कृतिक चेतमा आकाश जमिनको फरक पाउँछन्। 

सानै हुँदा जात्रा, पर्वतिर मानिसहरू बढी अनुशासित भएको अनुभव छ उनको। संस्कृतिप्रति सचेतता र सम्मानको समभाव देख्छन् उनी। अहिले बाहिरका धेरै जसो व्यक्तिहरू काठमाडौँमै आउन थालेपछि यहाँको सांस्कृतिक पर्वहरू खुम्चदैं गइरहेको उनको ठम्याई छ।

साथै पहिला जस्तो समयको परवाह गर्न छाडेको उनले अनुभव छ। ३ बजे जात्रा छ भने ६ बजे बल्ल आइपुग्ने ,सांस्कृतिक पर्व, जात्राहरूमा पनि उत्श्रृंखल गतिविधि बढ्दै गएको देख्दा उनी सारै दिक्क छन्। 

गौतमरत्न शाक्य २०६७ साल देखि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। वि.सं २०६५ सालमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा इन्द्रजात्राको बजेट कटौती गरेपछि आन्दोलन भएर इन्द्रजात्रै रोकियो। 

विरोधमा जनता नै उर्लेपछि सरकारले माफी मागेर सबै गुठी खलकलाई बोलाएर रकम बढाएको थियो।

त्यसअघि इन्द्र जात्रा गर्न २७ वटा छुट्टाछुट्टै गुठी खलकहरूले छुट्टाछुट्टै रकम पाउँथे। इन्द्र जात्रा चलाउन श्वेत भैरव ,आकाश भैरव ,पुलूँ किसि ,लाखे, अशोक विनायक ,महाकाली ,देवी नाच ,समय दान चढाउने ,नगडाः लगायत गरी २७ वटा गुठी खलकलाई बाबुराम भट्टराईकै पालामा सबै गुठीबाट २–२ जना प्रतिनिधि हुने गरी इन्द्र जात्रा व्यवस्थापन समिति गठन गरियो। 

कुमारी घरमा उनका १० जना परिवारहरू बस्छन्। ठुलो पूजा र जात्रामा उनीहरूले सहयोग लिन बिहे भइसकेका दिदी बहिनी, भान्जा, भान्जी बोलाउँछन्।

०००

अहिले इन्द्र जात्रा नजिकिँदै आउँदा गौतमरत्न बाल्यकालको इन्द्र जात्रालाई सम्झिरहेका छन्। केही हदसम्म अहिलेको पुस्ताको र समयको प्रभाव यसमा पनि परेको छ। तर उनी आफ्नो परम्परागत र संस्कृतिलाई जसरी चलिआएको हो त्यसरी नै चलाउदैं जानुपर्छ भन्ने पक्षमा छन्।

‘कुमारी रथ यात्रा, इन्द्र जात्रा काठमाडौंवासीको सांस्कृतिक पहिचान हो। संस्कृति नबचे हाम्रो पहिचान पनि बच्दैन,’ भावुक हुँदै उनले भने‘ हामी कुमारीको सुरक्षा र स्याहार गर्न नै जन्मेका हौ। जीवित देवी कुमारीको चिताइदारहुँदा गर्व लाग्छ।’

थप हिजोका कुरा

३१ भदौ, २०७८, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।