उकेरा काेलम

हिजोका कुरा : फुटबलको त्यो क्रेज

पूर्वखेलाडी भीम थापाको अनुभव- खेल हुने दिन बाटो सुनसान हुन्थ्यो, टोलटोलबाट समर्थकहरु हुटिङ गर्न खेल मैदान पुग्थे

सिर्जना दुवाल श्रेष्ठ


नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक भीम थापा। नेपालमा फुटबल खेल्ने, प्रशिक्षण दिनेहरु त धेरै छन् तर फुटबलकै लागि टेक्निकल्ली अध्ययन गर्ने र योजनाहरु बनाउने खेलाडीको नाम लिनु पर्दा उनकै नाम आउँछ।

नेपाली फुटबल इतिहासमा अध्ययन, योजना र कोचिङमा अब्बल खेलाडीमा गनिन्छन् उनी। विश्व फुटबल इतिहासको अध्ययन मात्रै होइन, उनीसँग दुर्लभ पुस्तक तथा सामग्रीका कलेक्सन पनि उत्तिकै छन्।

सन् १९४६ मा गुल्मीमा जन्मेका थापाको पढाइ बुबा ब्रिटिस–इन्डियन आर्मीमा भएकोले भारतमा भयो। बुबाको सरुवा भइरहँदा उनी कहिले बैंगलोर त कहिले कलकत्तामा पढ्दै हुर्के। कक्षा ६ देखि देहरादुन आर्मी होस्टेलमा बसेर गोर्खा मिलेटरी स्कुलबाट एसएलसीसम्म पढे उनले।

त्यतिबेला होस्टेलमा गुरुङ–मगरको पल्टन, राई–लिम्बूको पल्टन, क्षेत्री–बाहुनको पल्टन छुट्टाछुट्टै हुन्थ्यो। उनी चाहिँ थापा मगर भएकोले गुरुङ–मगर पल्टनमा परे।

पल्टन अर्थात् समूह निकै ठूलो हुन्थ्यो। त्यहाँ हरेक साँझ फुटबल टुर्नामेन्ट आयोजना हुन्थ्यो।

भीम थापा बसेकै होस्टेलमा फुटबलका हस्ती श्याम थापा पनि बस्थे। श्याम गोर्खा मिलिटरी स्कुलबाटै फुटबल खेल्थे। भारतबाट सुब्रतु मुखर्जी कप (लिटिल डोरेन) मा खेलेपछि उनी चर्चित बने। उनलाई भारतका विभिन्न टिमले लिइहाल्यो। त्यसपछि श्याम थापाले लामो समय भारतमा फुटबल खेलिरहे।

श्याम होस्टेलमा फुटबल खेलेर हिरो भएको देखेपछि भीमको पनि फुटबलप्रति लगाब बढ्दै गयो। उनी पनि केही समयपछि स्कुलस्तरको टिममा छनोट भए। स्कुल टिममा परेपछि फुटबल, जर्सी, जुत्तादेखि स्कुलको फी समेत तिर्नु पर्दैनथ्यो।

त्यतिबेलाको फुटबल क्रेज सम्झिँदा भीमलाई अहिले त के नै पो छ र जस्तो लाग्छ। ‘टिमको लागि मरिहत्ते गर्ने, रातदिन प्राक्टिस गर्ने त्यो समय एकादेशको कथा जस्तै भइसक्यो,’ उनी भन्छन्।

०००
कलेज पढ्नका लागि भीम थापा भारतबाट काठमाडौं आए। त्यस बखत ठमेलको सैनिक निवास होस्टेलमा भूपू आर्मीका छोराहरुलाई राखिन्थ्यो। उनी पनि त्यहीं बस्न थाले।

फुटबलप्रतिको मोह घटेको थिएन। भारतबाट आएपछि उनले एनआरटी क्लबबाट पहिलो पटक फुटबल खेले। त्यसपछि ठमेल टिमबाट फुटबल खेल्न थाले। त्यतिबेला ठमेल टिम सबैभन्दा बढी चल्तीको फुटबल क्लब थियो। ठमेलका साथै डिल्लीबजारको महावीर क्लब, असनको आरसिटी क्लब र पाटनको फ्रेन्ड्स क्लब चर्चामा थिए।

उनलाई अझै याद छ, हरेक खेलमा दर्शकहरु नराम्रोसँग झगडा गर्थे। ‘आफ्नो टिमको सपोर्टमा दर्शकबीच मारामार नै हुन्थ्यो। जसको खेल हुने हो, त्यो दिन एरिया नै पूरै बन्द जस्तै हुन्थ्यो,’ थापाले विगत कोट्याए, बाटो सुनसान हुन्थ्यो, पसलहरु बन्द हुन्थे। टोलटोलबाट समर्थकहरु हुटिङ गर्न खेल मैदान पुग्थे।’

