हिजोका कुरा : प्रेमध्वजलाई मुम्बई पलायन गराउने ‘नक्कली’ समाचार

हिजोका कुरा : प्रेमध्वजलाई मुम्बई पलायन गराउने ‘नक्कली’ समाचार
तस्बिर : कृष्पा श्रेष्ठ।

०००
गायक प्रेमध्वज प्रधानको परिवार भक्तपुरबाट ६ पुस्ताअघि सिन्धुपाल्चोकको चौतारा पुग्यो। जम्मा पारेको ३७ पैसा बोकेर त्यसैले किनेको सामान लिएर ६ पुस्ता अघिका रूपनाराराणयण प्रधान चौतारा पुगेका थिए।

रूपनारायणका छोरा हरिनारायण, हरिनारायणका छोरा गजकेशर र नारायणकृष्ण, नारायणकृष्णका छोरा विष्णुध्वज र उत्तरध्वज, उत्तरध्वजका छोरा रत्नध्वज र रत्नध्वजका छोरा हुन्, प्रेमध्वज। चौतारामा घरजम भए पनि प्रेमध्वजका बाजेले काठमाडौंको बांगेमुढामा पनि घर किनेका थिए। पाटनकी युवतीलाई बिहे गर्न उनका बाजेले यतै घर किनेका थिए। अनि बसाई सिन्धुपाल्चोकको चौतारासँगै काठमाडौंमा पनि टुटेन।

दरबारमा नाच देखाउन जाँदा आमा र बुबाको देखादेख
चौताराको घरमा बाजेले गीत गाउँथे। बैठक कोठामा शास्त्रीय संगीतको कार्यक्रम आयोजना गरिरहन्थे। प्रेमध्वजका बुबा पनि नाच–गान र नाटक भनेपछि हुरुक्कै। बांगेमुढामा बस्दा उनका बुबा नेवारी परम्परागत नाच–गान र जात्राका कार्यक्रममा बढी सहभागी हुन्थे।

इन्द्रजात्राको अवसरमा तत्कालीन नारायणहिटी दरबारमा नाच देखाउन जाने कलाकार समूहमा रत्नध्वज पनि थिए। दरबारमा नाच देखाउन जाँदा त्यहाँ बस्दै आएकी प्राणदेवी तुलाधरलाई उनको बुबाको नजर जुध्यो। उनीहरूको देखादेख भयो। तर, दरबारमा बसेकी युवतीलाई प्रेम प्रकट गर्ने अवस्था थिएन।

प्राणदेवी काठमाडौं असनकी तुलाधर परिवारकी छोरी। आमाको सिफारिसमा उनलाई १० वर्षकै उमेरमा राजदरबारभित्र नाच–गान र वाद्यवादन सिक्न पठाएको रहेछ। त्यसबेला राणा, शाह र दरवारसँग सम्बन्धित सन्तानहरूलाई दरबारमा राखेर संगीत, नाचहरू सिकाइन्थ्यो। त्यति बेला रमोलादेवी शाह, छिन्नलता पनि उनकी आमासँग दरबारमै थिए।

उनको आमाले सुनाएको दरबारको कथा अहिले पनि उनको स्मरणमा ताजै छ।
‘आमालाई त्रिभुवनकी आमाले असाध्यै माया गर्ने रहेछन्,’ प्रेमध्वजले भने।

दरबारमा उस्ताद श्रीमानले तबला, हार्मोनियम, गायन र नृत्य सिकाउँथे। प्रेमध्वजको आमाले दरबारमै बस्दा तबला, गायन र हार्मोनियम बजाउन सिकेकी थिइन्।  त्रिभुवनकी आमाको मृत्युपछि प्रेमध्वजकी आमा दरबारबाट बाहिर निस्किइन्।

दरबारबाट बाहिरिएपछि उनको आमा र बुबाको भेट काठमाडौंका गल्लीहरूमा सुरु भयो। बांगेमुढा र असन नजिकैको टोल। मन मिल्यो अनि विवाह भयो। उनीहरू चौतारा गए। प्रेमध्वज त्यतै जन्मिए।

बहुविवाह अनि पारपाचुके

नेवार समुदायमा सीमित जातबीच मात्रै बिहेवारी चल्ने प्रचलन थियो। जातीय समस्या चर्को थियो। तुलाधर जातकी युवतीलाई रत्नध्वजले बुहारी बनाएकोमा प्रेमध्वजका बाजेलाई चित्त बुझेको थिएन। त्यसैले त प्रेमध्वज ६ महिनाको हुँदा उनको बुबाको दोस्रो विवाह भयो मास्केथरीसँग।

