हिजोका कुरा : बाल्यकालमै घरबाट निकालिएका थिए संस्कृतिविद् गणेशराम लाक्षी

हिजोका कुरा : बाल्यकालमै घरबाट निकालिएका थिए संस्कृतिविद् गणेशराम लाक्षी

थिमीको चपाःचोमा जन्मिएका गणेशराम लाक्षीको बाल्यकाल निकै कष्टपूर्ण रह्यो। उनका बुबा थिए, अत्यन्तै सोझा र परिवारमा दोहोरो बोल्न समेत नसक्ने। 

बुबाको सोझोपनको फाइदा उठाउँदै गणेशरामका हजुरबुबा र ठूलोबुबाले उनीहरुको परिवारलाई राति घरबाट निकालिदिए। त्यति बेला गणेशराम चार वर्षका थिए भने दाजुहरु १३ र ११ वर्षका।

परिवारका पाँचै जनाले थिमीकै पाटीमा त्यो रात काटे। आफू भोक लागेर रोएपछि बुबाले बन्द पसल खोल्न लगाएर एक चौथाई चामल सापटी लिएर खुवाएको कताकता सम्झन्छन् गणेशराम।

कसैले संरक्षण दिए राम्रो हुँदैन भनेर ठूलोबुबाले टोलका मान्छेलाई धम्की दिएका थिए। तर टोलकै रामकृष्ण नामका छिमेकीले उनीहरु पाँचै जनालाई घरमा लगेर संरक्षण दिए।

आमा, बुबा र दाइहरुले सहेको दुःख–कष्ट अहिले पनि गणेशरामको आँखामा नाच्छ रे।

०००
श्रीकृष्ण विद्यालयमा ७ कक्षासम्म पढाइ हुन्थ्यो। उनी त्यहीं पढ्न जान्थे। तर उनलाई काम नगरी पढ्न गाह्रो भयो। त्यतिबेला जनक शिक्षा बनाइँदै थियो। १३ वर्षकै उमेरमा उनी सिकर्मीका रुपमा काम गर्न गए। उनले त्यति बेला दैनिक तीन रुपैयाँ ज्याला पाउँथे।

आफूले ज्याला गरेर कमाएको ३/३ रुपैयाँ जम्मा गरेर वि.सं २०१९ सालमा पालो आएको ८० जनाको गुठीको भोज टरेको सम्झन्छन् गणेशराम। यसरी सानैदेखि पैसाको लागि काम गर्न बाध्य भए उनी। गरिबीको व्यथा कस्तो हुन्छ, गणेशरामले भोगेका छन्।

वि.सं २०२४ सालतिर स्थानीय मान्छेहरुले धेरै दबाब दिएपछि उनले पुर्ख्यौली सम्पत्तिबाट घर पाए। त्यसपछि भने उनीहरुको परिवार आफ्नै घरमा बस्न थाल्यो।

यसपछि नै हो, गणेशरामको संगत साहित्यतिर हुन थालेको। उनी कथा, कविता, नाटक लेख्न थाले।

उनी १३ वर्षको उमेर हुँदा बजारमा हात्तिमार्क कपी पाइन्थ्यो। ६४ पेजको सो कपीलाई २५ पैसा पर्थ्यो। उनले पैसा जम्मा गरेर कपी किने र ६४ पेज पूरै गीत लेखे।

घरमा सामान राख्ने दराजहरु केही थिएन। गणेशरामले आफ्नो कपीलाई जतनका साथ माटाको हाँडीभित्र हाले। केही दिनपछि हेर्दा त कपी पूरै मुसाले काटेको। त्यो दिन जीवनमै धेरै रोएको पल होला उनको। ‘आफ्नो अस्तित्व नै मेटिएको जस्तो अनुभव भयो,’ उनी सुनाउँछन्।

