उकेरा काेलम

हिजोका कुरा : पारिजातकी एकदिने विद्यार्थी

शुरुमा बाबुले संसारकै विद्वान बनाउँछु भनेर स‌सारकै दु:ख दिए। उनी पढेर संसारकै विद्वान त हुन सकिनन् तर पढ्ने बानी भने अहिले पनि उस्तै छ इन्दिराको।

सिर्जना दुवाल श्रेष्ठ


तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : इन्दिरा दलीलाई बालापनमा आफूले जस्तो माया यो संसारमा अरु कसैले पनि पाउँदैनन् जस्तो लाग्थ्यो। जब उनले जवाहरलाल नेहरुले लेखेको ‘लेटर्स फ्रम अ फादर टु हिज डटर’ पुस्तक पढिन्, त्यसपछि भने उनी छक्क परिन्।

उनलाई लाग्यो– मलाई जस्तो माया गर्ने बुबा अरुका पनि हुँदा रहेछन्। संयोग, नेहरुकी छोरीको नाम पनि इन्दिरा। त्यसकारण त्यो पुस्तक इन्दिरा दलीका लागि खास रह्यो। उनी सोच्थिन्, ‘छोरीलाई नेहरुले बढी माया गर्छन् होला कि मेरो बुबाले?’

०००
काठमाडौंको यङ्गाल टोलमा २००५ माघ १५ गते जन्मेकी हुन्, इन्दिरा दली। जन्मँदै दाजुको मृत्यु भएकाले उनी परिवारको जेठी सन्तान भइन्। उनीपछि अर्काे भाइ जन्म्यो तर ११ महिना बाँचेर मृत्यु भयो। त्यसपछि लगातार ३ बहिनी जन्मे।

२०१५ सालमा अर्काे भाइको पनि ठूलो दाजुको जस्तै जन्मने क्रममै मृत्यु भयो। त्यसको अर्काे वर्ष कान्छी बहिनी जन्मिन्। उनकी आमाका ८ जना सन्तानमध्ये ३ जना छोराको मृत्यु भयो, ५ जना छोरी मात्रै बाँचे।

इन्दिराका बुबा काशीलाल दली अंग्रेजी र गणितका शिक्षक थिए। काठमाडौंमा उनी राम्रो शिक्षकका रुपमा परिचित थिए। जसका कारण उनको घरमा ट्युसन पढ्नेको भीड नै लाग्थ्यो।

काशीलाल पछि दरबार हाइस्कुलका प्रिन्सिपल पनि भए। गणित र अंग्रेजीका शिक्षक भए पनि अरु विषयमा पनि उत्तिकै रुचि थियो उनको। त्यति बेलै उनको घरमा ६–७ वटा किताबले भरिएका दराज थिए। दराजमा विदेशी किताबहरु टन्नै हुन्थे।

इन्दिरा भन्छिन्, ‘मलाइ अझै याद छ, ब्रिटिस उपन्यास, बायोग्राफी सम्बन्धी किताबहरु मलमल कपडाले मोरेर बक्समा आउँथ्यो। बुबाको कोठाभरि किताबैकिताब देखेर मलाई पनि पढ्न मन लाग्थ्यो। लेखपढ गरेरै दिन बिताउँथें।’

आमालाई चाहिँ सधैं भात पकाउने, घर मिलाउने, लुगा धुने मात्रै गरेको देख्थिन् इन्दिरा। उनलाई आमा जस्तै घरबुढी बन्नु थिएन। त्यही भएर बुबासँग एउटै कुरा गरिरहन्थिन्, म आमा जस्तै घरमा काम गर्दिनँ। पढ्छु मात्रै।

उनको बाल मानसपटलमा धेरै किताब पढेर संसारकै सबैभन्दा ठूलो विद्वान बन्ने सपना थियो। उनका बुबा पनि बच्चाको चित्त नदुखोस् भनेर हुन्छ भन्थे।

इन्दिराको बुबाका ५ जना दाजुभाइमध्ये काशीलालले मात्रै पढेका थिए। काशीलाल निम्न मध्यमवर्गीय परिवारमा जन्मेका थिए। काठमाडौंका निकै नाम कहलिएका धनी मीर सुब्बाकी छाेरीलाई गुजेश्वरीसँग काशीलालको विवाह भयो। पढेको केटोसँग विवाह गर्दा छोरी सुखी हुन्छे भनेर गुजेश्वरीलाई काशीलालसँग विवाह गरिदिएका थिए।

