हिजोका कुरा : चिठी लेख्न सिक्छे, लभ गर्छे भनेर साहित्य पढ्न दिँदैनथे

हिजोका कुरा : चिठी लेख्न सिक्छे, लभ गर्छे भनेर साहित्य पढ्न दिँदैनथे

पोखराको उच्च मध्यमवर्गीय परिवारमा जन्मेकी हुन्, साहित्यकार उषा शेरचन। उनका हजुरबुबा भीमबहादुर भट्टचन त्यतिबेला पोखराका नामुद व्यापारी थिए।

भीमबहादुर तत्कालीन बडा हाकिम धन शमशेरका मिल्ने साथी थिए। उनी थकाली समाजको आजीवन मुखिया पनि हुन्।

पोखराका भट्टचन परिवारको घरमा निकै चहलपहल हुन्थ्यो। हङकङ जाने र आउनेहरुको सामान घरमा भएका ठूलाठूला सन्दुकमा राखेर उनीहरुकै घरबाट पठाइन्थ्यो।

भीमबहादुर भट्टचन वामपन्थी विचारबाट प्रभावित थिए। उषा सम्झिन्छन्, ‘त्यतिबेला पुष्पलालदेखि अन्य भूमिगत कम्युनिष्ट नेताहरु हाम्रो घरमा आइरहन्थे। धेरै नेताहरुको ओहोर–दोहोर भइरहन्थ्यो।’

उषा शेरचनका हजुरबुबा तबला र सितार राम्रो बजाउँथे। उनको घरको आँगन एकदमै ठूलो थियो। जहाँ हरेक साँझ हजुरबुबा भीमबहादुरले सितार बजाउँथे र टोलभरिका मान्छे सुन्न आउँथे।

‘भजन गाउने र रातभरि गाउँका मान्छेहरु जागा बसेर गाँजा समेत तान्ने गर्थे,’ उषा भन्छिन्, हाम्रो घरमा सितार, तबला, हार्माेनियम जस्ता वाद्यवादनका साधन टन्नै हुन्थे।’

उनको घरको माहोलले टोल संगीतमय हुन्थ्यो। बेलाबेलामा देखाइने पाक कला र नाटकको ब्याकग्राउन्डमा पनि उषाकै हजुरबुबाले कला भर्थे।

नेवार समुदायमा मनाइने गाईजात्रा पर्वमा उनीहरुको कला प्रस्फुटन हुन्थ्यो। गाईजात्रामा महादेव, कृष्ण, ब्रम्हा, विष्णु हनुमान, राम बनाउन उनीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो। जस्तो मेकअप गर्न पनि पोख्त थिए उनका हजुरबुबा।

हजुरबुबाका अक्षर पनि निकै सुन्दर थिए। त्यतिबेला कलात्मक पाटी बनाएर रातो माटोले लिपेर कपुरी क, ओम लेख्न सिकाइन्थ्यो। ‘मैले पनि क, ख, ग त्यहीँ सिकेकी हुँ,’ उषा भन्छिन्, म हजुरबुबाको जस्तै सुन्दर अक्षर लेख्न निकै कोशिस गर्थें।’

पोखराको गणेशटोल त्यतिबेला अहिलेको महेन्द्रपुल जस्तै व्यस्त बजार थियो। नालमुख, गणेशटोलमा जन्मेकी हुन्, उषा। उनी बस्ने गणेश टोल व्यापारी घराना समुदायको टोल मानिन्थ्यो। जुन भक्तपुरबाट व्यापार गर्दै आएका नेवारको बस्ती हो।

उनीहरुको एउटै घर मात्रै थकाली समुदायको छ पोखरामा। उनी जन्मिँदा घरमा कपडाको ठूलो पसल थियो। पोखराको हरेक टोलबाट कपडा किन्न मानिसहरु आउँथे। एकदमै जल्दोबल्दो टोलमा गनिन्थ्यो त्यो।