त्यसपछि उनको आमा चौताराबाट काठमाडौं आइन्। र, यतै बस्न थालिन्। प्रेमध्वज पहिलो नाति। बाजेबज्यैको मन पर्ने नै भए। उनी पनि आमासँगै काठमाडौं आए पनि डोकोमा राखेर चौतारा पुर्याइरहन्थे परिवारले।

‘काठमाडौंबाट ३ देखि ५ दिनसम्म लगाएर डोको बोकेर चौतारा पुग्दाको ज्याला ५ रूपैयाँ थियो,’ उनले सम्झिए, ‘वर्षमा ८, ९ पटक म डोकोमा बसेर चौतारा पुग्थे।’

कति डोकामा राखेर ल्याइरहने भनेर उनको काकाहरूले उनको आमालाई पत्तै नदिई प्रेमध्वजलाई चौतारा पुर्याए। त्यो बेला उनी पाँच वर्षका थिए।

यता आमाले उनलाई खोज्न थालिन्। चौतारा पुगेको छोरा काठमाडौंमा कसरी फेला पर्नु ! उनको आमाले हनुमानढोकामा रहेको प्रहरीमा निवेदन दिइन्। छोरालाई चौतारा पुर्याएको थाहा पाएपछि उनले जुद्ध शमशेरकोमा पुगेर ‘छोरा झिकाई पाउँ’ भनेर निवदेन दिइन्।

जुद्ध शमशेरवाट हुकुम भयो, ‘प्रेमध्वज र उनका बुबालाई चौतारावाट झिकाउनू।’
श्रीमानले अर्को विवाह गरेकोमा उनकी आमाको चित्त दुखेको थियो। उनले जुद्ध शमसेरसामु पारपाचुके गरिपाउँ भनेर बिन्ती गरिन्। चारखाल अड्डामा गएर अंशवापत ७ सय रूपैयाँ लिएर उनको आमा र बुबाको छोडपत्र भयो।
‘त्यो बेला म घरमा आमा कुरेर बसेको थिएँ,’ उनले भने, ‘आमा पटुकाभरि गह्रुँगो सिक्काहरू बोकेर घर आउनुभयो। सिक्का गन्दागन्दै थाकेको थिएँ म।’

सम्बन्धविच्छेदपछि उनको आमा घरबाट डेरामा सरिन्। डेरामा बस्दा छोरा बिग्रिएला भनेर उनलाई बुबासँगै राखिएको थियो।

उनी फुर्सद भयो कि दगुरेर आमाकहाँ पुगिहाल्थे। कहिले यता बस्यो, कहिले उता। बालकै त थिए उनी। आमाबुबा छुट्टै बसेकोमा पीडाभन्दा रमाइलो लाग्थ्यो रे।

‘मलाई ओहो मेरो त तीन वटा घर छ जस्तो लाग्थ्यो,’ उनले भनिन्।
न्युरोडमा रत्नध्वजको कपडाको पसल थियो। उनी ८ वर्षको थिए। त्यही उमेरबाटै उनी पनि पसलमा बस्न थाले। टेप र कैंचीसँग उनको मित्रता भयो।

‘बुबा नघलको घरमा, आमा महाबौद्धको डेरामा हुनुहुन्थ्यो। म यता र उता गरिरहन्थे। १८ वर्ष लामो महाबौद्धको डेरा छाडेर आमा जमलको विश्वज्योति हल पछाडि डेरा सर्नुभयो,’ उनले सम्झिए।

आमा जमलमा सरेपछि नै हो प्रेमध्वजको सांगीतिक यात्रा सुरु भएको।

आमा नै पहिलो गुरु

आमाले नै उनलाई सारेगम र तबलाको ज्ञान दिइन्। आमाले दरवारमा जे जति सिकिन्, छोरालाई सबै सिकाइन्। गायनको साथमा ताल, सुरको ज्ञान चाहिन्छ भनेर तबला, हार्माेनियम र क्लासिकल गायकीको ज्ञान पनि दिइन्। आमाको संगीतप्रतिको लगावले प्रेमध्वजलाई पनि संगीतको मोह बस्दै गयो।