अहिलेजस्तो मनोरञ्जनका साधन खासै नभएका कारण पनि फुटबलमा क्रेज बढी भएको हुनुपर्छ।

फुटबलका लागि टुँडिखेल नै पहिलो च्वाइसमा पथ्र्यो। प्राक्टिसका लागि त धेरै खाली जग्गा थिए। ‘पछि रंगशालामा खेल्न थालियो,’ उनी त्यतिबेलाको मैदान सम्झन्छन्, ‘रंगशालामा घाँसे मैदान थियो, अहिलेको भिआइपी मैदानमा सानो प्याराफिट थियो, हामी त्यहीं खेल्थ्यौं।’

फुटबल खेल्दाखेल्दै पढाइ पनि सँगसँगै लगिरहेका थिए भीमले। उनले पढाइको महत्व राम्ररी बुझेका थिए।

विसं २०२९ मा नयाँ शिक्षा लागू भयो। त्यही वर्ष उनले स्नातक सिध्याए। नयाँ शिक्षा नीतिमा हरेकलाई संगीत र नृत्य, पिटी एन्ड डिल, एथलेटिक्स र खेलकुद गरी चार वटा सिपको प्रशिक्षक राख्दै सिकाइने व्यवस्था थियो। जसमा प्रशिक्षक हुन पहिले खेलेर आएका खेलाडी हुनुपथ्र्यो। उनले पनि दरखास्त दिए र प्रशिक्षकका रुपमा काम पाए।

भीम सुदूरपश्चिमाञ्चलका लागि खेलकुद प्रशिक्षकका रुपमा छानिए। सुदूरपश्चिमाञ्चलका सबैजसो जिल्लामा १–१ महिना गरी ५ वर्ष काम गरे। त्यहाँको अनुभव खासै मिठो थिएन। त्यसपछि उनी काठमाडौं सरुवा भए। ३ वर्ष काठमाडौंमा काम गरेर उनले राजीनामा दिए।

काठमाडौं आउँदा पहिले क्लबबाट खेल्ने सबैले चिन्थे उनलाई। चिनेजानेकाले ‘ओहो! फुटबलको बारेमा थाहा नै नभएका स्कुलस्कुलमा कहाँ प्रशिक्षण दिइराखेको?’ भन्थे। पछि उनी आफैंलाई पनि यो ठिक लागेन। ‘कहिल्यै फुटबल लै नछोएका शिक्षकहरुलाई १५ दिन, १ महिना प्रशिक्षण दिएर के सिकाउने र तिनले विद्यार्थीहरुलाई कस्तो सिकाउलान्? यसरी त भएन भन्ने लाग्यो,’ भीमले सुनाए।

०००
नेपालगञ्जमै हुँदा एक जना जापनिज केटीले नेपालको डन्डी–बियो लगायतका लोकल खेलबारे किताब लेखेको देखे उनले। साथमा फुटबलको नियम, खेल्ने तरिकालाई नेपालीमा लेखेर किताब निकालिएको थियो।

‘परदेशीले समेत नेपालमा आएर फुटबलको लागि काम गरिरहेकी छिन् भने म किन परिणामशून्य काममा अल्झिएँ भन्ने लागेर जागिर छोडें,’ उनले भने, ‘अनि म फुटबल मैदानमै फर्किएँ।’

त्यतिबेला उनले पञ्जाबको पटियालामा डिप्लोमा इन फुटबल कोर्ष पूरा गरेका थिए। जसलाई एनआइएस पटियाला अर्थात् नेसनल इन्स्टिच्युट अफ स्पोर्टस पनि भनिन्छ। जहाँ हरेक खेलको डिप्लोमाको कोर्ष गर्न पाइन्छ।

भीम थापा एक वर्षे कोर्ष गर्न भारतको देहरादुन पनि पुगे। त्यतिबेला ओलम्पिक कमिटीका अध्यक्ष शरदचन्द शाह त्यहाँ थिए। शाहको सानो जिउडाल देखेर कसैले पनि त्यति वास्ता गरेनन्। नेपाली भनेपछि हेप्ने परिपाटी नै थियो। थापाले विगत सम्झिए, ‘जब शरदचन्द्र शाहले मन्तव्य दिए, सबै पक्क परे। शाहले खेलकुदको इतिहास र प्लान बारेमा बोल्दा सबै उनका फ्यान भए।’

हिजोसम्म नेपाली भनेर हेप्न खोज्नेहरुले त्यसपछि भने राम्रो व्यवहार गर्न थालेको थापा बताउँछन्। ‘ओहो! नेपाली त खतरा पो हुन्छन् भनेर हेर्ने दृष्टि नै फरक भयो,’ उनले भने।