भक्तपुरबाट आएकाहरुले भरिएको बस्ती भएर होला त्यहाँ भक्तपुरको बिस्केट जात्रा एकदमै धुमधामका साथ मनाइन्थ्यो। बिस्केट जात्रामा घरघरबाट चटामरी फ्याल्ने चलन थियो।

जात्राको बीचमा गएर चटामरी टिप्न उषालाई खुबै रमाइलो लाग्थ्यो। त्यहाँ घोडे जात्रा लगायत काठमाडौंका अन्य जात्राहरु पनि मनाइन्थ्यो। पोखरामा हुने हरेक जात्रा, पर्वहरुको सुरुवात गणेश टोलबाटै हुन्थ्यो। अहिले गणेश टोललाई वल्र्ड हेरिटेजमा राखिएको छ। यो टोलमा चहलपहल त्यति छैन अचेल।

उषा छक्क पर्थिन् किनकी, हरेक घर–घरमा जात्रा, पर्व र भोजभत्तेर हुँदा उनको घरमा भने त्यसको प्रभाव हुँदैनथ्यो। छिमेकीले पर्व अनुसार योमरी, बारा, चटामरी, समय्बजी दिन आउँथे। उनी भने आफ्नो घरमा चाहिँ यस्तो खानेकुरा किन नबनाएको भन्दै परिवारलाई दुःख दिन्थिन्।

उनको संगत नेवार समुदायसँग घनिष्ट थियो। उषा मज्जाले नेवारी बोल्थिन्। ‘छिमेकीलाई अजा, अजी, पाजु, मल्जु, तःता, निनी भनेर सम्बोधन गर्थें म,’ उनी बाल्यकालमा फर्किइन्, ‘मलाई नेवार र थकाली समुदायको अन्तरबारे अत्तोपत्तो नै थिएन।’ उनी वाहेक सबै नै नेवार समुदायका हुन्थे। पछि मात्रै जातजाति र संस्कृतिबारे बुझ्दै गइन् उषाले।

गाउँबाट गुरुङसेनी दिदी–बहिनी दाउराको भारी बोकेर बेच्न आउँथे। त्यसबाट आएको पैसाले नुन–तेल किनेर लैजान्थे। गाउँबाट भारी बोकेर चामल, घिउ, तेल, फलफुल चौताराको पेटीमा राखेर बेच्न बसेको अहिले पनि सम्झना छ उनलाई।

एउटा टोलमा एउटा धारा हुन्थ्यो। घरका महिलाहरु पानी थाप्न बिहान २ बजेदेखि लाइन लाग्थे। उषालाई अचम्म लाग्थ्यो, एउटा धाराले टोलभरिलाई मान्छेलाई कसरी पानी पुगेको होला भनेर।

‘त्यही धारामा महिलाहरु आ-आफ्ना दुःखसुखका गफ गर्थे,’ उनी भन्छिन्, ‘त्यो धारामा लुगा धुन पानी पुग्दैनथ्यो। लुगा धुन पहाडतल कुवामा पुग्नुपथ्र्यो। वर्षामा फिरके खोला बग्थ्यो, त्यहाँ लुगा लिएर जानुपर्थ्यो।’

उनकी आमा छोरीहरु ६४ गुणले युक्त हुनुपर्छ भनेर ४/५ कक्षा पढ्दादेखि नै घरका सबै काम गराउँथिन्। खाना पकाउने, लुगा धुने, सिलाइ, बुनाइ, दुना–टपरी गाँस्ने, माला उन्ने, दुबोको माला बनाउने, सेल-रोटी पकाउनेदेखि सबै काम गराउँथिन् उषाकी आमा।

‘बिहान स्कुल जानुअघि पूजा गर्ने र खाना पकाउने जिम्मा हाम्रै हुन्थ्यो,’ उषाले विगत कोट्याइन्, ‘त्यसपछि घन्टौं हिँड्दै स्कुल पुग्नुपर्थ्यो, अहिले जस्तो बाटोको सुविधा थिएन।’