५–६ वर्षको उमेरसम्म पनि इन्दिरालाई बाबुले जे भन्यो त्यही पूरा गरिदिन्थे।

०००
एक दिन ख्यालख्यालमा बुबाको भाइले इन्दिराको गालामा थप्पड हाने। यो कुरा इन्दिराका बुबालाई मन परेन। ‘यस्ता छोरी पिट्ने घरमा एकछिन् पनि बस्दिनँ भनेर बुबा सामान प्याक गरेर घरबाट निस्किनुभयो हामीलाई लिएर,’ इन्दिरा भन्छिन्, ‘त्यसपछि बुबाले हामीलाई इन्द्रचोकमा डेरा लिएर राख्नुभयो।’

सानोमा इन्दिरा आमासँग भन्दा बुबासँग बढी मिल्थिन्।

इन्दिरा बुबाले इन्द्रचोकको डेरामै ट्युसन पढाउन सुरु गरे। उनले सम्झिइन्, ‘त्यतिबेला ट्युसन पढाउने शिक्षक निकै कम थिए। मेरो बुबा नाम चलेका शिक्षक हुनुहुन्थ्यो।’

इन्दिरालाई हरियो मकै सारै मनपर्ने। जति बेला पनि हरियो मकै खाइरहन्थिन्। ट्युसन पढ्न आएका एक जनाले मकै मनपर्ने भए झम्सिखेलमा घडेरी किन्न सुझाए। झम्सिखेल त्यतिबेला ललितपुरको स्याल आउने गाउँको रुपमा कहलिन्थ्यो। अहिलेको साझा बस रहेको ठाउँदेखि सानेपासम्म ठूलो चौर थियो। जुन चौरमा नेवारहरुको देवाली पूजा, भोज हुन्थ्यो।

विसंं २०१३ मा झम्सिखेलमा छोरीलाई धेरै मकै खुवाउनको लागि भनेर इन्दिराका बुबाले घडेरी किने। आफ्नै घडेरी भएपछि डेरामा कति बस्ने भनेर इन्द्रचोकदेखि सपरिवार हिँड्दै झम्सिखेल आए उनीहरु। घन्टौं हिँडेपछि खेतको बीचमा झुप्रो पराले घर भेटियो। उनकी आमा सहरमा हुर्केकी साहुकी छोरी, त्यो घरमा बस्न चाहिनन्। आमालाई इन्द्रचोक नै फर्काएर बाउ–छोरी मात्रै झम्सिखेलमा बस्न थाले।

बुबा बिहान, दिउँसो, बेलुका पढाउन काठमाडौं जाने। घरमा इन्दिरा एक्लै। आमा पनि नहुँदा घरधन्दा पनि सबै उनकै थाप्लोमा आयो। घरमा एउटा सानो झ्याल थियो, त्यहीँ बुबा नआउञ्जेल तारा गनेर बस्थिन् इन्दिरा। महिनौं दिन त्यसरी नै चल्यो। मकै खाने रहरमा बाउ–छोरी दुवैलाई सकस भयो। पछि आमा बस्न आएपछि जीवन केही सहज बन्यो।

झम्सिखेलदेखि काठमाडौं दिनमा ३–४ पटक ओहोरदोहोर गर्न निकै गाह्रो भएपछि काशीलालले साइकल पनि किनेका थिए। ‘एक दिन राति घर फर्कदा बुबालाई सुनसान बाटोमा चोरले लखेटेछ,’इन्दिराले भनिन्, ‘मानसिक डर र सधैं ओहोरदोहोर गर्न गाह्रो भएपछि बुबाले काठमाडौंमै बस्ने निधो गर्नुभयो।’

इन्दिराका बुबाले काठमाडौं बस्ने निधो त गरे तर आमाले मानिनन्। आमालाई त्यहाँको खेतबारी, फूलबारीमा काम गर्दागर्दै मन भुलिसकेको थियो।

पुनः झम्सिखेलमा आमालाई छोडेर बाबु–छोरी ठहिटीमा घर किनेर बस्न थाले। ‘५ तले घर थियो। बुबा कलेजबाट नफर्कंदासम्म छिमेकी साथीसँग झ्याल–झ्यालबाट पालैपालो कथा भन्दै समय बिताउँथें,’ इन्दिरा सम्झिन्छिन्।

