हिजोका कुरामा शास्त्रीय गायक प्रभुराज : जसका बाबुले गाउँदा राजा महेन्द्र तबला बजाउँथे

हिजोका कुरामा शास्त्रीय गायक प्रभुराज : जसका बाबुले गाउँदा राजा महेन्द्र तबला बजाउँथे

संगीत प्रवीण नरराज ढकालको घरमा सांगीतिक माहोल नहुने कुरै भएन। त्यही बेजोड सांगीतिक रहनसहनमा हुर्किए प्रभुराज ढकाल।

पुर्ख्यौली थलो क्षेत्रपाटीको धोबीघाटमा जन्मिएका प्रभुराज सानैदेखि आफ्ना बुबा संगीत प्रवीण नरराज ढकालसँग संगीत सिक्नका लागि बिहान ६ बजेदेखि नै मानिसको लस्कर देख्थे। नरराज तत्कालीन राजा महेन्द्रका निजी संगीतज्ञ थिए।

प्रभुराज र उनका भाइ प्रतीकको उमेर एक वर्षको मात्रै फरक थियो। यी दाजुभाइ सानोमा बहुत चकचके थिए। घरमा रहेको बुबाको हार्मोनियमको हरिबिजोग नै बनाएका थिए उनीहरुले। तीन/चार वर्षका प्रभुका दाजुभाइलाई हार्मोनियमको महत्व के थाहा? हार्मोनियममाथि उफ्रने, टेक्ने, भित्रको पर्दा कोट्याएर निकाल्ने गर्दारहेछन्।

संगीत प्रवीण नरराज तानपुरामा रियाजका गर्ने भएकोले हार्मोनियम कोठामा थन्किएका थिए। हार्मोनियम बिग्रेको थाहा पाएपछि नरराजले पर्दाहरु सबै झिके र हार्मोनियम भित्रको तामा वा पित्तलको रिट पनि निकालेर पोको पारे। रिट र पर्दा काम लाग्छ भनेर पोको पारेर राखेका थिए उनले। तर त्यो रिटलाई प्रभुले खाली सिसी किन्नेलाई ५० पैसामा बेचेर पठाइदिए। जुन कुरा बुबालाई कहिल्यै थाहा भएन।

उनीहरुको चकचकेपन देखेर बैठकका वाद्यवादन बिगार्लान् भनेर चिन्तित हुन्थे नरराज। छोराले तानपुरा  फुटाउला भनेर काठको दलिनमा चारैतिर डोरीले बाँधेर किलामा झुण्ड्याएर राख्थे।

प्रभुराजको बाक्य फुटेदेखि नै बुबाले विभिन्न मन्त्रहरु सिकाउँथे। प्रभुले पहिलो पटक सरस्वतीको मन्त्र सिकेका थिए। उनलाई अझै याद छ, दुई दाजुभाइलाई दायाँबायाँ काखमा राखेर रागमा आधारित गणेश मन्त्र,  संस्कृत मन्त्रहरु सिकाउँथे।

त्यतिबेला काठमाडौं एकदमै चिसो थियो, पूरै ठिहिर्याउने। उनी बिहानै बुबासँग शोभा भगवती मन्दिर जान्थे। विष्णुमतीमा गएर मुख धुन्थे र नित्यकर्म गरेर विष्णुमती र भद्रमतीको बीचमा नुहाउँथे। उनी भन्छन्, 'घर पुगेपछि बुबा मक्कलमा आगो बालेर हामीलाई तातो बनाइदिनुहुन्थ्यो। काखमा राखेर तानपुरामा भैरबमा आधारित गीत सिकाउनुहुन्थ्यो। त्यतिबेला सिक्ने रागमा आधारित 'पूर्व क्षीतिजमा सूर्य उदायो' गीत धेरै नै गाएँ मैले।'

