उकेरा काेलम

हिजोका कुरा : नेपालमा स्कुटर चलाउने पहिलो महिला, जसलाई हेर्न केटाको भीड लाग्थ्यो

सिर्जना दुवाल श्रेष्ठ


सात दाजुहरुपछिकी कान्छी छोरी भएर होला कमला श्रेष्ठलाई जस्तोसुकै कठिन काम पनि गर्नसक्छु भन्ने हिम्मत थियो।  सानैदेखि हक्की, निडर र आँटिली थिइन् उनी।

विसं. २०१४ सालमा आठौं सन्तानका रुपमा धरानमा जन्मिएकी  कमलाको परिवार ‘छोराछोरी दुवै बराबरी’ भन्ने सोचको थियो।

सात जना दाजुहरुपछि जन्मिएकीले उनले सबैबाट धेरै माया पाएकी थिइन्। उनी दाजुहरु जे खेल्थे त्यही खेल्थिन्। जहाँ जान्थे त्यहीँ जान्थिन्। केटीभन्दा केटाहरुसँगै बढी घुलमिल थियो कमलाको।

कमला श्रेष्ठलाई सुन्दर भएर हिँड्न अति नै मनपर्थ्यो। चलचित्रमा देखिए जस्तै हिरोइनहरुको मेकअप उतार्न उनी खप्पिस थिइन्।  

एसएलसी सकिएलगत्तै उनले काठमाडौंका नेवार परिवारको केटासँग प्रेम विवाह गरिन्। कमलाका श्रीमान् त्यसबेला वन कार्यालयमा अधिकृत थिए।

अन्तरजातीय प्रेम विवाह गरेकी कमलालाई विवाहपछि जीवन सकिन्छ भन्ने सोच कहिल्यै आएन। विवाहपछि त झनै सक्रिय भइन्। छोराहरु जन्मिएपछि मात्र पढाइ, अरिअर र रुचिहरुलाई पूरा गरेकी हुन् उनले।

‘महिलाहरु आफूले आफैंलाई ‘म सक्दिनँ’ भन्ने सोचले कमजोर र पछाडि पारेका हुन्,’ उनको तर्क छ, ‘के महिला, के पुरुष हरेक काममा रुचि र  जागरुकता भयो भने सफलता अवश्य मिल्छ।’

उच्च शिक्षाका लागि धरान बहुमुखी क्याम्पस भर्ना भएकी उनी श्रीमानको धनकुटा सरुवा भएपछि उतै गइन्। उनले धनकुटामै उच्च शिक्षा अध्ययन गरिन्।

आइएको अन्तिम परीक्षाका बेला जेठो छोरा जन्मिए। स्नातक तहको अन्तिम परीक्षाका बेला कान्छो छोरा जन्मिए। उनले दुई छोरा हुर्काउँदै अध्ययन पूरा गरिन्।

धेरै महिला विवाहपछि जीवन बर्बाद भयो भन्छन्, तर कमला श्रेष्ठ ती पात्र हुन्, जसले विवाहपछि नै प्रगति गरिन्। विवाहपछि नै आफ्नो परिचय बनाइन्।

श्रीमानसँग धनकुटामा छँदा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्या त्यहाँ आएका थिए। ऐश्वर्यालाई बोटबिरुवाप्रति धेरै रुचि थियो। कमलाका श्रीमान् वन अधिकृत भएका कारण बोटबिरुवाबारे युवराज–युवराज्ञीलाई बुझाइदिने अवसर पाए। त्यसबेलै वीरेन्द्रले खुसी भएर कमलाका श्रीमानलाई पढ्नका लागि विदेश जाने प्रस्ताव गरेका थिए।

‘श्रीमानले तुरुन्त जान्छु भन्नुभयो। तत्कालीन युवराज वीरेन्द्रकै प्रस्तावमा उहाँ थाइल्याण्ड जानुभयो,’ उनी सम्झिन्छिन्, ‘पढ्नका लागि जानुभएका श्रीमानले युएनमा काम गर्ने अवसर पाउनुभयो र साथमा परिवार लैजाने पाउने सुविधा पनि मिल्यो।’