हरेक शुक्रबार इन्दिरा र उनका बुबा झम्सिखेल आउँथे। आइतबार ठहिटी पुग्थे। यो क्रम वर्षाैं चल्यो। २०१५ सालमा बहिनी जन्मेपछि भने आमालाई स्याहार्न इन्दिरा झम्सिखेल नै बस्नुपर्यो।

त्यतिबेला चोरको बिगबिगी थियो। इन्दिराकी आमाको विवाहमा दाइजोमा आएका अमूल्य गर–गहना सन्दुकभरि थिए।

एक दिन बिहान सदाझैं ४ बजे उठेर भान्सामा जाँदा इन्दिरा आत्तिइन्, त्यहाँ भएका सामान केही पनि थिएनन्। अन्य सामानसँगै दाल, चामल, घिउ सबै चोरले सिनित्तै पारेर लगेछ। भएभरका सरसामान चोरी भएपछि उनीहरुलाई खानै समस्या हुन थाल्यो।

आमाको माइती धनी त थियो तर समाज र परिवारले के भन्ला भनेर उनीहरुले केही सहयोग गरेनन्। आफ्नै छोरीलाई आपत पर्दा समेत सहयोग नगर्ने समाज देखेर इन्दिरालाई सानै उमेरमा मनमा गढेको थियो।

०००
एक दिन इन्दिराकी सानी बहिनी एकदमै बिरामी भइन्। अहिले जस्तो यातायात, फोन आदिको सुविधा थिएन। उनी बिहानै बुबालाई बोलाउन काठमाडौं हिँडिन्। त्यति बेलासम्म बुबाले घरमा चासो दिन छोडिसकेका थिए। छोरीको लागि जे पनि गर्न तयार हुने बुबा छोरीलाई हप्काउने भइसकेका थिए।

त्यो समयमा नेपालमा जम्मा ३ वटा विशेष खालको रेडियो आएको थियो, जुन इन्दिराकी आमासँग पनि थियो। दाइजोको रुपमा पाएको। त्यो रेडियो पनि बुबाले खुसुक्क आफैंसँग लगेका थिए। घरका अरु अमूल्य सामान पनि विस्तारै लैजान थालेको उनलाई थाहा थियो।

इन्दिराकी आमाले आफूबाट जन्मेका ३ छोरा मरेपछि बुबालाई ‘छोरा चाहिने भए अर्काे विवाह गर्नू’ भनेर केही केटीको तस्बिर समेत देखाएकी थिइन्। बुबाले मानेका थिएनन्।

बाटो हिँड्दै गर्दा एक दिन बुबाले एक जना बाहुनी केटीको तस्बिर आमालाई देखाएर ‘यसलाई विवाह गरौं’ भनेको इन्दिराले सम्झिन्। उनलाई लाग्यो, ओहो! मेरो बुबाले त्यही केटी ल्याएर त बसेका छैनन्?

मनमा यस्तै यस्तै कुरा खेलाउँदै इन्दिरा घर पुगिन्।

भर्याङबाटै भान्सामा चुराको आवाज सुनियो। उनलाई लाग्यो, हाम्रो त संसारै डुब्यो। भित्र गएपछि बुबाले ‘यो मेरी जेठी छोरी’ भनेर चिनाए। उनैले चिया ल्याइदिइन्, तर इन्दिराले खानै सकिनन्।

‘ए बा बहिनी बिरामी छ, पैसा पनि छैन, आमाले बोलाउन पठाको’ भन्दा उल्टै गाली गरेर पछि आउँछु भनेर पठाए बुबाले। इन्दिरालाई लाग्यो, मेरो बुबाको माया इन्दिरा गान्धीलाई नेहरुले गर्ने जस्तो होइन रहेछ। मेरा बुबा पूरै बदलिएछन् भन्दै उनी छाती पिट्दै घर फर्किन्।

०००
टीका विद्या स्कुलमा ६ कक्षामा पढ्दै थिइन् इन्दिरा। बुबाले पैसा नदिएपछि शुल्क तिर्न हम्मे भयो। पैसा तिर्न नसक्दा उनी स्कुल नै जान पाइनन्। झ्यालबाट स्कुल गएर फर्किएकाहरु हेर्दै बस्थिन्। धेरै पटक साथीहरुले स्कुलमा सरले बोलाएको छ भन्दै लिन आए। तर पैसा माग्न होला भन्ने सोचेर उनी गइनन्। अन्ततः प्रिन्सिपल आफैं बोलाउन आए। सबै बाध्यता र परिस्थिति भनेपछि उनलाई छात्रवृत्तिको व्यवस्था गरिदिए।