प्रभुले सानैदेखि राग बन्दिसहरु गाउँथे। पूरै घोकेर २/३ वटा रागका गीतहरु स्कुलमा गाउँदा सबै छक्क पर्थे। उनी बनस्थली स्कुलमा सबैका प्रिय थिए।

प्रभुको परिवार नेपालको संगीतिक घरानामध्ये एक हो। उनका बुबा नरराज ढकालसँग सिक्न धेरै गायक-गायिकाहरु घरमै आउँथे। शास्त्रीय संगीतबाट श्रीराम आचार्य, धनबहादुर गोपाली, सकुन्तला प्रधान, सरोजनी तण्डुकार, सुमनकुमार शात्चित, भवनाथ शर्मा, केशव भट्टराई लगायत सिक्न आउँथे।

त्यस्तै सुगम संगीततिरबाट किरण प्रधान, ज्ञानु राणा, बच्चु कैलाश, योगेश वैद्य, मधु क्षेत्री, दीपक जंगम, आनन्द कार्की, न्ह्यु बज्राचार्य, देविका बन्दना, लोचन भट्टराई, सपनाश्री, रामकृष्ण ढकाल आदि घरमा आएर नरराज ढकालसँग सिक्थे। उनीहरुलाई सिकाइरहँदा प्रभु पनि छेउमा बसेर सिक्थे। तारादेवीलाई भने उनकै घरमा गएर नरराजले सिकाउँथे।

बिहानदेखि रातिसम्म संगीतले गुञ्जयमान हुने धोवीचौरको त्यो घर। कहिलेकाहीँ स्वर, संगीत सुनिएन भने टोलबासीहरु के भयो भनेर सोध्न आउँथे। त्यस्तो माहोलमा जन्मेका, हुर्केका प्रभुलाई संगीतप्रति रुचि नहुने कुरै भएन।

०००
प्रभुले एसएलसी दिने बेलातिर हिन्दी चलचित्र 'हिरो' प्रदर्शन भएको थियो। त्यस चलचित्रको एउटा गीतमा बाँसुरीको मिठो धुन थियो। उनलाई त्यो धुनले भित्रैसम्म छोयो। साथीले स्कुलमा बाँसुरी लिएर आउँथे, उनीहरु त्यो धुन बजाउँदै संगीतमा भुल्थे।

त्यही समयतिर प्रभुलाई दीपक खरेलको गीत 'तिम्रो त्यो हँसिलो मुहारले' खुबै मन पर्यो। त्यसको नोटेसनका लागि बुबाले सिकाएका श्रीराम आचार्यसँग लेखिदिन भन्दा 'यस्ता नोटेसनहरु आफैं लेख्ने हो' भन्ने जवाफले उनलाई संगीतका केही गरेरै छोड्ने भोक जाग्यो। त्यसपछि उनी बुबासँग मन दिएरै संगीत सिक्न थाले।

बिहान पब्लिक युथ क्याम्पसमा क्लास थियो तर उनलाई बिहान कलेजै जान मन पर्नै छाड्यो। घरमा बुबाले संगीत कक्षाहरु लिइराखेको देख्दा कपी, किताब थन्क्याएर संगीतको कक्षामा बस्ने गर्थे। त्यसरी पढ्दै म्यानेजमेन्ट विषयमा स्नातक गरे। साथै संगीतको पढाइ पनि अघि बढाइरहेका थिए। उनले प्रयाग संगीतबाट मास्टर्स पनि पास गरे। उनले त्यसअघि नै रेडियो नेपालमा शास्त्रीय र आधुनिक गायनमा भ्वाइस टेष्ट उत्तीर्ण गरिसकेका थिए।

०००
प्रभुराजले रेडियो नेपालमा शास्त्रीय गायकका रुपमा २०५१ सालदेखि झण्डै एक दशक काम गरे। रेडियोमा गीत गाउँदागाउँदै काठमाडौं युनिभर्ससिटी र ललितकला क्याम्पसमा पनि काम गरे।