उषाले ५ कक्षामा पढ्दैगर्दा नै सुत्केरी माइजुको स्याहारसुसार गर्नुपरेको थियो। त्यतिबेला छोरी अर्काेको घर जाने जात भएकोले घर, व्यवहारको सबै काममा पारंगत हुनुपर्छ भन्ने सोच थियो।

बत्तिको सुविधा थिएन। जसका कारण साँझ छिट्टै खाना खाएर ६–७ बजे नै सुत्थे उनीहरु। ‘साँझ परेपछि अँध्यारो बस्तीमा आकासमा देखिएका तिलमिल ताराहरुले बेग्लै रौनक छथ्र्यो। अँध्यारो हटाउन टुकी, पानस र लालटिन बाल्थ्यौं,’ उषालाई अझै याद छ, ‘गाउँमा ठूलो चाडपर्व, भोजभत्तेरमा लालटिन बल्थ्यो। लालटिन बाल्दा टोल नै उज्यालो हुन्थ्यो।’

नेवारहरुका बाह्र अर्थात् गुफा राख्दा १२ दिन कोठामा लुकाइन्थ्यो। जहाँ साथीहरु गएर रमाइलो गर्ने चलन थियो। खेल्ने, नाँचगान, कविताहरु भन्ने गरिन्थ्यो। उषा साथीहरुको घरमा खेल्न पुग्थिन्। उनी बाह्र कोठामा जाँदा आफैं कल्पना गरेर गीत बनाएर भन्थिन्।

गीत गाउन र नाँच्न भने कहिल्यै जानिनन् उनले। तर गीत-संगीतको बेजोड फ्यान भने हुन् उषा। ‘लता मंगेशकर तथा नारायण गोपालका गीतहरु खुब सुन्थें, मसँग आफ्नै रेडियो पनि थियो।’ त्यो रेडियो उषालाई मामाका छोराले विदेशबाट ल्याइदिएका रहेछन्। पछि तिनै मामाका छोरासँग उषाको विहे भयो। थकाली समुदायमा मामा र फुपुका छोराछोरीबीच विहे गर्ने चलन छ।

छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने सोच विस्तारै विकसित हुँदै थियो। उषा र उनकी दिदी पनि स्कुल जान थाले। उषाको परिवारमा भने छोरीले पनि पढ्नु पर्छ भन्ने धारणा थियो। उनका बुबा पढेलेखेका थिए। पोखराबाट पहिलो पटक एसएलसी दिएका पाँच जना विद्यार्थीमध्ये एक उनका बुबा पनि थिए।

उषाका हजुरबुबा र बुबाको पहलमा पोखरामा नवीन विद्यालय सञ्चालनमा ल्याइएको थियो। जहाँ उषाले कक्षा चारसम्म अध्ययन गरिन्। त्यसपछि पाँच कक्षादेखि मल्टिपर्पोज नेसनल हाइस्कुलमा पढ्न पुगिन्।

सो स्कुल अमेरिकन भोलिन्टियरहरुले सिकाउँथे। व्यावहारिक ज्ञान दिने सिलाइ, बुनाइ, पाक शिक्षा आदि पनि समावेश थिए। उनीहरुलाई अमेरिकन प्याब्सी म्यामले अंग्रेजी र साबर सरले गणित पढाउँथे। उषाले त्यही स्कुलबाट एसएलसी पास गरेकी हुन्।

गणेश टोल नजिकै एक जना स्वामी बस्थे। उनी भीमसेनस्थान विन्ध्यवासिनी मन्दिरमा कथा वाचन गर्न जान्थे। जहाँ वेदवेदान्तका प्रवचन दिन्थे। प्रवचन सुन्न महिलाहरु खुलेरै जान पाउँथे। कथा वाचन भएको बेलामा उषा पनि बासै त्यतै हुन्थ्यो।

उषालाई साहित्यप्रतिको रुचि सानैदेखि थियो। पाठ्यपुस्तक बाहेक अन्य साहित्यका किताब पढ्न उनलाई खुब मनपर्ने। तर त्यतिबेला टोल–छिमेकमा साहित्यका पुस्तक पढ्यो भने चिठी लेख्न सिक्छन् र लभ गर्छन् भन्ने सोच थियो।