उनी हरेक वर्ष कक्षामा प्रथम हुन्थिन्। राम्रो विद्यार्थीलाई गुमाउने विद्यालयको चाहना थिएन। इन्दिरा त्यतिबेला आफ्नै साथीहरुलाई ट्युसन पढाएर महिनामा ३ रुपैयाँ कमाउने भइसकेकी थिइन्।

आमा सधैं रोएर बस्थिन्। एक दिन आमाले आफू पनि पढ्न जाने रहर इन्दिरालाई सुनाइन्। विवाहअघि आमाले शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्तासँग पढेकी रहिछिन्। पढाइमा रुचि हुँदाहुँदै विवाहपछि घरपरिवार र बालबच्चाका कारण सम्भव भएन।

इन्दिराकी आमाले महेन्द्र स्मारक विद्यालयमा श्रीमानले छोडेको, गरिबको कोटामा छात्रवृत्ति मिलाइन्। उमेर ढल्किँदै गर्दा इन्दिराकी आमा गुजेश्वरी ६ कक्षामा पढ्न गइन्।

इन्दिरा बिहान पढेर बहिनी हेर्न फर्किन्थिन्। त्यसपछि आमा स्कुल जान्थिन्। आमा स्कुलमा आफैंले सिलाएको कुर्ता–सुरुवाल लगाएर जान्थिन्। इन्दिरा आमाले कुर्ता–सुरुवाल लगाएर स्कुल गएको देखेर लाजले लुकेर बस्थिन्।

त्यति बेला विवाहपछि सारी र चोलो मात्रै लगाइन्थ्यो। गुजेश्वरी त आठ जना बच्चा जन्माएकी आमा। तर स्कुलमा हरेक विधामा अग्रणी। कक्षामा दोस्रो वा तेस्रो हुने। नाच, गान, कला आदिमा त उनलाई जित्ने कोही हुन्नथे।

टीका विद्या स्कुलमा कक्षा ८ सम्म मात्रै पढाइ हुन्थ्यो। अब कहाँ पढ्ने? इन्दिरालाई फेरि तनाव। डिल्लीबजार कन्या स्कुलमा निःशुल्क पढाइ हुने थाहा पाएर भर्ना भइन्। घन्टौं हिँड्नुपर्ने। त्यसमा पनि बीचमा शुल्क लिन सुरु गरे।

त्यतिबेला इन्दिरा र माइली बहिनी आफ्नै बुबा र सानी आमाको घरमा नोकर बसे। कारण, घर चलाउन पैसा थिएन। घरका सबै काम–धन्धा गरेवापत उनले महिनामा सय रुपैयाँ पाउँथिन्। सौतेनी आमाले दिने पीडा उनले त्यतिबेला भोगिन्।

एक पटक थर्माेमिटर फुटाएको निहुँमा इन्दिरालाई उनकै ९ कक्षाका सबै किताबले हानेर बुबाले घरबाटै निकाले। ‘पढाएर विद्वान बनाउँछु भन्ने बुबाले किताबले हानेर निकालेको क्षण मेरा लागि निकै पीडादायी छ,’ उनी भावुक हुन्छिन्।

९ कक्षा सकाएर मदन स्मारकमा भर्ना हुन आइन् इन्दिरा। नजिक भए पनि आमासँग पढ्न उनलाई लाज लाग्थ्यो। त्यही भएर उनको रोजाइ घन्टौं हिँड्नु परे पनि डिल्लीबजार कन्या स्कुल नै थियो।

कक्षा १० मा भर्ना हुन गणित र अंग्रेजीको प्रवेश परीक्षा दिनुपर्ने रहेछ। त्यहाँ विष्णुकुमारी वाइबा (पारिजात) अंग्रेजी शिक्षिका र जसुता गणित शिक्षिका थिए। पहिलो पटक देख्दा पारिजातको गेटअप, बोलीचाली देखेर प्रभावित भएकी थिइन्, इन्दिरा। उनी पारिजातलाई वाइबा मिस भनेर सम्बोधन गर्थिन्।

वाइबा मिसले एक दिन इन्दिरालाई किताबको बारेमा निबन्ध लेख भनिन्। किताबबारे लेख्न दिमागमा केही आएन। उनले लेखिन्– The book is the medicine of mind that cures even those diseases which can not be cured by any medicine and doctors.