दुई वर्षका ठूलो छोरा र ६ महिनाको कान्छो छोरा लिएर कमला पनि थाइल्याण्ड गइन्। ओहो! थाइल्याण्ड त कति विकसित? सुविधासम्पन्न सहरभित्र उनी आफूलाई घुलमिल गराउन उनले जरुरी थियो।

उनी चार वर्ष थाइल्याण्ड बसिन्। त्यही कारण कमला आफ्नो जन्मथलो नेपाल भए पनि कर्मथलो थाइल्याण्डलाई मान्छिन्। उनको जीवनको उत्थान गर्न र करिअरमा अघि बढ्न थाइल्याण्डको त्यो चार वर्षको अवधि निकै महत्वपूर्ण भएको उनको बुझाइ छ।

कमलालाई शृंगारमा सानैदेखि रुचि थियो। थाइल्याण्डमा सौन्दर्यको बारेमा पढ्न पाइन्छ भन्ने उनले थाहा पाइन्। त्यति बेलासम्म नेपालमा सुन्दर हुन लाली र गाजल मात्र लगाउने चलन थियो। सौन्दर्यको बारेमा कलेजमै पढ्न पाइन्छ भन्ने हेक्का नै थिएन उनलाई। तर बैंककमा सौन्दर्यको बारेमा समुद्र नै पाइन् उनले।

समुद्रमा कसरी मोती टिप्ने त? उनले कपाल सम्बन्धी स्पेसल कोर्स गर्ने सोच बनाइन्। जुरो र पर्म गरिने शैलीलाई नेपालमा भित्र्याउन पाए हुन्थ्यो भन्ने लाग्यो। उनले दुई वर्ष युनिभर्सिटीमै पढिन्। पर्म, जुरो नै उनको मुख्य विषय थियो।

कमला सम्झिन्छिन्, ‘नेपालवाट जाँदा यही पढ्छु भन्ने केही थिएन। त्यहाँको वातावरण र जीवनशैलीले नै मलाई सौन्दर्य शिक्षाप्रति रहर जगायो।’

दुई जना बच्चालाई स्याहार गर्नेदेखि घरको सबै व्यवस्थापन उनकै जिम्मामा थियो। त्यसबाट समय मिलाएर कलेज पढ्न त थालिन्। तर आउन–जान गाह्रो थियो।

पढ्न जाने क्रममा उनले थाइल्याण्डमा महिलाले मात्रै स्कुटर चलाएको देखिन्। उनी भन्छिन्, ‘त्यतिबेला नै थाइल्याण्डमा केटीहरुले मात्रै स्कुटर चलाउँथे। सरर स्कुटर चलाएर हिँडेका केटीहरु देख्दा मलाईलाई पनि रहर जाग्यो।’

रहरसँगै स्कुटी उनको बाध्यता बनेको थियो। श्रीमान् युएनमा कार्यरत। बिहान गाडीमा गइहाल्ने। उनलाई पढ्न र विभिन्न तालिमहरुमा जान–आउन असुविधा थियो।

त्यति बेला कमलाले ब्युटिसियनको कोर्षसँगै स्विमिङ, गायन समेतका कक्षा लिइरहेकी थिइन्। त्यसमा पनि सपिङ जानु पर्ने हुन्थ्यो। आफ्नो सुविधाको लागि कमलाले स्कुटर चलाउने तालिम पनि लिइन्। स्कुटर किनेर लाइसेन्स लिई चलाउन थालिन्। 

त्यतिबेलाको समय सम्झँदै कमला भन्छिन्, ‘स्कुटरको अगाडि बास्केट हुन्थ्यो। वर्ष दिन पुगेको सानो छोरालाई बास्केटमा राखेर पसलतिर गइरहेकी थिएँ। बाटोमा ट्राफिक प्रहरी देखेर नर्भस भएँ। अगाडिको डिपार्टमेन्ट स्टोरको भर्याङ नै देखिनँ र त्यही लगेछु।’

स्कुटरमा आमा र बच्चा भर्याङबाट तल झरेपछि सबै जना दगुरेर समात्न आएको उनलाई अझै सम्झना छ।

त्यस्तै एक पटक थाई भाषाको बोर्डमा लेखिएको अक्षर नबुझ्दा वानवेमा स्कुटर चलाएको आरोपमा पुलिसले समातेर दुई सय भाट जरिवाना तिराएको रहेछ। स्कुटर चलाएपछि जीवन धेरै सहज बनेको उनी बताउँछिन्।