उनले आमाकै संगीतमा ४ वटा भजन पनि गाए।

रेडियो नेपालको स्वर परीक्षण

२००६ सालमा विराटनगरमा रेडियो खुल्यो। २००७ सालको आन्दोलन सफल भएपछि सिंहदरवारमा आयो रेडियो। अनि उनको आमाले गाउन थालिन् रेडियोमा। प्राणदेवीले ६ र ७ वटा गीतहरू गाएको उनलाई सम्झना छ।

प्रेमध्वज रेडियो नेपालको प्रशारण सुरु भएदेखि बन्द नभएसम्म सुनेको सुन्यै गर्थे दिनभर।

त्यति बेला सेतुराम श्रेष्ठ, मेलवादेवी गुरुङ, मित्रसेन, रत्नदाश प्रकाश र रानुदेवीका गीतहरू बज्थे। २००९ सालमा रेडियो नेपालमा उनले स्वर परीक्षा पास गर्दा नातीकाजी, शिवशंकर मानन्धर, पन्नाकाजी, हरिप्रसाद रिमाल, गोविन्दलाल, उस्ताद भैरवबहादुर थापा, तारादेवी, कोइली देवी, उस्ताद रामबहादुर, उस्ताद नारायणप्रसाद तण्डुकार, ज्ञानबहादुर, चेतनाथ शर्मा रेडियो नेपालका जागिरे कलाकार भइसकेका थिए।

हरेक आइतबार रेडियो नेपालमा स्वर परीक्षण हुन्थ्यो। समय मिलाएर उनी हरेक आइतबार सुन्थे। त्यसबेला एकजना फुच्ची केटी हार्मोनियम बजाएर लता मंगेशकरको गीत गाइरहेको सुने उनले। उनको हार्मोनियमको तालै मिलिरहेको थिएन।

‘ओहो योभन्दा म धेरै राम्रो गाउन सक्छु, मसँग त सुर र तालको पनि ज्ञान छ भन्ने लाग्यो,’ उनले भने।

उनले फर्म भरेर त्यही दिन स्वर परीक्षा दिए।

त्यति बेला स्वर परीक्षण लिने व्यक्ति थिए– वाद्यशिरोमणि गणेशलाल श्रेष्ठ। स्वर परीक्षामा हिन्दी गीत गाउन छुट थियो।

प्रेमध्वजले ‘जिन्दगी देने वाले’ बोलका गीत गाए। तीन दिनपछि उनलाई रेडियोमा बोलाइयो।

‘मनमा दुविधा थियो, के होला ?’ उकेराकर्मीसँग मन धुकचुक भएको दिन सम्झिए उनले, ‘तेस्रो श्रेणीसम्म त आइएला कि भन्ने आश त थियो।’

उनी ‘क’ श्रेणीमा पास भए।

स्वर परीक्षामा उत्तीर्ण भएपछि महिनामा २ वटा गीत गाउन पाउने भए उनले। अहिलेजस्तो रेकर्डिङ हैन लाइभ गाउनुपर्ने। प्रशारण पनि लाइभ।

‘एक ठाउँमा कसैको बिग्रियो भने सुरुदेखि फेरि गाउनु र बजाउनुपर्ने,’ उनले भने।

त्यति बेला ‘क’ श्रेणीमा पास भएकाले एउटा गीत गाएको १० रूपैयाँ, ‘ख’ श्रेणीमा पास भए ८ रूपैयाँ अनि ‘ग’ श्रेणीमा पास भए ५ रूपैयाँ पारिश्रमिक पाइन्थ्यो।

उनी ‘क’ श्रेणीका गायक। महिनामा २ वटा गीत गाउँदा २० रूपैयाँ पाउँथे। १९ रूपैयाँ आमालाई लगेर दिन्थे, एक रूपैयाँ आफैं राख्थे।

वाद्यशिरोमणि गणेशलालसँग संगीत शिक्षा
एक रात सपनामा उनले स्वर परीक्षा लिने गुरु उस्ताद गणेशलाललाई देखे। गुरुसँग संगीत सिक्न पाए भन्ने उनको मनमा गढेको थियो। आमाको चाहना पनि त्यही रहेछ।

पाटन निवासी गणेशलाल त्यति बेला कान्छी श्रीमतीसँग इन्द्रचोक नजिकको बालकुमारीमा बस्थे। प्रेमध्वजले त्यही गएर १७ महिना संगीत सिके। 

