हिजोका कुरा : रेडियोका महिषासुर

हिजोका कुरा : रेडियोका महिषासुर
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : रेडियो नेपालबाट प्रसारण हुने नाटक तथा गीति–नाटकमा सुनिने भयंकर आवाज र हाँसो मदनदास श्रेष्ठकै हुन्थ्यो। अलि अप्ठ्यारो र डरलाग्दो पात्रको भूमिका निभाउन कलाकार चाहियो कि श्रेष्ठ नै छनोटमा पर्थे।

गलाकै कलाको कारण स्थापित भएका मदनदासल लामो समय रंगमञ्च, रेडियो, टेलिभिजन र चलचित्रमा जमिरहे।

विसं २००५ मा दोलखाको विहारछें टोलमा जन्मेका मदनदासका बुबा सरकारी जागिरे थिए। जागिरको कारण बुबा काठमाडौंमै बस्थे। उनी भने परिवारसँग दोलखामै पढ्दै हुर्के।

दोलखाकै स्कुलबाट एसएलसी दिएका मदनदासले ७ र ८ कक्षा भने काठमाडौंको पकनाजोलस्थित युवक स्कुलमा पढेका हुन्। दुई वर्ष बुबासँगै बसेर पढे तर काठमाडौंमा उनको मन रमेन। ९ कक्षा पढ्न दोलखा नै फर्के। गाउँको स्वच्छ हावापानी र प्रकृतिसँग रमाएका मदनदासको मन दोलखाको उकाली, ओराली, पहाडी जंगल, खेतबारीले खिचेको थियो।

उनको मामाघर पनि घर नजिकै थियो। कहिले घर त कहिले मामाघर, गाई-भैंसीको गोठालो गएको, खेतीबारीमा काम गरेको अनुभव पनि छ उनीसँग। असारमा गीत गाउँदै धान रोप्दा मदनदासलाई औधि रमाइलो लाग्थ्यो।

त्यतिबेला काठमाडौं र दोलखाको सम्बन्ध अहिलेको जस्तो थिएन। यातायातको लागि बाटो थिएन, बिजुली बत्ती थिएन। खबरको लागि आवा अर्थात् आकासवाणीमात्रै एउटा विकल्प थियो।

त्यतिबेला दोलखाका दुई वटा घरमा मात्रै रेडियो थियो। दम दिएर बजाइने सो रेडियो सुन्नका लागि मानिसहरु लस्कर लागेर बसेको क्षण अहिले सपना जस्तै लाग्छ उनलाई। ‘रेडियोमा पुराना हिन्दी गीत बज्थे,’ आफूसँग भएको स्मार्ट फोन हेर्दै मदनदास भन्छन्, ‘अहिले त संसार यो सानो बट्टाभित्र कैद छ।’

मदनदासको बाल्यकाल र युवावय अँध्यारोमै बित्यो। रात परेपछि टुकी र दियोको भरमा उज्यालो अनुभव गर्नुपथ्र्यो। स्कुल जाँदा कपी, किताब, कलम, सिलोट केही हुन्नथ्यो। काठको पाटीमा अंगारले लिपेको कालोमा लेखेर पढ्नु पथ्र्यो। सुरुमा क, ख, ग, घ लेख्दा आफू त सारै जान्ने भए जस्तो लाग्थ्यो, उनलाई।

मदनदास सम्झन्छन्, ‘पढेपछि ठूलो मान्छे भइन्छ भन्ने भूत चढेको थियो। जसरी भए पनि उच्च शिक्षा हासिल गर्न नेपाल जानुपर्छ भन्ने सोच राख्थें।’ त्यो बेला दोलखाबाट काठमाडौं जानुलाई नेपाल जाने भनिन्थ्यो। मानिसहरु नेपाल जानको लागि मरिहत्ते गर्दथे, अहिले विदेश जाने जस्तै।

एसएलसीपछि उच्च शिक्षाका लागि अरु विकल्प थिएन। उनी काठमाडौं आए। यहाँ उनले उनले ८ कक्षा पढ्दाका बसन्त श्रेष्ठ, राधेश्याम प्रधान, नरेन्द्र श्रेष्ठ र गौत्तम तुलाधरजस्ता साथी भेटे। बसन्त श्रेष्ठ र राधेश्याम प्रधान ख्यातिप्राप्त नृत्य निर्देशक हुन्। ‘उनीहरुको हाराहारीमा अहिले पनि कोही छैनन्’, उनले ठोकुवा गरे।