मुसाले धेरै दुःख दिएपछि मुसा मार्ने चुः प्याः किन्न मन लाग्यो। मुसा मार्ने पासो किन्नको लागि ३/३ वटा घैंटा बोकेर काठमाडौं जनबहालमा ल्याएर २५/२५ पैसामा बेचेर ३ मोहर पैसा लिए। सो पैसाले मुसा मार्ने पासो किनेर लगे। भोलिपल्ट १४ वटा मुसा पासोमा परेर मारेको घटना उनी सम्झन्छन्। ‘मुसा मरेपछि बल्ल कपी काटेको रिस मर्यो,’ उनी भन्छन्।

०००
पाटनको झिःझिः हौःगः संस्थाले आयोजना गरेको कथा वाचन प्रतियोगितामा उनले पनि ‘किजापूजा’ शीर्षकको कथा दिएका थिए। 

आफ्नो पालोको लागि कुरिरहेका थिए। ठ्याक्कै ५ बजे उनको नाम उद्घोष गरियो। पढ्नको लागि स्टेज मात्रै के पुगेका थिए, पुलिसले रोकिहाल्यो। त्यतिबेला कार्यक्रम, भेलाको लागि सिडिओसँग स्वीकृति लिनुपर्थ्यो। ५ बजेसम्मको लागि मात्रै स्वीकृति दिएको रहेछ। उनलाई पहिलो स्टेज कार्यक्रममै तितो अनुभव भयो। मन खिन्न पारेर घर फर्किए। 

भोलिपल्ट कार्यक्रमका आयोजकको घर खोज्दै उनलाई मेडल, प्रमाणपत्र र केही थान किताब दिन आएका रहेछन्। उनी सो कथा प्रतियोगितामा दोस्रो भएका रहेछन्। त्यसपछि आफूलाई भाग्यमानी सम्झँदै दंग परेका थिए उनी। यो पुरस्कारबाट उनलाई साहित्य लेखनमा लगाब बढ्दै गयो। 

काम नगरी खान पाइँदैथ्यो। उनले २ वर्ष थिमीकै प्राथमिक स्कुलमा पढाए। ५ कक्षामा विज्ञान, ३–४ मा गणित, १–२ मा नेपाली पढाउने उनले कहिले मासिक ४, कहिले ५ गरेर बढीमा १४ रुपैयाँसम्म तलब लिए।

त्यही समय उनी आफ्ना गुरुको घरमा फूल टिपिदिने, बगैंचामा अन्य काम पनि गरिदिन्थे। उनको काम देखेर गुरुले नेपालगञ्जमा विद्युत् विभागमा सुपरभाइजरको जागिर मिलाइदिए।

गणेशराम नेपालगञ्जमा जागिर खाने तयारी गर्दै थिए। त्यही बेला इन्द्रजात्राको माहोल थियो। काठमाडौंबाट नाटक गर्न कलाकारहरु आएका थिए। ‘खोंगु नोट’ शीर्षकको नाटकमा एउटा बहुलाको भूमिका गर्नुपर्ने थियो। अरु कसैले गर्न सकेन। सिकाउन आउने गुरुले गणेशरामको खुट्टा समाएर सो भूमिका गर्न अनुरोध गरे। उनको त्यो अनुरोधलाई अस्वीकार गर्न नसकेर उनले विद्युत प्राधिकरणको जागिर नै त्यागे। 

जम्मा १६ वटा सिन भएको सो नाटकमा गणेशरामको १४ पटकसम्म सिन थियो। धेरैले उनको अभिनयलाई रुचाए, धेरै चल्यो पनि। थुप्रै पुरस्कार पनि पाए। अहिले पनि उनलाई टोलबासीले वें (पागल) भनेर जिस्क्याउँछन्।

उनी डबली नाटकहरु लेख्न थाले। वि.सं. २०२९ देखि २०४२ सालसम्म पुर्णाङ्की नाटक लेख्दै, निर्देशन गर्दै आए। ख्यालः (व्यंग्य) प्रतियोगिताहरुमा उनले लेखेका नाटकले ५ पटक प्रथम, ३ पटक उत्कृष्ट निर्देशक, ३ पटक उत्कृष्ट लेखकको रुपमा पुरस्कार पाएका थिए। 