यति लेखेर निराश भई घोप्टो परेर बसेकी थिइन्। वाइबा मिस आएर इन्दिरा सकियो? भनेर सोधिन्। उनले कपी दिन खोजिनन्। कपी तानेरै लिइन्। वाइबा मिस दंग हुँदै अंग्रेजीमा पास भएको र अब गणितको परीक्षा लिनु नपर्ने बताइन्। र, आमालाई पनि लिएर यही स्कुलमा पढ्न आउनु भनिन्।

पारिजात अर्थात् इन्दिराकी वाइबा मिसले अंग्रेजी कविता पढाएकी थिइन्। इन्दिराकी आमा दोस्रो हुने भएकोले पहिलो बेन्चमा थिइन्। इन्दिरा भने नयाँ भएर अन्तिम बेन्चमा। कक्षा सकिने बेलामा वाइबा मिसले आमाछोरी एउटै स्कुलमा मात्रै होइन, एउटै कक्षामा कस्तो राम्रो र उदाहरणीय भनेको कुरा इन्दिरालाई हिजो जस्तै लाग्छ।

पहिलो दिन नै उनी वाइबा मिसको फ्यान भइसकेकी थिइन्। त्यो दिन रातभरि वाइबा मिससँग भोलि के–के सोध्ने, सिक्ने प्लान गर्दै बिताइन्। तर भोलिपल्ट स्कुल जाँदा वाइबा मिस आइनन्। उनलाई खल्लो लाग्यो, पछि थाहा भयो, वाइबा मिस त बिरामी भइछन्। त्यसपछि उनी कहिल्यै स्कुल नै आइनन्।

यसरी इन्दिरा पारिजातको १ दिने विद्यार्थी बनिन्। तर पारिजातसँगको सम्बन्ध अन्तिम समयसम्म उत्तिकै प्रगाढ बन्यो उनको। यसमा मुख्य हात उनकै आमा गुजेश्वरीको रह्यो। उनले १ दिन मात्रै पारिजातसँग पढेको भए पनि उनकी आमाले ६ कक्षादेखि नै पढेकी हुन्। आमाको पछिपछि लागेर वाइबा मिसलाई भेट्न गइरहन्थिन् इन्दिरा।

आमाछोरी एउटै कक्षामा पढ्ने। आमा हेरक कुरामा एक्टिभ थिइन्। जब आमा नाच्न, नाटक खेल्न र गाउन थाल्थिन्, इन्दिरा लुक्न जान्थिन्। उनकी आमा हस्तकलामा पनि उत्तिकै निपूर्ण थिइन्।

१० कक्षाको अन्तिम समयतिर प्रदर्शनी आयोजना गरियो। उनकी आमाले कागजबाट धरहरा, पुतली, कपडाका थैली आदि बनाइन्। इन्दिराले मदन स्मारक स्कुल बनाउन ढिपी गरिन्। कागज र छ्वालीले भरेर बनाएको त्यो स्कुल निकै भव्य बन्यो।

प्रदर्शनीमा जगदम्बा महारानी घुम्न आइन्। जगदम्बाको आँखा आमाले बनाएको छ्वालीको भव्य स्कुलमा पर्यो। जगदम्बा महारानीले यसको मुल्य खोइ त? भनेर सोधिन्। २०१९ सालमा इन्दिराकी आमाको त्यो कामका लागि ३० रुपैयाँ पारिश्रमिक दिइन् जगदम्बा महारानीले।

इन्दिराकी आमाले एसएलसीपछि अंग्रेजी र नेपाली टाइप सिकेर केही समय वीर अस्पतालमा रिसेप्सनिस्टको रुपमा काम गरिन्। विसं २०२४ मा मौसम शाखामा नायब सुब्बामा काम गरिन्। त्यतिबेला उनको तलब रु.२५० थियो।

बहिनीले प्रज्ञा प्रतिष्ठानमा रिसेप्सनमा काम गरेकी थिइन्। त्यतिबेला जागिर खानलाई १४ वर्षकी बहिनीले उमेर बढाएर १६ वर्ष बनाएकी थिइन्।