श्रेष्ठ र प्रधान काठमाडौंका रैथाने नेवार, मदनदास मात्रै गाउँबाट आएका। उनका साथीहरु नास खलः लगायत विभिन्न सांस्कृतिक मण्डलमा आवद्ध थिए। मदनदासको संगत उनीहरुसँग गाढा हुँदै गयो। उनीहरुकै साथ–संगतले हो मदनदासको अभिनयतिर झुकाव बढेकोे। उनले गाउँमा हुँदा अभिनयबारे कहिल्यै सोचेका थिएनन्।

०००
कृष्णप्रसाद रिमाल क्षेत्रपाटी कलाकेन्द्रको अध्यक्ष हुँदा उनले गहना नाटक बनाउन लागेको मदनदासको समूहले पत्तो पायो। ‘त्यो नाटकमा मलाई खेलाउन बसन्त श्रेष्ठले भनसुन गरे। चान्स पाइहालियो,’ उनले भने।

८ महिना अभ्यास गरेर राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानमा त्यो नाटक प्रदर्शन गरे। नाटक मञ्चन भएपछि मदनदासलाई नाटकप्रति रुचि बढ्दै गयो। उनी त्यतिबेला नाटक गर्दाको क्षण सम्झन्छन्, ‘सम्वाद कण्ठ गर्नुपथ्र्यो अनि लाइभ अभिनय। अहिले जस्तो स्पेसल माइक थिएन। लाइट र साउन्डको लागि निकै कठिनाइ थियो। बैठक कोठाको सेटिङ गर्दा सोफा, दराज, ऐना राखेर बनाउनुर्थ्यो। अहिले सिम्बोलिक मात्रै भए पुग्छ।’

गहना नाटकले अलग्गै प्रभाव पार्यो। २०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कलाकारको रुपमा जागिरै खाए उनले। जहाँ उनले नाटकको सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि लिए।

जागिर नै कलाकारको भएकोले नाटक मञ्चन गरिरहनुपर्थ्यो। ध्रुवचन्द्र गौतमले लेखेको समानान्तर, विजयबाबुु मल्ल गोठालेले लेखेको पत्थरको कथा, धनबहादुरको मृत्युमा परिवारको आँसु उनको मनले खाएका नाटकहरु हुन्।

यी नाटकबाट मानिसले उनको अभिनयका साथै स्वर पनि रुचाउन थाले। धेरैले उनको स्वरलाई जीवन्त र बोल्ड भन्छन्। मदनदासका लागि नाटक नै जीवन हो र जीवन नै नाटक हो। उनले नाटक बाहेक अरु केही काम सोचेनन्। पढाइ पनि भनेनन्। यसमै समर्पित भएर लागे।

एक पटक रेडियो नेपालका नाटक निर्देशक श्यामदास वैष्णव नाटक हेर्न आएका रहेछन्। उनलाई मदनदासको स्वरले तानेछ। वैष्णवले ‘तपाईंको स्वर माइकलाई एकदमै फिट हुनेछ, रेडियोमा काम गर्ने चाहना छ भने रेडियो नेपालमा आउनू’ भनेको क्षण आफ्नो जीवनको लागि सबैभन्दा महत्वपूर्ण भएको बताउँछन् उनी।

मदनदास पनि रेडियोमा कसरी जाने भनेर सोच्दै थिए।

त्यसपछि उनले रेडियो नाटकको मौका पाए। रेडियो जम्ने नै स्वरले हो। त्यसैले मदनदास रेडियोमा मज्जाले जमे। पछि उनले एकेडेमीको जागिर त्यागेर रेडियोमै जागिर खाए। ९ वर्षको जागिर छोडेर रेडियोमा जागिर खाएका मदनदासले श्यामदास र हरिप्रसाद रिमालपछि नाटक निर्देशकका रुपमा काम गरे।

त्यति बेला राम्रो काम गर्ने कलाकारलाई स्थान दिइन्थ्यो। कलाकार सीमित मात्रै हुन्थे। महिला पात्र भने पाउनै गाह्रो। उनलाई अझै याद छ, निरविक्रम प्यासी, रत्नदास प्रकाश महिलाको भूमिकामा जमेका कलाकार हुन्।

‘रत्नदास त हिरो नै थियो, लोभलाग्दो र आकर्षक। स्वर पनि त्यत्तिकै मिठो,’ उनी सुनाउँछन्, ‘एक पटक रत्नदासलाई दरबारमा बोलाएर सुट लगाउन प्रतिबन्ध पनि लगाए। सुट लगाएर हिँडेपछि केटीहरु उनको पछिपछि लाग्थे।’

त्यतिबेला दरबार भित्रका महिलाहरु पनि रत्नदासप्रति आकर्षित हुन्थे। जसका कारण पहिरनमा प्रतिबन्ध लगाइएको थियो।