कोर्ष गरेर फर्केपछि उनको कोचिङ करिअर सुरु भयो।

०००
देहरादुनबाट नेपाल आएपछि काठमाडौं ११ बाट दिल्लीमा खेल्न गएका थिए भीम। उनको टिममा अच्युतकृष्ण खरेल, बाबुराम पुन, कमल थापा, विष्णुगोपाल श्रेष्ठ, अनुप राणा लगायत थिए।

अच्युतकृष्ण खरेल टिमका क्याप्टेन थिए। उनीहरुको खेल पञ्जाब क्लबसँग थियो। संयोगले तत्कालीन राजा महेन्द्र पनि दिल्लीमा आएको समय परेछ। उनीहरुलाई मैदानमा राजा महेन्द्र पनि हेर्न आउँदैछन्, राम्ररी खेल्नुपर्छ भन्ने मानसिक दबाब थियो।

तर, केही कारणले त्यो दिन खेल स्थगित भयो।

त्यो साँझ नेपाली दूतावासले सबै नेपाली खेलाडीलाई डिनरको लागि बोलाएको थियो। त्यहाँ राजा महेन्द्र पनि थिए। ‘हामीले राजा महेन्द्रसँग परिचय ग¥यौं। खेलाडीलाई महेन्द्रले आजको खेल कस्तो भयो भनेर सोध्नुभयो,’ भीमले भने, ‘हामीले स्थगित भएको जानकारी गरायौं। त्यसपछि महेन्द्रले भोलि जितिन्छ, टेन्सन नलिनु भनेर ढाडस दिनुभयो।’

नभन्दै भोलिपल्ट उनीहरुले पञ्जाबलाई १–० ले खेल हराए। लगत्तै भएको बंगलादेशमा भएको खेलमा भने भीम थापाको टोली पराजित भएको थियो।

सन् १९७१ मा पनि नेपालले जापानमा खेल्न जाने मौका पाएको थियो। त्यो समयमा नेपाली फुटबल खेलाडीहरुले एसियामा राम्रो छवि बनाएको उनी बताउँछन्।

०००
कोचका रुपमा आएपछि भीम थापालाई धनगढी र नेपालगञ्ज खटाइयो। प्रशिक्षणको लागि मैदानभरि ४–५ सय भन्दा बढी मान्छे हुन्थे। उनी सबैलाई खेलाउँदै, छान्दै २५ जनाको टिम तयार पार्थे। विभिन्न अञ्चल, जिल्लामा यसरी नै टिम बनाउँदै प्रशिक्षण दिँदै सन् १९८४ मा कोचका रुपमा जनकपुर पुगेका थिए उनी।

त्यतिबेला तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह खेलकुद परिषदका संरक्षक थिए। धिरेन्द्र जनकपुर आएका थिए। राजपरिवारका सदस्य आउँदा विभिन्न ओहोदाका व्यक्तिहरु लाइन लागेर बस्नुपथ्र्यो। भीम थापा पनि जिल्लाका प्रशिक्षकका रुपमा लाइनमै बसे।

उनीसँगै फुटबल खेलेका कमल थापा त्यसबेला माननीय र खेलकुद परिषदको सदस्य भइसकेका थिए। कमल थापा पनि धिरेन्द्रसँगै आएका थिए। लाइनमा उनलाई देख्नासाथ कमल थापाले तपाईं काठमाडौं आएर राष्ट्रिय टिम हेर्नुपर्यो भनेको भीमलाई अझैं सम्झना छ।

उनी भन्छन्, ‘त्यसबेला मेरो दिमागमा त्यस समयका टप खेलाडीहरु रुपकराज शर्मा, गणेश थापा, लोकबहादुर शाही, धीरेन्द्र प्रधान, मानबहादुर मल्लको छवि आयो। यिनीहरुले मलाई टेर्लान् त? भन्ने लाग्यो तर यो मेरो लागि मौका पनि हो भनेर टेलिग्राम आउनासाथ गइहालें।’

काठमाडौंमा आएलगत्तै विश्वकप क्वालिफाइङ राउन्डको प्रशिक्षण सुरु भयो। मलेसिया, कोरिया र नेपाल खेल्नुपर्ने थियो। खेल सुरु हुनु दुई हप्ता अगाडि विदेशी कोच बोलाइयो। त्यसपछि भीमले सहायक कोचका रुपमा काम गरे।

फिफाले पाकिस्तानको पेसावरमा फिफा एकेडेमी राख्यो। जहाँ चार जना नेपाली खेलाडी प्रशिक्षणमा जान पाइन्थ्यो। भीम थापाले त्यो मौकालाई चुक्न दिएनन्। मलेसिया र कोरियामा खेलाडी लिएर जानुभन्दा सिक्न जानुलाई प्राथमिकता दिए। उनको एउटै सूत्र छ, हामी पोख्त कहिल्यै हुँदैनौं। सधैं नयाँनयाँ टेक्निक सिक्दै जानुपर्छ।