गीत गाउन मनपर्ने भएकोले बैंककमा गायन कक्षामा पनि भर्ना भइन् उनी। थाई र अंग्रेजी गीतहरु खुबै गाइन्। स्विमिङ भने थाइल्याण्ड निकै गर्मी हुने ठाउँ भएकोले सिकेकी रहिछन्। जसले उनलाई शारीरिक रुपमा फिट हुनको लागि मद्दत पनि मिल्यो।

कमला फुर्सद मिल्यो कि बच्चाहरु लिएर घुम्न गइहाल्थिन्। घुम्न जाँदा उनी ठाउँठाउँमा कराँते र कुङ्फु सिकाइरहेको देख्थिन्। त्यहाँ उनको पाइला टक्क रोकिन्थ्यो। धेरैबेर हेरिरहन्थिन्। ओहो! यो त सिक्नैपर्ने खेल रहेछ भन्ने लाग्थ्यो उनलाई। तर त्यो तालिम भने थाइल्याण्डमा लिइनन्। धेरैवटा तालिममा जानुपर्ने र बच्चा साना भएकाले नेपाल फर्केपछि मात्र सिकेकी हुन् रे।

उनलाई कुङ्फु–कराँते रमाइलो र करिअरको लागिभन्दा पनि एक जना महिलाको लागि आत्मरक्षाको लागि आवश्यक जस्तो लाग्थ्यो।

कुपण्डोलबाट रंगशाला नजिक थियो। त्यहीँ उनी कराँते सिक्न थालिन्। रंगशालामा कराँतेका प्रशिक्षक थिए, थानेश्वर राई। उनीसँग त्यतिबेला स्व. डिना बाङ्गदेल, मीना राई र सुमी राई चार जनाको समूह थियो।

चार जनाले कराँते सिके पनि पछिसम्म सिक्नेमा कमला मात्रै भइन्। ‘कराँते खेल्दा धेरै चोटपटक लाग्यो तर मन बलियो बनाएर कोर्स पूरा गरेरै छाडें,’ उनले भनिन्। कमला कराँतेकी नेपालकै पहिलो ब्ल्याक बेल्ट महिला खेलाडी हुन्।

२०३५ सालमा नेपाल आएपछि उनले स्कुटर चलाउन पनि छोडिनन्। त्यतिबेला नेपालमा पनि थाइल्याण्डकै लाइसेन्सले काम गर्थ्यो।

नेपालको पहिलो स्कुटर चलाउने महिला कमला श्रेष्ठलाई त्यतिबेला केटाहरुले खुब पछ्याउँथे। त्यो समय केटीले स्कुटर चलाउनु अचम्मैको कुरा थियो, नेपालमा। ‘टन्नै केटाहरु मलाई हेर्न आउँथे। नेपालमा बाइक चलाउने पुरुषहरु पनि नै निकै कम थिए त्यो समयमा,’ उनी भन्छिन्।

त्यतिबेला कमलाले सलुन पनि खोलिसकेकी थिइन्। ‘मैले सलुनबाट राम्रो भएन भने खेलाडी बन्छु भन्ने सोच बनाएको थिएँ,’ उनी भन्छिन्, ‘तर सलुन सोचेभन्दा धेरै राम्रो चल्यो।’

सुरुमा उनले थालेको काममा परिवारको समर्थन थिएन। श्रीमान बाहेक परिवारमा सबैले उनलाई यो काममा निरुत्साहित गरेका थिए। ससुराले त हजाम बनेर आई भनेर चुल्होमा समेत भित्र्याएनन्। उनले छोएको पानी पनि खाएनन्।

‘एक्लै अँध्यारो कोठामा बसेर धेरै रात रोएँ। तर श्रीमानले ‘म छु, डराउनु पर्दैन भनेर ढाडस दिनुहुन्थ्यो,’ उनी पुराना कुरा कोट्याउँछिन्, ‘श्रीमानको साथ नपाएको भए सायद यो कामलाई तिलाञ्जली दिन्थें होला।’