महिला पात्रको सन्दर्भमा मदनदास रेडियो नाटकको स्मरण गर्छन्, ‘समाजले के भन्ला भन्ने डरले रेडियोमा नाटक बनाउँदा कहिले पनि श्रीमती, भाउजुको भूमिका नै राखिँदैनथ्यो। कलाकार नपाउने भएकोले त्यस्ता भूमिका नहुने गरी कथा तथा पटकथा लेखिन्थ्यो।’

रेडियोमा नाटक कसरी गरिन्थ्यो त? उनी एकछिन घोत्लिए।

‘नाटकमा प्रयोग गरिने इफेक्टहरु पहिल्यै रेकर्ड गरेर ल्याउनुपथ्र्यो,’ उनले सुनाए, ‘पानी परेको, आकाश कराएको, बच्चा रोएको, चरा कराएको, ढोका खोलेको, भर्याङ चढेको, धान रोपेको जस्ता चिजहरु ठाउँठाउँमा गएर रेकर्ड गरेर ल्याइन्थ्यो। त्यसपछि ५–६ वटा मनिटर राखेर मिक्स गर्नुपर्थ्यो।’

काम र खटाइको अनुपातमा रेडियोमा पारिश्रमिक चाहिँ निकै कम भएको अनुभव छ उनीसँग। विसं २०३५ सालसम्म पनि मिनेटको ३ रुपैयाँका दरले पारश्रमिक दिइने गरेको उनले बताए। नाटक निर्देशकको जिम्मेवारी पाएपछि उनको पारिश्रमिक ३ रुपैयाँबाट बढाएर एकै पटक १० रुपैयाँ पुर्याइयो। केही समयपछि उनैले कलाकारको श्रेणी निर्धारण गरी पारिश्रमिक तोके। कलाकारको अभिनय क्षमता र अनुभव अनुसार वर्ग छुट्याए, क, ख र ग। सोही अनुसार ५ सय, ३ सय र २ सय पारिश्रमिक तोकेका थिए उनले।

त्यतिबेला रेडियोमा कार्यक्रम गर्ने, नाटक खेल्ने र गीत गाउनेको लाइन नै लाग्थ्यो। एकै पटक नेपालभरि आवाज पुग्ने माध्यम रेडियो नेपाल थियो। टेलिभिजन आइसकेको थिएन। रंगमञ्च सीमित व्यक्तिको पहुँचमा मात्रै थियो। अहिलेका चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, दमन रुपाखेती, सुरवीर पण्डित, जितु नेपाल आदि रेडियो नेपालकै उत्पादन हुन्।

०००
रेडियोमा मदनदास महिसासुरको नामले परिचित थिए। यो परिचय उनको व्यक्तित्व र बानी–व्यहोराले सिर्जित भएको भने होइन।

उनी कसरी बने त महिसासुर?

रेडियोमा श्रीकृष्ण जन्माष्टमीका दिन श्रीकृष्ण लिला नाटक मञ्चन हुने तय भयो। नाटकमा कंसको भूमिका गर्ने कलाकारको खोजी भयो तर कतै पाइएन। अन्त्यमा उनी आफैंले कंसको भूमिका निभाए। कंसको चरित्रमा उनको स्वरले न्याय गर्यो। त्यसपछि दसैंको नाटकमा हरेक पटक उनी नै महिषासुरको भूमिकामा उत्रे।

रेडियोमा जति पनि राक्षस वा डरलाग्दो चरित्रको कथा हुन्थ्यो, मदनदासकै स्वर भरिन्थ्यो। यसरी उनको पहिचान दैत्य, दानवको पात्रको हुन गयो। बाहिर कतै उँचो आवाज सुनियो भने ‘ओहो! रेडियोको महिषासुर आयो’ भनेर मानिसहरु भाग्थे।

०००
नेपालमा चलचित्र निर्माण गर्ने भनेर शाही नेपाल चलचित्र संस्थान खोलिएको थियो। जसको पहिलो महाप्रबन्धकको रुपमा यादव खरेल चुनिए। बम्बईमा काम गरेका निर्देशक प्रकाश थापाले सो संस्थानबाट चलचित्र मनको बाँध बनाउने भएछन्। थापाले गोरखापत्रमा विज्ञापन दिएर चलचित्रका लागि कलाकार माग गरेका थिए।

अभिनयमा डुब्दै गएका मदनदासले चलचित्रमा अभिनय गर्न दरखास्त दिए। दरखास्तबाट छानिएकाहरुलाई फोटोजेनिक छ कि छैन हेर्न भनेर बोलाइयो। उनी आफू छानिन्छु भन्नेमा ढुक्क थिए। यसअघि उनी कहिल्यै अस्वीकृत भएका थिएनन्।