सन् १९८४ मा काठमाडौंमा १३ वटा देशको एसियन युथ राउन्ड भएको थियो। उनी कोच भएर पनि फुटबल हेर्न पाएनन्। त्यतिबेला टेक्नोलोजीमा टाइपराइटर मात्रै थियो। मैदानमा देशको नाम, खेलाडीको नाम, स्कोर आदि समय समयमा टाँसिराख्नुपर्ने। यसको सबै जिम्मा नै भीम थापालाई थियो।

उनको अंग्रेजी लेखपढ पनि उत्तिकै राम्रो र अंग्रेजीमा टाइप गर्न पनि जान्ने। अंग्रेजी टाइप गर्ने जान्ने खेलकुद परिषदमा कोही पनि थिएन। साथै कागजी लेखपढ गर्नुपर्ने कामहरु पनि उनैको जिम्मामा थियो। अंग्रेजीमा पोख्त भएकै कारण विदेशमा हुने प्रायः प्रशिक्षणहरुमा उनैलाई पठाइन्थ्यो। एएफसीका थुप्रै प्रशिक्षण लिएका भीम थापा एएफसीको सी लाइसेन्सको पाठ्यक्रम बनाउनेमध्ये एक हुन्।

आफूले सिकाएका चेलाहरु रुपक थापा शर्मा, राजु शाक्य, गणेश थापा, धिरेन्द्र प्रधानले फुटबलमा गरेको सफलताबाट उनी दंग छन्। तर अहिले आएका नयाँ खेलाडीहरुमा सेल्फ डिसिप्लेनको कमी भने महसुस गर्छन् भीम। भन्छन्, ‘खान, बस्न, पढ्न, खेल्नसम्म पनि आत्मअनुशासन जरुरी हुन्छ। जुन अहिलेका पुस्तामा कमी हुँदै गएको देख्छु।

कवि, कलाकारसँग संगत र सम्मान
सन् १९६० तिरदेखि नै उनलाई पत्रपत्रिकामा रुचि थियो। उनी विभिन्न विषयका पुस्तक पढ्थे। उनको सिद्धिचरणदेखि गोपाल योञ्जन, भूपी शेरचनसम्म संगत रह्यो।

‘गोपाल योञ्जन हात्तिसारमा बस्थे। उनको गीत–संगीत खुब मन पर्ने। समय मिल्यो कि योञ्जनको घरमा पुगिहाल्थें,’ भीमले भने। गोपाल योञ्जनसँगै भूपी शेरचनको घर पुगेका थिए उनी। भूपी कविका रुपमा परिचित थिए। भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सयौं पटक पढेको अनुभव छ, भीमसँग।

तत्कालीन राजाको जन्मोत्सव पुलिस क्लबमा मनाइन्थ्यो। त्यहाँ योञ्जनले नै गीत प्रस्तुत गर्दथे। त्यहाँ भीमले अरुणा लामा लगायत गायक–गायिका पनि भेटे।

भीम थापा फुटबल खेलाडी भए पनि सबै क्षेत्रमा ज्ञान राख्नुपर्छ भन्ने व्यक्ति थिए। उनको घरको मुख्य भित्तामा नेपालका अग्रज कवि, गीतकार, गायक, गायिकाहरु सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, अरुणा लामा, अम्बर गुरुङ, बालकृष्ण सम आदिका अटोग्राफहरु भित्तामा सजाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 

‘एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्‍यागिङ गर्दा रहेछन्। यो कुरा एमबिबिएस पढ्न कलेज भर्ना भएपछि मात्रै थाहा पाएँ,’ २०७४ सालदेखि सिभिल अस्पतालमा कार्यरत छाला तथा....

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको....

हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर

जितपुर त्यति बेला पश्चिम जाने मुल बाटो थियो, अहिलेको राजमार्गहरू जस्तै। मदनकृष्ण श्रेष्ठ गाउँ, टोलमा गीत गाउँदै, भजन गाउँदै हिँड्थे। ८ वर्षका मात्र थिए उनी....

ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

मैले जानेको कुरा अर्कोलाई सिकायो भने त ऊ मभन्दा जान्ने भइहाल्छ, म तल पर्छु भन्ने भ्रम धेरै छ प्रहरीमा। वास्तवमा यो सोच गलत हो। आफूमा....

चौथो अंग : ...बरु भेडा चराउन सजिलो

पछि सरकारी ओहोदा र जिम्मेवार तहमा बसेका व्यक्तिले गरेका गलत काम बाहिर आउन थाल्यो। यसरी लुकाएर राखिएका गलत काम खोजेर सार्वजनिक गर्ने कामलाई खोज पत्रकारिता....