कमलाले मनमनै एकदिन ससुरा बालाई यही पेसाबाट गर्व गर्ने बनाउँछु संकल्प लिएकी थिइन्। नभन्दै ससुरा बित्नुअघि कमलालाई बोलाएर ‘बुहारी तिमी सही रहेछौ, म गलत रहेछु’ भनेका रहेछन्।

चार दशकअघि नेपाली समाजमा जातीय विभेद बाक्लै थियो। पानी चल्ने र नचल्ने जात भनेर हेरिन्थ्यो। त्यसै अनुरुप काम पनि विभाजन हुन्थ्यो। तर कमलालाई आफ्नो रुचि र सिपलाई प्रस्तुत गर्ने चाह थियो। कतिले त उनलाई बनका हाकिमको श्रीमतीले ब्युटिपार्लर खोलेर बेइज्जत गरी पनि भने। तर यस्ता कुराको पछाडि कहिल्यै लागिनन्। झन् गरेर देखाउनुपर्छ भन्ने सोच उनको मनमा आइरह्यो।

उनले २०३६ सालमा कुपण्डोलमा ब्युटीपार्लर व्यवसाय सुरु गरिन्। त्यतिबेला काठमाडौंमा दुई वटा मात्र पार्लर थिए। ललितपुरमा एउटै पनि पार्लर थिएन। कमलाको सयाम् पार्लर नै ललितपुरको पहिलो पार्लर हो।

त्यतिबेला कमलाले कुपण्डोलमा मासिक ५ सय भाडा तिर्ने गरी दुईतले घर भाडामा लिएकी थिइन्। त्यही घरको एउटा कोठामा उनले १० हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेकी थिइन्।

व्यवसाय त सुरु त गरिन् तर ग्राहक नै आउँदैनथे। राणा, शाह खलकका केही महिलामात्र उनका ग्राहक थिए। बाहिरका ग्राहक राणा, शाहका महिलाहरु देखेर राजपरिवारले मात्रै गर्ने कुरा रहेछ भनेर फर्केन्थे। कमला सम्झन्छिन्, ‘कुपण्डोलमा त्यसबेला धेरै राणा, शाह परिवार बस्थे। जया शाह, रेखा शाह लगायत महिला मेरा नियमित ग्राहक थिए।’

त्यो समयमा राजपरिवार भित्रका महिलाले रोयल जुरो बनाउँथे, त्यो कमलाकै सिप हो। रोयल परिवारमाझ उनी थाइल्याण्डबाट रोयल जुरो, पर्म सिकेर आएकी भनेर परिचित थिइन्। यसरी एउटै विषयमा पढेर आएका सौन्दर्यविद् नेपालमा कोही पनि थिएनन्।

विस्तारै सर्वसाधारणमाझ पनि कमलाको सिप लोकप्रिय हुँदै गयो। उनी भन्छिन्, ‘विहेको मौसममा एक दिनमा २० जनासम्म दुलही सिंगारेको र ११ जनासम्मको कपाल पर्म गरेको अनुभव छ मसँग।’

विहान ४ बजेदेखि राति १० बजेसम्म पनि नन स्टप काम गर्थिन् उनी। उनको पार्लरको खाली जग्गामा टन्नै सेतो प्लेटका गाडी हुन्थे। त्यतिबेलाका पत्रपत्रिकामा ‘कर्मचारी, मन्त्रीका श्रीमती जति सयाम् ब्युटी सलुनमा’ भनेर समाचार समेत पनि आएका थिए।

मासिक ५ सयको घरबाट १५ सयको घर हुँदै उनी ५ हजारको घरमा सरिन्। त्यसपछि उनले पार्लरबाटै कमाएको पैसाबाट जग्गा किनिन्। उनले किनेका बेला कुपण्डोलमा रोपनीको रु ५० हजारमा जग्गा पाइन्थ्यो। उनले २ रोपनी जग्गा किनिन् र आफ्नै पैसाले घर बनाइन्। अहिले जहाँ सयाम् इन्स्युच्यिुट छ, उनकै मिहिनेत र कर्मको फल हो यो।