उनको औपचारिक संगीतको गुरु भए गणेशलाल।

उनलाई अझैं याद छ– उस्ताद गणेशलालले सारेगमको ‘सा’ स्वरको उच्चारण राम्रो भयो भने अरु उच्चारण त्यसै राम्रो हुन्छ भनेको। हरेक शुक्रबार गुरुको बैठकमा सांगीतिक प्रस्तुति हुन्थ्यो, जहा“ प्रेममध्वजलाई तबला बजाउन लगाइन्थ्यो।

‘२०१० सालको कुरा हो यो। म बिहान ७ बजेदेखि साढे ९ बजेसम्म गुरुकोमा पुगेर संगीत साधना गर्थें,’ उनले भने, ‘संगीतमा ‘सा’ स्वरको भूमिका कति हुन्छ भन्ने त्यही सिकें। कति महिना त ‘सा’ मात्रै गाउन लगाउँथे।’

सिकाएवापत पैसा लिने–दिने चलन थिएन। चेलाले गुरुदक्षिणास्वरू गुरुले भनेको मान्नुपथ्र्याे, सिकाएको राम्रोसँग सिक्नु पर्थ्यो।

गुरु दुवै आँखा नदेख्ने। उनी हरेक बिहान हात समाएर सिंहदरबारसम्म पुर्याइदिन्थे।

‘उस्ताद गणेशलाल जस्तो कलाकार त संसारमै जन्मेका छैनन्। उहाँले १६ वटा तबलामा तबलातरंग बजाउ“दा होस् वा जलतरंग, सरोद, इस्राज बजाएर सुनाउ“दा सबै लठ्ठै हुन्थे,’ उनले गुरु सम्झिएँ।

पसलमा बस्ने समय लम्बिन थाल्यो उनको। बुबाले कडाइ गर्न थाले। संगीत सिक्ने उनको यात्रा १६ महिनामा टुंगियो।

९ कलाकारको जमघट
त्यतिबेला संगीतका हस्तीहरू कम थिए। तर जति थिए एकसेएक थिए। डा. राममान तुषितले यस्तै हस्तीहरूको भेटघाटको लागि ९ कलाकार खोले।

नारायण गोपालको घरसँगै जोडिएको घरमा कोठा लिइयो। डेरामा हार्माेनियम, तबला, तानपुरा हुन्थे। नारायण गोपाल, प्रेमध्वज, माणिक रत्न, योगेश बैद्य त्यहाँ गइरहन्थे। त्यहाँको गफको विषय उही संगीत त थियो।

धेरैसँग रेडियोको पहुँच थिएन। सितारवादक नारायणप्रसाद श्रेष्ठको रोटी पसल थियो, जहाँ रेडियो पनि थियो। ९ कलाकार त्यही गएर उनीहरू सिलोङ्ग, विविध भारत, अल इन्दिया रेडियो सुन्न झुम्मिन्थे।

नारायण गोपालसँगको सम्बन्ध

भेडासिंहस्थित कपास पसलको व्यापारी लक्ष्मण श्रेष्ठ त्यसताका प्रेमध्वजका मिल्ने साथी थिए। लक्ष्मणसँग पैसा हुने नै भयो, व्यापारी जो परे। अनि प्रेमध्वजका शौखहरू उनले नै पूरा गरिदिन्थे।

‘चिया खुवाउने, हलमा लगेर फिल्म देखाउने, उही हो,’ प्रेमध्वजले लक्ष्मणलाई सम्झिएँ।

उनकै पसलमा भेटिए नारायण गोपाल। पसलमा बसेर नारायण गोपाल फलेक ठोक्दै गीत गाउँथे। भेटघाट बाक्लदै जाँदा दुवै अनन्य मित्र बने।

प्रेमध्वजले नारायण गोपाललाई चौतारासमेत लगेका छन्। काठमाडौंबाट हिँड्दै चौतारा पुगेर उनीहरू १५ दिन बसे। त्यहाँ बस्दा पनि गायन यात्रा रोकिएन। स्थानीय बिकुलालको घरमा हरेक दिन मेहफिल जम्थ्यो। दुवै मस्त गाउँथे, रमाउँथे।