त्यही दौरानमा उनले २०३१ सालमा कपडाको कारखाना खोले। उनको जीवन सहज बन्दै गयो। जुन २०७२ सालको भुईंचालोपछि बन्द छ।

०००
स्कुलबाट सांस्कृतिक कार्यक्रम, प्रतियोगिता हुँदा नेवारी गीत र संस्कृतिका केही कुरा पनि राख्न पाइँदैनथ्यो। आफ्नो भाषा, संस्कृतिका कुराहरुलाई देखाउन नपाउँदाको पीडाले नै उनलाई सांस्कृतिक सामग्रीहरु कलेक्सन गर्नेतिर मन गयो। जहाँ गए पनि जे–जे पुराना सामान भेटियो, ल्याएर संकलन गरेर राख्न थाले। 

आखाछें (नेवार घर) मा उनले नेवार जातिका प्राचीन सामग्रीहरु बटुलेर संग्रहालय बनाएर सांस्कृतिक घरको स्थापना गरे उनले। मध्यपुरलाई अमूर्त संस्कृतिको नगर बनाउन गणेशराम दिन–रात खटे। उनले ११७ थरीका बाजा कलेक्सन गरेका छन्। नाँचगानका मुकुण्डोे, लुगाफाटाहरु, पुराना भाँडाहरु, ५२ थरीका नेवारी गहना, सः झ्याल, आँखिझ्याल, सन्दुक आदिको संकलन छ उनीसँग। उनको संग्रहालयमा मानवीय सांस्कृतिक विकासलाई नजिकबाट नियाल्न सकिन्छ।

उनी कतै घर भत्काएको सुईंको पाउनासाथ त्यहाँ पुगिहाल्छन् र पुराना सामान किनेर आफ्नो संग्रहालयमा थपिहाल्छन्। उनीसँग एकदमै पुराना ३० वटा विभिन्न कलाकृतिका घरका झ्यालहरु संकलनमा छन्। उनको ९ पुस्ता अगाडिको घरको झ्याल पनि त्यहाँ राखिएको छ। 

गणेशरामले बाजागाजाको इतिहास लेखेर अन्वेषणको काम गरे। मुकुण्डो नाँचको पहिचान राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने कार्यमा जाँगर चलाएर आफ्नो गन्तव्यको परिचय बाँडे। नेपाल मण्डलको मुकुण्डो नाँच संस्कृतिको ग्रन्थ सम्पादन गरेर अत्यन्त महत्वपूर्ण कार्य गरेर देखाए।

कवि, निबन्धकार, उपन्यासकार, नियात्राकार, नाटककारका रुपमा नेपालभाषा र नेपालीमा पुस्तक प्रकाशित गराइसकेका गणेशराम लाक्षीले कुशल इतिहासकार, संस्कृतिविद्, संग्रहकर्ताका रुपमा आफूलाई चिनाउँदै आएका छन्। उनी सिक्किममा बसोबास गरेका नेवारहरुका लागि सांस्कृतिक गुरुका रुपमा चिरपरिचित छन्। 

उनले संग्रहालयको रुपमा विकास गरेको आखाछें (नेवार घर) भुईंचालोपछि जीर्ण अवस्थामा छ। ७२ वर्षमा हिँडिरहेका सांस्कृतिक जागरण र संकलन क्षेत्रमा अग्रणी व्यक्तित्व गणेशराम लाक्षीलाई अहिले आफैंले संकलन गरेको नेवारी संस्कृतिको संग्रहालयलाई कसरी व्यवस्थित गर्ने र कसले यसको नेतृत्व गर्छ भन्ने चिन्ताले पिरोलिरहेको छ। ‘संस्कृति नबचे देशको पहिचान कहाँ रहन्छ र?,’ उनलाई चिन्ता छ। 

थप हिजोका कुरा

१४ असोज, २०७८, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।