तर, निर्देशक थापाले उनलाई देख्नासाथ ‘इसका थोपडा देखो, क्या अभिनय करेगा, उसे बाहर भेजदो’ भनेर फर्काइदिए। पहिलो रिजेक्ट हुनुपर्दा उनलाई नमिठो लाग्यो। उनी निराश भए, आफ्नो अनुहार चलचित्रको लागि फिट नहुने स्वीकार गरेर रेडियोमै फर्के। त्यसपछि चलचित्र खेल्ने सोच मनबाट हटाए।

०००
मदनकृष्ण श्रेष्ठ र मदनदास करिअरको सुरुवाती चरणदेखि नै सँगसँगै काम गर्दै आएका सहकर्मी हुन्। चिमाल सांस्कृतिक परिवारमा दुवै जना सक्रिय सदस्य थिए। रेडियो नेपालमा दुवै जना मिलेर कृषि कार्यक्रम पनि चलाउँथे।

हरिवंश आचार्य चाहिँ पञ्चरंगी कार्यक्रममा हाँस्य कलाकारको रुपमा भाग लिन आएपछि परिचय भएको हो। पछि मदनकृष्ण र हरिवंशको जोडी नै मजबुत भयो।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मिलेर चलचित्र ‘के घर के डेरा’ बनाउँदा मदनदासलाई अभिनयको लागि अफर गरे। प्रकाश थापाले फर्काइदिएको घाउ अझै मेटिएको थिएन। त्यसैले उनी आफैंले ‘म फोटोजेनिक छैन र चलचित्रलाई उपयुक्त छैन’ भने।

मदनकृष्णले कर गरेपछि मदनदास चलचित्रमा प्रवेश गरे। तर उनलाई स्क्रिनमा राम्रो नआउने हो कि भन्ने डर थियो। चलचित्र प्रदर्शन भएपछि उनको अभिनयलाई धेरै दर्शकले रुचाए। त्यसपछि चलचित्रमा क्रमशः अफर आउन थाले। दुई दर्जनभन्दा बढी चलचित्रमा उनले जीवन्त अभिनय गरेका छन्।

मदनदास रंगमञ्च, रेडियो र चलचित्रमा काम गर्दै थिए, नेपाल टेलिभिजनको स्थापना भयो। त्यसपछि उनको यात्रा टेलिभिजनतर्फ मोडियो। स्थापनाकालदेखि नै टेलिभिजनमा विभिन्न कार्यक्रम र सिरियलमा अभिनय गरे। टेलिभिजनमा सुरुदेखि उनले प्रश्न–उत्तर कार्यक्रम चलाए।

टेलिभिजनमा आएपछि फ्यानहरुले मदनदास भनेको यस्तो पो रहेछ भनेर चिने।

त्यतिबेलाका जति पनि कलाकार छन्, व्यावहारिक ज्ञान र गुरुले सिकाएको भरमा अभिनय गर्ने हुन्। ‘त्यतिबेलाका कलाकारमा कल्पना शक्ति बलियो थियो,’ उनी भन्छन्।

नेपालको तर्फबाट ओस्कार अवार्डमा सहभागी हुने अवसर पनि पाए मदनदासले। २१ वर्षअघि चलचित्र ‘क्याराभान’ ओस्कारको लागि मनोनयनमा परेको थियो। सो कार्यक्रममा भाग लिन नेपालबाट मदनदास श्रेष्ठ र निर शाहले अमेरिकाको लसएन्जलस जाने मौका पाए।

त्यहाँ कलाकारहरुलाई गरेको व्यवहार देख्दा उनी तीन छक परे। उनीहरु दुवैलाई छुट्टाछुट्टै होटल, लेमोजिन कार, कार्यक्रमको दिनमा आकाश र सडक दुवै ठाउँबाट स्कर्टिङ गरेर लगिएको थियो। रेड कार्पेटमा कलाकारहरु हिँडेको पाइलाको छापलाई समेत बचाएर फ्रेमिङ गर्ने चलन अचम्म लाग्यो उनलाई।

‘ओहो! हाम्रो देशमा कलाकारलाई यसको एक प्रतिशत मात्रै सम्मान गर्न सकेको भए हाम्रो कलाक्षेत्र कहाँ पुग्थ्यो होला?,’ उनी भन्छन्, ‘नेपालमात्रै त्यस्तो देश हो, जहाँ कलाको सम्मान गरिंदैन।’

१२ चैत, २०७७, १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।