३ दिन एकल साझ
कमाई जोडजाड पारेर उनले ज्याथामा जग्गा किनेका थिए। तर, आमाको डेरा बसाई सकिएको थिएन। ‘आमालाई आफ्नै घरमा राख्न पाए हुन्थ्यो,’ उनी भित्रभित्रै कल्पिन्थे। तर, उनीसँग पैसा थिएन घर बनाउने।

उनी बिएको परीक्षाको नतिजा कुरेर बसेका थिए। घर बनाउने आर्थिक स्रोतबारे सोच्दासोच्दै एकल साँझ गर्ने परिकल्पना गरे। एकल साँझ त हुन्थे। तर, एक दिनको। उनले तीन दिन गर्ने योजना बनाएर नाम राखे– ‘साँझको रिमझिम’

यो नामचाहिँ गीतकार रत्नशमशेर थापाले जुराइदिएका थिए।

एकल साँझका लागि वाद्यवाधकहरूले खुब सघाए उनलाई। तीन दिनको कार्यक्रमबाट ५ हजार ६ सय रूपैयाँ कमाई भयो। विज्ञापनमा १ हजार ३ सय रूपैयाँ खर्च भएको थियो। जति जोगियो त्यति रकम घर बनाउन काफी थियो।

अमेरिकन पुस्तकालयमा जागिर
आमालाई हेर्नुपर्ने जिम्मेवारी। कमाइको निश्चित बाटो थिएन। रेडियोमा महिनामा दुईवटा गीत गाएर जीवन गुजारा गर्ने गाह्रो भयो।

पहिला त उनले रेडियो नेपालमै जागिरको प्रयास नगरेका पनि हैनन्। तर, जागिर पाएनन्। उनले जे काम भए पनि हुन्छ, माइक मिलाउनेदेखि कार्यालयको हरेक काम गर्छु भने। तर, जागिर पाएनन्।
त्यो समय नातीकाजीलगायत गायकहरूले सय रूपैयाँ तलब पाउँथे।

‘मैले त ५० रूपैयाँ तलब देऊ, जे पनि काम गर्छु भनेको थिएँ। तर, मलाई पत्याएनन्,’ उनले भने।

उनले त्यही समय आइएस्सीको पढाइ पनि छोडे। जताततैबाट निरासा मात्रै हात लाग्यो। त्यही बेला अमेरिकन पुस्तकालयमा आवेदन खुलेको थियो। तलब पनि राम्रै हुन्छ भन्ने सुनेपछि उनले आवेदन दिए।
जागिर भयो। २०१५ सालदेखि मासिक ७५ रूपैयाँमा उनी अमेरिकन पुस्तकालयको जागिरे भए। यता पुस्तकालयमा जागिर पक्का भयो, उता रेडियोले जागिर खान बोलायो। उनले आउन्न भनिदिए। महिनाको २ दिन बिदा

निकालेर गीत गाउने क्रम भने जारी रह्यो। त्यो क्रम २००९ देखि २०५२ सम्म निरन्तर चल्यो।

माइतीघरको गीतका लागि मुम्बई यात्रा
रेडियोमा गीत रेकर्डै नहुने। स्टुडियो छिर्यो, लाइभ गायो। २०१४ सालमा अमेरिकन दूतावासले गीत रेकर्ड गर्न मिल्ने मेसिन दियो रेडियो नेपाललाई। मेसिन आएपछि स्वर परीक्षा पास भएका सबैलाई एउटा–एउटा गीत रेकर्ड गर्न दिने भयो।

प्रेमध्वजले नातीकाजीको संगीत र भूपी शेरचनको रचनामा तारादेवीसँग ‘यो नेपाली शिर उचाली’ बोलको गीत रेकर्ड गराए। रेडियोमा २०२३ बाट भने नियमित रेकर्ड हुन थाल्यो।

‘नमान लाज यसरी’ बोलको गीत रेकर्ड गर्न नर शमशेर, प्रदीप रिमालसँग उनी भारतको मुम्बई पुगे। अनी उषा मंगेशकरसँग युगल गीत गाए। यो गीत फिल्म ‘माइतीघर’का लागि थियो।
गीत रेकर्डिङका लागि उनले एक महिना बिदा लिनु परेको थियो कार्यालय। उषा मंगेशकरको नेपाली लवज बिग्रिने। उनले सिकाएपछि एकै दिनमा उनले गीतको नेपाली टोन टिपेको अहिले पनि सम्झन्छन् प्रेमध्वज।
‘गीत गाउँदा कानमा इएरफोन लगाएको पहिलो पटक यही गीतमा हो,’ उनले भने।