उषालाई उनका साथी इन्दिरा वाटाजु र शारदा दुवाले उपन्यासका किताबहरु लुकाई–लुकाई ल्याइदिन्थे। उनी टुकीको भरमा एउटा किताब एकै रातमा पढेर सिध्याउँथिन्। पछि उनलाई सरिता शेरचनले हिन्दी उपन्यासहरु ल्याइदिन थालिन्।

जति जति साहित्य कृतिहरु पढ्न थालिन् उतिउति उनलाई साहित्यप्रतिको लगाव बढ्न थाल्यो।

पोखरामा साझा प्रकाशन र सूचना केन्द्र खुलेपछि दाइले ल्याएका कृतिहरु चोरीचोरी पढ्न थालिन् उषा। उनको घरमा धर्मयुग र सोभियत संघ जस्ता पत्रपत्रिका पनि नियमित आउँथे। ‘मैले यस्ता साहित्य कृतिहरु पढ्थें, जसमा मलाई रुचि छ वा छैन भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘कहिलेकाहीँ ती पुस्तक पढेको देखेर नराम्रोसँग गाली गर्नुहुन्थ्यो।’ पछि आमाले देख्नुहुन्छ भनेर पाठ्यपुस्तक भित्र राखेर पढ्न थालेको उनले सुनाइन्।

उनी सानैदेखि कविता पनि लेख्थिन्। ६–७ कक्षा पुगेपछि त नियमित जस्तै लेख्थिन्, तर कसैलाई नदेखाई राख्थिन्। घरमा थाहा भयो भने गाली गर्छन् भन्ने उनलाई डर थियो।

‘त्यो समय साहित्य, कलामा लाग्नु भनेको लागुपदार्थ खानुसरह हुन्थ्यो। जे लेखे पनि लुकाएर राख्नुपर्ने भेटे भने च्यातिदिइ हाल्थे। साहित्य, कला, संगीतलाई हेयको दृष्टिले हेरिन्थ्यो। ओहो! यो केटी त बिग्री भन्ने चलन थियो,’ उषाले अनुभव सुनाइन्।

उनका केटी साथीहरु स्कुल जाने र समयमै घर फर्किहाल्ने गर्थे। तर उषालाई भने पुरुषले खेल्ने खेलहरुमा पनि उत्तिकै रुचि थियो। उनी भलिबल, फुटबल, लंङजम्प खेलेर बस्थिन्। छिमेकीका सबै छोरीहरु समयमै घर पुग्दा पनि आफ्नी छोरी नआउँदा उनकी आमा हातमा लाठो लिएर बस्थिन्।

यति धेरै पावन्दी र डरका बीचमा पनि उषाले साहित्य लेख्न भने छोडिनन्। तर कहिल्यै पनि हजुरबुबा, बुबालाई आफ्नो साहित्यप्रतिको रुचीलाई व्यक्त भने गरिनन्। आमाको कडाइ र गालीले नै उनको मनमा डरले डरा जमाइसकेको थियो।

‘अहिले सोच्दा साल्छ, सायद मैले ती कुराहरु हजुरबुबा र बुबामाझ राखेको भए बुझ्नु पो हुन्थ्यो कि?’ उनलाई पछुतो पनि रहेछ।

उषाले डरैडरका बीच एक्लै हिँड्ने हिम्मत गरेकी हुन्। आफ्नो बाटो आफैं खनेर राजमार्ग बनाएकी हुन्। हिजोका कुरालाई फर्केर हेर्दा बेग्लै रमाइलो र चुनौती अनुभव गर्छिन् उनी।

‘तर अहिलेको चुनौती त्यो बेलाको भन्दा फरक छ,’ उनी भन्छिन्, ‘अहिले हाम्रो जिन्दगी प्लास्टिकको फूल जस्तो छ। जति सुन्दर देखिए पनि सुगन्धहीन।’

२ बैशाख, २०७८, १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।