उनलाई सुरुमा संगीतलाई नै पेसा बनाउने रहर थिएन। रुचि र साधनाको रुपमा गायनलाई लिए पनि कमाउनको लागि अर्को पेसा गर्ने सोच थियो। त्यही कारण इन्स्पेक्टरको लागि आवेदन दिएका थिए तर नाम निस्केन। बुबाले उनलाई वाद्यवादन र भाइ प्रतीकलाई गाउन भन्थे। तर भाइले चाहिँ संगीतलाई पेसाको रुपमा लिएनन्।

संगीत प्रवीण नरराज ढकाल तत्कालीन राजा महेन्द्रको निजी संगीतज्ञ थिए। उनले गाउँदा राजा महेन्द्र खोपीमा तबला बजाउँथे। २/३ दिन दरबारमा नजाँदा दरबारका एडिसीहरु आएर के भयो, किन नआएको भनेर सोध्थे।

उनी लखनउ रेडियोका कलाकार पनि थिए। भ्वाइस टेष्ट गरेर ग श्रेणीबाट ख श्रेणीमा पुग्न १० वर्ष लाग्थ्यो। तर नरराज ढकाल भ्वाइस टेष्टबाटै सिधै ख श्रेणीका गायक बने। नरराजलाई भारतीय चलचित्रमा काम गर्ने अफर पनि आएको थियो तर राजा महेन्द्रले आफू बाचुञ्जेल तिमी दु:ख पाउँदैनौं, देश छोड्नुहुन्न भनेर जान दिएनन्।

राजाको निजी संगीतज्ञ भएर पनि भोकभोकै बस्नु परेका कारण नरराज प्रभुले गायनमा साधना गरेर अरु नै काम गरे हुन्थ्यो भन्ने मनसाय राख्थे। नरराज सधैं भन्ने गर्थे- भिल्ल (अज्ञानी) को देशमा मिल्कन्छन् मणि पनि कौडीको मोलमा।

यही कुराले गर्दा प्रभुलाई देशमा राम्रा श्रष्टाहरुको कदर नगरे पनि त्यति साह्रो चित्त दुख्दैन। तैपनि शास्त्रीय संगीतको उठान भनेर लागिपरेका संस्थाहरुले कलाकारलाई पारिश्रमिकमा निकै शोषण गरेको महसुस गर्छन् प्रभु। उनी भन्छन्, '३० वर्षअघि जसरी चलिरहेको थियो त्यसरी नै अहिले पनि शास्त्रीय संगीतका कार्यक्रम चलिरहेका छन्।'

०००
शास्त्रीय संगीतप्रतिको झुकाव राजपरिवार भित्र निकै रहेको प्रभुराजको अनुभव छ। तत्कालीन युवराज वीरेन्द्र तथा धीरेन्द्र शाहलाई शम्भुप्रसाद मिश्रले सिकाएका थिए भने ज्ञानेन्द्र शाहलाई नरराज ढकालले गायन नै सिकाएका थिए।

त्यस्तै केन्द्र शमशेरका छोरीहरु ऐश्वर्य, कोमल शाह र प्रेक्षा ३ जनाले सितार सिकेका थिए। 'राजपरिवारका सदस्यलाई संगीत सिकाउने गुरुहरुलाई जीवन निर्वाह गर्न धौधौ थियो भने जनताको अवस्था कस्तो होला?' उनी भन्छन्।

अहिले अनलाइन कक्षाहरु र साधनामा व्यस्त गायक प्रभुराज ढकाल भिल्लको देशबाट ज्ञानीको देश बनेर राम्रा सर्जकहरुको कदर भएको हेर्ने इच्छा व्यक्त गर्छन्। उनी भन्छन्, 'भिल्लहरुले राज्य सञ्चालन गरिरहेसम्म ज्ञानीको दिन आउँदैन।'

थप हिजोका कुरा

१४ साउन, २०७८, १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।