विसं. २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि रमा सिंह र रीता गुरुङले कमला श्रेष्ठलाई टेलिभिजनमा कार्यक्रम चलाउने प्रस्ताव लिएर आए। ‘ओहो! म त कपाल सजाउने र अनुहार सुन्दर बनाउने मान्छे, टिभीमा कसरी कार्यक्रम चलाउनु भनेर डराएको थिएँ,’ उनले भनिन्, ‘कामप्रतिको लगाव र सिप देखाउने प्लेटफर्म पाएकोले हरेक बिहीबार ‘घरपरिवार’ नामको कार्यक्रम चलाएँ।’

महिलाको सौन्दर्यलाई मुख्य विषय बनाएर केस सज्जा, मेकअप, सौन्दर्य टिप्स लगायत विषयवस्तुमा उनको कार्यक्रम केन्द्रित थियो। सो कार्यक्रमबाट धेरैले सौन्दर्य चेत पाएको उनको बुझाइ छ।

०००
कमलाका श्रीमान् र कान्छो छोरा चढेको गाडी दुर्घटना भयो। दुर्घटनामा छोराले ज्यानै गुमाए भने श्रीमानको हात भाँचियो। छोराको निधनले कमला भित्रैदेखि टुटिन्। त्यो समय उनलाई मन बुझाउने काम उनकी आमाले गरिन्।

उनकी आमाले सात जना छोरामध्ये पाँच जना चार महिनाकै अवधिमा गुमाएकी थिइन्। आमाले आफ्नो पीडा सुनाउँदा कमलामा आँट आयो। बितिसकेको कुरामा अल्झिनु हुन्न भनेर घर थपेर सयाम् इन्स्टिच्युट खोलिन्।

सिकेको सिप हस्तान्तरण गर्नुपर्छ भन्ने भावना उनमा थियो। ब्युटिपार्लर खोले पनि काम गर्ने स्टाफ पाइँदैनथ्यो। त्यसैले अरुलाई पनि सिकाउनुपर्छ भनेर उनले ३० वर्षअघि सयाम् इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी सलुन खोलेकी थिइन्। सिटिइभिटीमा दर्ता गरेर खोलिएको त्यो इन्स्टिच्युट नेपालकै पहिलो ब्युटी इन्स्टिच्युट हो। उनकी पहिलो विद्यार्थी हुन्, कलाकार राधा लम्साल भाबु।

सिटिइभिटीबाट स्विकृति पाएपछि चार जना विद्यार्थीबाट कक्षा सुरु गरिन्। अहिले कमलाको इन्स्टिच्युटमा हजारौं विद्यार्थी छन्।

सिटीभीटीले आफ्नो नयाँ कोर्षमा सौन्दर्य व्यवसायलाई पनि राख्न चाह्यो। सिटीभिटीले कमलालाई आफ्नो कोर्सको पाठ्पुस्तक बनाइदिन आग्रह गर्यो। कमला श्रेष्ठ र विना वैद्य मिलेर लेबल १ को पाठ्यपुस्तक तयार पारिदिए। सिटिभिटीमा यो कोर्ष राखिनुमा कमलाको मुख्य हात छ।

उनले २५ वर्षअघि नै केटीहरुसँगै केटाहरुको हेयर कटिङको पनि तालिम दिएकी थिइन्। हाल नेपालमा साढे ३ लाख ब्युटिपार्लर छन्। सौन्दर्यप्रतिको चेतका कारण नै महिलाको यसप्रति झुकाव बढेको देखिन्छ। यसको मुख्य श्रेयकर्ता हुन्, कमला श्रेष्ठ।

उनकै पहलमा ब्युटिपार्लरले उद्योगको सरह मान्यता पाएको छ। अहिले कक्षा ९ देखि १२ सम्म सौन्दर्य शिक्षालाई समावेश गराइएको छ। अब यो विषयलाई स्वेच्छिक विषयको रुपमा पढ्न पाइन्छ। कमला यसको लागि दसौं वर्षदेखि लड्दै आएकी थिइन्।

उद्योग वाणिज्य महासंघमा तीन पटक केन्द्रीय सदस्य जितेकी कमला उद्यमी महिलाकी अध्यक्ष हुन्। उनले सौन्दर्य कला व्यवसाय संघ नेपाल खोलेर नेपालमा ६० जिल्ला र युकेमा पनि शाखा खोलिसकेकी छिन्। उनको सौन्दर्य व्यवसायप्रतिको लगाव र निरन्तरता लोभलाग्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....