तत्कालीन बम्बईमा गीत रेकर्ड गर्दैगर्दा  बाँसुरीको धुन सुने उनले। कस्तो लठ्ठ पार्ने धुन ! हरिप्रसाद चौरासियाले बजाएका थिए बाँसुरी। बाँसुरीको धुनपछि प्रेमध्वजले गाउनुपर्ने। तर, बासुरीको धुनमा मग्न हुँदा गाउनै बिर्सने रहेछन् उनले।

नेपाल भाषाका गीत
त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्दै गर्दा क्याम्पसको सांस्कृतिक कार्यक्रमको जिम्मा प्रेमध्वज र राममान तुषितले पाएका थिए। बम्बईमा जाँदा परिचय भएका देवेन्द्र श्रेष्ठले प्रेमध्वजलाई आफूले नाच्ने ज्यापू नृत्यको लागि नेवारी गीत गाउन अनुरोध गरे। भृगुरामको लय र दुर्गालाल श्रेष्ठको रचनामा नेवारी गीत गाए।

त्रिचन्द्रको कार्यक्रममा ब्याकग्राउन्डमा बसेर प्रेमध्वजले नेवारी गीत ‘व छु गल्ली थो छु गल्ली’ गाएका थिए। त्यस्तै, फिल्म ‘राजमती’ को गीत भने उनले दर्शनदाससँग लिएका  रहेछन्। उनले आफ्नो गायन यात्रामा १ सय २५ वटाभन्दा बढी नेवारी गीत गाए। उनले गाएका अधिकांश गीतको रचनाकार दुर्गालाल श्रेष्ठ हुन्।

झण्डै मुम्बई पलायन 

सन् १९६२ देखि १९६५ सम्म उनी भारतको कलकत्तामा गएर २४ वटा गीत रेकर्ड गराए। त्यहाँ आउन, जान र रेकर्ड गराउन सबै आफैले खर्च गर्नुपर्थ्यो। रेकर्ड गरेपछि २ सय कपी किन्नुपर्थ्यो।
१ कपीको २ भारू पर्थ्यो। त्यसको लागि मात्रै ४ सय भारू चाहिन्थ्यो। अनि त्यही क्यासेट नेपालमा ५ रूपैयाँमा बेच्ने चलन थियो।

उनी १ वर्षको लागि भारतको मुम्बई पुगे। त्यहाँ जानुको कारणचाहिँ संगीत कोर्स। कोर्सको लागि ४ वर्ष लाग्ने भएपछि उनी सिक्ने रहर मनमै राखे।

प्रेमध्वज भारत गएपछि साप्ताहिक विमर्शमा ‘प्रेमध्वजले नेपाल छाडे’ भन्ने समाचार छापिएछ। आमाले समाचारको कटिङ राखेर चिठी पठाइन्। उनी त्यहाँ आठ महिना बसे। उनी दिनभर हिन्दी फिल्मको डबिङ हेर्न जान्थे। अनि रेर्कडिङ सुन्न जान्थे। उनले त्यही ६ वटा गीत पनि रेकर्ड गराए। ‘घुम्तिमा नआउँ है’ त्यही रेकर्ड गराएका थिए उनले।

यता नेपालमा आमा बिरामी भएको खबर पाएलगत्तै उनी नेपाल फर्किए।

२०२४ सालमा राजा महेन्द्र शाहले उनलाई गीतको संकलन दिए। त्यसमध्ये २ वटा गीत उनले गाए। महेन्द्रले ‘संगीतको कर्णतारा’ भनेको उनी सम्झन्छन् अहिले पनि।
एकपटक महेन्द्रले ज्ञानेश्वरमा शिवशंकर, नातीकाजीसँगै प्रेमध्वजलाई पनि बोलाए। उनी गितार बोकेर गए गाउन। त्यो भेटमा महेन्द्रले गितारको बारेमा मात्रै हैन,  समाचारबारे पनि सोधे, ‘तिमी त मुम्बईमै बस्न गएको सुनेको थिएँ त ?’

उनले वास्तविकता खुलाए, ‘हैन महाराज संगीत सिक्न मात्र गएको, पाइनँ अनि फर्किएँ।’

६ फागुन, २०७७, २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।