०००
एक दिनको कुरा हो, इन्दिरालाई १ मोहोर दिएर आमाले झम्सिखेलको घरमा पठाइन् र आफू श्रीमानको घर ठहिटी गइन्। भोलिपल्ट इन्दिरा ठहिटी जाँदा आमासहित चारजना बहिनी नै त्यहाँ थिएनन्।

इन्दिराले मामाघर, आफन्त सबै ठाउँमा बुझिन् तर कहीँ फेला पार्न सकिनन्। उनी हरेक इनार हेर्दै रानीपोखरीको तीन चक्कर लगाइन्। फेरि बुबाको घरमा गएर सोध्दा ‘रानीपोखरीमा हाम फालेको भए भोलि गोरखापत्रमा समाचार आइहाल्छ। किन खोज्नुपर्यो’ भनेर बुबाले जवाफ फर्काए। आफ्नै बुबाको यस्तो वचनले आज पनि उनलाई बेचैन बनाउँछ।

उनी रुँदैरुँदै झम्सिखेल पुगिन्। खोज्दै जाँदा आमा र बहिनीहरु छिमेकीको शरणमा रहेछन्। जिउभरि निलडाम। चस्मा फुटेको, हेर्दै विरक्त लाग्ने।

त्यही गरिबीले कम गर्न उमेर नपुगेकी बहिनी पनि काम गर्न बाध्य भएकी थिइन्।

पैसा नहुँदाको दुःख स्मरण गर्दै इन्दिरा भन्छिन्, ‘खाजा हुन्नथ्यो। साथीहरुले दिएको खाजा हातमा मुठी पारेर बहिनीहरुलाई ख्वाउन आउँथें। बहिनीहरु कसैको खाजाबाट भटमास, मकै खस्छ कि भनेर हेर्दै बस्थे। खसेको देखियो भने खुट्टाले छोपेर पछि खान्थे।’

उकेरासँग हिजोका कुरा गर्दै इन्दिरा भक्कानिइन्, ‘गरिबी कसैलाई नहोस्।’ धनी बाउकी छोरी आमाको गरिबी देख्दा, माया गर्ने बुबाको तिरस्कार देख्दा उनलाई कयौं पटक बाँच्नै मन लागेन। तर पढाइलाई भने निरन्तरता दिइरहिन्।

अहिले महिला शिक्षाको बारेमा चर्चा चलिरहँदा गुजेश्वरी दली एउटी उदाहरण हुन्। दुःख र पीडाबाट भाग्न पढाइ रोजिन्। इन्दिरा दलीलाई आमाको आत्मबल देखेर अहिले पनि ताज्जुब लाग्छ। भन्छिन्, ‘वाइबा मिस र मेरी आमा गुजेश्वरी मेरो जीवनका आइकन हुन्।

विसं २०१६ सालमा बुबाले अर्की श्रीमती ल्याएदेखि इन्दिरा राति राम्रोसँग सुत्न सकिनन्।

शुरुमा बाबुले संसारकै विद्वान बनाउँछु भनेर स‌सारकै दु:ख दिए। उनी पढेर संसारकै विद्वान त हुन सकिनन् तर ७२काे बृद्धवयमा पनि पढ्ने बानी भने उस्तै छ इन्दिराको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 

‘एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्‍यागिङ गर्दा रहेछन्। यो कुरा एमबिबिएस पढ्न कलेज भर्ना भएपछि मात्रै थाहा पाएँ,’ २०७४ सालदेखि सिभिल अस्पतालमा कार्यरत छाला तथा....

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको....

हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर

जितपुर त्यति बेला पश्चिम जाने मुल बाटो थियो, अहिलेको राजमार्गहरू जस्तै। मदनकृष्ण श्रेष्ठ गाउँ, टोलमा गीत गाउँदै, भजन गाउँदै हिँड्थे। ८ वर्षका मात्र थिए उनी....

ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

मैले जानेको कुरा अर्कोलाई सिकायो भने त ऊ मभन्दा जान्ने भइहाल्छ, म तल पर्छु भन्ने भ्रम धेरै छ प्रहरीमा। वास्तवमा यो सोच गलत हो। आफूमा....

चौथो अंग : ...बरु भेडा चराउन सजिलो

पछि सरकारी ओहोदा र जिम्मेवार तहमा बसेका व्यक्तिले गरेका गलत काम बाहिर आउन थाल्यो। यसरी लुकाएर राखिएका गलत काम खोजेर सार्वजनिक गर्ने कामलाई खोज पत्रकारिता....